News Summary
Generated by OK AI. Editorially reviewed.- पहिलो भेटमा कोसेली लिएर जानु र राम्रो सुन्ने, झुट नबोल्ने व्यवहार अपनाउन सुझाव दिइएको छ।
प्रेम गर्ने सबैजसोले सुरुमा त्यो कुरा परिवारसँग गोप्य नै राखेका हुन्छन् । परिवारका केही सदस्यले थाहा हालेछन् भने पनि बुबाआमालाई यसबारे सकेसम्म जानकारी दिइँदैन । तर प्रेमलाई स्थायी सम्बन्धमा बदल्न अर्थात बिहे गर्नका लागि एक न एक दिन अभिभावकसमक्ष यो कुरा खुलाउनै पर्छ ।
आफ्ना छोराछोरीको रोजाइ कस्तो रहेछ भनेर बुझ्न या विहे गर्ने तयारीका लागि अभिभावकले प्रेमी–प्रेमिकालाई भेट्न घरमा बोलाउन सक्छन् । हाम्रो समाजको कुरा गर्नुपर्दा प्रायगरी केटीको परिवारले केटालाई बोलाउने प्रचलन धेरै छ । बिहेको कुरा छिन्न पनि केटा नै केटीको घरमा जाने चलन छ ।
पहिलो पटक प्रेमिकाको परिवारलाई भेट्न जाँदै हुनुहुन्छ भने मनमा संकोच, डर या के गर्ने, कसो गर्ने भनेर अलमल हुन सक्छ । कसरी आफूलाई प्रमाणित गर्ने, कसरी उनीहरूको अगाडि राम्रो देखिने भन्ने चिन्ता पनि भइरहेको हुनसक्छ ।
केही समान्य कुरामा ध्यान दिन सके प्रेमिकाको परिवारसँगको पहिलो भेट सुखद् र प्रभावकारी हुन सक्छ।
१.पोसाकमा ध्यान दिने
सबैको सोचाइ एउटै एउटै नहुने भएपनि प्राय गरी धेरैजसो अवस्थामा व्यक्तिको मूल्यांकन उनको लवाइ तथा स्टाइललाई हेरेर गरिन्छ । आफूलाई भद्र देखाउन खालको सामान्य र सफ कपडा लगाएर जानु राम्रो हुन्छ । धेरै स्टाइलिश देखिने खालका कपडा लगाउनु ठिक हुँदैन ।
२.ठिक समयमा पुग्ने
पहिलो पटक प्रेमिकाको परिवारलाई भेट्न जाने बेला समयलाई विशेष ध्यान दिन जरुरी छ । तय भएको समय भन्दा धेरै ढिला पुगियो भने नराम्रो छाप पर्न सक्छ । यदि कुनै विशेष कारणवस पुग्नलाई ढिला हुने भयो भने सुरुमै यसबारे जानकारी दिनुपर्छ ।
३.कोसेली लिएर जाने
कोही आफन्तकहाँ तथा कसैको घरमा जाँदा कोसेली बोकेर जाने हाम्रो परम्परा नै छ । भर्खरका युवामा त्यस खालको अनुभव तथा बानी नभएको पनि हुनसक्छ । तर यदि तराई प्रेमिकाका घरमा पहिलो पटक जाँदै हुनुहुन्छ भने कुनै कोसेली लिएर जाँदा राम्रो हुन्छ । यसले आफूलाई व्यवहारिक र सामाजिक देखाउन मद्दत गर्छ । उनका बुबा, आमा या अभिभावकलाई के कुरा धेरै मनपर्छ भन्ने प्रेमिकासँग सोधेर त्यही वस्तु कोसेली लिएर जाँदा बढी प्रभावकारी हुनसक्छ ।
४. ठिक्क बोल्ने, धेरै सुन्ने
भेटपछि जब कुराकानी सुरु हुन्छ, त्यसबेला केही कुरामा ख्याल गर्नुपर्छ । उनीहरूले के भनिरहेका छन्, त्यसलाई राम्ररी सुन्नुपर्छ । कुराकानीका क्रममा मोबाइल चलाउने, अन्यत्र ध्यान मोड्ने गर्दा नराम्रो सोच्न सक्छन् । आफू बढी जान्नेछु जस्तो गरेर बीचमा बोलिहाल्नु ठिक हुँदैन । उनीहरूको कुनै कुरामा आफ्नो मतभिन्नता देखियो भने बहसमा उत्रिनु हुँदैन, सुन्ने धैर्यता देखाउनुपर्छ ।
५.राम्रो देखिन झुट नबोल्ने
पहिलो भेटमा तपाईको परिवार, पेसा, बुबाआमा आदिका बारेमा सोध्न सक्छन् । यसबारे उनीहरूले पहिले नै तपाईंकी प्रेमिकासँग जानकारी लिएका हुनसक्छन् तर पनि तपाईंकै मुखबाट सुन्नका लागि सोध्न सक्छन् । यसमा जे हो त्यही सत्य कुरा भन्नुपर्छ । के भन्लान् भनेर कुरा बनाएर भन्नु उपयुक्त हुँदैन ।
प्रतिक्रिया 4