+
+
Shares

राजनीतिमा निष्ठाको खडेरी र कम्युनिस्ट नैतिकताको प्रश्न

नेता पद होइन, जिम्मेवारी हो । व्यक्तिगत महत्वाकांक्षा त्यागेर पुन: देश र वर्गका लागि त्याग गर्ने संकल्प गरेमा मात्र गुमेको जनविश्वास फर्काउन सकिन्छ ।

विश्वराज आचार्य विश्वराज आचार्य
२०८२ पुष ९ गते १०:१५

‘नेता’ यो शब्द सुन्नासाथ तपाईंको मनमा झ्वाट्ट के कुरा आउँछ ? सायद आम मानिसको मनमा सकारात्मकभन्दा नकारात्मक भाव बढी पैदा हुन्छ । म आफैँ पनि सानै उमेरदेखि राजनीतिमा होमिएको व्यक्ति हुँ । १२ वर्षको उमेरदेखि संगठनमा आबद्ध भई कम्युनिस्ट सिद्धान्त र रणनीतिक उद्देश्यको प्रशिक्षण लिँदै, माध्यमिक तहको अध्ययनपछि ‘मृत्यु या मुक्ति’ को कसम खाएर दीर्घकालीन जनयुद्धमा सहभागी भएँ । त्यस क्रममा कयौँ पटक गिरफ्तार भएँ । पाशविक यातना भोगेँ र लामो समय बेपत्ता जीवन बिताएँ । आज पनि म राजनीतिमा सक्रिय छु । मलाई चिन्नेहरुले एक ‘नेता’ भनेर चिन्छन् । ।

तर, विडम्बना ! आज सार्वजनिक ठाउँमा उभिएर ‘म नेता हुँ’ भन्न आफैँलाई धक लागेजस्तो हुन्छ । राजनीतिबाट समाजसेवा गर्छु भन्न पनि लाज लागेको अनुभूति हुन्छ ।

जब म जत्तिको वैचारिक पृष्ठभूमि भएको व्यक्तिमा यस्तो आत्मानुभूति हुन्छ भने, सामान्य कार्यकर्ताको मनोदशा के होला ? आम जनमानसमा नेताहरूप्रति नकारात्मकताको मात्रा कति होला ? कहिलेकाहीँ त यस्तो लाग्छ– आमाबुबाको चाहनाभन्दा ठूलो देशको आवश्यकता देखेर राजनीतिमा लाग्नु मेरो अपराध थियो र ? आफ्नो व्यक्तिगत इच्छा त्यागेर समाजका लागि नेता बन्नु मेरो कमजोरी हो ? आज म आफैँ यस्तो आत्मसंशयको अवस्थामा पुगेको छु ।

नेताप्रतिको धारणा नकारात्मक बन्दै जानुमा समाजको दोष हो कि हामी नेताहरूकै ? राजनीतिप्रति जनताको वितृष्णा बढ्नुमा जनता दोषी छन् कि हामी ? समाजका भ्रष्ट र विवादित व्यक्तिहरू राजनीतितर्फ आकर्षित हुनु राजनीतिको उपलब्धि हो कि समस्या ? यी प्रश्नहरूमाथि आज गम्भीर विमर्श आवश्यक छ ।

मेरो यो विषय उठान अलि निराशावादी वा शून्यवादी लाग्न सक्छ, तर यसको अर्थ म निराश भएको होइन । बरु, समाजको यथार्थ बुझेर जीवनलाई थप संघर्षशील बनाउने मेरो उद्देश्य हो ।

दुई विचारधारा र नेतृत्वको परिभाषा नेताप्रतिको बुझाइ उसले अंगीकार गरेको विचारधाराका आधारमा फरक हुन्छ । पूँजीवादी वा बुर्जुवा मान्यतामा नेता भनेको व्यक्तिगत क्षमता, लोकप्रियता, पूँजी, प्रचार र सत्तामा पहुँचका आधारमा उदाउने व्यक्ति हो । यहाँ नेतृत्व व्यक्ति–केन्द्रित हुन्छ । नेताले पूँजीको बलमा प्रतिस्पर्धा गर्छ र सत्ता व्यवस्थापनको कलाले सफल मानिन्छ ।

चुनाव जित्ने, बजार र सत्ताबीच सन्तुलन मिलाउने, आफूलाई आर्थिक र राजनीतिक रूपले बलियो बनाउने र विद्यमान प्रणालीलाई टिकाइराख्ने पात्र नै त्यहाँको नेता हो । त्यहाँ जनता समर्थक मात्र हुन्छन्, तर निर्णयहरू सत्ताधारी र पूँजीपतिको हितअनुसार निर्देशित हुन्छन् । उनीहरूका लागि राजनीति सबैभन्दा सरल र लाभदायक ‘व्यवसाय’ बनेको छ, जहाँ लगानी अनुसारको पद र पद अनुसारको प्रतिफल खोजिन्छ ।

यसको विपरीत, मार्क्स र एङ्गेल्सले प्रतिपादन गरेको कम्युनिस्ट सिद्धान्तले नेतृत्वको परिभाषा नै बदलिदियो । यसले राजनीतिलाई निरन्तर संघर्ष र समाज रूपान्तरणको माध्यम मान्छ । कम्युनिस्ट अवधारणामा सत्ता भनेको एउटा वर्गले अर्को वर्गमाथि अधिनायकत्व लाद्ने साधन मात्र होइन, बरु वर्गविहीन समाज निर्माणको औजार हो । यसका लागि जनताबाट सिक्ने र जनतालाई सचेत बनाउने नेतृत्व चाहिन्छ ।

पार्टी, नेता र सरकार जनतामाथि शासन गर्ने मालिक होइनन्, बरु सेवक र सहयोगी हुनुपर्छ । यही विचारको जगमा १९औँ र २०औँ शताब्दीमा विश्वभर क्रान्ति भए र यो दर्शन एक विज्ञानका रूपमा स्थापित भयो । तर आजको विडम्बना के हो भने, हामी दर्शनमा त मार्क्सवाद–लेनिनवाद भन्छौँ, तर व्यवहारमा त्यसकै विरुद्ध लागिरहेका छौँ ।

उपलब्धि र विचलनको अन्तरद्वन्द्व नेपालमा सामन्ती, पूँजीवादी र दलाल पूँजीवादी शक्तिहरूको विरुद्ध पटक–पटक ठूला आन्दोलन भए । ती आन्दोलनले महत्वपूर्ण राजनीतिक उपलब्धि र नयाँ नेतृत्व पनि जन्माए । तर, जब नेतृत्व सरकारमा पुग्यो, जनअपेक्षा अनुसार काम गर्न सकेन । जुन प्रवृत्तिका विरुद्ध हामीले रगत बगायौँ, सत्तामा पुगेपछि त्यही प्रवृत्ति दोहोर्‍याइयो ।

पूँजीवादी दलहरूका लागि सत्ता उपभोग मुख्य उद्देश्य हुनु स्वभाविक होला, तर हामी कम्युनिस्टहरूले सत्ताको परिभाषा त बदल्यौँ, तर आफ्नै व्यवहार बदल्न सकेनौँ । हामीले सिद्धान्त स्थापित गर्यौँ, तर व्यवहार स्थापित गर्न सकेनौँ । पुरानो संरचना भत्कायौँ, तर नयाँ राजनीतिक संस्कृति निर्माण गर्न सकेनौँ ।

प्रश्न उठाउने कार्यकर्तालाई शत्रु देख्नुको साटो हामीले आफ्नै ऐना हेर्नुपर्छ ।

यसैको परिणामस्वरुप आज नेपाली राजनीतिमा अराजकता र गाली–संस्कृति मौलाएको छ । नेतालाई गाली गरेर नेता बन्ने र दललाई गाली गरेर दल खोल्ने ‘पपुलिज्म’ हाबी भएको छ ।

पार्टीभित्रको आन्तरिक संकट आज हामी कम्युनिस्टहरूका लागि पनि चुनाव जित्नु नै अन्तिम राजनीतिक उद्देश्य र सत्ता प्राप्ति नै जीवनको लक्ष्य बनेको छ । अवसर पाउँदासम्म पार्टी ठीक, नपाउँदा नेतृत्व खराब देख्ने प्रवृत्ति बढेको छ । आलोचना सुन्ने क्षमता हामीमा हराएको छ, आत्मालोचना त धेरै टाढाको विषय भइसक्यो । आफूले चाहेको पद नपाउँदा पार्टी र संरचनालाई नै ध्वस्त पार्न खोज्ने व्यक्तिवादी सोच हाबी छ ।

हामीभन्दा सानै उमेरदेखि राजनीतिमा योगदान दिएका इमानदार कार्यकर्ताहरू आज पनि तलै छन् । उनीहरूको नजरमा नेतृत्वप्रतिको श्रद्धा क्रमश: हराउँदै गएको छ । कार्यकर्तामा यो धारणा स्थापित हुँदैछ कि नेताहरू व्यक्तिगत स्वार्थलाई सामूहिक स्वार्थमा विलीन गर्न सक्दैनन् । यसका लागि जनता वा कार्यकर्ता दोषी छैनन् । यसलाई केवल ‘बाहिरी षड्यन्त्र’ भनेर पन्छाउन मिल्दैन । प्रश्न उठाउने कार्यकर्तालाई शत्रु देख्नुको साटो हामीले आफ्नै ऐना हेर्नुपर्छ ।

अबको बाटो कठोर निर्णय र शुद्धीकरण हो । अब हामीले केवल ‘नेता’ बन्ने होइन, ‘कम्युनिस्ट नेता’ बन्ने आँट गर्नुपर्छ । हामीले अवसरको समानुपातिक वितरण गर्न सक्नुपर्छ । सहायक नेतृत्वको एउटा तप्का धम्की वा चाकडीका भरमा अवसर लिइरहने र अर्को तप्काले आफ्नो वर्ग नै भुल्ने अवस्था अन्त्य गर्नुपर्छ । मुख्य नेतृत्वले पनि धम्काउने र चाकडी गर्नेहरूको घेरालाई तोडेर अघि बढ्न ठोस प्रयत्न गर्नुपर्छ ।

पार्टीभित्रको अन्तरसंघर्षलाई व्यवस्थित नगरी वर्ग–संघर्ष जित्न सकिँदैन । अन्तरसंघर्षको पहिलो शर्त नै अवसरको न्यायोचित वितरण हो । त्यसका लागि मेरो विचारमा निम्न कुरा तत्काल गर्नुपर्छ–

१. पटक–पटक सरकारमा गइसकेका नेताहरूले अब नयाँ पुस्तालाई अवसर दिने घोषणा गर्नुपर्छ ।

२. पार्टीको मुख्य नेतृत्व सरकारमा जानु हुँदैन । सिनियर नेताहरूको टोलीले सरकारको अनुगमन, निर्देशन र नियन्त्रण गर्ने भूमिकामा बस्नुपर्छ ।

३. हाम्रो राजनीतिक एजेन्डा, शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे स्पष्ट र साहसिक निर्णय लिनुपर्छ ।

४. सरकारलाई व्यक्तिगत प्रतिष्ठा र उपभोगको विषय बनाउने प्रचलनको अन्त्य गरिनुपर्छ ।

यदि हामीले यी विषयमा निर्ममतापूर्वक निर्णय लिन सक्यौँ भने, निर्वाचन जस्तो वर्ग–संघर्षको मोर्चामा जनताले हामीलाई पुन: विश्वास गर्नेछन् । एकपटक नेता भएर जीवनभर नेता भइरहन सकिँदैन; जीवनभर नेतृत्व गरिरहने हो भने आफ्नो वर्गका लागि निरन्तर संघर्ष र त्याग गरिरहनुपर्छ । व्यक्तिगत महत्त्वाकांक्षा त्यागौँ र देशका लागि व्यक्तिगत स्वार्थको बलिदान गर्ने संकल्प गरौँ । जनताको विश्वास जित्ने यो नै एकमात्र मार्ग हो ।

– आचार्य नेपाली कम्युनिस्ट पार्टी दाङका युवा नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?