News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भेटिएका बेवारिसे बालक आदित्य राई कुनै समय जीवनयापनका लागि यौनकर्मी समेत बने।
- आदित्यले अनाथ आश्रममा यौन हिंसा र दुर्व्यवहार भोगे।
- रेनबो डिसएबिलिटी नेपाल संस्था स्थापना गरी अपाङ्गता र लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गरिरहेका छन्।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा एक बेवारिसे बच्चा भेटिए । उनको देब्रे हत्केला थिएन । सोही भागको कम्मरसम्म जलेको थियो । त्यो अबोध बच्चा जलन र पीडाले रोइरहेको देखिन्थ्यो ।
अस्पतालले बच्चाको अभिभावक खोज्यो, तर कोही पनि सम्पर्कमा आएनन् । उनकी आमाले अस्पतालसम्म ल्याएर उपचार गर्न नसकेपछि यत्तिकै छाडेर भागेकी रहिछन् । बच्चालाई एक सामाजिक संस्थामार्फत ललितपुरको जावलाखेलस्थित अनाथ आश्रमको जिम्मा लगाइयो । त्यहाँ पुग्दासम्म उनी को हुन्, के हुन् थाहा थिएन । उनको नाम पनि थएन ।
आश्रमले उनलाई नाम दियो, मीनबहादुर ।
त्यही मीनबहादुर नारकीय जीवन भोग्दै कसरी यौनकर्मी बन्न बाध्य हुन्छन् ? यौनकर्म झेल्दै कसरी आफू जस्तै पीडितहरूको हितमा आफूलाई समर्पित गर्छन् ? कसरी आफ्नो कहालीलाग्दो विगतमाथि टेकेर एक उदाहरणीय पात्र बन्ने होलान् ?
यहाँसम्म आइपुग्दा उनको कथा मात्र फेरिएन, नाम पनि । उनी आफैंले आफ्नो नाम राखे, आदित्य राई । सोही अनुसार नागरिकता पनि प्राप्त गरे । तर नागरिकतामा बुबा र आमा लेखिएको छ, पितृत्व नभएको, मातृत्व नभएको ।
उनी शारीरिक रूपमा सग्लो छैनन् । दुवै हात र खुट्टा जलेर विकृत बनेका, उचाइ पनि कम । यौनिकता– समलिंगी पुरुष (गे) । उनी आफूलाई ‘डबल मार्जिनलाइज्ड’ भन्छन्– अपांगता र यौनिक अल्पसंख्यक दुवै कारणले ।
आदित्यलाई आफ्नो जन्ममिति थाहा छैन । शिक्षकले ‘उमेर चार्ट’ बनाउन दबाब दिएपछि उनले सेप्टेम्बर ८ राखिदिए ।
अनाथालयको कठोर जीवन र हिंसा
अनाथालयमा उनको बाल्यकाल अन्य बालबालिकाको जस्तो भएन । उनलाई थाहा भएदेखि नै आश्रमको बसाइका अनुभवहरू सम्झिनलायक भएनन् ।
अन्य बालबालिकाले जस्तो दया, माया अनि परिवारको अनुभव कहिलै गर्न पाएनन् । परिवारको अत्तोपत्तो थिएन । उमेर बढ्दै जाँदा उनमा आएको स्वभावगत परिवर्तनले अरूको हेपाइ र दुर्व्यवहार झन् बढ्न थाल्यो । किनभने, शारीरिक रूपमा केटा भएर जन्मिए पनि उनको स्वभाव र हाउभाउ केटीको जस्तो हुन थाल्यो ।
विद्यालयबाट फर्किएपछि ठूला दाइहरूको लुगा धुनुपर्थ्यो, धोइसकेपछि मात्र खाजा खान दिन्थे । खाना कहिलेकाहीँ आधा पेट मात्रै हुन्थ्यो ।

जलेको हात र केटीको जस्तो हाउभाउ देख्दा साथीहरू उनीसँग हिँड्न मान्दैनथे । साथी भन्न नै लाज हुन्छ भन्थे । उनले अनाथ आश्रमका दाइहरू, साथीहरूदेखि विद्यालयका शिक्षकको समेत हेपाइ सहनुपर्थ्यो।
धेरैलाई महिला मात्र यौन हिंसाको शिकार हुन्छन् भन्ने लाग्न सक्छ, तर पुरुषमाथि पनि यौन हिंसा हुन्छ भन्ने एक उदाहरण हुन् उनी । अनाथाश्रमका दाइहरूबाट यौन शोषण र दुर्व्यवहार खेपेको पीडादायी अनुभव धेरै छन् आदित्यसँग ।
कक्षा १० सम्म करिब ९ जनासँग उनको जबरजस्ती सम्पर्क भयो । पहिला डरले चुप बसे । पछि बाध्यता र रहर दुवै मिसियो । उनी भन्छन् ‘त्यतिबेला सेक्स भनेको के हो, सहमति भनेको के हो थाहा थिएन । पछि थाहा पाएँ, त्यो यौन हिंसा थियो ।’
शिक्षकको हेपाइ र कुटाइ उनले नै बढी खानुपर्थ्यो । बास्केटबल खेल्न रुचाउने उनलाई शिक्षकले नै एक हात भएको केटी भनेर जिस्क्याउँथे । त्यो कुरा सम्झिँदा आदित्यलाई अझै पनि पीडा हुन्छ ।
पहिलो पटक आफूलाई चिन्दा
२०११ मा लाजिम्पाट क्षेत्रमा कक्षा १२ पढ्दै थिए । त्यही बेला ब्लू डायमन्ड सोसाइटीका साथीहरूसँग भेट भयो । पहिलो पटक सुने– ‘समलिंगी पुरुष’ भन्ने शब्द । बल्ल आफू को हुँ भन्ने थाहा भयो । त्यहीँबाट खुले उनी ।
करिब १२ वर्षअघि लैंगिक अल्पसंख्यक समुदायका मानिसहरूसँग परामर्श लिएपछि सन् २०१३ मा आफ्नो लैंगिक अस्तित्वको पूर्ण महसुस भयो । एउटा एफएम रेडियोमा अन्तर्वार्ता दिए । त्यसबेला उनी नेपालमा अपांगता भएका, समलिंगी पुरुष र अनाथ भएर खुलेका पहिलो व्यक्ति थिए ।
रेडियो सुनेर अनाथालयबाट फोन आयो ‘तिमी केटा होइन रहेछौ, अब छात्रवृत्ति दिन सक्दैनौँ, यहाँबाट निस्केर जाऊ ।’ लागु औषधको लत लागेका र विद्यालयले निकाला गरेका बालबालिकालाई राख्ने ठाउँ थियो, तर समलिंगी भएकै कारण उनलाई निकालियो ।
यौनकर्मीका रूपमा सडकमा निस्कँदा
कक्षा १० सकेपछि अनाथालयले निकालिदियो । १७–१८ वर्षको उमेरमा लाजिम्पाटको सडकमा उभिन थाले । यो उमेरमा उनमा सही र गलत छुट्याउने क्षमता विकास भइसकेको थिएन ।
यस्तो अवस्थामा उनले जीविकोपार्जनका लागि बाध्यतावश यौन पेसासमेत अपनाउनुपर्यो । २०१३ देखि २०१८ सम्म ५ वर्ष उनी पूर्ण रूपमा यौनकर्मी बने । ‘परिवार थिएन, कोही थिएन । शरीर बेचेरै बाँचेँ’ उनी बाध्यता सुनाउछन् ।

बिहान पढाइ दिउँसो एउटा संस्थामा जागिर, बेलुका ६ बजेदेखि बिहानसम्म सडकमा । कुर्ता–सुरुवाल लगाएर पछ्यौरा ओडी महिलाजस्तै सजिएर निस्कँन्थे । त्यही पैसाले पासपोर्ट बनाए, कलेज फि तिरे, कोठा भाडा तिरे । एकजना ग्राहकले दिएको ७ हजारले पासपोर्ट बनाएको अझै सम्झन्छन् उनी ।
परिवारको खोजी
नागरिकतामा न घरको ठेगाना थियो, न थर । तैपनि उनी परिवार खोज्न पोखरा गए । उनको परिवार पोखराको पेन्सन क्याम्प नजिक बस्थ्यो रे । बुबा बिजुलीको काम गर्थे। परिवार बुटवलबाट बसाइँ सरेर आएको रहेछ । घरमा आगो लागेपछि दाइ–दिदी लाखापाखा लागे । आमाले ‘जलेको बच्चा मर्छ’ भन्दै अस्पतालमा छाडेकी रहिछन् । त्यसपछि उनको परिवार नै विखण्डन भएको रहेछ ।
पढाइ र संघर्ष
२०१९ मा त्रिभुवन विश्वविद्यालयबाट स्नातक पास गरे त्यो पनि राम्रो अंक ल्याएर । दिउँसा एउटा संस्थामा जागिर, बेलुका सडकमा । सानो गिफ्ट शप खोले, चलेन । तैपनि हार मानेनन् । २०१९ को अन्त्यतिर समाजकार्यको किताबमा ‘कसरी संस्था दर्ता गर्ने’ भन्ने च्याप्टर पढे । उनलाई लाग्यो यो त सजिलो रहेछ ।
यौनकर्मीको रूपमा काम गरेर बचत गरेको पैसाले आधा तोलाको सुनको सिक्री बनाएका थिए । त्यही सिक्री बेचेर संस्था दर्ता गरे । नाम राखे ‘ रेनबो डिसएबिलिटी नेपाल’ ।
फ्रेन्च एम्बेसीले उनको उद्देश्य मन पराएर १० लाख दियो । त्यसैबाट काम सुरु भयो । अहिले मुख्य फन्डिङ अन्तर्राष्ट्रिय नै छ । नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यकसँगै अपाङ्गता भएकाव्यक्तिको मुद्दा उठाउने पहिलो र अहिलेसम्म एक्लो संस्था हो उनको ।
अन्तर्राष्ट्रिय पहिचान र अवार्डहरू
दोहोरो बहिष्करणलाई आदित्यले आफ्नो सबैभन्दा ठूलो हतियार बनाएका छन् । देशभित्र र आफ्नै समुदायबाट समर्थन नपाए पनि अन्तर्राष्ट्रियस्तरबाट साथ पाइरहेको उनी ठान्छन् । पछिल्ला दुई वर्षमा आदित्यले अन्तर्राष्ट्रियस्तरमा तीन अवार्ड प्राप्त गरिसकेका छन् ।

सन् २०२४ मा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ‘यूएनडीपी’ले उनलाई उदाउँदो नेताको अवार्ड प्रदान गर्यो । एसिया प्रशान्त क्षेत्रका ३५ देशका सामाजिक संस्थाहरूको सञ्जाल बैंककस्थित एपीसीओएमले उनलाई हिरो अवार्ड अन सोसल जस्टिसबाट पुरस्कृत गरेको छ । यस्तै उनको पहलकदमीको सम्मानस्वरुप रिह्याब्लिटेसन इन्टरनेसनल ‘आरआई’ ले पनि आरआई कन्टिनेन्टल पुरस्कार प्रदान गर्यो ।
यी तीन पुरस्कारले आफ्नो कामलाई सम्मान गरेको र अझै राम्रो काम गर्नुपर्छ भन्ने जिम्मेवारी पनि थपेको आदित्य बताउँछन् ।
बहाना मन पर्दैन
हामी सधैं बहाना मात्र बनाउँछौँ – म अपाङ्ग छु, म गरिब छु, म अनाथ छु । तर बहाना होइन, इच्छाशक्ति र ज्ञान चाहिन्छ’ आदित्य भन्छन्, ‘मैले पनि दुःख पाएँ, तर ज्ञानलाई प्रयोग गरेँ । त्यसैले आज म यहाँ छु ।’
उनका अनुसार समुदायभित्रै सबैभन्दा ठूलो विभेद हुन्छ । एउटै लिडरले सबैको आवाज बोक्न सक्दैन । त्यसैले आफ्नो जस्तो समस्या भएका व्यक्तिको आवाजलाई बाहिर ल्याउन आफैं अघि सरेर संस्था खोलेको उनी सुनाउँछन् ।
‘मलाई न नेपाल सरकारले हेरेको छ, न त समुदायले । म आफ्नै खुट्टामा उभिएको छु’ उनी भन्छन्, ‘अपाङ्ग भएको बहाना बनाएर म मागेर खान पनि सक्छु, सेक्स वर्क पनि गर्न सक्छु । तर मैले छानेको बाटो फरक छ ।’
एक दिन सरकार वा नेपाली समाजले पनि आफ्नो नाम लेओस् भन्ने चाहना छ उनको । एउटा अपाङ्ग, अनाथ, समलिंगी व्यक्तिले पनि यो देशमा केही गर्न सक्छ भन्ने सन्देश जाओस् भन्ने सोच छ । ‘बच्चादेखि कसैको माया पाइनँ । आज मेहनत देखेर कसैले एउटा माया, एउटा सम्मान देओस्’ आदित्य यसरी मनको इच्छा जाहेर गर्छन् ।
आदित्य राई एक्लै लडिरहेका छन्– न परिवार, न सम्पत्ति, न राम्रो पृष्ठभूमि । उनी आफैंले बनाएको एउटा संसार नेपालको समलिंगी र अपाङ्गता आन्दोलनको एक ठूलो सम्पत्ति बनेको छ ।
प्रतिक्रिया 4