९ मंसिर, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा खुलेको उज्यालो नेपाल पार्टीले रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेताहरूलाई भित्र्याउने तयारी अघि बढाएको छ ।
उज्यालो नेपाल पार्टी गठन हुँदा विगतमा नाउपामा आस्था राख्ने केही नेताहरु प्रवेश गरिसकेको उज्यालो नेपाल पार्टीका नेताहरूको दाबी छ । उज्यालो नेपालले नाउपासँग पार्टी एकता नगरी नेता कार्यकर्ता भित्र्याउने रणनीति बनाएको छ ।
उज्यालो नेपालका एक नेताले भने, ‘केही नेताहरू जोडिनु भएको छ । अरु नेताहरूसँग पनि कुराकानी भइरहेको छ ।’
उनका अनुसार नाउपाका प्रदेश र स्थानीय तहमा निर्वाचित नेताहरूसँग छलफल भइरहेको छ ।
गत निर्वाचनमा नाउपाबाट कैलालीस्थित टीकापुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित रामलाल डगौरा थारुले उज्यालो नेपालसँग छलफल भएको जानकारी गराए । डगाौराको दाबी अनुुसार, केही दिनभित्रमा उज्यालो नेपालसँग मिल्नका लागि टुंगो लाग्नेछ ।
उज्यालो नेपालका नेताका अनुसार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई भने भित्र्याउने पक्षमा उक्त दल रहेको छैन ।
उज्यालो नेपालका एक नेताले अनलाइनखबरसँग भने, ‘नयाँ दलमा अनियमिततामा मुछिएका व्यक्ति प्रवेश गरायौं भने हामी नयाँ भएको ठहरिन्न् । विवादमा परेका र भ्रष्टचारसँग जोडिएका पात्रलाई हाम्रो पार्टीमा स्थान हुँदैन ।’
अनुपकुमार उपाध्यायको नेतृत्वमा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भई मान्यता प्राप्त गरिसकेको छ ।
उज्यालो नेपालमा हाल केन्द्रीय सदस्यको संख्या ५१ सदस्यीय छ । उज्यालो नेपालले मंसिर १७ गते घोषणा सभा गर्ने जनाएको छ ।
प्रतिक्रिया 4