+
+
Shares
दिनेशकुमार चौधरी हत्या प्रकरण :

‘टुनामुना’ लगाएको आरोपमा सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ

हरि अधिकारी हरि अधिकारी
२०८२ मंसिर २२ गते १२:१०

२२ मंसिर, विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलका दिनेशकुमार चौधरी सिटी सफारी चलाउँथे । उनी गाउँका चलेका धामी पनि हुन् । धामीझाँक्री उनको पार्टटाइम जस्तै काम थियो ।

गत असोज २५ गते साँझ करिब साढे ५ बजे रामधुनी–२ स्थित शिवनगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा सिटी सफारी चलाइरहेका बेला उनको गोली हानी हत्या भयो ।

करिब २ महिना लामो अनुसन्धानपछि चौधरीको हत्या योजनाबद्ध रुपमा भएको निष्कर्षमा प्रहरी पुगेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । मुख्य योजनाकारसहित तीन जना अझै फरार छन् ।

प्रहरीका अनुसार सुनसरी रामधुनी नगरपालिका १ झुम्काका ४३ वर्षीय राजु भन्ने राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरी राजविराज नगरपालिका– १६ का २८ वर्षीय अंकित साह र सोही पालिकाको वडा नम्बर ९ का २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका– ५ का ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज गाउँपालिका–५ का २५ वर्षीय मिथलेश यादव पक्राउ परेका हुन् ।

राजकिशोर र नन्दकिशोर दाजुभाइ हुन् । उनीहरु हत्याको सुपारी दिने मध्येका भएको प्रहरीले जनाएको छ ।

तीन लाख एडभान्स दिएर हत्या

अनुसन्धानका क्रममा हत्याको मुख्य कारण तन्त्रमन्त्र र टुनामुना नै देखिएको प्रहरीले बताएको छ । चौधरीले टुनामुना गरेर आफ्नो घरपरिवारको सदस्यलाई दु:ख दिएको भन्दै राजकिशोरसहितको समूहले हत्या योजना बनाएको देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार चौधरीको हत्याका लागि सुटरलाई ३ लाख रुपैयाँ एडभान्स दिएको पाइएको छ । घटनापछि थप साढे ३ लाख दिने सहमति थियो । घटनामा अन्य व्यक्ति पनि जोडिएका कारण थप विवरण खुल्न बाँकी रहेको उनले बताए ।

‘मृतक चौधरी धामी रहेछन्, ५–६ वर्षअघि विवाद हुँदा देखाइदिन्छु भन्ने धम्की दिएका रहेछन्, संयोग मान्नुपर्छ त्यसपछि परिवारका सदस्य विरामी भइरहने भएछ,’ डिएसपी खड्काले भने, ‘टुनामुना र तन्त्रमन्त्रकै कारण आफ्नो परिवारका सदस्य विरामी भएको शंकामा सुपारी दिएर हत्या गरेको देखिन्छ ।’

उनका अनुसार यो घटनामा प्रयोग भएको हतियार बरामद भएको छैन । अन्य संलग्न व्यक्ती फरार छन् । फरार व्यक्तिहरुको खोजी गरिरहेको र पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाएको डिएसपी खड्काले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?