
२५ असोज, विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा सिटी सफारी चालकको हत्या भएको छ ।
शनिबार साँझ साढे ५ बजे स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको हो । प्रहरीका अनुसार उनको छातीमा गोली हानेको जस्तो दाग छ ।
कर्मनिया टोलस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी रोकेर चालकलाई मोटरसाइकलमा आएको ३ जनाको टोलीले हत्या गरेको हो ।
सडकमा रोकेर राखेको सिटी सफारीबाट करिब २०० मिटर टाढा चालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए । सिटी सफारी चालक रक्ताम्य अवस्थामा लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानपछि चौधरीको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उनले बताए । हत्याको कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको उनले बताए ।
चौधरीको हत्यामा कुन हतियार प्रयोग गरिएको हो भन्ने विषय पोष्टमार्टमपछि मात्रै खुल्ने डिएसपी खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया 4