News Summary
Generated by OK AI. Editorially reviewed.- मरियम औरंगजेबले आफ्नो शरीरको तौल धेरै घटाएर १७ जनवरीको विवाह पार्टीमा नयाँ स्वरुपमा देखिएकी थिइन्।
- मरियमले अनुशासित जीवनशैली अपनाएकी र यसले अनुहार र शरीरमा ठूलो परिवर्तन ल्याएको छ।
एकाएका आफ्नो शरीरको तौल धेरै घटाएकी पाकिस्तानकी एक राजनीतिज्ञ अहिले चर्चामा छिन् । पहिला मोटो शरीर भएकी ४५ वर्षीया उनलाई केही दिनअघि एक विवाह पार्टीमा देख्दा धेरै जना आश्चर्यमा परे ।
मरियम औरंगजेब, पाकिस्तानको पञ्जाब प्रान्तको सूचना र वातावरण मन्त्री हुन् । पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी बरिष्ठ नेता रहेकी उनी १७ जनवरीमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफका नातिको बिहेमा सहभागी भएकी थिइन् ।
मरियमको पातलो र फिट शरीरसँगै उनको अनुहारको चमक देखेर उनलाई चिन्नेहरू चकित भए । उनी वास्तविक उमेर भन्दा निकै युवा देखिन्थिन् । धेरैले त उनलाई देख्नेबित्तिकै सुरुमा चिन्नै सकेनन् ।
उनी विवाह समारोहमा सहभागी भएका तस्बिर र भिडियोहरू भाइरल भए ।
यसअघि संघीय सरकारको सूचना तथा प्रसारण मन्त्रीसमेत भइसकेकी उनी पाकिस्तानकी परिचित नेतृ हुन् । सरिफका दुई नातिको विवाहमा उनी फरक-फरक पहिरनमा देखा परेकी थिइन् ।

धेरैले उनको अहिलेको स्वरुपलाई पहिलेको तस्बिरसँग दाँजेर चर्चा गरे । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको यो शारीरिक रुपान्तरण आश्चर्यजनक भएको धेरैले बताएका छन्। कसैकसैले त फोटो सेयर गर्दै के उनी साँच्चै मरियम औरंगजेब होर ? भनेर समेत प्रश्न गरेका छन् ।
उनी एक सुपरमोडल जस्तै देखिएको भनिरहेका छन् । अनुहार र फिगर हेर्दा उनलाई २५-३० वर्षको उमेरको जस्तो देखिएको धेरैले भनेका छन् । उनले आफूलाई जवान देखाउनका लागि प्लास्टिक सर्जरी गरी आफ्नो रुप बदलेको भन्दै धेरैले उनीमाथि ट्रोलसमेत गरे ।

कतिपयले भने एक्कै पटक धेरै तौल घटाउँदा यो खालको शारीरिक परिवर्तन आएको हो भन्ने तर्क गरिरहेका छन् । उनी आफैंले भने यसबारे केही बोलेकी छैनन् ।
धेरै चर्चा भएपछि उनकी आमाले आफ्नी छोरीमा आएको चामत्कारिक परिवर्तनबारे बोलेकी छिन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले मरियमले कुनै प्लास्टिक सर्जरी नगरेको स्पष्ट पारेकी छिन् ।
आमा ताहिरा औरंगजेबका अनुसार मरियमको बद्लिएको रूप कुनै शल्यक्रिया नभई महिनौँको कडा जीवनशैली र अनुशासनको परिणाम हो । यसबीचमा मरियमले हर्बल चिया, कफी पिउने र अत्यन्तै थोरै मात्रामा खाना खाइ कडा अनुशासन पालन गरेको उनले बताएकी छिन् ।
‘उनले कुनै पनि औषधि वा कस्मेटिक सहयोग लिएकी छैनन्’ ताहिराले भिडियोमा भनेकी छिन्, ‘मानिसले कम खान थाल्यो र अनुशासित जीवनशैली अपनायो भने अनुहार आफैँ परिवर्तन हुन्छ ।’
छिटो तौल घट्दा अनुहार झन् छरितो र भरिलो देखिनु सामान्य प्रक्रिया भएको दावी उनले गरेकी छिन् ।

पाकिस्तानका केही चर्चित व्यक्तिहरूले समेत मरियम औरंगजेबको व्यक्तित्व र आत्मविश्वासको प्रशंसा गरेका छन् । आत्मअनुशासन, दृढ इच्छाशक्ति र मेहनतको नतिजा भएको उनीहरूले बताएका छन् ।
यी सबै स्पष्टिकरणका बाबजुद उनको शारीरिक परिवर्तनबारे सामाजिक सञ्जालमा बहस जारी नै छ ।

प्रतिक्रिया 4