+
+
Shares
कभर स्टोरी :

तीन दशकदेखि भुटानको जेलमाः ‘फर्किंदा कसैले श्रीमती चिनेनन्, कसैका परिवार थिएनन्’

सन् १९९० को दशकमा आफ्ना नागरिकलाई लखेटेको भुटानले अझै ३२ नेपाली भाषीलाई झुटा मुद्दामा कारागारमा राखिरहेको छ । तीन दशकसम्म यातनापूर्ण सजाय भोगेका कतिपयको कथा सुन्दा जो–कोहीको आङ जिरिङ्ग हुन्छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ भदौ १३ गते १९:२९
बायाँः अझै भूटानको जेलमा रहेका बन्दीहरुको तस्वीर । (स्रोतः ह्युमन राइटस् वाच) बायाँः तीन दशकसम्म जेल बसेर छुटेका मधुकर मगर र २१ वर्ष जेल बसेर छुटेका मोनबहादुर राई । तस्वीरः अनलाइनखबर

१३ भदौ, काठमाडौं । सन् १९९० को दशकमा भुटानबाट सयौं नेपाली भाषी लखेटिंदा मधुकर मगर (२३) पनि परिवारसँगै देश छाडेर हिंडेका थिए । कालीखोलास्थित गाउँमा भएको जायजेथा छाडेर श्रीमती र सानो छोरा सहित उनी भारत हुँदै पूर्वी नाका काँकडभिट्टा आइपुगेका थिए ।

कन्काई नदी तटमा बसेका उनी बेलडाँगीस्थित सुपारी बगानमा मजदुरी गर्थे, जेनतेन परिवार चल्थ्यो । तर, झापा आएर बसेको करिब दुई वर्षपछि एउटा यस्तो घटना भयो, जसले उनको जिन्दगी नै एकाएक बदलिदियो ।

‘बुढीलाई गुवा (सुपारी) बगान हेरेर आउँछु भनेर बेलडाँगीतिर गएको थिएँ, त्यहाँ भुटानको गाउँमा पत्रिका बाँड्ने एउटा साथीसँग भेट भयो’ उनी सम्झन्छन्, ‘उसले पत्रिका बाँड्ने काम गर्ने हो भनेर प्रस्ताव गरेको थियो, गाउँ गएर खेतबारी बेचेर आउँ पनि भनेको थियो ।’

गाउँ छाडेर आएको धेरै भएको थियो, उनलाई आफ्नो ठाउँ कस्तो भयो भन्ने हेर्न मन थियो । ‘शायद उमेरले पनि होला, मलाई एकपटक गाउँ हेरेर आउँदा के होला र भन्ने भयो ! त्यहाँ बेच्न पाए अलिअलि भए पनि पैसा हुन्छ भन्ने भयो’ उनी भन्छन्, ‘ऊ धेरै पटक गाउँ गइसकेको थियो, उसलाई पनि साथी हुने भएकाले साथमै हिंडेको थिएँ ।’

पारि गएर उनी भारतको सीमा हुँदै कालीखोलातिर के पुगेका थिए, पट्रोलमा रहेका भुटानी सैनिकले एक्कासि समाते । सेनाले उनलाई एकैपटक भुटानको राजधानी थिम्पु पुर्‍यायो । तर, के कारण पक्राउ गरिएको हो भन्ने उनलाई कहिल्यै बताएनन् । न पक्राउ गर्दा कुनै कागजात नै दिए ।

‘केही बोल्नै दिएनन्, उनीहरूले चाहिं जे मन लाग्छ, त्यही गरे’ मगर सम्झन्छन्, ‘एकदिन जंगलमा लगेर सैनिक पोशाक लगाउन लगाए, बन्दुक निकाले र तस्वीर खिचे ।’

उनीहरूले भने अनुसार नगर्दा मन लागुञ्जेल कुटपिट गरिरहे । त्यस्तोमा भुटानी सुरक्षा अधिकृतहरूले भनेको मान्नुको विकल्प थिएन । त्यसबेला निर्वासनमा रहेका कतिपय नेपाली भाषी भुटानी नागरिकले लोकतान्त्रिक आन्दोलन थालेका थिए । त्यही कारण लखेटिएका नेपाली भाषी त्यहाँ पुग्दा उनीहरूलाई विद्रोही देखाउन त्यसो गरिएको हुनसक्छ ।

बेलडाँगी शरणार्थी शिविरमा मधुकर । तस्वीरः अनलाइनखबर

‘अदालतमा लैजानु अघि पनि तैंले होइन भनिस् भने फेरि सजाय थप्छु भन्दै धम्क्याउँथे । त्रासमा बोलेका कुराहरू रेकर्ड गर्थे’ मगरले सुनाए, ‘उनीहरूले भने जस्तो नगर्ने साथीहरूलाई अँध्यारो कोठामा एक्लै राख्थे । त्यो सम्झिने वित्तिकै उनीहरू जे भन्छन्, त्यही गर्न बाध्य भइन्थ्यो ।’

उनले पछि मात्र थाहा पाए, जे–जे बोल्न लगाएर भए पनि उनीहरू भुटानको राजतन्त्र विरुद्ध काम गरिरहेको छ भनेर पुष्टि गर्न खोज्थे ।

‘खासमा त्यो सबै गरेको त म सैनिक पोशाकमा बन्दुक बोकेर भुटान आएको हुँ भन्ने देखाउनलाई पो रहेछ’ उनी सम्झन्छन्, ‘ममाथि राजद्रोहको आरोप लगाइएको छ भन्ने पनि निकै पछि थाहा पाएँ ।’

एकपटक चिसो महिनामा नयाँ ज्याकेट बोकेर आएका भुटानका एक उच्च सुरक्षा अधिकारीले उनलाई आफूसँगै हिंड्न भने । त्यो व्यवहार उनलाई अनौठो लागिरहेको थियो । एकपटक सोचे, ‘छुटिंदै छ कि क्या हो !’ तर, घना जंगलमा पुर्‍याएपछि उनलाई गाडीबाट उत्रिन भनियो ।

‘मलाई ती अधिकारीले पेस्तोल दिए अनि बोकेर रूखको फेदमा बस्न भने, त्यही बेला उसले आफ्नो पेस्तोल पनि निकाल्यो’ उनले त्यो क्षण सम्झिए, ‘मलाई मार्न ल्याएको रहेछ कि क्या हो भन्ने भयो, एकदमै डराएँ । केहीबेरमा थाहा भयो, होइन रहेछ ।’

एकछिनमा उनीहरूसँगै आएका अधिकारीहरूले क्यामरा निकाले अनि तस्वीर लिए । विस्तारै उनले थाहा पाए, जब–जब मगर विरुद्ध प्रमाण अभाव हुन्छ जस्तो सुरक्षा अधिकारीहरूले ठान्छन्, त्यसबेला शुरुमा फकाउने अनि फर्जी प्रमाण बनाउने काम गर्दा रहेछन् ।

जिन्दगीका २९ वर्ष भुटानको जेलमा विताएका मगर दुई वर्षअघि थुनामुक्त भए । छुटेर शिविर आएपछि थाहा पाए– श्रीमती, छोराछोरी सबै तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत विदेश गइसकेछन् । म्यासेन्जरमा कुरा गर्दा उनले श्रीमतीलाई चिन्न सकेनन्, दुवैजना बेस्सरी रोए ।

‘फोटो खिचेपछि जब मलाई फेरि ज्याकेट खोल्न लगाए, बल्ल उनीहरूको चाल बुझें’ मगरले त्यो दिन सम्झिए, ‘यो सबै हुँदा म जम्मा २४ वर्ष जति थिएँ होला ।’

एकदिन अति भएपछि न्यायाधीशसामु आफूले सैनिक पोशाक नलगाएको र हतियार समेत नबोकेको उनले बताए । तर, अदालतबाट निस्किने वित्तिकै उनले त्यसको परिणाम भोग्नुपर्‍यो । उनलाई लिएर गएका पुलिसका डासो (हाकिम) ले फर्किने वित्तिकै नमज्जाले पिटे ।

न्यायाधीशले अदालतमा ती डासोलाई उभ्याएर केही प्रश्न सोधेका थिए, त्यही कारण रिसले चुर भएका उनले फर्किने वित्तिकै मधुकरलाई नराम्ररी पिटेका थिए । त्यसपछि सुरक्षाकर्मीको कुटाइबाट जोगिन उनीहरूले जे–जे भन्छन्, मधुकरले त्यही गरिरहे ।

पछि उनलाई भुटानी अदालतले आजीवन कारावासको सजाय सुनायो । १० वर्ष पुग्दासम्म त चेम्गाङ कारागारमा उनी दिनगन्ती गर्दै बसेका थिए । ‘जब एक दशक नाघिसक्यो भन्ने थाहा पाएँ, त्यसपछि मिति नै याद हुन छाड्यो’ उनले सुनाए, ‘अब जिन्दगी यत्तिकै रहेछ भन्ने भयो, कसैगरी निस्किन्न होला भन्ने पर्‍यो ।’

त्यसपछि उनले आफ्नै घर बिर्सिए, श्रीमती र अरू सदस्य बिर्सिए । ‘कहिलेसम्म सम्झिनु, जति सम्झियो, त्यति तनाव हुन्थ्यो’ उनी दुःख बिसाउँछन्, ‘एउटा विन्दुमा पुगेर सबैथोक बिर्सिंदो रहेछ ।’

पहिले उनले खासै अध्ययन गरेका थिएनन् । जब जिन्दगी नै त्यहीं बित्छ भन्ने भयो, उनले त्यहीं अक्षर चिन्ने गरी पढ्न थाले । ‘कम्तीमा के कागजमा सही गरायो, त्यो थाहा होस् भनेर पढ्न थालेको थिएँ’, उनी भन्छन् ।

जिन्दगीका २९ वर्ष भुटानको जेल बसेर मगर दुई वर्षअघि थुनामुक्त भए । त्यसपछि झापा आइपुगेका उनी बेलडाँगीमा बचेका केही शरणार्थीसँगै शिविरमा एक्लै छन् । शिविर आएपछि थाहा पाए– श्रीमती, छोराछोरी सबै तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत विदेश गइसकेका छन् । धन्न भाइ नरबहादुर चाहिं शिविरमा रहेछन् र उनी त्यहीं गए ।

‘भाइहरूसँग कुरा भएपछि श्रीमतीको फेसबुक आईडी थाहा पाएँ, एड गरेर कुरा गरेको त श्रीमतीलाई चिन्नै सकिनँ’ मगरले सुनाए, ‘अरूले श्रीमती उही हो भन्दा पो मैले हो र ! भनें । त्यसपछि दुवै जना बेस्सरी रोयौं ।’

दुई दशकमा उनले श्रीमतीको अनुहार नै बिर्सिसकेका थिए । आफ्नो अनुहार पनि फुंग उडिसकेको थियो । त्यसपछि चिन्ने कुरै भएन । ‘श्रीमती त बुढी भइसकिछे भन्ने लाग्यो’, उनी भन्छन् । त्यही बेला उनले आफू पनि ५७ वर्ष पुगिसकेको सम्झिए ।

‘यो उमेरमा मोटरसाइकल चलाउन सिकेको छु, यहीं दौडधूप गर्दै जिन्दगी कटिरहेको छ’ शरणार्थी शिविरमा भेटिएका उनले अनलाइनखबरसँग भने, ‘अहिले नेपालले न शरणार्थी परिचयपत्र दिएको छ, न परिवार नै यहाँ छन् । अलपत्र परिएको छ ।’

०००

अहिले झापाको बेलडाँगी शरणार्थी शिविरमा रहेका रामबहादुर राईको पृष्ठभूमि मधुकरको भन्दा झन् दर्दनाक छ ।

झण्डै ३१ वर्ष १० महिना भुटानी जेलमा थुनिएर १० जुलाई २०२४ मा नेपाल आएका रामबहादुर आफ्नो विगत सम्झँदा अझै भक्कानिन्छन् । राति पनि झस्किरहन्छन् ।

भुटानबाट निर्वासित भएर आएका उनी परिवार सहित झापाको शरणार्थी शिविरमा बसेका थिए । त्यसबेला भुटानले मानवअधिकार हनन गरेको भन्दै निर्वासनमा रहेका अगुवाहरूले पार्टी खोलेका थिए । थिम्पुको कदम विरुद्ध आवाज उठाइरहेका थिए । पहिले भुटानमा प्रशासनबाट भोग्नु परेका केही घटनाहरू थिए, जसका कारण उनलाई पनि त्यो विरुद्ध बोल्नुपर्छ भन्ने भयो ।

‘१० जून १९९४ मा अरू साथीहरूसँगै म मानवअधिकारको विषयमा पम्प्लेट लिएर भुटानतिर गएको थिएँ, तर सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी समेत भएका बेला मलाई घेरा हालेर समातियो’ उनी भन्छन्, ‘त्यसबेला भुटान सरकारको अत्याचारले चित्तै बुझ्दैनथ्यो । नेपालमा मानवअधिकारको विषय लिएर जाँदा केही गर्दैनन् भन्थे । त्यही कारण गाउँ गएको थिएँ ।’

तर, भारत–भुटान सीमा गेलेफुबाट पक्राउ गर्दा आफूलाई निकै यातना समेत दिइएको उनी सुनाउँछन् । ‘भारतको सीआरपी पनि थियो, अनि भुटानको प्रहरीले घेरा हाले समात्यो’ उनले अनलाइनखबरसँग भने, ‘राइफलको कुन्दाले हान्दा मेरो एउटा करङ्ग नै भाँचिएछ, त्यहाँबाट मलाई बेहोसी अवस्थामै लगेछन् ।’

एक हप्तापछि होश आउँदा आफूलाई अस्पतालमा पाएको उनी बताउँछन् । पछि प्रहरी र सैनिक अधिकारीहरूले उनलाई धम्क्याउँदै चेम्गाङ केन्द्रीय कारागारतिर लगे । डेढ वर्षसम्म त उनको मुद्दामाथि कुनै सुनुवाइ नै भएन ।

जब अदालतमा राजद्रोह सहित अनेक मुद्दा उनीमाथि लागे, उनले न्यायाधीशसामु प्रतिवाद गरे । पछि न्यायाधीशले लगाइएका आरोपमध्ये के–के वास्तविक होइन भन्ने बताउने समय दिए ।

रामबहादुर राई ।

उनका अनुसार, खासमा पहिले उनको पत्नीलाई भुटानका सैनिक अधिकारीले बलात्कार गरेका थिए । त्यो विषयमा आवाज उठाउँदा उनी स्वयम्ले कहिल्यै नसोचेको अभियोग खेप्नुपर्‍यो ।

‘मेरो श्रीमतीमाथि भएको अत्याचारबारे भुटानी नेता टेकनाथ रिजालले लेखेको किताबमा समेत उल्लेख छ’ उनले सुनाए– ‘तर, मैले अदालतमा त्यो विषय उठाउनासाथ मलाई नै बलात्कारको आरोप लगाइयो ।’

कतिसम्म भयो भने उनी पक्राउ परिसकेपछि गाउँघरमा भएका घटनामा समेत प्रतिवादी बनाइयो । ‘आखिर अदालत पनि भुटानको राजतन्त्रकै पक्षमा थियो, पछि मलाई एकपछि अर्को बलात्कार, चोरी जस्ता मुद्दा लगाइयो, तीमध्ये कतिपय घटना भएका बेला म उनीहरूकै नियन्त्रणमा थिएँ’ उनी भन्छन्, ‘त्यो सबै सुन्दा म मरेतुल्य हुन्थें, जिरिङ्ग हुन्थ्यो ।’

विस्तारै प्रहरीले मन लागेका जति मुद्दा उनीमाथि थोपर्न थाल्यो । ‘डेढ वर्षसम्म कुनै अभियोग नलगाएको प्रशासनले त्यसपछि मलाई कति केस चलाइरहेको छ भन्ने पनि थाहा पाउन छोडें’, उनी सम्झन्छन् ।

निकैपछि जेलमै रहेका बेला उनले श्रीमती वितेको खबर पाए, जेलमै छँदा बुबाआमा विते । ‘श्रीमती त पहिले भुटानमा भएको घटनापछि एकदमै विक्षिप्त थिई, डिप्रेसन जस्तो भएको थियो’ उनी सम्झन्छन्, ‘ऊ वितेको पनि मैले झण्डै एक/दुई वर्षपछि अन्तर्राष्ट्रिय रेडक्रस मार्फत मात्र थाहा पाएँ ।’

अहिले उनी थुनामुक्त भएर झापाको बेलडाँगी शरणार्थी शिविरमा छन् । तर, अझै सामान्य भइसकेका छैनन् । ‘सम्झिसक्दा आत्तिन्छु, कहिलेकाहीं अझै थुनामै छु कि जस्तो हुन्छ, झस्किरहन्छु’ उनले सुनाए, ‘भुटानमा सेनाको टर्चरले भाँचिएको दाँतको प्लेट फेरि लगाउने बेला भएको छ, दुखेर हैरान हुन्छु । के गर्ने केही सोच्नै सकेको छैन ।’

अहिले गुजारा चलाउन उनी फलाम कुटेर बसेका छन्, तर त्यसबाट समेत छाक टार्नै मुश्किल पर्छ । शिविरबाट बाहिर गएर केही गर्नलाई उनीसँग परिचयपत्र समेत छैन ।

०००

भुटानका मोनबहादुर राई पनि अहिले शिविरमा एक्लै छन् । गाउँमा रहेको खेत बेचेर आउँछु भन्दै शरणार्थी शिविरबाट सन् १९९६ सेप्टेम्बरमा हिंडेका उनी दुई दशक भुटानी जेलमा थुनिए ।

श्रीमती, तीन छोराछोरी, आमा र भाइबहिनी झापाको शरणार्थी शिविरमा एक्लै भए । उनले आफू पक्राउ परेर कारागारमा रहेको सन्देश समेत उनीहरूलाई पठाउन पाएनन् । करिब २१ वर्ष बसेपछि सन् २०१७ मा उनी थुनामुक्त भएर त आए, तर त्यसबेला पहिलेको शरणार्थी शिविर विरानो भइसकेको थियो ।

कतिपय आफन्त तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत विदेश गइसकेका थिए । उनी शरणार्थी शिविरमा आइपुग्दा संयुक्त राष्ट्रसंघको पहलमा भएको भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रम बन्द भइसकेको थियो ।

अहिलेसम्म प्रशासनले उनलाई भुटानी शरणार्थी परिचयपत्र समेत बनाइदिएको छैन । खासमा नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गर्ने गिरोहका कारण राई जस्ता सक्कली शरणार्थीले दुःख भोग्नु परिरहेको छ ।

‘अहिले विदेश गएका परिवारसँग पनि कुरा हुँदैन, फेसबुकमा पनि देख्दिनँ’ राई दुःख पोख्छन्, ‘परिचयपत्र नहुँदा यहाँ पनि कतिञ्जेल बस्न पाइने हो, टुंगो छैन ।’

राईका अनुसार, उनी गाउँ फर्किंदा भुटान पिपुल्स पार्टी (बीपीपी) सँग जोडिएका केही व्यक्तिहरू पनि गाउँ पुगेका थिए । ‘उनीहरू पार्टीसँग जोडिएका थिए, तर मलाई पार्टीबाजी गर्‍यो, राजा विरुद्ध काम गर्‍यो भन्दै थुने’ उनी आक्रोशित सुनिन्छन्, ‘पार्टीमा टेकनाथ रिजालहरू थिए, म यत्रो समय विना अपराध बस्नुपर्‍यो ।’

उनले नाम लिएका भुटानी अधिकारवादी नेता रिजाललाई समेत भुटानले झापाको बिर्तामोडबाट लगेको थियो । तत्कालीन पञ्चायती सरकारले पक्राउ गरेर सुपुर्दगी गरेपछि उनी भुटान लगिएका थिए । १० वर्ष कारागार राखेर छाडिएका त्यसबेलाका चर्चित नेता रिजाल पछि नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत मुछिए ।

राई चाहिं अहिले आधा जिन्दगी बितिसकेपछि शिविरमा फर्किंदा आफूलाई ‘बेटुंगो’ अवस्थामा रहेको मानिस भन्छन् । ‘न गृहस्थी चल्यो, न कागजात छ । शिविरबाट निस्किन सक्ने स्थिति छैन’, उनी भन्छन् ।

शिविरका फुर्सदिला दिनहरूमा कहिलेकाहीं साथीभाइसँग उनी विगतको समीक्षा गर्छन् । ‘खासमा मेरो समूहमा भएका केही साथी फौजी पाराका पनि थिए, तर मैले कहिल्यै कसैलाई हात लगाइनँ’ उनी भन्छन्, ‘अरूले गरेको कामको सजाय मैले पाएँ ।’

०००

मधुकर, रामबहादुर र मानबहादुरको जिन्दगीको सक्रिय समय भुटानको जेलमै वितेको छ, जिन्दगीको उत्तरार्धतिर उनीहरू शिविरसम्म आइपुगेका छन् । तर, रामबहादुरका अनुसार, उनीहरू जस्तै कैयौं नेपाली भाषी भुटानी नागरिक झुटा अभियोगमा अझै जेल जीवन बिताइरहेका छन् ।

‘मेरै समूहमा २३/२४ जना नेपाली भाषी थिए, अरू थुप्रै मानिस अझै पनि जेलमै छन्’ राई भन्छन्, ‘तर भुटान सरकार सुन्ने पक्षमा छ जस्तो लाग्दैन ।’

सन् १९८८ मा भएको भुटानको जनगणनाले नेपाली भाषीको जनसंख्या बढेर ४० प्रतिशत पुगिसकेको देखाएको थियो, त्यसबेला नेपाली भाषी ल्होत्साम्पाहरू राजनीतिक रूपमा पनि सक्रिय हुन थालेका थिए ।

भुटानका ड्रुक समुदायको जनसंख्या वृद्धिदर भने नेपालीभन्दा कम थियो । यसपछि भुटान सरकारले ‘एक भाषा, एक भेष’को नीति लिंदै नेपाली समुदायलाई भुटानी संस्कृतिमा लैजाने प्रयास गर्‍यो ।

नेपाली भाषाको अध्ययन–अध्यापनमा रोक लगाइयो भने भुटानी राष्ट्रिय पोशाक लगाउन अनिवार्य गरियो । त्यसबेला तत्कालीन भुटानी राजाका सल्लाहकार समेत रहेका टेकनाथ रिजालले यो सरकारी कदमको विरोध गरेका थिए ।

दक्षिण भुटानको लामिडाँडा क्षेत्रबाट चुनाव जितेर रिजाल जनप्रतिनिधि समेत बनिसकेका थिए । यस्तोमा उनी सहितका अधिकारकर्मीहरूको नेतृत्वमा भुटानी राज्यको नीतिको विरोधमा प्रदर्शन शुरु भयो ।

पछि भुटानी राजतन्त्रात्मक शासनले देशद्रोहको आरोपमा नेपालीलाई पक्राउ गर्दै नेपाली मूलका मानिसहरूको नागरिकतालाई फर्जी घोषणा गरिदियो । त्यसपछि नेपाली भाषी विस्थापित भएर हिंडेका थिए ।

तत्कालीन भुटानी राजा जिग्मी सिङ्गे वाङ्गचुकले ९ डिसेम्बर २००६ मै छोरा जिग्मे खेसार नाम्ग्याल वाङचुकलाई शासन हस्तान्तरण गरिसकेका छन् । भुटानी नेता बलराम पौड्यालको पुस्तक पर्दा पछाडिको भुटानमा उल्लेख भएअनुसार वर्तमान भुटानी राजा काठमाडौंको थापाथली अस्पतालमा जन्मिएका थिए ।

‘तेस्रो रानी छिरिङ याङ्डोनको गर्भमा छोरा भएको जानकारी पाएपछि राजा जिग्मी सिङ्गेले भारत र भुटानका अस्पतालहरूमा बच्चा जन्माउन असुरक्षित महसुस गरे’ पुस्तकमा भनिएको छ, ‘त्यसपछि प्रसव समयअघि नै उनले रानीलाई नेपालको प्रसूति अस्पतालमा पुर्‍याएका थिए ।’

नेपालसँग नाता गाँसिएका राजा जिग्मीले पछि हिन्दु धर्मलाई समेत प्राथमिकता दिएको विवरण किताबमा उल्लेख छ । यस्तो पृष्ठभूमिका भुटानी राजाले २१ मंसिर २०८१ मा काठमाडौं भ्रमण गर्दा भुटानमा लामो समयदेखि रहेका राजबन्दी र बाँकी रहेका केही मुद्दामा आवाज उठाउन उपयुक्त थियो भन्ने भुटानी अधिकारवादीहरूलाई लाग्छ ।

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक ।

शायद त्यही विषय उठ्ने आकलनका कारण हुनसक्छ, उनले आफ्नो भ्रमणलाई अनौपचारिक बनाए । यद्यपि, परराष्ट्रमन्त्री आरजु राणा आफैं उनलाई लिन विमानस्थल पुगेकी थिइन् ।

‘नेपाल र भुटानबीच लामो समयदेखि रहेको एउटा मुद्दा हो, त्यस्तोमा मानवतासँग समेत जोडिएको विषयमा नेपालले आवाज उठाउनुपर्थ्यो’ भुटानी राजबन्दी रिहाइ अभियानका संयोजक राम कार्की भन्छन्, ‘तर, अनौपचारिक भ्रमण भनेर वास्ता नगर्दा शरणार्थी सम्बन्धी सरोकार राजासमक्ष पुर्‍याउने एउटा राम्रो मौका गुमेको छ ।’

अझै पनि भारत सहित अन्य मुलुकसँग समेत सहयोग लिएर नेपालले यो विषयको समाधानमा पहलकदमी लिनुपर्ने उनी बताउँछन् ।

०००

राजबन्दी रिहाइ अभियानका संयोजक कार्कीका अनुसार, अझै कम्तीमा ३२ जना नेपाली भाषीलाई राजनीतिक मुद्दामा कारागारमा राखिएको छ ।

झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा चाहिं राजनीतिक बन्दी ओमनाथ अधिकारीकी आमा डम्बरकुमारी अधिकारी छोरा विना तेस्रो मुलुक पुनर्स्थापनामा जान नसक्ने भन्दै कुरिरहेकी छन्

‘३२ जनाको नाम, ठेगाना सहितका विवरण हामीसँग छन्, अरू मानिसहरू पनि हुनसक्छन्’ उनले अनलाइनखबरसँग सुनाए, ‘उनीहरूमध्ये १० जनाजति सन् १९९० मा भुटानमा भएको शान्तिपूर्ण जुलुसमा पक्राउ परेका व्यक्तिहरू हुन् ।’

तीमध्ये केही नेपाली भाषीलाई लखेट्नुभन्दा पहिले त्यहाँको सुरक्षा निकायमा कार्यरत व्यक्ति समेत भएको उनी बताउँछन् । राजीनामा दिएर प्रदर्शनमा सामेल भएको भन्दै त्यस्ता व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिइएको थियो ।
कतिपय व्यक्तिहरू चाहिं सन् २००८ मा भएको शान्तिपूर्ण आन्दोलनमा पक्राउ परेका व्यक्तिहरू रहेको कार्की बताउँछन् ।

‘त्यसबेला देशबाहिर गठन भएको भुटान कम्युनिष्ट पार्टीले यसरी हुँदैन, देशका लागि केही गर्नुपर्छ भन्ने हिसाबले अभियान चलाएको थियो’, हाल हेगमा रहेका पूर्व भुटानी शरणार्थी कार्की भन्छन् ।

सन् २००० देखि अन्तर्राष्ट्रिय रेडक्रस मार्फत परिवारसँग सूचना आदानप्रदान हुन्थ्यो, तर कोभिडको समयदेखि बन्द भएको यो प्रक्रिया अहिलेसम्म खुलेको छैन । यस्तो स्थितिमा कतिपय बन्दीका परिवार र जेलबाट छुटेकाहरूलाई लाग्छ, कारागारमा वर्षौंदेखि थुनिएका नेपाली भाषीलाई निकाल्न अझै लबिइङ पुगेकै छैन ।

मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले भुटान सरकारले दशकौंदेखि अन्यायपूर्ण मुद्दा र यातनापछि कारागारमा उनीहरूलाई राखेको भन्दै तत्काल रिहाइ गर्नुपर्ने भन्दै २०२३ मार्चमा विज्ञप्ति जारी गरेको थियो ।

‘यी मुद्दाहरू २००८ भन्दा अघि, भुटान पूर्ण राजतन्त्रबाट संवैधानिक राजतन्त्रमा रूपान्तरण हुनुभन्दा अघिका हुन्, अहिले पनि थुप्रै कैदीहरूले जीवनकैद सहित लामो सजाय भोगिरहेका छन्’ विज्ञप्तिमा भनिएको छ– ‘भुटानी अभियन्ताहरूले राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुकलाई यस्ता कैदीहरूलाई आममाफी दिन आग्रह गरेका छन् ।’

ह्युमन राइट्स वाचकी दक्षिणएशिया निर्देशक मीनाक्षी गांगुलीले भुटानले प्रचार गरेको ‘सामूहिक राष्ट्रिय खुशी’ सिद्धान्तले गलत रूपमा दोषी ठहरिएका राजनीतिक कैदीहरूको पीडा र उनीहरूको परिवारले भोग्नुपरेको दुःखलाई नसमेट्ने भनेकी छन् ।

झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा चाहिं राजनीतिक बन्दी ओमनाथ अधिकारीकी आमा डम्बरकुमारी अधिकारी छोरा विना तेस्रो मुलुक पुनर्स्थापनामा जान नसक्ने भन्दै कुरिरहेकी छन् । ‘उनीहरूलाई भेट्न जाँदा चाँडै छुट्ने आश देखिन्छ, तर छुटेका पनि छैनन्’ उनी भन्छिन्, ‘त्यही कारण हरेक दिन उनीहरूकै पर्खाइमा छौं ।’

कभर स्टोरी
लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?