+
+
Shares

पुटिन रूस फर्किएपछि ट्रम्पले भने : युद्धविराम होइन, शान्ति सम्झौता गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते १६:२१

३१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बैठक ‘धेरै राम्रो’ रहेको प्रतिक्रिया दिएका छन् ।

पुटिनसँग भेटपछि पहिलोपटक ट्रुथ सोसलमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘अलास्कामा एक सानदार र अत्यन्त सफल दिन ! रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठक धेरै राम्रो रह्यो, साथै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटो महासचिवसहितका धेरै युरोपेली नेतासँग रात ढिला भएको फोन कल पनि धेरै राम्रो रह्यो।’

ट्रम्पले आफ्नो यस पोस्टमा युद्धविराम सम्झौताको सट्टा शान्ति सम्झौतामा जोड दिएका छन्।

उनी लेख्छन्, ‘सबैले रूस र युक्रेनबीचको भयानक युद्ध समाप्त गर्ने सबैभन्दा उत्तम तरीका सिधै शान्ति सम्झौतामा पुग्नु हो भनेर निर्णय गरे, जसबाट युद्ध पूर्णरूपमा समाप्त हुनेछ। केवल युद्धविराम सम्झौताहरू प्रायः लामो समय टिक्दैनन्।’

ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की सोमबार अमेरिकामा आउने जानकारी दिँदै लेखे, ‘यदि सबै कुरा ठीक रह्यो भने, हामी राष्ट्रपति पुटिनसँग एक बैठक गर्नेछौं। आशा छ लाखौं मानिसहरूको जीवन बचाउन सकिनेछ।’

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि एक्समा एक पोस्ट गर्दै ट्रम्पसँग डेढ घण्टा भन्दा लामो संवाद भएको जानकारी दिएका छन् ।

यस दौरान करिब एक घण्टा दुवै नेताले केवल एक अर्कासँग मात्रै छलफल गरे र त्यसपछि युरोपेली नेताहरूलाई पनि जोडिएको थियो।

जेलेन्स्कीका अनुसार, युक्रेन शान्ति स्थापना गर्न सम्पूर्ण शक्तिसहित तयार छ। ट्रम्पले उनलाई रूसका राष्ट्रपतिसँगको भेट र छलफलको जानकारी दिएका थिए।

युक्रेनले युक्रेन, अमेरिका र रूसको त्रिपक्षीय बैठक गर्ने ट्रम्पको प्रस्तावलाई समर्थन गरेको छ । जेलेन्स्की सोमबार वासिङ्टन डीसी पुगेर ट्रम्पसँग भेट गर्नेछन् र युद्ध रोक्ने विषयमा विस्तृत छलफल गर्नेछन्।

जेलेन्स्कीले भने अमेरिकासँग मिलेर बलियो सुरक्षा सुनिश्चित गर्न युरोपेली देशहरूको सहभागिता अनिवार्य रहेको बताएका छन् । उनले अमेरिकाबाट प्राप्त सकारात्मक संकेतहरूको स्वागत गर्दै सबै सहयोगी देशहरूलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?