१६ मंसिर, विराटनगर । उज्यालो नेपाल पार्टी घोषणपछि राजनीतिक गतिविधि बढाएका कुलमान घिसिङले दुई दिन पूर्वी नेपालमा बिताए ।
ऊर्जा तथा भौतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङ सरकारी संरचनाको निरीक्षणका लागि आइतबार आएका थिए । निर्माणधीन आयोजनाको निरीक्षणसँगै दुई स्थानमा समर्थकसँग भेटघाट पनि गरे ।
आइतबार धरानमा भेटघाट गरेका उनलाई सोमबार मोरङको बेलबारीमा स्थानीयले स्वागत गरे । पार्टीको नाम उल्लेख नगरी आयोजना भएको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमको ब्यानरमा कुलमानको फोटो राखिएको थियो ।
दुई स्थानमा भेला भएका समर्थकलाई उनले नयाँ शक्तिहरू मिलेर जानुपर्छ भन्ने सन्देश दिए । उज्यालो नेपाल निर्माणका लागि साथ दिनपनि आग्रह गरे ।
आइतबार पूर्व आएका उनले सुरुमा विराटनगरको कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरे । काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई मजदुर थपेर कामको गति बढाउन निर्देशन दिए । त्यसपछि सुनसरीको चतरा पुगेर उनी धरानमा आयोजित भेटघाट कार्यक्रममा सहभागी भए । दिउँसो २ बजेका लागि भनिएको भेटघाटमा मन्त्री घिसिङ ढिलो पुगेका थिए ।
सोमबार बिहान बेलबारीमा रहेको आदीवासी जनजाति महासंघको भवनमा भेला भएका समर्थकलाई उनले करिब १२ मिनेट सम्बोधन गरे ।
घिसिङको कार्यक्रममा भेला भएका समर्थकहरू हर्क साम्पाङका पनि समर्थकहरू हुन् । उनीहरू उज्यालो नेपाल पार्टीका नेता डकेन्द्रसिंह थेगिमको पहलमा भेला भएका थिए । तर,हर्क साम्पाङलाई भेट्ने घिसिङको चाहाना भने पूरा भएन ।

बेलबारीमा आयोजित कार्यक्रमको अन्त्यमा उनलाई स्थानीय पत्रकारले चार वटा प्रश्न गरे । तीन वटा प्रश्नको जवाफ दिएका उनले अन्तिम प्रश्नको भने जवाफ दिएनन् ।
पहिलो प्रश्नको जवाफमा उनले फागुन २१ गतेको निर्वाचनका लागि बजेटको अभाव नरहेको बताए ।
रवि लामिछाने र बालेनसँगको एकताका लागि कस्तो पहल भइरहेको भन्ने प्रश्नमा उनले सबै वैकल्पिक शक्ति एक भएर अघि बढ्नुपर्ने बताए ।
मन्त्री हुँदै चुनाव लड्ने की छाड्ने भन्दै सोधिएको तेस्रो प्रश्नमा उनले राजनीति गर्ने व्यक्तिले चुनाव लड्ने बताए । विगतका अन्तरिम सरकारका मन्त्री, प्रधानमन्त्रीले राजीनामा नदिइ लडेको इतिहास रहेको उल्लेख गर्दै उनले भने,‘हामी चुनाव लड्ने बेलामा कुरा गर्छौं, त्यसको व्यवस्थापन गरेर अघि बढ्छौं ।’ उनको संकेत मनोनयन दर्ताअघि राजीनामा गर्ने थियो ।
चुनावपछि प्रधानमन्त्री को बन्छ तपाईं कि रवि लामिछाने भन्ने प्रश्नमा जवाफ नदिइ उनी मुस्कुराउँदै फर्किए ।
वैकल्पिक शक्ति एक ठाउँमा हुनुपर्छ
घिसिङले वैकल्पिक शक्तिहरू मिल्नुको विकल्प नभएको बताएका छन् । उज्यालो नेपाल निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाई थियो ।
‘देशको समृद्धिका लागि एउटा क्षेत्रको उज्यालोले मात्र सम्भव छैन, समग्र क्षेत्रमा उज्यालो ल्याउनुपर्छ,’ उनले भने,‘ सुशासनको उज्यालो, सामाजिक न्यायको उज्यालो, गरिबी हटाउने उज्यालो, रोजगारी सिर्जना गरेर विदेश जाने बाध्यता हटाउने उज्यालो र देशलाई समृद्ध बनाउने उज्यालो हामीले ल्याउनुपर्नेछ ।’
उनले काम गर्ने र जनताको विश्वास जितेका व्यक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए । ‘उज्यालो नेपाल भनेको बत्तीको उज्यालो मात्रै होइन, समग्र क्षेत्रमा समृद्धि र सुशाउन ल्याउने उज्यालो हो,’ उनले भने,‘उज्यालो नेपाल ल्याउनका लागि सहि व्यक्तिहरूको नेतृत्व आवश्यक छ, जनताले विश्वास गरेका र काम देखाएका व्यक्तित्वहरूको नेतृत्व आवश्यक छ ।’
देशको नेतृत्व गर्नका लागि अगाडि आउन पनि उनको आग्रह थियो । ‘मैले अब एउटा सेक्टरको नेतृत्व भन्दा देशको नेतृत्व हामीले पनि गर्नुपर्छ, हाम्रा युवा शक्तिहरूले युवा साथीहरू सबैले देशको नेतृत्व गर्नलाई अगाडि बढ्नुपर्छ,,’ उनले भने,‘ हामी नयाँ भनिने र वैकल्पिक शक्ति सबै साथीहरू विरोध गर्ने भन्दा पनि एकताबद्ध भएर अघि बढ्ने दिन आएको छ ।’
‘अबका दिनमा हामी एक भएर देशको परिवर्तनका लागि जुन मौका आएको छ, त्यसलाई सदुपयोग गरौं,’ उनले भने, ‘देशलाई उज्यालो बनाउन देशको समृद्धिका लागि सही व्यक्ति चुन्ने काममा तपाईंहरू अगाडि बढ्नुहोला ।’
तीन महिने सरकारसँग आस गर्न भन्दा त्यसपछि सही सरकार ल्याएर देशमा दीर्घकालिन परिवर्तन ल्याउने तर्फ अघि बढ्न आग्रह गरे ।
हर्क साम्पाङसँग भेट भएन
पूर्व आउँदा घिसिङले हर्क साम्पाङसँग भेट्न खोजेका थिए । धरानमा पुगेका बेला आइतबार भेट्न चाहेपनि धरान उपपमहानगरपालिकाको प्रमुख समेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भेट्न मानेनन् । आफू व्यस्त भएको भन्दै उनले समय नदिएका हुन् ।
उज्यालो नेपाल पार्टीका नेता धरान आएका बेला घिसिङले भेटघाट गर्न चाहेपनि मेयर साम्पाङको व्यस्तताका कारण सम्भव नभएको डकेन्द्रसिंह थेगिमले भेटघाट हुन नपाएको बताए । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले भने भेटघाटको प्रयासको विषयमा आफूलाई जानकारी नभएको बताए । वैकल्पिक शक्ति मिल्नु पर्ने पक्षमा आफूहरू रहेको बताउँदै उनले अध्यक्षको व्यस्तताले गर्दा समय नमिलेको हुनसक्ने बताए ।
धरान र बेलबारीमा समर्थकलाई भेटेपछि घिसिङले विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको निरीक्षण पनि गरे । राजमार्ग निर्माणको ठेक्का लिएका ठेकेदारले मन्त्री घिसिङसँग माटो र गिटी बालुवा नपाउँदा काम ढिलो भएको गुनासो गरे ।
ठेकेदारको कुरा सुन्दा मन्त्री घिसिङले अचम्म मानेका थिए । निर्माण सामग्रीका लागि वन मन्त्रालयसँग सहजीकरण गर्ने आश्वासन पनि दिए ।
दमक र झिलझिलेमा निर्माणाधीन संरचनाको निरीक्षणपछि उनी सोमबार दिउँसो भद्रपुर विमानस्थल हुँदै काठमाडौं फर्किएको उज्यालो नेपाल पार्टीका नेता डकेन्द्रसिंह थेगिमले जानकारी दिए ।
प्रतिक्रिया 4