+
+
Shares

रुसले उपहार दिएको कलाकृति, जसले ७ वर्षसम्म अमेरिकाको जासुसी गर्‍यो

कलामार्फत जासुसी गरिएको यो पहिलो घटना थिएन । विशेषगरी पहिलो र दोस्रो विश्वयुद्ध ताका यसरी थुप्रै पटक एक देशले अर्काको जासुसी गरेका उदाहरण भेट्न सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते ७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो विश्वयुद्धको अन्त्यतिर रुसी 'बोइ स्काउट्स'ले मस्कोस्थित अमेरिकी राजदूतावासमा हातले कुँदिएको 'ग्रेट सिल' उपहार दिएका थिए।
  • 'ग्रेट सिल'भित्र रुसीहरूले गोप्य रूपमा 'द थिङ' नामक सुन्ने यन्त्र लुकाएका थिए, जुन सात वर्षसम्म अमेरिकी सुरक्षाकर्मीले पत्ता लगाउन सकेनन्।
  • सन् १९५१ मा बेलायती रेडियो अपरेटरले सोभियत रेडियो च्यानलमा अमेरिकी कुराकानीको आवाज सुनेपछि अमेरिकी प्राविधिक टोलीले 'ग्रेट सिल'भित्रको जासुसी यन्त्र फेला पारे।

आजभन्दा ८० वर्षअगाडि, दोस्रो विश्वयुद्ध रोकिन लागेको थियो । त्यसै छेकोमा रुसी ‘बोइ स्काउट्स’को एउटा टोलीले मस्कोस्थित अमेरिकी राजदूतावासमा हातले कुँदिएको एउटा कलाकृति उपहार दियो ।

त्यो अमेरिकी ‘ग्रेट सिल’ थियो । युद्धको समयमा रुस र अमेरिकाबीच भएको सहयोगका कारण दूतावासलाई ग्रेट सिल उपहार दिइएको थियो । जसलाई तत्कालीन अमेरिकी राजदूत डब्लु एभरेल ह्यारिम्यानले खुसीका साथ ग्रहण गरेका थिए । र, आफ्नो सरकारी निवास स्पासो हाउसमा गर्वका साथ झुन्ड्याएका थिए ।

तर रुसीहरूले त्यो सिलभित्र गोप्य रूपमा सुन्ने यन्त्र लुकाएका थिए । जुन कुरा सात वर्षसम्म अमेरिकी सुरक्षाकर्मीले थाहा पाउन सकेनन् । जब थाहा पाए, त्यसबेलासम्म रुसीले धेरै गोप्य कुरा थाहापाइरहेको थियो । पछि अमेरिकी प्राविधिक सुरक्षा टोलीले त्यस यन्त्रलाई ‘द थिङ’ उपनाम दियो । बेलायती गुप्तचर निकायले ‘स्याटाइर’ नाम दियो । प्रचलनमा भने ‘द थिङ’ नै बन्न पुग्यो ।

यसरी एउटा कलाकृतिमार्फत रुसले सात वर्षसम्ममा योप्य रूपमा कूटनीतिक कुराकानीको जासुसी गरेको घटना कुनै फिक्सनभन्दा कम छैन । यसमा कुनै पनि खतरा नबनाई रुसले अमेरिकालाई सजिलै झुक्याएको थियो ।

कस्तो थियो यन्त्र ?

‘द थिङ’को डिजाइन रुस अर्थात तत्कालीन सोभियत संघका आविष्कारक लियोन थेरेमिनले गरेका थिए । उनी थेरेमिन नामक इलेक्ट्रोनिक वाद्ययन्त्रको आविष्कारका लागि सबैभन्दा बढी चिनिन्छन् ।

‘द थिङ’ सरल भए पनि अत्यन्तै चलाखीपूर्ण तरिकाले बनाइएको थियो । यसमा ब्याट्री, तार वा कुनै विद्युतीय पाटपुर्जाहरू थिएनन् । जसले गर्दा अमेरिकन सुरक्षा टोलीले यन्त्रलाई पत्ता लगाउन नसकेका हुन् ।

यो यन्त्र ‘मेम्ब्रेन’ भनिने एउटा पातलो टुक्रा र सानो एन्टेना मिलेर बनेको थियो । यन्त्र निस्क्रिय हुन्थ्यो । त्यसलाई सक्रिय बनाउन नजिकै रहेको सोभियत संघको गोप्य स्टेसनबाट राजदूतको कार्यालयतर्फ बलियो रेडियो वेभ पठाइन्थ्यो ।

त्यही वेभले मात्र यन्त्र सक्रिय हुन्थ्यो । त्यसपछि राजदूतको कार्यालयमा कोही बोल्दा उनीहरूको आवाजका तरङ्गहरू कलाकृतिको पातलो काठबाट पार भएर द थिङको मेम्ब्रेनमा ठोक्किन्थे ।

जसले गर्दा मेम्ब्रेनमा कम्पन हुन्थ्यो । र त्यो कम्पन्नले द थिङबाट फर्किने रेडियो वेभहरूलाई परिवर्तन गर्थ्यो । त्यसपछि सोभियतका अधिकृतहरूले त्यो रेडियो वेभलाई यन्त्रमार्फत क्याप्चर गरेर सुन्थे ।

सरल तरिकाले भनौं- जम्मा २३ सेन्टिमिटर मात्र लामो यो यन्त्र आफैंले कुनै सङ्केत पठाउँदैन थियो । यन्त्रलाई बाहिरबाट नै नियन्त्रण गरिन्थ्यो । यसैले द थिङलाई आजको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रविधिको सुरुवाती रूप पनि मानिन्छ । जुन आज क्रेडिट कार्ड र की-फबहरूमा पाइन्छ ।

जासुसीको रूपमा कला

‘द थिङ’मा सोभियत संघ सफल भयो । यसमार्फत लामो समयसम्म महत्त्वपूर्ण जानकारी प्राप्त गर्नाले शीतयुद्धमा निश्चित फाइदाहरू भएको उसले बताएको थियो । तर यसले सुन्दर वस्तुहरू उपहार आउँदा सशङ्कित हुनुपर्ने अवस्था सिर्जना गर्यो ।

कलामार्फत जासुसी गरिएको यो पहिलो घटना थिएन । विशेषगरी पहिलो र दोस्रो विश्वयुद्ध ताका यसरी थुप्रै पटक एक देशले अर्काको जासुसी गरेका उदाहरण भेट्न सकिन्छ । जसमा कलालाई हतियार बनाइएको हुन्थ्यो ।

‘द थिङ’ले अझै लामो समयसम्म काम गर्न सक्थ्यो । तर एउटा संयोगका कारण यसको वास्तविकता पर्दाफास भयो ।

कसरी थाहा भयो ?

सन् १९५१ मा मस्कोस्थित बेलायती दूतावासमा एक बेलायती सैन्य रेडियो अपरेटरले काम गरिरहेका थिए । उनी संयोगवश सोभियत वायुसेनाको रेडियो च्यानलको फ्रिक्वेन्सीमा ट्युन हुन पुगे ।

उनलाई थाहा थिएन- तर सोभियतहरूले यही फ्रिक्वेन्सीलाई अमेरिकी राजदूतको कार्यालयतर्फ रेडियो तरङ्ग पठाउन प्रयोग गरिरहेका थिए । सामान्य दिनमा त्यो च्यानलमा कुनै आवाज आउँदैनथ्यो ।

तर त्यस दिन ती अपरेटरले सोभियत रेडियो च्यानलमा अमेरिकी कुराकानीको आवाज सुने । आवाज एकदमै स्पष्ट र नजिकबाट आएको जस्तो सुनिइरहेको थियो । उनी छक्क परे । र, तत्कालै आफ्ना अमेरिकी सहकर्मीहरूलाई यो अनौठो घटनाबारे जानकारी दिए ।

त्यसपछि तुरुन्तै अमेरिकी राज्य विभागले दुई प्राविधिक विशेषज्ञ (जोन डब्ल्यू. फोर्ड र जोसेफ बेजियन)लाई मस्को पठायो । त्यहाँ पुग्न साथ उनीहरूले राजदूतको निवासमा गोप्य जासुसी यन्त्रहरूको खोजी सुरु गरे ।

उनीहरूले सिग्नल जेनेरेटर र रिसिभर भएको एउटा विशेष उपकरण बनाए । त्यस उपकरणले विभिन्न फ्रिक्वेन्सीका रेडियोवेभ पठाउँथ्यो । र, कुनै यन्त्रबाट फर्किएको वेभलाई टिप्थ्यो ।

यो उपकरण लिएर उनीहरूले राजदूतको सम्पूर्ण कार्यालयको कोठा, फर्निचर र भित्ताहरूमा खोजी गरे । यन्त्र भेटिरहेको थिएन । तीन दिनको कठिन खोजपछि उनीहरूले अन्ततः राजदूतको डेस्क पछाडि झुन्डिएको अमेरिकाको काठको ‘ग्रेट सिल’बाट नै वेभ फिर्ता भइरहेको फेला पारे ।

त्यसपछि उनीहरूले ‘ग्रेट सिल’लाई जाँचे । त्यो क्रममा त्यसभित्र एउटा सानो यन्त्र लुकाइएको भेटिएको थियो ।

000

यद्यपि अमेरिकाले ‘द थिङ’लाई केही समय गोप्य राख्यो ।

तर सन् १९६० को मे महिनामा ‘यू टू’ नामक आफ्नो जासुसी विमानलाई रुसले खसालेपछि अमेरिकाले यो कुरा बाहिर ल्यायो । जसको एउटै उद्देश्य दुवै देशले एक-अर्कामाथि निगरानी गरिरहेको छ भनेर देखाउनु थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?