+
+
Shares

संसारकै ‘उदार मालिक’, जो आफ्ना कर्मचारीलाई दिन्छन् कार र घर उपहार

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सावजी ढोलकिया, प्रसिद्ध भारतीय हीरा व्यापारी, आफ्ना कर्मचारीहरूलाई महँगा कार र घर उपहार दिएर उदारता देखाउँछन्।

उनी भन्छन्, मैले धेरै पढ्न सकिनँ । त्यही भएर आजकल दैनिक पढ्छु ।

बुढ्यौली उमेरमा पढ्ने उनको बानी त छँदैछ, त्योभन्दा बढ्दा उनी सफलता र त्यागका लागि छन् । उनी हुन्, सावजी ढोलकिया । प्रसिद्ध भारतीय हीरा व्यापारी र समाजसेवी । विशेषगरी उनी आफ्नो कम्पनी ‘हरि कृष्ण एक्सपोर्ट्स’का कर्मचारीहरूलाई दिइने उदार बोनसका कारण विश्वभर चर्चित छन् ।

उनी आफ्ना कर्मचारीहरूलाई सर्वोपारी ठान्छन् । उनीहरूलाई साधारण कामदारका रूपमा मात्र हेर्दैनन् । कम्पनीको वास्तविक मेरुदण्ड र परिवारको सदस्यझैं मान्छन् । व्यावसायिक साझेदार नै सोच्छन् । त्यसैले त कर्मचारीहरूमा अपनत्वको भावना जागृत गराउन उनले महँगा कार र घरहरू उपहार दिने परम्परा सुरु गरे ।

त्यो कदमका कारण कर्मचारीहरूले साँच्चै नै ढोलकियाको कम्पनीलाई आफ्नै घरजस्तै ठान्छन् । जसको नतिजा अनेकन् कोणहरूबाट समेत देखिसकिएको छ । कतिपयले उनलाई ‘संसारकै सबैभन्दा उदार साहु’ पनि भन्ने गर्छन् ।

व्यापारिक सफलताका अतिरिक्त सावी ढोलकिया वातावरण संरक्षण र समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । उनले गुजरातका सुख्खा प्रभावित क्षेत्रमा पानीको संकट समाधान गर्न ७५ भन्दा बढी तालहरूको निर्माण गराएका छन् । लाखौँ वृक्षारोपण अभियानको नेतृत्व गरेका छन् । सामाजिक सेवा र जल संरक्षणमा पुर्‍याएको यही विशिष्ट योगदानको कदर गर्दै उनलाई भारत सरकारले सन् २०२२ मा प्रतिष्ठित पद्म श्री पदकबाट सम्मानित गरेको थियो ।

तर, त्यो हैसियतमा सावजी ढोलकिया जसरी पुगे, त्यो आफैंमा कम्ता प्रेरणादायी छैन !

उनको सुरुआती जीवन अहिलेको जस्तो राम्रो थिएन । उनको जन्म अत्यन्तै सामान्य पृष्ठभूमिको घरमा भएको थियो । १२ अप्रिल १९६२ का दिन उनी गुजरातको अमरेली जिल्लाको धुधाला गाउँमा जन्मिएका थिए । परिवारको मुख्य आम्दानी खेतीकिसानी थियो । त्यसबाट आर्थिक अवस्था राम्रो बन्ने अवस्था पक्कै थिएन ।

गरिबीसँग उठेको थियो, उनको बाल्यकाल । र, त्यही गरीबीका कारण उनले औपचारिक शिक्षालाई समेत लामो समय निरन्तरता दिन सकेनन् । चार कक्षा नपुग्दै उनले विद्यालय छोड्न बाध्य हुनुपर्‍यो । त्यसबेला उनी जम्मा १३-१४ वर्षको थिए ।

पढ्न छाडेपछि उनी जीविकोपार्जनका लागि गुजरातको हीरा प्रशोधन केन्द्र सूरततर्फ लागे । एक्लै, खल्तीमा एक सुका पनि नभएको अवस्थामा उनी सूरत पुगेका थिए । त्यहाँ उनी आफ्ना काकाको हीरा व्यवसायमा संलग्न भए । त्यसबेला उनीसँग हीरा व्यवसायमा काम गर्नका लागि सीप पनि थिएन ।

आफ्नो गुजारा चलाउन उनले सकेजतिको सबै काम सिके । कारखानाको भुइँमा सुतेर पनि काम गरे । त्यति गर्दा पनि उनले काम नपाउने, पाए पनि ज्याला ढिलो पाउने जस्ता समस्या पनि भोग्नुपर्‍यो । यी चुनौतीका बाबजुद उनलाई परिवारको साथ, विशेष गरी उनकी आमाको, कहिल्यै पनि छुटेन । उनलाई आमाले सधैं परिश्रम, नैतिक आचरण, करुणाको महत्त्व सिकाइरहिन् । आमाको त्यही गुणका कारण उनले गरिबहरूलाई कहिल्यै पनि गरिब मात्र देखेनन् ।

त्यसरी अभावसँग लड्दै, भविष्यसँग डर मान्दैमान्दै सावजी ढोलकियाले सूरतमा आफ्ना काकासँग काम गरिरहे । हीराको व्यवसायका महत्त्वपूर्ण पक्षहरू, जस्तै निर्माण र विक्री, सिक्न लागि परिरहे ।

अलि पछि उनलाई भाइहरू हिम्मत र तुलसीले साथ दिए । र तीनै जना मिलेर सन् १९८४ मा आफ्नै हीरा व्यवसायको थालनी गरे । त्यसको केही वर्षपछि उनका कान्छा भाइ घनश्याम पनि जोडिन आइपुगे ।

त्यसपछि उनीहरूले सन् १९९२ मा मुम्बईमा हीरा निर्यात गर्ने कार्यालय खोले । त्यसै वर्ष चारै जना मिलेर हरि कृष्ण एक्सपोर्ट्स नामक हीरा कम्पनी औपचारिक रूपमा स्थापना गरे । त्यसबेला देखि उनीहरूले हीरा खोज्ने, त्यसलाई प्रशोधन गर्ने र विक्री वितरण गर्दै आइरहेका छन् ।

जसको सफलताको स्वाद उनीहरूले सुरुमै चाखे पनि । किनकि कम्पनी खोलेको अर्को वर्ष नै उनीहरूले करिब एक करोड भारु भन्दा बढीको कारोबार गरेका थिए ।

सन् २०१४ सम्म आइपुग्दा त उनीहरूको कम्पनी ९ हजार बढीलाई प्रत्यक्ष रोजगार दिने भइसकेको थियो । अनि देशकै प्रमुख हीरा निर्यात कम्पनी ।

स्थापनाकालदेखि नै हरि कृष्ण एक्सपोर्ट्सको सफलता व्यापार विस्तारमा मात्र सीमित रहेन । गुणस्तर, नैतिकता र दिगो विकासको मापदण्डसँग पनि यो कम्पनी जोडियो ।

जसको गतिलो उदाहरण त कम्पनीले कर्मचारीहरूलाई दिने कार, घर उपहार हो । यस्तो परम्पराको सुरुवात कम्पनीले सन् २००२ देखि थालेको थियो । जुन आजपर्यन्त कायम नै छ । त्यसबेला कम्पनीले पहिलो पटक वार्षिक कारोबार भारु १०० करोड कटाएको थियो ।

हालसम्म उनले कति गाडी, घर उपहारमा दिए, स्पष्ट तथ्याङ्क छैन । तर केही भारतीय सञ्चार माध्यमहरूका अनुसार सावजी ढोलकियाले सन् २०१४ मा ५०० कार, २०० फ्ल्याट, २०१५ मा १,२०० बढी कर्मचारीलाई घर/कार, २०१६ मा १२०० बढी कार र ४०० फ्ल्याट, २०१८ मा ६०० बढी कार दिएका थिए । बाहिर नआएका तथ्यांक त कति छन् कति !

सामान्य मालिकहरूभन्दा बिल्कुल फरक प्रवृत्तिका उनी अजीव लाग्छन् ।

एक फेर उनले धनको मूल्य र श्रमिकको कठिनाइ बुझाउन आफ्ना छोरा र भतिजाहरूलाई घरबाहिर निकालेका थिए, असाध्यै थोरै पैसा दिएर । केही सर्तहरू राखेर ।

उनीहरूलाई उनले आफ्नो नाम वा प्रभाव प्रयोग गर्न पूर्णरूपमा निषेध गरेका थिए । एक हप्ताभन्दा बढी एउटै ठाउँमा काम गर्न नपाउने निमय बनाइदिएका थिए । यी सब गर्नुको कारण, आफ्नो पछिल्लो पुस्ता पनि आफू जस्तै होउन् भन्ने थियो ।

कालान्तरमा त्यसको नतिजा पनि देखिएला । तर, कुनै कर्मचारीका लागि सावजी ढोलकिया जस्तो मालिक पाउनु सपनाकै कुरो हो । आखिरमा उपहार दिएर ढोलकियाले मनोवृत्तिमा लगानी गरेका न हुन् । र, एउटा कर्मचारीको अपेक्षा पनि आफ्नो कामको राम्रो मूल्याङ्कन न हो ।

 ती दुवैलाई मिलाउन उनले क्या जानेका । आखिर मालिक हुन् त यस्तो ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?