+
+
Shares

यस्तो छ पुटिनको भारत भ्रमण तालिका, रक्षा वार्ता प्राथमिकतामा

मोदी र पुटिनको वार्ताका क्रममा दुई देशबीच कयौं सम्झौताहरूमा हस्ताक्षर हुने सम्भावना छ, जसमा भारतीय श्रमिकहरूको रूसमा आवागमन सुगम बनाउने र रक्षा सहयोग सम्बन्धी सम्झौता समावेश छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १०:३९

१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । उनको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिन भारतीय समयअनुसार विहीबार अपराह्न ४ बजे नयाँदिल्ली पुग्दै छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका रहेको छ ।

नयाँ दिल्लीमा २८ घण्टा रहनेछन् पुटिन

यात्राबारे जानकार सरकारी अधिकारीहरूले शुक्रवार पुटिनलाई औपचारिक स्वागत गर्नेछन् । उनको औपचारिक स्वागतपछि २३ औं भारत–रूस शिखर वार्ता सुरू हुनेछ ।

अधिकारीहरूका अनुसार प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा पुटिन र उनको प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्ने छन् । पुटिन शुक्रबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पनि जाने छन् ।

शिखर वार्तापछि पुटिनले रूसको सरकारी प्रसारकको भारत च्यानलको सुरुवात पनि गर्ने बताइएको छ । तत्पश्चात राष्ट्रपति द्रौपदी मुर्मूले उनको सम्मानमा राजकीय भोज आयोजना गर्नेछिन् ।

पुटिन शुक्रबार राति झण्डै साढे ९ बजे भारतबाट प्रस्थान गर्नेछन् ।

शिखर वार्तामा भारतद्वारा रूसी कच्चा तेलको ठूलो मात्रामा गरिएको खरिदका कारण बढ्दो व्यापार घाटाको मुद्दा उठाइने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सञ्चारमाध्यमहरूका अनुसार शिखर वार्तामा अमेरिकी प्रतिबन्धको भारतद्वारा रूसबाट कच्चा तेल खरिदमा पर्ने प्रभावमा पनि चर्चा हुने सम्भावना छ ।

कयौं सम्झौतामा हस्ताक्षर हुने सम्भावना

शिखर सम्मेलनमा पुटिनद्वारा प्रधानमन्त्री मोदीलाई युक्रेन संघर्ष समाप्तिका लागि अमेरिकाले गरिरहेको प्रयासबारे जानकारी गराइने सम्भावना रहेको छ । भारत लगातार युद्ध अन्त्यको बाटो केवल संवाद र कूटनीतिमात्रै रहेको बताउँदै आएको छ ।

मोदी र पुटिनको वार्ताका क्रममा दुई देशबीच कयौं सम्झौताहरूमा हस्ताक्षर हुने सम्भावना छ, जसमा भारतीय श्रमिकहरूको रूसमा आवागमन सुगम बनाउने र रक्षा सहयोग सम्बन्धी सम्झौता समावेश छ ।

भारतले फार्मा, कृषि, खाद्य उत्पादन र उपभोक्ता वस्तुहरूको क्षेत्रमा रूसमा भारतीय निर्यातको उल्लेखनीय वृद्धि हुने अपेक्षा पनि गरेको छ । भारतीय अधिकारीहरूले भारत उर्वर क्षेत्रमा सहयोग बढाउने दिशामा काम गरिरहेको बताएका छन् ।

रूस हरेक वर्ष भारतलाई ३० देखि ४० लाख टन मल आपूर्ति गर्दै आएको छ । अधिकारीहरूका अनुसार दुवै पक्षबीच व्यापार, शिक्षा, कृषि र संस्कृति जस्ता क्षेत्रहरूमा कयौं सम्झौतामा हस्ताक्षर हुन सक्छ ।

शिखर बैठकअघि रक्षामन्त्रीसँग वार्ता

शिखर बैठकअघि दुवै देशका रक्षामन्त्रीहरू बीच बिहीबार भेटवार्ता हुने भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र उनका रूसी समकक्षी आन्द्रे बेलोसोभबीच बिहीबार हुने वार्ता एस–४०० मिसाइल प्रणालीको खरिद, लडाकु विमानको उन्नयन र रूसबाट अन्य महत्वपूर्ण सैन्य सामग्री खरिदमा भारतको रुचिसहितका एजेन्डामा केन्द्रित हुने छ ।

२०२१ मा पनि भारत आएका थिए पुटिन

भारत र रूस सम्बन्धका सम्पूर्ण आयामको समीक्षाका लागि भारती प्रधानमन्त्री र रूसी राष्ट्रपतिबीच हरेक वर्ष शिखर बैठक हुँदै आएको छ । अहिलेसम्म भारत र रूसबीच २२ वटा वार्षिक शिखर बैठक भइसकेका छन् ।

रूसी राष्ट्रपति पुटिन पछिल्लो समय सन् २०२१ मा नयाँ दिल्ली भ्रमणमा आएका थिए । गत वर्षको जुलाईमा भारतीय प्रधानमन्त्री मोदी वार्षिक शिखर सम्मेलनका लागि मस्को गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?