+
+
Shares

कुलमानसँग किन रिसाए हर्क ?

‘जुनसुकै निर्णय हुँदा एक भएर जाने’ घोषणा गरेका ऊर्जा मन्त्री कुलमान घिसिङ र धरानका मेयर हर्क साम्पाङ बीचको सम्बन्धमा दुई वटा कारणले दरार आएको देखिन्छ ।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८२ मंसिर २२ गते ११:०३
जेनजी आन्दोलन लगत्तै कुलमान घिसिङको घरमा आयोजित पत्रकार सम्मेलनमा ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरानका मेयर हर्क साम्पाङले ऊर्जा मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै हेटौंडा हुप्राचौरमा लाइन नभएकोमा धन्यवाद दिएका छन्।
  • साम्पाङले घिसिङलाई देशी–विदेशी शक्तिले अघि सारेको आरोप लगाएका छन् भने उनेपाका नेता जीतराम लामाले त्यो मिथ्या आरोप भएको बताएका छन्।
  • अन्तरिम सरकार गठन र प्रतिस्पर्धी भावनाका कारण साम्पाङ र घिसिङबीच भेटघाट र सहकार्यमा समस्या आएको छ।

२२ मंसीर, काठमाडौं । धरानका मेयर तथा नवगठित श्रम संस्कृति पार्टी (श्रसंपा)का अध्यक्ष हर्क साम्पाङले शनिबार ऊर्जा मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै लेखे– ‘आज पनि हेटौंडा हुप्राचौरमा कार्यक्रम स्थलमा लाइन छैन, ऊर्जा मन्त्रीज्यूलाई धन्यवाद !’

त्यसको दुई दिनअघि साम्पाङले लेखेका थिए– ‘कुलमान घिसिङजी, भोजपुर गएँ लाइन काटिदिनुभो, ताप्लेजुङ गएँ लाइन काटिदिनुभो, संखुवासभा गएँ त्यहाँ पनि लाइन काटिदिनुभो, अब हेटौंडा जाँदैछु त्यहाँ नि काटिदिनु है ! एमसीसीलाई खुशी बनाउनु ! प्रभु शक्तिलाई खुशी पार्नु ल !’

यो विषयमा मन्त्री घिसिङको औपचारिक धारणा सार्वजनिक भएको छैन । उनी निकट उज्यालो नेपाल पार्टी (उनेपा) का नेता जीतराम लामा भने साम्पाङले मिथ्या आरोप लगाएको बताउँछन् । लामा भन्छन्, ‘उहाँको कार्यक्रमलाई लक्षित गरेर बिजुली काट्ने कुरा कल्पना पनि गर्न सकिंदैन ।’

फेसबुक स्टाटसमा मात्र होइन साम्पाङले भाषणमै घिसिङ लक्षित अभिव्यक्ति दिंदै आएका छन् । साम्पाङले आफूलाई रोक्न देशी–विदेशी शक्तिले घिसिङलाई अघि सारेको आरोप लगाउने गरेका छन् ।

मंसिर १७ गते उनेपाको घोषणा सभाकै दिन साम्पाङले घिसिङसँग मिलेर चुनाव लड्ने प्रस्ताव आएको तर त्यो सम्भावना नरहेको टिप्पणी गरे । काठमाडौंमा उनेपाको सभा चलिरहँदा उनले सुनसरीको बराहक्षेक्रस्थित चत्रघट्टीमा पुगेर गठबन्धन नहुने बताएका हुन् ।

गत भदौ अन्तिम साताको जेनजी आन्दोलन लगत्तै घिसिङ र साम्पाङले संयुक्त पत्रकार सम्मेलन गरेर ‘जुनसुकै निर्णय हुँदा पनि एक भएर जाने’ घोषणा गरेका थिए । घिसिङको घरमा पहिलो पटक पुगेका साम्पाङले त्यतिबेला भनेका थिए– ‘आफ्नो घरमा स्वागत गर्नुभएकोमा धन्यवाद, आगामी दिनमा मिलेर जान्छौं ।’

त्यसपछि साम्पाङ पटक–पटक घिसिङको घरमा पुगे । घिसिङ १४ मंसीरमा धरान पुग्दा भने साम्पाङले भेट दिएनन् । त्यही दिन घिसिङले काठमाडौंका मेयर बालेन्द्र शाहसँगको आफ्नो तस्बिर फेसबुक मार्फत सार्वजनिक गरे, ‘देश बनाउने अभियानमा हामी सँगै छौं’ भन्ने स्टाटस राखेर ।

‘हर्क साम्पाङले धरानमा भेट नदिएको प्रतिक्रियास्वरुप बालेनसँगको फोटो सार्वजनिक गर्नुभएको हो’, उनेपाका एक नेता भन्छन् । नाम उल्लेख गर्न नचाहने ती नेता साम्पाङले नेपाल सरकारको मन्त्रीलाई भेट नदिएर आधारभूत मर्यादा समेत पालना नगरेको बताउँछन् ।

कुनै बेला एउटै पार्टी बनाउने भनेर पटक–पटक छलफल गरेका घिसिङ र साम्पाङ भेटघाट नै नगर्ने अवस्थामा कसरी पुगे त ? यसका पछाडि मुख्य कारण दुई छन्– पहिलो, अन्तरिम सरकार गठनको सन्दर्भ र दोस्रो, प्रतिस्पर्धी भावना ।
पहिलो कारण खोतल्न जेनजी आन्दोलनको सेरोफेरोमा पुग्नुपर्ने हुन्छ । भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएकै दिन काठमाडौंका मेयर बालेनले फेसबुकमा लेखेका थिए— ‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।’

प्रतिनिधिसभा विघटन र वार्ता सेनापतिसँग गर्नुपर्ने उल्लेख गरेका बालेन अन्तरिम सरकारको प्रधानमन्त्री नबन्ने चर्चासँगै साम्पाङ सेनापतिलाई भेट्न धरानबाट काठमाडौं आइपुगेका थिए । प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटपछि प्रधानमन्त्री बन्ने आफ्नो सपना पूरा नहुने बुझेका उनले मेयर बालेनलाई गुहारे । ‘बालेनबाट पनि सहयोग नहुने देखेपछि बल्ल उहाँ कुलमानजीलाई भेट्न आउनुभएको थियो’, उनेपाका एक नेता भन्छन् । त्यसपछि पनि दुवै जना बीच एक भएर जाने समझदारी थियो ।

भदौ २६ गते ‘जेनजी नेपाल’ नामको समूहले निकालेको विज्ञप्तिले भने साम्पाङलाई झस्कायो । त्यसमा स्पष्ट रूपमा हर्क साम्पाङले सबैलाई नेतृत्व गर्न नसक्ने भएकाले कुलमानलाई प्रधानमन्त्री बनाउनुपर्ने उल्लेख थियो । विज्ञप्तिको चौथो बुँदामा भनिएको छ– ‘बालेन्द्र शाहले रुचि नदेखाउनुभएको, हर्क साम्पाङले सबैलाई नेतृत्व गर्ने सम्भावना कम भएको र सुशीला कार्की अयोग्य तथा ७० वर्ष उमेर माथिको हुनुभएकोले नेपाललाई लोडसेडिङबाट मुक्त गराउने, देशझक्त व्यत्ति, सबैले रुचाएको इन्जिनियर कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय भएको छ ।’

यस्तो विज्ञप्ति ‘जेनजी नेपाल’लाई घिसिङले नै निकाल्न लगाएको निष्कर्षमा साम्पाङ पुगेको श्रसंपाका एक पदाधिकारी बताउँछन् । उनी भन्छन्, ‘हाम्रो अध्यक्षज्यू प्रधानमन्त्री नबन्नुमा कुलमान फ्याक्टर महत्त्वपूर्ण रह्यो ।’

अन्तरिम सरकारको नेतृत्व पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले गरिसकेपछि साम्पाङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । घण्टौं कुर्दा पनि प्रधानमन्त्री कार्कीले ‘अपोइन्टमेन्ट नलिएर आउने कसैलाई भेट्दिनँ’ भनेपछि साम्पाङ थप निराश बनेको श्रसंपाका ती पदाधिकारी बताउँछन् ।

अन्तरिम सरकारमा नपर्ने निश्चित भएपछि बालेन र घिसिङ दुवै साम्पाङको आलोचनामा परे । उनेपा गठन भएपछि साम्पाङको आक्रमण घिसिङतर्फ सोझियो । साम्पाङले आफ्नो श्रसंपामा आउने अपेक्षा गरेका कतिपय नेताहरू उनेपामा लागेपछि घिसिङ माथिको आक्रमणले तीव्रता पाएको देखिन्छ ।

२०८१ वैशाखमा सम्पन्न इलाम–२ को उपनिर्वाचनमा साढे ११ हजार मत पाएका डकिन्द्रसिंह थेगिम तेस्रो स्थानमा आएका थिए । थेगिमको प्रचारमा मेयर साम्पाङ पनि पुगेका थिए । त्यही नाताले थेगिम आफ्नो पार्टीमा आउनेमा ढुक्क थिए । तर थेगिम लगायत नेताहरू उनेपामा लागे ।

श्रसंपाका महासचिव आरेन राई आफूहरूले खुल्ला हृदयले सहयोग गर्न खोज्दाखोज्दै घिसिङले धोका दिएको बताउँछन् । राई भन्छन्, ‘त्यतिबेला प्रधानमन्त्रीमा बालेनले म हुन्नँ भनेपछि हर्क साम्पाङको नाम आउनु स्वाभाविक हो, तर उहाँले कुलमानलाई सहयोग गर्दिनँ पनि भन्नुभएको थिएन ।’

उनेपाका एक नेता साम्पाङको अरूलाई अवमूल्यन गर्ने स्वभावले गर्दा कोशीका नेताहरू आफ्नो पार्टीमा संगठित भएको बताउँछन् । ‘एउटा उदाहरण दिन्छु, हर्कजीले उपनिर्वाचनमा म नगएको भए थेगिमको २२–२५ सय भोट कट्थेन भन्दै हिंड्नुभएछ’, ती नेता भन्छन् ।

थेगिम भने पटक–पटक प्रयास गर्दा पनि साम्पाङसँग सम्पर्क हुन नसकेपछि उनेपामा लागेको बताउँछन् । आफूहरू दुवै जना काठमाडौंमै भएका बेला पनि संवाद हुन नसकेको उनको भनाइ छ । थेगिम भन्छन्, ‘राष्ट्रिय सभामा आयोजित अन्तरधार्मिक सञ्जालको कार्यक्रममा थिएँ, त्यहींबाट जति फोन गर्दा पनि उहाँले उठाउनुभएन ।’

श्रसंपाका नेताहरू भने घिसिङ नियोजित रूपमै साम्पाङको पार्टीलाई कमजोर बनाउन लागेको बताउँछन् । स्थापित र शक्तिशाली पार्टीलाई भन्दा उनेपाका नेताहरूले नवगठित श्रसंपा र यसका अध्यक्ष साम्पाङलाई आलोचनाको केन्द्र बनाएको उनीहरूको भनाइ छ । एक नेता भन्छन्, ‘कुलमानजीले निर्वाचन आयोगमा दर्ता भएका १४३ मध्ये श्रम संस्कृति पार्टीलाई टार्गेट बनाउनुको पछाडि नियोजित कारण छैन भन्न सकिंदैन ।’

श्रसंपाका महासचिव आरेन राई आफूहरूले खुल्ला हृदयले सहयोग गर्न खोज्दाखोज्दै घिसिङले धोका दिएको बताउँछन् । राई भन्छन्, ‘त्यतिबेला प्रधानमन्त्रीमा बालेनले म हुन्नँ भनेपछि हर्क साम्पाङको नाम आउनु स्वाभाविक हो, तर उहाँले कुलमानलाई सहयोग गर्दिनँ पनि भन्नुभएको थिएन ।’

विद्युत् प्राधिकरणमा लामो समय बिताएका घिसिङले मन्त्री भइसक्दा पनि नेताको जस्तो व्यवहार देखाउन नसकेको महासचिव राईको आरोप छ । ‘पार्टी नै खोलेर राजनीति गर्छु भनेर आएका व्यक्तिले आलोचना सहने क्षमता पनि विकास गर्नुपर्छ’, उनी भन्छन् ।

लोडसेडिङ हटेपछि चर्चित बनेका घिसिङ र मेयर बनेर चर्चा आएका साम्पाङ दुवै आदिवासी जनजाति समुदायका हुन् । सर्पले सर्पको खुट्टा देख्छ भने जस्तै जनजातिले जनजातिको भोट काट्छ भनेर पनि एकले अर्काको विरोध गरेको हुनसक्ने जानकारहरू बताउँछन् ।

उनेपा र श्रसंपालाई सके एकता नसके मोर्चा चुनावी तालमेल गराउने प्रयास गरिरहेका एक अभियन्ता भने दुवै नेतामा राजनीतिक संस्कारको अभाव देख्छन् । उनी भन्छन्, ‘एकअर्कालाई जे–जे आरोप लगाए पनि मुख्य कुरा उहाँहरू दुवैमा राजनीतिक चरित्र देखिएन ।’

 

लेखक
सन्त गाहा मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?