+
+
Shares
जेनजी आन्दोलनका घाइते :

दुई महिनादेखि कोमामा दौलत, परिवारको थाप्लोमा ७ लाख ऋण

जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको टाउकोमा ढुंगा वा इँटा प्रहार भयो । त्यही चोटले उनलाई कोमामा पुर्‍यायो । त्यस रातदेखि हराएको होस दुई महिना बितिसक्दासम्म खुलेको छैन ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ कात्तिक २५ गते २०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २४ भदौमा जेनजी आन्दोलनको क्रममा दौलत थापाको टाउकोमा ढुंगा प्रहार भएपछि उनी सेमी कोमामा छन् र दुई महिनादेखि होस खुलेको छैन।
  • स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र सानेपामा उपचाररत दौलतको स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले दीर्घकालीन पुनर्स्थापनाको सल्लाह दिएका छन्।
  • दौलतको परिवारले उपचार खर्चका लागि ऋण लिएका छन् र सरकारले क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

२५ कात्तिक, काठमाडौं। २३ र २४ भदौमा जेनजी विद्रोह भयो । त्यसपछि के भयो ? दौलत थापालाई केही थाहा छैन । त्यसपछिका दिनमा न उनले घाम देखे, न त उज्यालो । न परिवारको आवाज सुने, न त घरमा पकाएको खानाको स्वाद । उनका लागि संसार नै ठप्प भयो ।

‘म कहाँ छु, को हुँ ?’ उनलाई यसको कुनै भेउ छैन। स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र (सानेपा) को एक बेडमा लम्पसार छन् । टाउकोमा स्क्रब क्याप, नाकमा टेप र घाँटीमा ट्रेकियोस्टोमी ट्युब । अनुहारमा कुनै भाव छैन । न निद्रा, न जागा ।

दाहिने हात र खुट्टा बेलाबेला हल्लिन्छन् ।

देब्रे भाग पूरै अचल छ । बेलाबेला आँखा खुल्छन्, तर ती आँखामा कुनै चिनारी छैन । शरीर निस्पष्ट छ ३२ वर्षीय दौलत थापाको ।

जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको टाउकोमा ढुंगा वा इँटा प्रहार भयो । त्यही चोटले उनलाई कोमामा पुर्‍यायो । त्यस रातदेखि हराएको होस दुई महिना बितिसक्दासम्म खुलेको छैन ।

‘एकफेर बोल्नु न,’ बेडको छेउमा बसिरहेकी श्रीमती यमकला ठकुरी एक्लै बोलिरहेकी हुन्छिन् ।

उनको अनुहारमा थकान र आँसुको मिश्रण छ । बेलाबेला उनी श्रीमान्‌को अनुहार हेर्दै भक्कानिन्छिन् ।

‘उहाँले कमाएर परिवारको गुजारा चल्थ्यो,’ आँसु झार्दै यमकलाले भनिन्, ‘अब सबै सकियो, ऋणको बोझले थिचिएका छौं ।’

उनी छिनछिनमा दौलतको हात सुम्सुमाउँछिन्, तर श्रीमान्‌को हातले कुनै प्रतिक्रिया दिँदैनन् ।

‘मलाई पनि चिन्नुहुन्न, बोल्नुहुन्न । उहाँको अनुहार हेर्दै बसेको छु,’ थर्थराउँदो आवाजमा यमकला भन्छिन्, ‘उहाँको एक बचन सुन्ने आशा लिएर बसेकी छु ।’

दौलत सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ नवलपुरका हुन् । तर उनको परिवार नयाँ थिमीमा डेरा लिएर बसेको पाँच वर्ष भयो ।

पेसाले ट्रक डाइभर दौलतकै कमाइले परिवार चल्थ्यो । उनका १३ वर्षीय छोरा अहिले ८ कक्षामा पढ्दैछन् ।

‘छोरा कोठामा एक्लै बसिरहेको छ । लाउँलाउँ, खाउँखाउँ उमेरमा छोराले पनि दुःख पायो,’ यमकलाले निरास सुनिइन् ।

अनि घर फर्किएनन्

२४ भदौ बिहानै आन्दोलनमा जान कोठाबाट निस्कने तयारीमा रहेका दौलतलाई यमकलाले रोक्ने प्रयास गरेकी थिइन् । तर उनले मानेनन् । गत चैतमा भएको राजावादी आन्दोलनमा पनि उनी अश्रुग्यासमा परेर घाइते भएका थिए । आन्दोलनको डर श्रीमतीको मनमा थियो ।

साथीभाइलाई फोन गर्दै दौलत भन्दै थिए, ‘नेताहरूले भ्रष्टाचार गरेर देश सके । अब हामी एकजुट हुनुपर्छ । सबै जना आन्दोलनमा जानुपर्छ ।’

बिहान १० बजे खाना खाएर निस्किएका दौलत आन्दोलनको भिडमा कतै मिसिए ।

यमकलाले एकघन्टाको अन्तरालमा फोन हानिरहेकी थिइन् । ५ बजेसम्म कुरा भइरहेको थियो । तर त्यसपछि भने फोन उठ्न छोड्यो ।

उनको मनमा चिसो पस्यो, न केही पो भइलाल्यो कि !

पाक्दै गरेको खाना छोडेर हतारहतार श्रीमान्‌को खोजीमा निस्किइन् ।

कोठाबाट थोरै पर मानिसको भिड लागिरहेको थियो, जहाँ दौलत छट्पटाइरहेका थिए ।

उनको मुखबाट एकोहोरो शब्द निस्किरहेको थियो- आन्दोलन, आन्दोलन, आन्दोलन… ।

टाउको पछाडिको भाग पूरै रगताम्य थियो । आफन्तले तुरुन्तै नजिकैको मध्यपुर अस्पताल पुर्‍याए ।

केही घन्टासम्म दौलत होसमै थिए । तर बोलचाल भने थिएन ।

त्यसै रात टाउकोको शल्यक्रिया भयो । दुई हप्तासम्म भेन्टिलेटरमा राखेर उपचार भयो । करिब १२ लाख खर्च भयो ।

यमकलाले गरगहना बेचिन्, ऋण काढिन् । चिकित्सकले सेमी कोमामा गएको ठहर गरे ।

त्यसपछि परिवारले ८ असोजमा राष्ट्रिय ट्रमा सेन्टर लैजाने निधो गर्यो । त्यसपछि मात्रै उनको उपचार निःशुल्क भयो । ‘७ लाख त ऋण नै छ । कसरी पो चुस्का गर्ने हो,’ उनी सुस्केरा हाल्छिन् ।

‘को आयो,गयो केही थाहा पाउनुहुन्न । दुई महिना भयो, होस आएको छैन,’ यति भन्न नपाउँदै यमकला फेरि भक्कानिइन् ।

ट्रमा सेन्टरमा पनि दौलतको स्वास्थ्यमा थप सुधार भएन । अन्तत: चिकित्सकले विकल्प दिए- घरमै हेरचाह वा केही समय पुनर्स्थापनामा राख्नू ।

घरमा लगेर स्याहारसुसार गर्ने अवस्था थिएन । अन्ततः परिवारले स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र (सानेपा) पुर्याए ।

महिनौं बितिसक्यो । श्रीमती यमकला श्रीमान्‌को एक वचन सुन्ने प्रतीक्षामा छिन् । तर दौलत बोल्दैनन् । शरीर सुकेर लौरो जस्तो भएको छ ।

झोलिलो खानेकुरा पाइपको साहयताले खुवाउनुपर्छ । शरीर ओल्टाइपल्टाइ गर्दा ढाडमा घाउ भइसकेको छ ।

चिकित्सकले परिवारलाई सान्त्वना दिँदै भनेका छन्, ‘समय लाग्छ । तर ठिक हुने कुनै ग्यारेन्टी दिन सक्दैनौं ।’

परिवार त्यही झिनो आशाको पर्खाइमा छ ।

‘को आयो,गयो केही थाहा पाउनुहुन्न । दुई महिना भयो, होस आएको छैन,’ यति भन्न नपाउँदै यमकला फेरि भक्कानिइन् ।

अहिले स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रले दौलतको उपचार निःशुल्क गरिरहेको छ । बिरामी र कुरुवालाई खानाको व्यवस्थासमेत गरिदिएको छ ।

दौलतकी श्रीमती यमकला थापा।

कमाउने मान्छे कोमामा, ऋणै ऋणमा परिवार

ट्रमा सेन्टरमा हुँदा दौलत परिवारले सरकारबाट २० हजार रुपैयाँ पाएको थियो । तर त्यसभन्दा अगाडि लागेको खर्च बेहोर्ने सरकारी पक्षबाट कुनै आश्वासन पाएका छैनन् ।

‘५ बजेअघि भएको घटना र गोली लागेकालाई मात्रै मध्यपुर अस्पातलले नि:शुल्क गर्ने भन्यो, त्यसपछि हामीले उपचार खर्च आफैं तिर्यौं,’ उनी भन्छिन् ।

यमकलाले आफ्ना लागि सरकार नभएको महसुस गरेकी छिन् । उनी सरकारसँग माग गर्छिन्- केही क्षतिपूर्ति, उपचारमा लागेको खर्च फिर्ता र रोजगारीको व्यवस्था होस् ।

‘कमाउने मान्छे यस्तो हालतमा हुनुहुन्छ । बालबच्चा पाल्नुपर्छ । कोठा भाडा तिर्नुपर्छ,’ उनी भन्छिन्, ‘आन्दोलनले यस्तो बनायो, सरकारले हामीलाई हेर्नुपर्छ ।’

डाक्टरले थप केही नहुने संकेत गरिसकेको यमकला बताउँछिन् । ‘चिकित्सकले थप केही हुँदैन भन्नुभएको छ । होस आए र मान्छे चिने मात्रै पनि घर लैजानुहुन्थ्यो,’ उनले भनिन्, ‘यस्तो अवस्थामा कसरी घर लैजानु ।’

चिकित्सक भन्छन्- मेडिकल विज्ञानले सुधार हुने देखाउँदैन

दौलतलाई लामो समयको पुनर्स्थापना आवश्यक भएपछि एक महिनाअघि स्पाइनल इन्जुरी केन्द्र रेफर गरिएको थियो । उनको थेरापी चलिरहेको छ ।

केन्द्रका मेडिकल इाइरेक्टर डा. राजु ढकालका अनुसार थापा अहिले सेमी कोमामा छन् । ‘उहाँ बोल्न सक्नुहुन्न । खाना अरूले खुवाउनुपर्छ, दिसा-पिसाबबारे थाहा हुँदैन,’ डा. ढकालले भने ।

बेलाबेला बोलाउँदा होस नभएको मान्छेले हेरे जस्तो मात्र गर्छन्, अरू कुनै प्रतिक्रिया दिँदैनन् । चिकित्सकका अनुसार दुई महिनाको उपचारमा पनि उल्लेख्य प्रगति भएको छैन ।

डा. ढकाल भन्छन्, ‘दुई महिनासम्म कुनै सुधार नहुनुले मेडिकल साइन्सले धेरै प्रगति हुने देखाउँदैन ।’

स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रका मेडिकल डाइरेक्टर डा. राजु ढकाल ।

डा. ढकालका अनुसार दौलत कोमाकै अवस्थामा रहन्छन् । थोरै सुधार भए पनि २४ घन्टा एकजना स्याहारकर्ता चाहिन्छ । उनी दीर्घकालीन समस्यासँग जुधिरहेका छन् । जसका कारण परिवारमा आर्थिक बोझ बढ्दो छ । स्याहारसुसारमा परिवारका सदस्य खटिरहेका छन् ।

केन्द्रले परिवारलाई नर्सिङ, फिजियोथेरापी, अकुपेसनल थेरापी, संक्रमण नियन्त्रण, घरको वातावरण व्यवस्थापन जस्ता आधारभूत कुरा सिकाइरहेको छ ।

किनकि, चिकित्सकले दीर्घकालीन रूपमै कुनै सुधारको संकेत नदेख्दा घरमै लैजान उत्तम हुने बताएका छन् । ‘यसो हुँदा परिवारका अन्य व्यक्तिले गुजारा गरेर परिवार पाल्न सक्ने आधार बन्छ,’ डा. ढकाल भन्छन्, ‘उहाँको उपचार निःशुल्क गरिरहेका छौं । यसमा सरकारको आफ्नो दायित्व पनि निर्वाह गर्नुपर्छ ।’

फोटो र भिडियो : शंकर गिरी /अनलाइनखबर

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?