+
+
Shares

एप्पलको छलाङ, १४ वर्षपछि पुन: नम्बर वान बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १६:३५
Listen News
0:00
0:30
🔊

विश्वका दुई ठूला स्मार्टफोन ब्रान्ड सामसुङ र एपलबीच वर्षौंयता नम्बर–वान को बन्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । पछिल्ला वर्षहरूमा यो दौडमा सामसुङ अग्रस्थानमा रहँदै आएको भए पनि नयाँ तथ्याङ्कले चाहिँ २०२५ मा चित्र बदलिन सक्ने संकेत गरेको छ ।

ताजा बजार अनुसन्धानले विश्व स्मार्टफोन बजारमा एपल पहिलो स्थानमा उक्लिने सम्भावना बलियो देखाएको छ । काउन्टरप्वाइन्ट रिसर्चको पछिल्लो रिपोर्टअनुसार यो वर्ष सन् २०२५ मा एप्पल विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्रान्ड बन्ने सम्भावना छ ।

अमेरिकाजस्ता परिपक्व बजारसँगै चीनमा पनि आइफोन १७ सिरिजको बिक्रीले तीव्र गति लिएको छ । यसले आइफोनको वार्षिक विश्वव्यापी बिक्री १० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ, जबकि सामसुङका स्मार्टफोनको बिक्रीको यस्तो वृद्धिदर ४.६ प्रतिशतमा सीमित रहने प्रक्षेपण छ ।

रिपोर्टका अनुसार सन् २०२५ मा एपलको विश्वव्यापी बजार हिस्सा करिब १९.४ प्रतिशत पुग्न सक्छ । यसो भएमा सन् २०११ यता एप्पलले विश्व स्मार्टफोन बजारमा सामसुङलाई पछाडि पारेर विश्वकै नम्बर–वान ब्रान्ड बन्नेछ । नयाँ फोन फेर्ने ’अपग्रेड साइकल’ले बढायो माग काउन्टरप्वाइन्टका विश्लेषक याङ वाङका अनुसार स्मार्टफोन बजार नयाँ ‘अपग्रेड साइकल’मा प्रवेश गरिसकेको छ ।

सन् २०२३ देखि सन् २०२५ को दोस्रो त्रैमासिकसम्म करिब ३५.८ करोड सेकेन्ड ह्यान्ड स्मार्टफोन बिक्री भएका छन् । यी प्रयोगकर्ताहरू पहिले नै एपलका प्रयोगकर्ता रहेको हुँदा उनीहरूले नयाँ आइफोन किन्ने सम्भावना बढी छ । यही आधारले एपलको आगामी बिक्रीलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ ।

आगामी रणनीति: सस्तो आइफोन १७ ई र फोल्डेबल मोडेल काउन्टरप्वाइन्टले एपल सन् २०२५ मात्रै होइन, सन् २०२९ सम्मै शीर्ष स्थानमै रहन सक्ने अनुमान गरेको छ । यसमा मुख्य दुई कारण देखाइएका छन्—पहिलो, सस्तो मूल्यको आइफोन १७ ई ल्याउने तयारी र दोस्रो, आगामी वर्ष कम्पनीको पहिलो फोल्डेबल आइफोन सार्वजनिक हुनसक्ने संकेत । यी दुवै कदमले फरक–फरक उपभोक्ता वर्ग समेट्दै बजार फैलाउने रणनीति मानिएको छ । उता बजारमा महँगो मूल्यका अर्थात् प्रिमियम स्मार्टफोन सेग्मेन्टमा एपलको दबदबा झनै बलियो छ । सन् २०२४ को तथ्याङ्कअनुसार यस श्रेणीमा एपलको हिस्सा ६७ प्रतिशत थियो । यही सेग्मेन्टबाट विश्व स्मार्टफोन राजस्वको ठूलो भाग आउँछ, जसले एपललाई आर्थिक रूपमा थप बलियो बनाएको छ।

भारतीय बजारमा दबदबा भारत एपलका लागि सबैभन्दा तीव्र गतिले बढिरहेको बजारमध्ये एक बनेको छ । सन् २०२५ को तेस्रो त्रैमासिकमा एपल पहिलोपटक भारतका शीर्ष ५ स्मार्टफोन ब्रान्डभित्र परेको बताइन्छ । ‘भ्यालु–शेयर’ का हिसाबले सन् २०२४ मै भारतमा एपल नम्बर–वान बनिसकेको थियो, करिब २३ प्रतिशत बजार हिस्सा सहित । सन् २०२५ मा भारतमा एपल स्मार्टफोनको बिक्री १ करोड ४० लाख देखि १ करोड ५५ लाख गोटासम्म पुग्ने अनुमान छ, जुन झन्डै २५ प्रतिशत वार्षिक वृद्धि हो ।

सामसुङका लागि चुनौती, तर एन्ड्रोइडको वर्चस्व कायम स्मरण रहोस् विश्व स्मार्टफोन बजारमा बिक्रीमा हिसाबले सामसुङ वर्षौँदेखि अग्रस्थानमा रहँदै आएको ब्रान्ड हो । एपलको तीव्र प्रगतिका बीच पनि एन्ड्रोइड स्मार्टफोनका विश्वव्यापी प्रयोगकर्ता आधार भने अझै विशाल छ । बजारमा एन्ड्रोइड स्मार्टफोनको हिस्सा ७० प्रतिशतभन्दा बढी छ, र त्यसमध्ये सामसुङका स्मार्टफोन सबैभन्दा धेरै छन् । यसर्थ, ब्रान्डको हिसाबले एपल अगाडि बढ्न सक्छ; तर अपरेटिङ सिस्टमको स्तरमा एन्ड्रोइडको वर्चस्व अझै बलियो रहने देखिन्छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?