+
+
WC Series
पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
९० बलमा १५५ रन आवश्यक
कर्णाली याक्स 2025
47/1 (4.6)
Shares

हर्क साम्पाङको पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री

जेनजी पुस्तालाई सातामा तीन दिन मात्र पढ्न दिने र पाठ्यभार घटाउने ।

प्रदीप मेन्याङ्बो प्रदीप मेन्याङ्बो
२०८२ मंसिर १६ गते १७:३४

१६ मंसिर, सुनसरी । हर्कराज राई साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल श्रम संस्कृति पार्टीले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको घोषणा गरेको छ ।

दलको अवधारणा र एजेन्डाहरू सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले अवधारणा पत्र पढेर सुनाउँदै भने, ‘प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्दछ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नुपर्दछ । अनिवार्य श्रम र श्रमदाताको नीति र निरन्तर अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ विनास र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद ।’

सबै नागरिकलाई सबै खाले विकासमा श्रमदानमार्फत सक्रिय रूपमा जोडिने छ भन्ने अवधारणा सुनाउँदै अध्यक्ष साम्पाङले भने, ‘पहुँच र शक्तिको आडमा गरिने असमान र अन्यायपूर्ण विकासको वितरण अन्त्य गरिने र काठमाडौं केन्द्रित या शहर केन्द्रित विकासलाई गाउँ घर केन्द्रित बनाउनेछौं ।’

उनले हर्कवादलाई थप प्रस्ट्याउँदै यही देशको ढुंगा र माटोमा श्रम रोपेर देशको स्वाधीनता, सम्प्रभूता, समृद्धि, सुख र खुसीसहितको सुनौलो भविष्य फलाउने सूत्र पनि हर्कवाद नै भएको बताए ।

पार्टीको अवधारणापत्र अनुसार वैज्ञानिक कर लागु गर्ने जनाइएको छ । उक्त नीति अनुसार धनीबाट धेरै लिएर गरिबलाई बचाउने नीति लिने पनि उल्लेख  छ ।

यस्तै चेतना र देशभक्ति जागरणसहितको भौतिक विकास श्रमदानको विधिलाई प्रथामिकता दिन आवश्यक ऐन कानुन बनाउने पनि उल्लेख छ ।

धरान उपमहानगरपालिकाका मेयर समेत रहेका अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीको शासकीय स्वरूपबारे पनि अवधारणा सुनाए । बालिग मताधिकारद्वारा प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति हुने उनले बताए ।

साम्पाङको अवधारणाअुनसार राष्ट्रपतिले राजनीतिक क्षेत्र बाहिरको विषय विज्ञ या सांसद जसलाई पनि लिएर आफ्नो पायकको सरकार गठन गर्न पाउने छ । पाँच वर्षे पदावधिको राष्ट्रपति नै राष्ट्र र सरकार दुवैको प्रमुख रहने उनले बताए ।

साम्पाङले राष्ट्रपति र उपराष्ट्रपति एकै लिङ्‍ग र एकै जाति समुदायको नरहने (दलले उम्मेदवारी दिँदाको अवस्थामा तर चुनिँदा के हुन्छ, सो नतिजा अनुसार हुने पनि बताए ।

केन्द्रमा राष्ट्रपतिले सरकार गठन गर्दा समानुपातिक समावेशी किसिमको सरकार बनाउने र प्रदेशका मुख्यमन्त्रीसमेत स्थानीय सरकार चुनिए जस्तै प्रत्यक्ष निर्वाचित हुने पनि पार्टीको अवाधारणा रहेको उनले बताए ।

अवधारणा अनुसार राज्यको सबै अंगहरूमा आदिवासी, जनजाति, खसआर्य, मधेशी, दलित, मुस्लिम र अल्पसंख्यक सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने गरी समानुपातिक प्रतिनिधित्व गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगीकार गर्ने नीति रहेको पनि उनले बताए ।

साम्पाङको पार्टीले व्यवस्थापिका संघमा २ सदनात्मक र प्रदेशमा १ सदनात्मक व्यवस्थापिका रहने, संघीय व्यवस्थापिका अन्तर्गत राष्ट्र सभा सबै प्रदेशका समान प्रतिनिधित्व गर्ने गरी रहने र प्रतिनिधिसभा प्रदेशको जनसंख्याको अनुपातमा पूर्णसमानुपातिक प्रतिनिधत्व रहने  कल्पना गरेको छ ।

यसैगरी राज्यको कुनै धर्म नहुने तर व्यक्तिको धार्मिक आस्थाप्रति स्वतन्त्र रहने पनि पार्टीको अवधारणा पत्रमा उल्लेख छ । कसैले करकाप गरेर धर्म परिवर्तन गराउन नहुने, बाध्य नबनाउने, अन्यथा दण्डनीय मानिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

पार्टीको अवाधारणमा श्रम संस्कृति पार्टीको एजेन्डाहरूमा शासकीय स्वरूप, सार्वभौम र राजकीय सत्ता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीति, नागरिकता, व्यवस्थापिका, मौलिक हक एवं मानवअधिकार, लोकतान्त्रिक मूल्य र मान्यता, नागरिक सरकार र कार्यपालिका, प्रदेश सरकार संरचना, न्यायापालिका,  धर्मनिरपेक्षता र स्वतन्त्रता, बहुभाषिक नीति, आत्मनिर्णय, स्वशासन र स्वायत्तता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सुरक्षा प्रणलीलगायत बुँदाहरू रहेका छन् ।

श्रम संस्कृति पार्टीको अवधारणाअनुसार जेनजी पुस्तालाई उत्पादन, निर्माण र आविष्कारमा लगाउने, जीवनपयोगी शिक्षा पद्दति लागु गरी हप्ताको ३ दिन मात्र पढाउने व्यवस्था मिलाएर पढ्ने विषयवस्तु र कितावको संख्या, पाठ्यभार घटाउने नीति पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?