News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डीपी अर्यालले पुष्पकमल दाहाल \'प्रचण्ड\'लाई संसद्मा एकमात्र पूर्वप्रधानमन्त्री भनी सम्बोधन गरे।
- प्रचण्डले संसद्मा नयाँ, पुराना र आफूलाई तेस्रो प्रवर्गको नेता भन्दै कांग्रेस र एमालेसँगको विगत सम्झिए।
- संसद्मा प्रचण्डले प्रधानमन्त्री बालेन शाहलाई सर्वोच्च मर्यादापालक भएर बस्न सुझाव दिएका छन् र हार सहनुभन्दा जित पचाउन गाह्रो हुने बताए।
सभामुख डीपी अर्यालले आज मंगलबार सदन सञ्चालनका क्रममा पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वप्रधानमन्त्री भनी सम्बोधन गर्दा अलिक बेग्लै अनुभूति भयो । किनभने अहिलेको प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री भनेर सम्बोधन गरिनुपर्ने उनै प्रचण्ड मात्रै रहेछन् ।
अस्ति फागुनको चुनावी बाढीले त हो, पूर्वप्रधानमन्त्रीहरूको बगाल नै बगाएर लगेको । शेरबहादुर देउवा, बाबुराम भट्टराई र झलनाथ खनाल चुनाव लडेनन् । बाँकी पूर्वप्रधानमन्त्रीहरू, अनि प्रधानमन्त्रीका आकाङ्क्षीहरू नै चुनावमा हार्न पुगेका थिए । रुकुम-रोल्पाबाट सशस्त्र युद्ध थालेका प्रचण्डलाई संसद्मा आउन पनि रुकुमै पुग्नुपर्यो यसपल्ट ।
यसरी आजको संसद्मा सहभागी भएका प्रचण्डको उपस्थिति अनि सम्बोधनको थोरै चर्चा गर्न मन लाग्यो । उनले सुरुमै नयाँ र पुराना नेताबारेमा बोलेका टिप्पणी सुनिसकेपछि लाग्यो- अहिले संसद्मा तीन खालका नेता रहेछन् : नयाँ नेता, पुराना नेता र प्रचण्ड ।

प्रचण्ड किन तेस्रो प्रवर्गमा पर्न गए भने, उनी २०६४ सालको संविधानसभा चुनावमा जस्तो न त अहिले आफूलाई बिलकुलै नयाँ पार्टी, नयाँ नेता, नयाँ नेपाल भन्न सक्छन्; न त उनी कांग्रेस र एमालेझैँ पूर्ववत् मान्यताहरूको जमेर प्रतिरक्षा गर्न सक्छन् । उनले आफूलाई पुरानो नभन्न अपिल गरे, तर पुराना दिनहरूको मीठो सम्झना भने पटक-पटक गरिरहे । उनले नयाँ पार्टीको नाम नलिई अब आफूहरुले थालेको शान्ति प्रक्रियाका बाँकी कामको समेत जिम्मेवारी लिन अर्थपूर्ण अनुरोध गरे ।
संसद्मा आज बोल्ने यसै क्रममा प्रचण्डले कांग्रेस र एमालेसँगको सहयात्रा छाडेर केही वर्षअघि रास्वपासँगै प्रतिपक्षमा बस्नुपरेको विगत त नमज्जाले सम्झे । तर त्यसबेला संसद्को ३२ सिट मात्रै पाएका आफूलाई प्रधानमन्त्री बन्न सघाउने कांग्रेस र एमालेलाई भने मज्जाले बिर्से । प्रचण्डसँग म्याजिक नम्बर थियो, अब छैन । त्यसैले उनी यो संसद्मा करिब-करिब अभिभावक हुन बाध्य छन् । नत्र त सत्ता उनका लागि एक रोचक खेल हुने गर्थ्यो, जसका नियमहरू उनी स्वयंले तय गर्ने गर्थे । उनले पुराना भनेका पार्टीहरू कांग्रेस, एमाले इत्यादिलाई उनी चोरी औँलाको इसाराले नचाइरहन्थे, चाहे उनको शक्ति यसअघिका संसद्मा जत्रोसुकै किन नहोस् ।
उनको यो असाधारण क्षमतासँग कायल हुनेहरू भन्थे- डाइनामिक प्रचण्ड ! वाक्कदिक्क हुनेहरू भन्थे, सत्ता र शक्तिका लागि प्रचण्ड यतिसम्म अन्तर्विरोधमा खेल्न माहिर छन् कि, परिआए उनी आफ्नै नातिहरूलाई समेत आज राति हजुरबासँग को सुत्न पाउने भनी लडाइदिन सक्छन् ।
हुन पनि प्रचण्डले ०६४ यताका १९ वर्षमा पाँचपल्ट चुनाव लडेका छन् र पाँचैपल्ट क्षेत्र फेरेका छन् । भूमिगतकालमा समेत गरी उनले ५ पल्ट आफ्नो नाम फेरेका छन् । अनि आठवटा सत्ता गठबन्धन बनाएका छन् । गैरसंसदीय मोर्चा त कति बनाए, कति ! उनले खोलेको पार्टी र उनीसँग लडेका नेता सबैले उतारचढाव भोगेका छन् । केवल प्रचण्डको संसद् यात्रा मात्रै स्थिर छ, चाहे जुनसुकै अवस्था किन भोग्नु नपरोस् ।

संसद्मा प्रचण्डकै छेउमा बसे पनि सम्बन्धमा टाढा रहेका रामबहादुर थापा ‘बादल’ले उदास भएर भूपू सुप्रिमोलाई सुनेको देख्दा लाग्यो- राजनीतिमा कोही स्थायी शत्रु र मित्र हुँदैन । तर ‘फ्रेनेमीहरू’ चाहिँ हुन्छन्, बादल र प्रचण्डजस्तो । फ्रेनेमी अर्थात्, फ्रेन्ड एन्ड एनिमी । यो किनभने, कुन दिन फेरि नेकपा एकताको खबर हामीले सुन्नुपर्ने हो, हामी स्वयंलाई थाहा छैन ।
यति हुँदाहुँदै प्रचण्डले प्रधानमन्त्री बालेन शाहको उदयमा बधाई दिए । खुसी छु पनि भने । साँच्चिकै खुसी छन् कि छैनन् भन्नेमा चाहिँ आजको संसद् भाषण मात्रै सुनेर पुग्दैन । अस्ति वैशाख १७ गते रुकुम पुगेर उनी आफैँले स्थानीय पत्रकारहरूसँग भनेका थिए, ‘चुनावको परिणाम जस्तो आएको छ, त्यो पनि कयौँ ठाउँका रिपोर्टहरू सुन्दा सहज किसिमले आएको देखिँदैन । यसको अनुसन्धान अझै गहिरो रूपमा गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’
आज चाहिँ प्रचण्डले संसद्मा ती सीमान्त वर्ग, सुकुम्बासी, मधेसी र दलितको धुमधाम सम्झना गरे जसलाई बीचका वर्षहरूमा उनी स्वयंले उपेक्षा गरेका थिए । उनले नेपाल-भारत सीमा क्षेत्रमा प्रहरी प्रशासनको सास्ती भोगिरहेका नागरिकको अनुहार सम्झँदै सरकारलाई प्रश्न गरे, ‘गरिब र निमुखालाई सास्ती दिएर यो सरकारले राजस्व बढाउन सक्छ ?’
पूर्वप्रधानमन्त्री प्रचण्डले आज संसद्मा प्रधानमन्त्री बालेनलाई सर्वोच्च मर्यादापालक भएर बस्न सुझाए । उनले नै नटेरे सदनको गरिमा नरहने सम्झाए । आफूले कुनै बेला अत्यधिक भोट पाएर ‘भुइँमा न भाँडामा’ भएको विगतको तीतोमीठो साझा गरे । र, रवि लामिछानेतर्फ हेर्दै एउटा सर्वकालीन अर्थपूर्ण वाक्य बोले, ‘हार सहनुभन्दा जित पचाउन गाह्रो हुन्छ ।’
अनि त्यो वाक्य दुईपल्ट दोहोर्याए । अनि सुझावका रूपमा थपे- सङ्ख्या कहिल्यै स्थायी हुँदैन, न त जनताको समर्थन निःशर्त हुन्छ । त्यो हामीबाट सिक्नोस्, इतिहासबाट सिक्नोस् ।

प्रचण्डले डिजिटलाइजेसनका नाममा प्रविधिमार्फत ज्ञान र सूचनाको लोकतन्त्रीकरण हुन नसकेको, उल्टो बरु ‘डिजिटल डिभाइड’ खिचिन गएको स्वीकार गरे । अहिलेको आर्थिक प्रणालीले संरचनागत समस्याहरू हल गर्न सक्दैन भनेर ठोकुवा गरे । यो प्रणालीले किन सक्दैन भन्नेबारे कुनै व्याख्या गरेनन् । अनि आफूसमेतको अगुवाइमा यो प्रणाली निर्माण भएको यथार्थ पूरै छोपे ।
यसैबीच प्रचण्डले भने- श्रमिकहरूले आफ्नो हितको पैरवी गर्न पाउने व्यवस्थाका पक्षमा विश्वका कुनै पनि सरकारले छेको लगाएको छैन । आधुनिक लोकतन्त्रको मुख्य आत्मा भनेका ट्रेड युनियन नै हुन् ।
अन्तिममा यो पनि थपिहालौँ, प्रचण्डले संसद्मा बोल्दा कुनै बेला नारा-जुलुस, हुटिङ नै हुन्थ्यो । एक हातको ढ्यापढ्यापे तालीको त कुरै नगरौँ । तर प्रचण्डको पद मात्रै होइन, कद पनि खुम्चिँदै गएको छ । ताली बजाउने हातहरू घट्दै गएका छन् । उनले आफूहरू भुइँमा न भाँडामा भएको इतिहास बताउँदा नयाँ पुस्ताका सांसदहरूले हाँसेर सघाए, तर ताली बजाएनन् ।
यो नै नेपालको राजनीतिमा अहिले आएको परिवर्तन हो, जुन परिवर्तन प्रचण्ड स्वयंले चाहेका थिएनन् । यति कुरा बुझिसकेपछि अब हामी आफैँ खुट्याऔँ– खासमा प्रचण्ड नयाँ नेता हुन् कि पुराना ?
प्रतिक्रिया 4