काठमाडौं महानगरका प्रमुख बालेन शाह र रास्वपा सभापति रवि लामिछानेसँगै अन्य दलका केही नेता र जेनजी अगुवासँग पछिल्ला दुई दिनदेखि भइरहेको भेटघाट र एकता प्रयासले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । यसको प्रभाव र असर के होलान् ? राजनीतिशास्त्रकी प्राध्यापक डा. सुचेता प्याकुरेलसँग यिनै विषयमा अनलाइनखबरले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङहरूबीच सहकार्यका लागि सघन संवादमा छन्। के अब वैकल्पिक शक्तिहरू परम्परागत शक्तिहरूलाई धक्का दिनेगरी आउन लागेका हुन् ?
अहिलेको अवस्थालाई राजनीतिशास्त्रको भाषामा ‘रियल पोलिटिक’ भन्न सकिन्छ। आगामी चुनावमा परम्परागत तीन ठूला दललाई धक्का दिन र उनीहरूलाई पराजित गर्न ‘बाइ हुक अर बाइ क्रुक’ (जसरी पनि) एउटै छानामुनि आउनुपर्छ भन्ने रणनीतिमा नयाँ शक्तिहरू देखिन्छन्। अन्तर्राष्ट्रिय राजनीतिमा जस्तै राष्ट्रिय राजनीतिमा पनि अहिले ‘अलायन्स बिल्डिङ’ (गठबन्धन निर्माण) को चरम अभ्यास भइरहेको छ। तर, यो कतिपय अवस्थामा अतिवादतिर ढल्किने हो कि भन्ने डर पनि छ।
पुराना दलहरू कांग्रेस, एमाले, माओवादी बीच पनि यसअघि चुनावी गठबन्धन हुने गरेका छन्, उनीहरू पनि मिले भने के होला भन्ने प्रश्न पनि छ ।
तपाईंले नयाँ शक्तिहरू मिल्दा प्रतिक्रियाको रूपमा पुराना शक्तिहरू पनि मिले भने के होला भन्न खोज्नुभएको हो ?
पुराना दलहरूसँग बलियो संगठन छ। प्रतिक्रियाको रूपमा उनीहरू मिले के होला भन्ने प्रश्न मेरो दिमागमा छ । दलहरूमा रहेको नातावाद, कृपावाद र भ्रष्टाचारजस्ता अनेकौँ विकृति उत्कर्षमा छ । उनीहरूलाई एउटा सबक त सिकाउनै पर्नेछ । तर पुराना दलसँग विचारधारा छ । कांग्रेस, एमाले र माओवादीको आफ्नै राजनीतिक दर्शन छ। उनीहरूमा विचारधारात्मक अडानको ह्रास भए पनि विचारधारा छ । राजनीतिमा मानिसलाई जोड्न कि त करिश्मेटिक नेतृत्व चाहिन्छ कि त बलियो विचार। नेतृत्वको व्यक्तित्वमा ह्रास आउँदा पार्टी पनि संकटमा पर्छ, तर विचारले बाँधिएको पार्टीको ‘सस्टेनेबिलिटी’ (दिगोपना) लामो हुन्छ।
के नयाँ शक्तिहरूमा विचार र कार्ययोजनाको अभाव छ भन्न खोज्नुभएको हो?
अहिलेको मुख्य समस्या नै यही हो। नयाँ शक्तिहरूसँग पुराना दलहरूप्रतिको वितृष्णा त छ, तर उनीहरूलाई एउटै सूत्रमा बाँध्ने साझा विचार छैन। अहिले त वाक्कदिक्क भएका मतदाताले मत देलान् । तर, बहुदलीय लोकतन्त्रमा चुनाव जित्नु मात्र ठूलो कुरा होइन, चुनावपछिको व्यवस्थापन र शासन सञ्चालन एउटा विज्ञान हो, यो राजनीति मात्र होइन । नीति निर्माण गर्नुपर्यो, राजनीतिक भविष्यवाणी गर्नुपर्यो । यसमा एउटै दृष्टिकोण चाहिन्छ । सरकार चलाउन भिजन, मिसन र स्पष्ट नीति चाहिन्छ। राजनीति कला मात्रै नभएर विज्ञान पनि त हो । अहिले यी शक्तिहरूबीच भोलि सरकार बनाउँदा कसको भिजनमा चल्ने भन्नेमै ठूलो चुनौती देखिन्छ।
पुराना दलहरूमा विचार-सिद्धान्त र संगठन छ भन्नुभयो, तर ती विचार र संगठनले तदनुरूप काम गरिरहेको भए अहिलेको अवस्था आउँदैनथियो होला नि ?
हो, उनीहरूको विचार र संगठनले काम गरेको छैन । पुराना दलहरूको पतनको कारण पनि उनीहरूले आफ्नो विचारलाई व्यवहारमा उतार्न नसक्नु नै हो। तर, उनीहरूले सुध्रिन चाहे भने उनीहरूलाई एउटै सूत्रमा बाँध्ने एउटा वैचारिक आधार (जस्तै समाजवाद) छ नि त ! अहिले ४/५ जना पात्रले खत्तम गरेका हुन् । सही नेतृत्व आउँदा त्यो विचारले काम गर्न सुरु गर्न सक्छ । नयाँ शक्तिहरूमा भने त्यस्तो कुनै ‘प्रिकन्सिभ नोसन’ वा वैचारिक जग तयार भइसकेको देखिँदैन।
पुराना दलका शीर्ष नेताहरू सुध्रने छाँटकाँट त देखाइरहेका छैनन् नि ?
मैले अहिले तुरुन्तको कुरा गरेको हैन । वैकल्पिक शक्तिहरूले चुनाव जिते रे । त्यसपछि पनि उनीहरू सरकारमा जाँदा बहुदलीय लोकतन्त्रको वैज्ञानिक संरचना त चाहियो नि ! अहिले उनीहरूसँग त्यस्तो कुनै साझा विचार छैन । पार्टीमा एउटा भिजन, मिसन हुनुपर्छ । भोलि गएर समाजवादको सूत्र अनुसार हामी यो यो गर्छौं भन्ने अहिले यिनीहरूमा कुनै योजना छैन । उनीहरूले राम्ररी काम गर्न नसक्नु भनेको हामीलाई भार पर्ने कुरा हो यो पछि गएर ।
नयाँ शक्तिहरूबीच ध्रुवीकरण पछि सहकार्यको क्रममा नयाँ विचारधारा जन्मने सम्भावना कति छ ?
अहिलेको ट्रेन्ड हेर्दा यो ‘स्ट्रङ म्यान पोलिटिक्स’ जस्तो देखिन्छ। एउटा शक्तिशाली पुरुष पात्र (म्यासकुलिन फिगर) को पछि लाग्ने प्रवृत्ति देखिन्छ, जुन पूर्ण रूपमा लोकतान्त्रिक आचरण होइन। रवि, बालेन वा कुलमानका पछाडि लाग्नु आवेग त होला, तर यो समावेशी र संस्थागत लोकतन्त्रको हिसाबले कति परिपक्व छ भन्ने सोच्नुपर्छ। विश्वासघात गर्ने पुराना दलहरूलाई सबक सिकाउन यो ‘मोमेन्टरी’ (तात्कालिक) रूपमा त राम्रो होला, तर दीर्घकालीन रूपमा उनीहरूको दायित्वले हाम्रो टाउकोमा कस्तो भार पर्छ, त्यो विचारणीय छ।
आजै रक्षा बम लगायत जेनजी अगुवाले सहकार्यको लागि सैद्धान्तिक आधार खोजेको समाचार पनि आएको थियो । नयाँ पुस्ताले त एकतासँगै सैद्धान्तिक आधार पनि खोजिरहेको देखिन्छ नि ?
राजनीति बुझेको मान्छेले त्यो सोच्नु स्वभाविक हो। अहिले यी शक्तिहरू ‘पावर पाइ’ (सत्ताको भाग) मा मात्र केन्द्रित भएर एउटै क्षेत्रमा कसरी बाँडिने भन्नेमा अल्झिएका छन्। यदि उनीहरू साझा राजनीतिक दृष्टिकोण बिना सत्तामा पुगे भने फेरि त्यही अस्थिरता सुरु हुनेछ । पाँच महिना एउटासँग, पाँच महिना अर्कोसँग गठबन्धन। यसले बहुदलीय लोकतन्त्रलाई नै उपहासको विषय बनाउन सक्छ।
त्यसोभए नयाँ शक्तिहरूले कसरी अगाडि बढ्नुपर्छ ?
राजनीति भनेको कम्पनी खोलेर नाफा कमाउने ठाउँ होइन, यो ‘सर्भिस गिभिङ प्लेटफर्म’ हो। यहाँ प्रोफिट मेकिङ माइन्डसेट होइन, ‘ग्रेटर गुड’ (जनहित) को माइन्डसेट चाहिन्छ। नेपालमा राजनीतिलाई अर्थशास्त्रको चश्माबाट मात्र हेर्ने गरिन्छ, जहाँ लाभ र नाफा मात्र देखिन्छ। त्यसैले भ्रष्टाचार बढेको हो। नयाँ शक्तिहरूले साच्चिकै विकल्प दिने हो भने विचार, संगठन र नेतृत्वमा परिपक्वता देखाउनुपर्छ र सेवाको भावनासहित एउटा स्पष्ट वैचारिक सूत्रमा बाँधिनुपर्छ।
प्रतिक्रिया 4