+
+
Shares

इजरायली सेनालाई एन्ड्रोइड फोनमा प्रतिबन्ध, आइफोन मात्रै चलाउन पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १४:१६

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले साइबर सुरक्षालाई मध्यनजर गर्दै आफ्ना वरिष्ठ सैनिक अधिकृतहरूका लागि कडा डिजिटल नीति लागू गरेको छ । नयाँ निर्देशिका अनुसार अब इजरायली सेनाका लेफ्टिनेन्ट कर्नल वा सोभन्दा माथिल्लो दर्जाका अधिकारीहरूले कुनै पनि आधिकारिक काम एन्ड्रोइड स्मार्टफोनबाट गर्न पाउने छैनन् ।

सेनाका अनुसार अब सबै सैन्य सञ्चार, कमाण्ड आदेश, रिपोर्टिङ र संवेदनशील डाटा आदान–प्रदानका लागि सैन्य अधिकारीहरूले केवल आइफोन मात्रै प्रयोग गर्नुपर्नेछ । यस निर्णयलाई पछिल्ला वर्षहरूमा बढ्दो साइबर हमला र डिजिटल जासुसीको खतरालाई रोक्ने रणनीतिक कदमका रूपमा हेरिएको छ ।

एन्ड्रोइड फोन कि जोखिमपूर्ण ?

इजरायली सैन्य रेडियो र जेरुसलेम पोस्टका रिपोर्टअनुसार आइडिएफले गरेको आन्तरिक सुरक्षा मूल्यांकनमा एन्ड्रोइड डिभाइसहरू तुलनात्मक रूपमा बढी असुरक्षित देखिएका हुन् ।

खुला प्रणाली भएका कारण तेस्रो पक्षका एप र अनधिकृत सफ्टवेयर एन्ड्रोइडमा सजिलै प्रवेश गर्न सक्छन् । यसले मालवेयर संक्रमणको जोखिम बढाएको सेनाको ठहर छ ।

परीक्षणका क्रममा एन्ड्रोइड फोनमा जासुसी सफ्टवेयर घुसाउन सजिलो देखिएको र त्यसमार्फत फोन प्रयोगकर्ताको गतिविधि ट्र्याक गर्न सकिने देखिएको उल्लेख छ ।

‘हनीपोट आक्रमण र डिजिटल जासुसीको जाल

पछिल्ला वर्षहरूमा इजरायली सैनिक तथा अधिकारीहरूलाई लक्षित गर्दै नयाँ प्रकारका साइबर हमला भएको सेनाको भनाइ छ ।

विशेषगरी ‘हनीपोट’ भन्ने रणनीतिअन्तर्गत नक्कली सामाजिक सञ्जाल खाता बनाएर सैनिकहरूसँग मित्रता बढाइँदै फोनमा खतरनाक लिंक पठाइने गरेको पाइएको छ ।

ती लिंक खोलेपछि मोबाइलमा भाइरस प्रवेश गरी सम्बन्धित सैनिक व्यक्तिको लोकेसन, सम्पर्क विवरण र गोप्य सूचना चोरी गरिने प्रयासहरू निरन्तर भइरहेको भन्दै इजरायली सेनाले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

नयाँ निर्देशिका के भन्छ ?

इजरायल नेसनल न्यूजका अनुसार सेनाको नयाँ निर्देशिकामा अब एन्ड्रोइड फोनलाई कुनै पनि प्रकारको सैन्य वा प्रशासनिक काममा प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

यद्यपि व्यक्तिगत प्रयोगका लागि भने एन्ड्रोइड फोनलाई पूर्ण रूपमा निषेध गरिएको छैन ।

सेनाको उद्देश्य सैनिकको निजी स्वतन्त्रता कुण्ठित गर्नु नभएको तर सुरक्षा र गोपनीयतालाई सर्वोच्च प्राथमिकता दिनु रहेको दाबी आईडीएफको छ ।

गुगललाई झट्का, एप्पललाई फाइदा

इजरायली सेनाको उक्त निर्णय त्यतिखेर आएको हो, जब गुगलले आफ्नो पिक्सेल  फोन अमेरिकी रक्षा मन्त्रालयको सुरक्षा सूचीमा सूचीकृत भएको दाबी गर्दै आएको थियो । तर आईडीएफको निष्कर्ष तथा कदम भने फरक देखिएको छ ।

इजरायली सेनाले एप्पलको बन्द र नियन्त्रित प्रणाली एन्ड्रोइड भन्दा बढी सुरक्षित रहेको ठहर गर्दै आइफोन चयन गरेको हो । यस निर्णयलाई प्रविधि बजारमा गुगलका लागि झटका र एप्पलका लागि रणनीतिक लाभका रूपमा पनि हेरिएको छ ।

आईडीएफको गोप्य अभ्यास

रिपोर्टअनुसार आईडीएफ केवल आदेश जारी गरेर मात्रै यस्तो निष्कर्षमा पुगेको होइन । उसले आफ्नै सैनिकमाथि साइबर हमलाको सिमुलेशन गर्दै गहिरो परीक्षण गरेको थियो ।

त्यसक्रममा मुस्लिम विद्रोही संगठन हिजबुल्लाहसँग सम्बन्धित नक्कली प्रोफाइलहरू सिर्जना गरी सैनिकहरूको प्रतिक्रिया र मोबाइल सुरक्षाको परीक्षण गरिएको थियो । यस अभ्यासमा एन्ड्रोइड डिभाइस अपेक्षाकृत छिटो जोखिममा परेको र आइफोन सुरक्षा प्रणाली तुलनात्मक रूपमा बलियो देखिएको सेनाले निकालेको निष्कर्षमा उल्लेख छ ।

डिजिटल युद्धको नयाँ मोर्चा

वास्तवमा इजरायली सेनाको पछिल्लो निर्णय केवल मोबाइल फोन छनोटको विषयमा मात्रै सीमित छैन । यो निर्णय बदलिँदो युद्ध रणनीतिको संकेत पनि हो । वर्तमानमा युद्ध केवल सीमानामा होइन स्मार्टफोनको स्क्रिनमा पनि भईरहेको छ ।

डाटा, लोकेसन र संवाद नै आधुनिक युद्धका हतियार बनेका छन् । आफ्ना उच्च पदस्थ सैनिकका लागि एन्ड्रोइड स्मार्टफोन प्रतिबन्धित गरेर इजरायलले स्पष्ट सन्देश दिएको छ कि अब सैनिकको सुरक्षा केवल बन्दुकबाट मात्र होइन मोबाइलबाट पनि सुनिश्चित गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?