+
+
Shares
टिप्पणी :

वैकल्पिक शक्तिहरूको नयाँ हेडक्वाटर

पुरानो राजनीतिक केन्द्र हल्लाउँदै नयाँ ध्रुव बन्ने बालेनको महत्वाकांक्षा अब काठमाडौं महानगरबाट सिंहदरबारतर्फ अघि बढ्नेतर्फ उन्मुख छ । विभिन्न दलका नेतादेखि जेनजीसमेतलाई मिलाउँदै अघि बढ्न उनी सफल हुन्छन् या फेसबुकका प्रतिक्रियामै सीमित हुन्छन् भन्ने परीक्षण हुन बाँकी छ ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०८२ पुष १० गते २१:५९

१० पुस, काठमाडौं । जेनजी आन्दोलनपछि देशले नेतृत्व खोजिरहेको बेला मौनप्रायः बसेका काठमाडौं महानगरका प्रमुख बालेन शाहले राजनीतिक भेटघाट तीव्र बनाएसँगै नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।

मंगलबार राति भर्खरै थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग झन्डै ६ घण्टा लामो संवादलाई बुधबार बालेनले निरन्तरता दिए- विभिन्न जेनजी समूहका अगुवा, वैकल्पिक राजनीतिमा सक्रिय युवाहरू र केही राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेर ।

बिहीबार ललितपुरको ज्वागलमा रास्वपा सभापति लामिछानेका साथै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विभिन्न दलका केन्द्रीय नेताहरू हुँदै जेन–जी अगुवासम्मका शृङ्खलाबद्ध भेटघाट गरे ।

यी भेटवार्ता र संवादहरूको प्रभाव एउटा महानगरका मेयर रहेका शाहले गरेका सामान्य भेटवार्ताभन्दा थप शक्तिशाली बने ।

भेटघाटका क्रममा राजनीतिक अगुवाहरूसँग बालेनले प्रश्न गरे, ‘हिजोबाट म राजनीतिमा सक्रिय हुने सोचले अगाडि बढेँ, रास्वपासँग सहकार्य गरेर जाऊँ कि नयाँ पार्टी बनाऊँ ?’

यी संवादहरू सँगसँगै बालेनले रास्वपा सभापति लामिछाने र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग पनि शक्ति बाँडफाँड र सहकार्यका मोडलहरूमा संवाद गरिरहेकै छन् ।

२१ फागुनका लागि घोषित निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमको समयसीमाले दबाब सिर्जना गरिरहेको बेला बालेन पितृशोकमा रहे । अब बचेको समयमा राजनीतिक संवादको म्याराथन सुरु गरेका उनको संवादहरूले महत्वपूर्ण प्रश्न जन्माएका छन्: के बालेन अब महानगर सरकारको सीमाभन्दा बाहिर निस्केर औपचारिक रूपमै राष्ट्रिय राजनीतिमा नयाँ ध्रुव निर्माण गर्न अग्रसर भएका हुन् ?

यद्यपि, यसबीचमा उनले राष्ट्रिय राजनीतिका प्रमुख खेलाडीहरूलाई विभिन्न तरिकाले चुनौती दिंदै आएकै हुन् । यसबीचको गतिविधिले नेपाली राजनीतिक आकाशमा बालेन एउटा नाम मात्र होइन, एउटा प्रवृत्ति र सम्भावनाका पर्याय बनेका छन्।

बितेका दुई दिनका राजनीतिक दौडधुपले उनी महानगरको दायराबाट निस्किएर सिंहदबारकै नेतृत्व गर्ने र नेपाली राजनीतिको ‘नयाँ हेडक्वाटर’ बन्ने दिशामा अग्रसर भएको संकेत गरेका छन् ।

नेपाली कांग्रेसको संस्थापनइतर एक पदाधिकारीका अनुसार, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले राष्ट्रिय सभाको निर्वाचन, संसद पुनर्स्थापनाका लागि कानुनी र राजनीतिक संघर्षसँगै आगामी निर्वाचनसम्म सहकार्यको दिशामा संवाद गरिरहेका छन् ।

जेनजी आन्दोलनले सिर्जना गरेको नयाँ सन्दर्भमा पनि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको अटेरीपनासँगै पुराना दलहरूमा कमजोर हुँदै गइरहेका प्रश्नहरूले मुलुक फेरि पुरानै राजनीतिक बाटोमा फर्कने जोखिम बढिरहेको छ । यस्तोमा रास्वपा सभापति लामिछाने थुनामुक्त हुनु र बालेनले राष्ट्रिय राजनीतिको यात्रामा पाइला अगाडि बढाउनुले केही नयाँ संकेतहरू गरेका छन् ।

नयाँ ध्रुवीकरणको संकेत

रवि थुनामुक्त भएसँगै उनका अभिव्यक्ति र गतिविधिले चुनावको पक्षमा आवाज चर्को बन्न थालेको थियो । बालेनको राजनीतिक सक्रियता बढेसँगै देशमा पुरानाका विरुद्ध नयाँ तथा वैकल्पिक शक्तिहरू सम्मिलित नयाँ ध्रुव निर्माणको आधार तयार गरेको देखिन्छ।

बिहीबार ज्वागलमा देखिएको भेटघाटको दृश्यहरूले बालेनले एउटा शक्ति केन्द्रको रूपमा आफ्नो स्वीकार्यता बढाइरहेका देखिन्थे ।

नेपालमा ‘वैकल्पिक राजनीति’ को बहस नयाँ होइन। करिब एक दशकदेखि यो बहस विभिन्न नाम, अनुहार र प्रयोगमार्फत अघि बढ्दै आएको छ— कहिले विवेकशील, कहिले साझा, कहिले नयाँ शक्ति, कहिले रास्वपा। तर यी सबै प्रयासहरू कुनै न कुनै बिन्दुमा पुरानो शक्तिसँग टकराएर वा आन्तरिक द्वन्द्वमा अल्झिएर कमजोर बने।

नेपालमा पछिल्लो एक दशकदेखि चलिरहेको वैकल्पिक राजनीतिको बहस अब बौद्धिक विलासिता, छिटपुट राजनीतिक गतिविधबाट माथि उठेर ‘सत्ता र शक्तिको समीकरण’ तर्फ मोडिएको छ। बालेनले लिएको यो अग्रसरताले नयाँ शक्तिहरूबीच यस्तो स्तरको ध्रुवीकरण निम्त्याउन सक्छ, जसले दशकौँदेखि जरा गाडेर बसेका परम्परागत दलहरूका सामु बलियो चुनौती खडा हुनेछ ।

नयाँ संविधान बनेपछि नेपाली राजनीतिको गोलचक्करलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नयाँ अवस्था सिर्जना गरेको छ । भ्रष्टाचार, दण्डहीनता, सत्तालिप्सा र पुस्तान्तरणको अवरोधविरुद्ध उनीहरूको असन्तोष केवल सामाजिक सञ्जालमा सीमित रहेन। सडकमा उत्रियो, आन्दोलन बन्यो, र सत्तालाई हल्लायो।

पहिलो पुस्ताको सत्तालिप्सा, दोस्रो पुस्ताको निरीहता र नालायकी, तेस्रो पुस्ताको प्रश्नहिनताले नेपाली राजनीति पट्यारलाग्दो गत्यावरोधमा फसिरहेको थियो । ३० वर्षमा सीमित नेताहरूले प्रधानमन्त्रीको कुर्सीमा पुग्न खेल्ने म्युजिकल चेयर खेल नागरिकका लागि वाक्कदिक्क बनाउने रमिता बनिरहेको थियो ।

पहिलो पुस्ताका नेताहरू (ओली, देउवा, प्रचण्ड) को सत्तालिप्साविरुद्ध बोल्न नसक्ने दोस्रो पुस्ताका नेताहरू केवल उनीहरूकै छायाँ बनेका छन्। आन्तरिक लोकतन्त्र अवरुद्ध गरिरहेका यी नेताहरूलाई आन्तरिक हस्तक्षेप नपुगेपछि ‘आउटसाइडर’ को प्रवेशलाई नेपाली राजनीतिलाई थप रोचक बनाएको छ ।

यही पृष्ठभूमिमा पाँचौँ पुस्ता अर्थात् जेनजीको आन्दोलनले नेपाली राजनीतिको पट्यारलाग्दो गोलचक्करमा क्रमभंग भएको छ । भ्रष्टाचारको अन्त्य र राजनीतिमा पूर्ण पुस्तान्तरणको माग गर्दै सडकमा देखिएको जेनजीको यो आवेगले इतिहासमै पहिलोपटक निर्वाचित प्रधानमन्त्रीलाई सेनाको हेलिकप्टरमा बालुवाटार छोड्न बाध्य बनायो। यति मात्र होइन, कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीमाथि भएको भौतिक आक्रमण अर्को दुःखद घटना थियो । तर, आन्दोलनकारी शक्ति छिन्नभिन्न भएपछि वयोवृद्ध नेताहरूले पार्टीका विधान र सार्वजनिक प्रतिबद्धता बदलेरै भए पनि पुनः सत्ताकै खेलमा उभिन थालेका छन् ।

यस्तोमा, बालेनले अहिले नयाँ राजनीतिक हस्तक्षेप अगाडि बढाउने प्रयत्न गरिरहेका देखिन्छन् ।

विद्रोह हुँदै संस्थापनितर

बालेन नेपाली राजनीतिमा संस्थापनलाई प्रश्न गरेर आएका नेता हुन् । भर्चुअल समर्थनलाई भौतिक शक्तिमा बदल्दै नागरिकको विकल्पको चाहनालाई सम्बोधन गरेका उनी ब्यालेट विद्रोह हुँदै काठमाडौं महानगरको सत्तामा पुगे । अहिलेसम्म बालेनलाई ‘एन्टी–सिस्टम’ प्रतीकका रूपमा हेरिँदै आएको थियो। उनी दलीय राजनीतिमा प्रत्यक्ष सहभागी हुने विषयमा मौन थिए। तर पछिल्ला संवादहरूले त्यो मौनता तोडिएका छन् ।

बालेनले आफू पार्टी राजनीतिमा आएको जेन–जी अगुवासँग खुलेर बताएका छन्। यसले बालेन आन्दोलनको प्रतीकबाट संस्थापन राजनीतितर्फ अर्थात् प्रश्न सोध्ने भूमिकाबाट जवाफ दिने ठाउँमा पुग्न खोजिरहेका छन् ।

यहाँ एउटा रोचक द्वन्द्व देखिन्छ—रवि लामिछानेसँग संगठन छ, मत छ, संरचना छ। बालेनसँग जनआक्रोशको वैधता, जेन–जीको समर्थन र ‘नन–पोलिटिकल’ छवि छ। संवादमा रहेका अर्का पात्र कुलमान घिसिङ पनि यो अभियानमा जोडिएमा छरिएका वैकल्पिक शक्तिहरू एकत्रित हुनेछन् ।

नेपाली राजनीतिक इतिहास हेर्दा पहिलो पुस्ताका नेताहरूले लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा ऐतिहासिक भूमिका खेलेका छन्। तर उनीहरूले इतिहासको यही पूँजीलाई वर्तमानको अक्षमता ढाक्ने हतियार बनाइरहेका छन् । पार्टी केही व्यक्तिको नियन्त्रणमा पुगेका छन् । आन्तरिक लोकतन्त्र कमजोर, नेतृत्व पुस्तान्तरण अवरुद्ध, र निर्णय प्रक्रियामा सीमित व्यक्तिको वर्चस्व।

बालेन–रवि-कुलमान केन्द्रित सम्भावित ध्रुवीकरणले यही संरचनालाई चुनौती दिन खोजेको देखिन्छ। तर, प्रश्न केवल सत्ता परिवर्तनको होइन, सत्ताको अभ्यास अर्थात् राजनीति संस्कार परिवर्तनको हो । यसबारे पनि उनीहरू त्यत्ति प्रष्ट देखिँदैनन् ।

यहीँ प्रश्न उठ्छ—के यो एकीकरण वैचारिक रूपमा टिकाउ हुन्छ ? कि यो केवल केही नेताको स्वार्थलक्षित चुनावी गणितको सहकार्य मात्र हुने हो ?

चुनौतीका चाङ

वैकल्पिक राजनीति भनेको पुरानो अनुहार हटाएर नयाँ अनुहार ल्याउनु मात्र होइन। यो त कार्यशैली, पारदर्शिता र डेलिभरीमा देखिने भिन्नता हो। बालेनले काठमाडौँ महानगरमा देखाएको ‘कार्यकारी हस्तक्षेप’ र काम गर्ने शैलीले जनतामा एक प्रकारको तरंग ल्याएको छ । भलै उनको कार्यशैलीका केही विषयलाई लिएर आम रूपमा प्रशस्तै प्रश्नहरू पनि छन् ।

नयाँ राजनीति शुरु गरेका बालेनहरूका अगाडि चुनाव जित्ने मात्र होइन, राजनीतिक संस्कार नै बदल्ने चुनौती छ ।

बालेनसँग जनलहर छ, तर दलीय संरचना र संगठन छैन। राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन तल्लो तहसम्मको संगठन अनिवार्य हुन्छ। रास्वपासँग सहकार्य गरेको खण्डमा उनले यो सुविधा पनि पाउने छन् ।

यो पृष्ठभूमिमा वैकल्पिक राजनीतिलाई मूल प्रवाह बनाउने बाटो सजिलो छैन। यहाँ संगठन, विचार, नेतृत्व र सहमतिको जटिल परीक्षा हुनेछ।

किनकि, राजनीतिमा केवल विरोध र सुशासनको नाराले मात्र पुग्दैन, राष्ट्रिय मुद्दाहरू (अर्थतन्त्र, परराष्ट्र नीति, संघीयता) मा यो नयाँ ध्रुवको स्पष्ट दृष्टिकोण के हो? त्यो स्पष्ट हुन बाँकी छ ।

उदाहरण हो- गत भदौको जेनजी आन्दोलनपछि पुनः बहसमा आएको एउटा विषय हो, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली । जेनजीका एउटा समूहले यो प्रणाली नभए आगामी फागुन २१ का लागि घोषित निर्वाचनमा सहभागी नहुने बताएका थिए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनका लागि प्रधान सेनापतिसँग वार्ता गर्न र संसद् विघटन हुनुपर्ने माग राखेका बालेनको पनि समर्थन रहेको बताइएको थियो ।

बिहीबार १२ घण्टा भन्दाबढी विभिन्न व्यक्तिहरूसँग भेटेका बालेनले प्रत्यक्ष कार्यकारी छोडेर संसदीय प्रणालीमै जाने संकेत गरेका छन् । उनीसँग भेटेका एक जेनजी नेताले अनलाइनखबरसँग भने, ‘खासगरी रवि लामिछानेसँगको पुस ७ गतेको भेटपछि उहाँको धारणामा परिवर्तन आएको रहेछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले भेटमा भएका कुरा बाहिर ल्याएपछि रुष्ट बनेका निकटस्थहरूलाई बालेनले ‘अहिले त यस्तो छ, प्रत्यक्ष कार्यकारी राष्ट्रपति भयो भने झन के होला ?’ भन्न थालेका छन् ।

फरक विचार र दृष्टिकोण राख्ने शक्तिहरू एक ठाउँमा आएर अवधारणागत स्पष्टता हासिल गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण हुनसक्छ ।

सैद्धान्तिक-वैचारिक-कार्यक्रमिक भिन्नताका बीचमा सहमति खोज्ने क्रममा परम्परागत शक्तिसँगको छिनाझपटी त्यति सहज हुनेछैन । किनकि पुराना दलहरू सजिलै सत्ता सुम्पिन तयार हुने छैनन्। उनीहरूले गर्ने घेराबन्दी र षड्यन्त्रलाई चिर्न यो नयाँ शक्तिले निकै सुझबुझपूर्ण कदम चाल्नुपर्ने हुन्छ।

यी मुद्दामा स्पष्टता विना हुने कुनै पनि शक्तिको एकताले मुलुकलाई निकास नदिने बताउँछन् राजनीतिशास्त्रका प्राध्यापक डा. सञ्जिब हुमागाईं ।

‘अहिले भइरहेको संवादलाई को प्रधानमन्त्री बन्ने, कसले कति सिट ल्याउने भन्ने कुरा मात्र होइन, वैकल्पिक शक्तिहरूले एक ठाउँमा आएर अनुशासित लोकतान्त्रिक संस्कारलाई विकास गर्न सक्छन् कि सक्दैनन् भन्ने ठूलो परीक्षा पनि हो,’ हुमागाईंले भने ।

उनको तर्क छ, ‘किनभने हिजो अनुशासित राजनीतिक संस्कार भएन, त्यसैले मुलुकले सामाजिक एवं आर्थिक क्षेत्रमा त्यसको ठूलो मूल्य चुकाउनु पर्‍यो भनेर विरोध गरेका हौं ।’

एक-दुई जना पात्रले सबै गर्न सक्छ भन्ने पपुलिजमतिर जाने भन्दा सामूहिक इच्छाशक्ति बनाउने परीक्षामा नयाँ दलहरू रहेको डा. हुमागाईं बताउँछन् ।

‘संवादमा रहेका पात्रहरूमध्ये कोही एकजनालाई नेता मानेर उनको अन्तर्गतमा गोलबद्ध हुन तत्पर रहेको र कम्तिमा निर्वाचन पछिको पाँच वर्षको न्यूनतम आधार बारेमा सहमति भएर त्यसलाई परिवर्तन नगर्ने संकल्प गर्दा मात्र यो मुलुकले निकास पाउँछ, त्यो नवीनतम हुन्छ,’ उनी भन्छन् ।

तत्काल चुनाव जित्ने र एकका कमजोरीलाई ढाकछोप गर्नलाई अर्कोलाई लैजाऔँ भन्ने टालटुले पाराको सहमतिले देश पपुलिजमको ठूलो जंगलमा फस्ने जोखिम हुमागाईं देख्छन् । स्पष्ट रोडम्याप लिएर चुनावमा जाँदा मात्रै निर्वाचनमा मतदाताले त्यसमा तर्कसंगत संवाद गर्न पाउने र नीतिगत निकास निस्कने उनी बताउँछन् ।

‘चुनाव लगत्तै स्वामित्वको प्रश्नसँगै जित्दा र हार्दा फरक कुरा गर्ने सन्दर्भ निस्केर वास्तवमा उहाँहरूकै द्वन्द र विवादले लामो समय पपुलिजमको जंगलमा हराउने जोखिम हुन्छ,’ उनी भन्छन्, ‘यो मुलुकको हित र राजनीतिक निकासको लागि छलफलमा रहेका पात्रहरू जुट्दा कम्तिमा पाँच वर्षसम्मको एउटा रोड म्याप प्रष्ट हुने गरी आउन आवश्यक छ ।’

तर, के बालेनले यी चुनौतीहरूलाई सामना गर्दै वैकल्पिक राजनीतिलाई मूल प्रवाह बनाउन सक्लान्? यो प्रश्नको उत्तर उनका आगामी कदमहरूमा निर्भर गर्छ।

युवा पुस्ताको आक्रोश र आम नागरिकको निराशालाई सही रूपमा च्यानलाइज गर्न सके भने, नेपालमा वैकल्पिक राजनीति साइड लाइन होइन, मूल प्रवाह बन्ने सम्भावना भने देखिन्छ । तर यो सहकार्य प्रयास सत्ता–गठबन्धनको अंकगणितभन्दा बाहिर, राजनीतिक संस्कृतिको पुनर्संरचनातर्फ लक्षित हुनुपर्नेछ ।

पुरानो राजनीतिक केन्द्र हल्लाउँदै नयाँ ध्रुव बन्ने बालेनको महत्वाकांक्षा अब काठमाडौं महानगरबाट सिंहदरबारतर्फ अघि बढ्नेतर्फ उन्मुख छ । विभिन्न दलका नेतादेखि जेनजीसमेतलाई मिलाउँदै अघि बढ्न उनी सफल हुन्छन् या फेसबुकका प्रतिक्रियामै सीमित हुन्छन् भन्ने परीक्षण हुन बाँकी छ ।

बालेनको यो अग्रसरता क्षणिक राजनीतिक तरंग हो, कि नेपाली राजनीतिको नयाँ सुरुवात ? यसको उत्तर ज्वागलका भेटघाटभन्दा पनि, त्यसपछिका निर्णयहरूले दिनेछन्।

लेखक
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?