+
+
Shares

वीरगञ्जमा हैजा : बेहोस अवस्थामा अस्पताल पुग्छन् बिरामी

कतिपय बिरामी गम्भीर अवस्थाका छन् । केही बिरामी पानीको कमी भएर, जलवियोजन भएर जटिल अवस्थामा पुगेका छन्, जसमध्ये तीनजनाको मृत्यु भइसकेको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ भदौ ८ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगञ्जको नारायणी अस्पतालमा तीन दिनमा झाडापखालाका ६० जना बिरामी उपचारका लागि आएका छन् र तीन जनाको मृत्यु भइसकेको छ।
  • हैजाको संक्रमण वीरगञ्जका विभिन्न वार्डमा फैलिएको छ र १६१ भन्दा बढी बिरामी अस्पतालमा उपचाररत छन्।
  • खानेपानीमा ढलको दूषित पानी मिसिएको कारण हैजा फैलिएको आशंका छ र पानीका नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ।

८ भदौ, काठमाडौं । मुल गेटदेखि आकस्मिक कक्षसम्मै भिडभाड, अनि वार्डहरूमा शय्या थप्ने चटारो । पर्साको नारायणी अस्पतालमा देखिएको दृश्य हो यो, जहाँ झाडापखालाका बिरामीको चाप बढिरहेको छ ।

विगत तीन दिनयता यो अस्पतालमा ६० जना झाडापखालाले ग्रस्त भएका बिरामी उपचारका लागि आइसकेका छन् ।

‘शनिबार एकैपल्ट ३० भन्दा बढी बिरामी आइपुग्दा व्यवस्थापन गर्नै गाह्रो भयो,’ अस्पताल प्रमुख डा. चुमनलाल दास भन्छन्, ‘यो साधारण झाडापखाला होइन । केही बिरामी आलस–तालस र बेहोस अवस्थामा पनि आइरहेका छन् ।’

उनका अनुसार अहिले ४४ जना बिरामी उपचाररत छन्, बाँकी घर फर्किसकेका छन् ।

‘हिजो उपचार गर्न नै गाह्रो भयो । दुई वटामा नयाँ वार्डमा २२ बेडथप्नुपर्ने अवस्था आयो,’ शनिबारको अवस्थाको वर्णन गर्दै डा. दासले भने, ‘अब २५ बेडको वार्ड बनाउने तयारी भइरहेको छ ।’

कतिपय बिरामी गम्भीर अवस्थाका छन् । केही बिरामी पानीको कमी भएर, जलवियोजन भएर जटिल अवस्थामा पुगेका छन्, जसमध्ये तीनजनाको मृत्यु भइसकेको छ ।

उपचारमा समलग्न चिकित्सकका अनुसार बेहोस अवस्थामा बिरामी अस्पताल आइपुग्नु चिन्ताजनक अवस्था हो । झाडापखालाका सिकिस्त र हैजाका शंकापद बिरामीहरू थपिने क्रम जारी रहेको वीरगञ्जमा आउटब्रेक भइसकेको विज्ञ बताउँछन् ।

‘कतिपय बिरामी आलस-तालस अवस्थामा छन् । रक्तचाप मापन गर्न गाह्रो हुने, अत्यधिक धड्कन देखिने, आँखा पल्टाउने जस्ता लक्षणसहित आइपुगेका छन्,’ डा. दासले भने ।

वीरगञ्जमा झाडापखलाको संक्रमण समुदायस्तरमै फैलिएको छ । शुक्रबार राति वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली टोलका बासिन्दामा संक्रमण देखिएको थियो ।

नारायणी अस्पतालमा मात्रै झाडापखालाका बिरामीमध्ये २३ जना अर्थात् ५० प्रतिशतभन्दा बढीमा आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) पोजिटिभ आएको छ । यसले वीरगञ्ज महानगरपालिकामा भित्रभित्र हैजा संक्रमण फैलिएको चिकित्सक बताउँछन् ।

वीरगञ्ज महानगरपालिका-११, १२, १३ र १६ मा हैजाको प्रकोप फैलिँदा वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ । विभिन्न अस्पतालमा १६१ भन्दा बढी बिरामी उपचारत छन् ।

खानेपानी पाइपमा ढलको दूषित पानी मिसिँदा हैजा फैलिएको आशंका विज्ञहरूले गरेका छन् ।

हैजाको संक्रमण फैलन थालेपछि महानगरले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित र तथा महानगर क्षेत्रभित्रका पानीपुरी, चाट, चटपटे लगायतका खानेकुरा बिक्री वितरणमा पनि रोक लगाएको छ ।

घना बस्तीमा फैलियो प्रकोप

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वप्रमुख समेत रहेका डा. दासका अनुसार हैजाको प्रकोप घना बस्तीमा फैलिएको हुनाले चुनौती बढेको छ ।

‘घना बस्तीमा भएको छ,’ डा. दासले भने, ‘प्रारम्भिक जाँचमा खानेपानीमा समस्या देखिएको छ । यो हैजाको प्रकोप महामारीकै रूपमा फैलिने जोखिम छ ।’

ईडीसीडी अनुसार खानेपनीमा इकोलाई देखिएको छ । इकोलाई मानिसको दिसामा हुने जीवाणु हो । यसलाई झाडापखलाको एउटा प्रमुख कारक मानिन्छ ।

खानेपानी पाइपमा ढलको दूषित पानी मिसिएका कारण वीरगञ्जमा हैजा फैलिएको आशंका छ । धेरै स्थानमा नालाभित्रै पर्ने गरी राखिएकाले पाइप लिक भएका कारणले पनि हैजा फैलिएको हुनसक्ने जानकारहरू बताउँछन् ।

सोही आशंकाका आधारमा हैजाको संक्रमण देखिएका ११ ठाउँबाट पानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

‘खानेपानी जाँच गर्दा इकोलाई देखिएको छ । अहिले बोरिङ, इनार लगायतका खानेपानीको परीक्षण गर्ने काम भइरहेको छ,’ ईडीसीडीका प्रमुख डा. चन्द्रभाल झाले अनलाइनखबरसँग भने ।

पछिल्लो तीन दिनमा वीरगञ्जमा अस्पतालमा बिरामीको भिडभाड बढ्नुले हैजा संक्रमण गाउँभर फैलिरहेको पुष्टि हुन्छ ।

प्रकोप देखिएको क्षेत्रमा हालसम्म १६१ जना झाडापखलाका बिरामी अस्पतालमा भर्ना भएका छन् । जसमध्ये ७१ जनाको आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) गर्दा हैजा पोजिटिभ आएको छ ।

चिकित्सकका अनुसार एक–दुई जनामा हैजा हुनुले पनि महामारीको संकेत गर्छ । किनकि, हैजाको जीवाणु तीव्र गतिमा फैलिने गर्छ । अधिकांश लक्षणविहीन संक्रमितले हैजा फैलाउने गर्छन् ।

हैजाका कारण तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । तर अझै पनि कल्चर पोजिटिभबाट हैजाको अन्तिम पुष्टि हुन बाँकी छ । डा. झाका अनुसार आजभोलिमा कल्चर रिपोर्ट आउने अपेक्षा गरिएको छ ।

‘अन्य ठाउँमा त्यस्तो अहिले फैलिसकेको छैन । हामी प्रदेश र स्थानीय तहसँग निरन्तर सम्पर्कमा छौं,’ डा. झाले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टका अनुसार स्थानीय अस्पतालहरूले पठाएको आरडीटी परीक्षणमा प्रारम्भिक रूपमा पोजिटिभ देखिएको छ, तर यसलाई पूर्ण रूपमा पुष्टि गर्न अन्तराष्ट्रिय मापदण्ड अनुसार कल्चर परीक्षण आवश्यक छ।

डा. भट्टका अनुसार कल्चरका नमुना अझै प्रयोगशालामा आइपुगिसकेको छ । ‘आइतबार साँझ नमुना प्राप्त भएको छ । अबको ४८ घण्टामा रिपोर्ट दिन सकिन्छ,’ डा. भट्टले भने ।

आरडीटी परीक्षणले कहिलेकाहीं झुटो नतिजा दिन सक्ने भएकाले, यो सुनिश्चित गर्न कल्चर परीक्षण अनिवार्य छ। परीक्षण सुरु भएपछिको रिपोर्ट करिब ४८ घण्टाभित्र प्राप्त हुने उनको अनुमान छ।

‘संक्रमितले प्रयोग गरेका धारापानीमा दिसामा पाइने जीवाणु देखिएको हो,’ दास भन्छन्,’ सबै ठाउँको पानी नै प्रदूषित छ, जसका कारण विभिन्न स्थानमा हैजा शंकास्पद बिरामी भेटिएका छन् ।’

तर, पानीको स्रोतमा कहाँबाट हैजाको जीवाणु पुग्यो भन्ने पहिचान हालसम्म पनि हुन सकेको छैन ।

वर्षायाममा धेरै पानी पर्छ । पानीले थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लैजान्छ । दिसाका जीवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा संक्रमण हुन्छ ।

‘पानीमा कहाँबाट हैजाको जीवाणु कहाँबाट पुग्यो भन्ने यकिन हुन सकेन । धेरै वटा स्रोतबाट फैलिएको हुनसक्छ,’ डा. दास भन्छन्, ‘सबैतिरको पानीको रिपोर्ट आएपछि अझ अलिकति प्रष्ट हुन्छ । प्रारम्भिक संकेतअनुसार पानीकै संक्रमणबाट हैजा फैलिएको देखिन्छ ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले वीरगञ्जको परिस्थितिलाई गम्भीर रूपमा लिनुपर्ने बताए । तीन दिनमै १०० भन्दा बढी बिरामी भर्ना हुनु र तीनभन्दा बढी मृत्यु हुनुले हैजाको महामारीको रूप लिनसक्ने संकेत भएको उनको भनाइ छ ।

डा. पुनका अनुसार नेपालमा जुनसुकै ठाउँमा पनि हैजाको जोखिम कायम छ ।

‘व्यक्तिगत सरसफाइ र खानेकुराको अनुगमन पर्याप्त छैन । खानेपानीमा समेत इकोलाई जीवाणु भेटिएको रिपोर्ट आएको छ । यसले पानी नै हैजाको प्रमुख माध्यम बन्न सक्ने सम्भावना देखाउँछ,’ डा. पुन भन्छन् ।

१० संक्रमितमध्ये एकजनामा जटिल अवस्था

उनले वीरगन्जमा हैजाको फैलावटलाई सरसफाइ व्यवस्थापनमा देखिएको कमजोरीसँग जोड्दै भने, ‘शौचालयको राम्रो व्यवस्थापन नभएको, मानिसले हात नधोई खाना–पानी छुनु र सडक किनारका असुरक्षित खानेकुराले संक्रमणलाई सहजै फैलाउँछ ।’

डा. पुनका अनुसार दस जनामध्ये एक जनामा मात्रै लक्षण गम्भीर देखिन्छ । तर बाँकी धेरै संक्रमितहरू लक्षणविहीन हुन्छन् । उनीहरूको दिसामार्फत ब्याक्टेरिया निरन्तर बाहिर फैलिन्छ । यही चक्रले हैजा महामारी नियन्त्रण बाहिर पुग्छ ।

उनका अनुसार अहिले विद्यालय बन्द गरिए पनि मानिसको आनीबानीमा परिवर्तन नआएसम्म संक्रमण रोक्न सकिँदैन । वीरगञ्जको भिडभाड, साँघुरो बस्ती र अस्वच्छ खानेकुरा बिक्री वितरणले रोग फैलन सहज बनाएको छ ।

हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ ।

उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । डा. पुनका अनुसार हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् ।

‘फोहोर पानी वा तलाउमा हैजाको जीवाणु रहिरहन्छ । जब वर्षाको समयमा धेरै पानी पर्दा खानेपानीमा पुग्छ,’ डा. पुनले भने,’ खानेपानीको माध्यमबाट मानिसमा हैजा देखिन्छ ।’

उनका अनुसार हैजाको जिवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ । जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।

२०६६ सालमा जाजरकोटमा महामारीकै रूपमा फैलिएको थियो हैजा

२०६६ सालमा जाजरकोटमा फैलिएको हैजाबाट ३५० जनाको ज्यान गएको थियो । ६० हजारभन्दा बढीलाई उपचार गराउनु परेको थियो । त्यस समयमा सुर्खेत, दैलेख, रुकुम, रोल्पा लगायतका सात जिल्लामा हैजा देखा परेको थियो ।

‘सन् २००९ मा जाजरकोट लगायतका सीमावर्ती जिल्लामा फैलिएको हैजाले महामारी निम्त्याएको थियो,’ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘८ जिल्लाका १०० भन्दा बढी गाविसमा एकैपटक हैजा फैलिएको थियो ।’

काठमाडौं उपत्यकामा भने सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन् ।

१८ असोज २०७८ मा कपिलवस्तुमा पहिलो पटक फैलिएको हैजाबाट १ हजार ५०० जना सङ्क्रमित भए भने १० जनाको मृत्यु भयो ।

हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका मांसपेसी बाउँडिने, बान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन् ।

गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने विज्ञ बताउँछन् ।

यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजनको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो ।

हैजाबाट बच्न शौचालयमा मात्रै दिशा पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन पानीले हात धुने, खाना बनाउनुअघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने चिकित्सकको सुझाव छ ।

कभर स्टोरी
लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?