+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares
बालिका अंशु गौतम हत्या प्रकरण :

५९ वर्षीय छिमेकीबाटै हत्या, भारत भाग्दा २ महिनापछि खुल्यो रहस्य !

मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया बालिका हत्या आरोपमा उनकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।

हरि अधिकारी हरि अधिकारी
२०८२ मंसिर २१ गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ प्रहरीले दुई महिनापछि १३ वर्षीया अंशु गौतम हत्या आरोपमा छिमेकी पदमबहादुर अधिकारीलाई पक्राउ गरेको छ।
  • पदमबहादुरले अंशुलाई जंगलमा जबरजस्ती करणी गरी हत्या गरेको र शव छाडेर सामान्य व्यवहार गरेको प्रहरीले खुलाएको छ।
  • पदमबहादुर भारतबाट फर्किएपछि पक्राउ परेका थिए र उनीमाथि बलात्कार र कर्तव्य ज्यानको अनुसन्धान अघि बढाइएको छ।

२१ मंसिर, विराटनगर। प्रहरीका लागि निकै चुनौतीपूर्ण बनेको अंशु गौतम हत्या प्रकरण दुई महिनापछि प्रहरीले सुल्झाएको छ ।

हत्याको दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित जिल्ला प्रहरी कार्यालय मोरङ समेतको टोलीले हत्याका अभियुक्त पहिचान गरी पक्राउ गर्न सफल भएका छन् ।

मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया बालिका हत्या आरोपमा उनकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

कञ्‍चनपुरकी बालिका निर्मला पन्तकै जस्तो बलात्कार र हत्या भएको तर अभियुक्त पहिचानमा प्रहरी असफल भएको भन्दै तीव्र आलोचना भएको थियो ।

घटनाको दुई महिनापछि बल्ल यो प्रश्नको जवाफ प्रहरीले परिणामबाट दिएको छ । बालिका बेपत्ता भएको दुई महिना र शव भेटिएको ४४ दिनपछि छिमेकी पदमबहादुर पक्राउ परेका छन् ।

घाँस काट्न गएकाहरूले ७ कात्तिकमा बेलबारी–चिसाङ साझेदारी वनभित्र शरीर क्षत–विक्षत अवस्थामा अंशुको शव फेला पारेका थिए ।

घटनापछि ३०० जना बढीसँगको अनुसन्धानपछि पदमबहादुरलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटवालले जानकारी दिए । उनका अनुसार मृतक बालिका र पक्राउ परेका अधिकारी छिमेकी हुन् ।

कसरी भयो हत्या ?

गत २१ असोजमा दिउँसो अंशु छिमेकी समेत रहेकी साथी युरिका महतरासँग नजिकै रहेको स्कूलमा खेलिरहेकी थिइन् । दिउँसो करिब ३ बजे बालिका खेलिरहेको ठाउँमा पुगेका पदमबहादुरसँग युरिकाले पैसा मागिन् । युरिकालाई ५ रुपैयाँ दिएर त्यहाँबाट पदमबहादुरले पठाए ।

त्यसपछि अंशु एक्लै भइन् । अंशुलाई पदमबहादुरले घाँस काट्न सघाइदिन भन्दै फकाए । पैसा दिन्छु भनेपछि उनी घाँस काट्न सघाउनका लागि तयार भइन् । दिउँसो करिब ४ बजे पदमबहादुर साइकलमा हँसिया र डोरी बोकेर जंगलतर्फ लागे । जंगलको छेउमा भेट्ने सल्लाह थियो । बालिका पैदल जंगल छेउ पुगिन् ।

त्यसपछि पदमबहादुरले उनलाई साइकलमा राखेर जंगलभित्र लिएर गए । प्रहरीका अनुसार जंगलभित्र सुनसान स्थानमा घाँस काट्दै गर्दा उनले बालिकालाई शारीरिक सम्बन्धका लागि प्रयास गरे । तर, उनले मानिनन् । नमानेपछि जबरजस्ती करणी गरे । ‘जबरजस्ती करणीपछि हातले घाँटी थिचेर हत्या गरे । घाँटी थिच्दा बालिकाको मृत्यु भयो । तर, उनलाई शंका लाग्यो । त्यसपछि हँसियाले घाँटी रेटेको खुलेको छ।’ एक अनुसन्धान अधिकृतले भने ।

बालिकाको हत्यापछि शव घटनास्थलमै छाडेर उनी सामान्य अवस्थामा जस्तै गरी घाँसको भारी लिएर घर फर्किएका थिए ।

पदमबहादुर घर फर्किए । तर राति अबेरसम्म अंशुको अत्तोपत्तो भएन । आफैंले हत्या गरेका अंशुलाई खोज्न उनै पदमबहादुर अघि सरे । बालिका हराएको भोलिपल्ट परिवारले खोजीका लागि भन्दै प्रहरीमा निवेदन दिएका थिए।

अघिल्लो दिन नै जंगलमा लगेर हत्या गरेका पदमबहादुरले पनि बालिका खोजीका लागि आफन्तलाई सघाइरहे । बालिका भेटिन्छन् भन्दै उनी खोजीमा सक्रिय थिए । परिवारलाई पनि सान्त्वना दिन्थे ।

१८ दिनपछि प्रहरीले बालिकाको शरीर छुट्टाछुट्टै स्थानमा फेला पारेको थियो । उनले लगाएको कपडा पनि छुट्टाछुट्टै स्थानमा थिए ।

‘घाँस काट्ने बहानामा लिएर गएका थिए, जबरजस्ती करणीको प्रतिकार गर्दा बालिकाको ज्यान नै गएको देखिन्छ।,’ मोरङ प्रहरी प्रमुख कटवालले भने ।

छोरा छुटे, बुवा पक्राउ

बालिकाले मोबाइल नबोक्ने र घटना अघि उनलाई देख्ने कोही नभएका कारण अनुसन्धान जटिल थियो । बालिकाको हत्या आरोपी खोज्ने क्रममा प्रहरीले आफन्तसहित १६ जनाको पोलिग्राफ जाँच गरेको थियो । छिमेकी र वृद्ध भएका कारण पदमबहादुर भने शंकाको घेरामै परेनन् ।

सुरुमा छिमेकी भएका कारण सामान्य सोधपुछ गर्दा स्कुलमा भेटेको पदमबहादुरले प्रहरीसँग बताएका थिए । त्यतिबेला युरिकालाई ५ रुपैयाँ दिएको पनि स्वीकारे । अंशुसँग गफ गरेर आफू घर फर्किएको बताएका थिए ।

प्रहरीले घाँस दाउरा लिनका लागि जंगल जानेहरूमाथि निगरानी बढायो । बालिकालाई चिन्ने र बुझ्ने मान्छेमाथि पनि अनुसन्धान गर्‍यो ।

घटनाको सुक्ष्म रूपमा अनुसन्धान गरेको प्रहरीले लेटाङ आउने–जाने मानिसको अवस्थाको पनि अध्ययन गर्‍यो । प्रहरी उपरीक्षक कटवाल अनुसन्धानका क्रममा सामाजिक प्रोफाइल नै तयार गरेको बताउँछन् ।

घटनाअघि र घटनापछि लेटाङमा सक्रिय रहेको मोबाइल नेटवर्कको पनि अनुसन्धान भयो । तर, सबै क्षेत्रबाट अनुसन्धान गर्दा कुनै क्लू फेला परेको थिएन । प्रहरीको अनुसन्धान साँघुरिंदै थियो । १९ कात्तिकमा पदमबहादुर घर छाडेर हिंडे । उनले घर छाड्नु भन्दा अघिल्लो दिन छोरा जेलबाट छुटेका थिए ।

प्रहरी उपरीक्षक कटवालका अनुसार पदमका छोरा सीताराम जबरजस्ती करणी प्रयास उद्योगमा सजाय भुक्तानपछि १८ कात्तिकमा घर फर्किए । ‘छोरा कैद भुक्तान गरेर छुटेपछि बुबाले तँ घर सम्हाल म कमाउन जान्छु भन्दै हिंडेको देखिन्छ’ उनले भने ।

छोरा फर्किएपछि भारत जानुअघि उनले परिवारका सबै सदस्यसँग सल्लाह गरेका थिएनन् । छोरालाई मात्रै सुनाएका थिए । घर छाडेर उनी मेघालय पुगे । त्यहाँ गाई फार्ममा काम गरेको बयान दिएका छन् ।

अनुसन्धानका क्रममा घरमा सल्लाह नगरी भारत गएको खुलेपछि प्रहरीले उनीमाथि शंका गरेको थियो । त्यसपछि आफन्तमार्फत् उनलाई बोलाउन लगाइयो । उनले नआउने बताएपछि प्रहरी टोली नै मेघालय जाने तयारीमा थियो । तर, आफन्तले फकाएपछि अधिकारी १८ मंसिर बेलुका घर फर्किए ।

भोलिपल्ट प्रहरीले ल्याएर अनुसन्धान सुरु गर्‍यो । सुरुमा आरोप अस्वीकार गरेका पदमबहादुरले पछि घटना स्वीकारे । घटनापछि उनले आफूलाई आत्मग्लानी भएको दाबी उनले गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

उनीमाथि बालिका बलात्कार र कर्तव्य ज्यानको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?