+
+
Shares
कभर स्टोरी :

तापक्रम बढ्दा हिमताल बढे, सानाले समेत जोखिम थपे

नेपालको शिरमा देखिएको यो संकट केवल हिमाली भूगोलको कुरा मात्र होइन, यसले तल्लो तटीय क्षेत्रमा समेत मानवीय र भौतिक क्षति निम्त्याइरहेको छ । यो संकटबाट जोगिन रणनीतिक तयारी गर्नु अबको आवश्यकता हो ।

विनोद घिमिरे विनोद घिमिरे
२०८२ साउन २ गते १२:४३
सोलुखुम्बुमा पर्ने इम्जा हिमताल । यो हिमताल फुटेमा खुम्बु क्षेत्र र हिमाली संस्कृति नै लोप हुने जानकारहरु बताउँछन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तापक्रम वृद्धिको असरले हिमालमा छिटो हिउँ पग्लिने, नयाँ हिमतालहरू बन्ने र हिमताल फुट्ने गरेकाले जनधनको क्षति भइरहेको छ ।
  • नेपालको शिरमा देखिएको यो संकट केवल हिमाली भूगोलको कुरा मात्र होइन । यसले तल्लो तटीय क्षेत्रमा समेत मानवीय र भौतिक क्षति निम्त्याइरहेकाले यो संकटलाई चिन्नु, बुझ्नु र रणनीतिक रूपमा तयारी गर्नु आवश्यक छ ।
  • यसैकारण विज्ञहरु भन्छन्- जलवायु परिवर्तनको बदलिँदो परिस्थितिसँगै ट्रान्सबाउन्ड्री अर्ली वार्निङ सिस्टम (सीमापार पूर्वचेतावनी प्रणाली) एकदमै महत्वपूर्ण भइसकेको छ र अन्तरदेशीय सूचना आदान प्रदान नियमित हुनुपर्छ ।

२ साउन, काठमाडौं । असार २५ गते बिहान भोटेकोशी नदीमा बाढी आउँदा रसुवागढी तहसनहस भयो । चीनको तिब्बत हुँदै बग्ने केरुङ र ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिंदा विनाशकारी रूप लिएको थियो । बाढीमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले असार २९ गते बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने अनुसार भोटेकोशी नदीको बाढीमा परेर ११ शव तथा मानव अंग भेटिएका छन् । चिनियाँ नागरिक र सुरक्षाकर्मी सहित १७ जना बेपत्ता छन् ।

बाढीले रसुवागढीमा मितेरी पुल बगाउँदा नेपाल–चीन व्यापारिक नाका विच्छेद भएको छ । टिमुरे भन्सार, भन्सार यार्डमा राखिएका १०० बढी गाडीहरू, रसुवागढी सहित तीनवटा हाइड्रोपावर र १२०० मिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त हुनपुगे ।

जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार त्यस दिन त्यति ठूलो बाढी आउने गरी रसुवामा पानी परेको थिएन । मनसुन न्यूनचापीय रेखा सरदर स्थान आसपासमा थियो । त्यसैले अनुसन्धानको क्रममा तिब्बत क्षेत्रबाट हिमतालको पानी बगेर नेपालमा क्षति पुगेको निष्कर्ष निस्कियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रिपोर्ट अनुसार नेपाल–चीन सीमाबाट करिब ३५ किलोमिटर माथि रहेको प्युरेप हिमनदीमा रहेको सुप्राग्लेसियल ताल (गेग्रानले ढाकेको हिमनदीको माथिल्लो सतहमा बनेको ताल) बाट अचानक पानी निकास हुँदा बाढीको रूप लिएको थियो ।

*****

रसुवामा बाढी आएकै दिन असार २५ गते साँझ उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुम्जुङस्थित छुआमा खोलामा पनि बाढी आयो । सो बाढीले तीनवटा पक्की मोटरेबल पुल, एउटा फलामे पुल र तीन वटा काठेपुलमा पूर्ण क्षति पुगेको छ । बाढीले पुल र सडकमा समेत क्षति पुगे पनि मानवीय क्षति भएको छैन । बाढीले डेढ करोड भन्दा बढी क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले बताए ।

रसुवाको बाढी तिब्बत क्षेत्रको हिमतालबाट सिर्जना भए पनि मुस्ताङको बाढी भने नेपालकै भूगोलमा रहेको हिमतालबाट सिर्जना भएको पाइएको छ ।

लोमान्थाङ–२ छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले यार्सा संकलन गर्नेहरूको भनाइ उद्धृत गर्दै दिएको जानकारी अनुसार हिमताल फुटेकाले बाढी आएको हो ।

अमेरिकास्थित अलास्का विश्वविद्यालयमा हिममण्डलबारे विद्यावारिधि गरिरहेका अमृत थापा पनि स्याटेलाइट तस्वीर विश्लेषणका आधारमा मुस्ताङमा हिमताल विस्फोटबाट बाढी आएको निष्कर्षमा पुगेका छन् ।

उनले अनलाइनखबरसँग भने, ‘जुलाई ६ को स्याटेलाइट तस्वीरमा हिमताल स्पष्ट रूपमा देखिन्छ, त्यसको ६ दिनपछिको तस्वीरमा तालको सबै पानी हराएको देखिन्छ । हराएको पानी हिमनदीको भित्रबाट निस्किएर बाढीको रूपमा बगेको देखिएको छ ।’

बाढी र हिमनदी तालहरूको निगरानी गर्दै आएको इसिमोडका विज्ञहरूले रसुवा र मुस्ताङमा एकै दिन आएका ताजा हिमनदीजन्य बाढीलाई ‘दुर्लभ घटना’ भनेका छन् ।

*****

२०८२ जेठ १ गते राति वर्षा विना हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा पनि लेदो सहितको बाढी आयो । जलवायु परिवर्तनको कारण नेपालमा परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजित सगरमाथा संवाद कार्यक्रम आयोजना हुँदै गर्दा आएको बाढी–पहिरोले तिलगाउँ नै जोखिममा पर्‍यो ।

गाउँभन्दा माथि रहेको तालको पानी करिब १०–१५ मिटरसम्म जमिन भित्रभित्रै बगेर तिल्जुङ खोलामा मिसिएको थियो । गाउँमा उपलब्ध गाउँलेले भागेर ज्यान जोगाए पनि बाढीले ५ वटा काठेपुल, ५०/५५ हेक्टर जमिन, ४ वटा सिंचाइ कुलो, खानेपानी, १५ किलोवाटको लघु जलविद्युत् र बाढीले १५ वटा घर चर्किएको समेत गरी ५ करोड बराबरको क्षति भएको गाउँपालिकाको मूल्यांकन छ ।

अचम्म त के भने यो बाढी आउन लागेको पूर्वसूचना त परै जाओस् बाढी रोकिइसकेपछि मात्रै स्थानीय प्रशासनले बाढी आएको जानकारी पाएको थियो । बरु वडाध्यक्ष पाल्जोर तामाङ केही स्थानीयवासी लिएर आफैं बाढीको कारण खोज्दै तिल्जुङ खोलाको शिर उक्लिए र ५ हजार ३०० मिटर उचाइमा रहेको हिमतालको पानी चुहिएर बाढी आएको निष्कर्षमा पुगे ।

त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण, भूगर्भ विभाग र जल तथा मौसम विज्ञान विभागको संयुक्त टोली पनि घटनास्थलमै पुगेर अनुसन्धान गर्दा रित्तिएको तालको सतह चिरा–चिरा परेको देखे । अनि थर्मोकास्ट (तालको तल्लो सतह चर्किएर पानी चुहिने प्रक्रिया) का कारण बाढी आएको ठहर गरे ।

प्राय: तालको बाँध फुट्ने र तालमा हिउँका ठूला ढिक्का खस्दा छचल्किने गरेर बाढी आउने गरे पनि तालको पानी भित्रभित्र चुहिएर बाढी आएको यो घटना नेपालका लागि नौलो थियो ।

*****

२०८१ साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङ गाउँपालिकाको थामे गाउँमा गेग्रान सहितको बाढीले ७ वटा घर, ५ वटा होटल, थामे आधारभूत विद्यालयको छात्रावास र एउटा क्लिनिकमा पूर्ण क्षति पुग्यो । थामेका अधिकांश घरमा बाढी पस्यो । सगरमाथा आधार क्षेत्रमा पर्ने थामे गाउँकाले बाढीको पूर्वसूचना नै पाएनन् । धन्न दिउँसोको समय भएकाले मानिसहरू भागाभाग गर्न सफल भए र ज्यान जोगाए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ ५ गते सिंहदरबारमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुटेकाले थामे गाउँमा बाढीले क्षति पुर्‍याएको थियो ।

प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार माथिल्लो हिमतालमा रहेको हिउँ पग्लिएको र अविरल वर्षाका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमपोखरीमा आएको र त्यस पोखरीको कमजोर बाँध फुटेपछि बाढी आएको थियो ।

यसैगरी २०८० साउन २८ गते मुस्ताङमा काग खोलाको बाढीले कागबेनी क्षेत्र र २०७८ साल असारमा सिन्धुपाल्चोकको मेलम्ची बाढीले  ठूलो विपत्ति निम्त्याएका थिए ।

हेलम्बु क्षेत्रबाट आएको बाढीले तल्लो तटीय क्षेत्रमा रहेको मेलम्ची बजारमा पर्ने १७६ घर र १७८ हेक्टर जग्गामा लगाइएको धान सखाप पारेको थियो । यसैगरी करिब ३० किलोमिटरको दूरीमा १३ वटा झोलुङ्गे पुल, ७ वटा पक्की पुल र सडक तहसनहस पारेको थियो ।

मेलम्ची बजारमा आएको बाढी

मेलम्ची जस्तै प्रकृतिको बाढी २०६९ साल वैशाखमा पोखराको सेती नदीमा आएको थियो । सेती नदीको बाढीबाट मृत्यु र बेपत्ता हुनेको संख्या ७२ पुगेको थियो । भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुगेको थियो ।

त्यतिबेला अन्नपूर्ण छैटौंको दक्षिणी भागबाट खसेको ठूलो ढुंगाले सेतीको जलाधार क्षेत्र केहीबेर थुनिएको र पछि वर्षाले थुनिएको बाँध खुल्दा सेतीमा अकस्मात् बाढी आएको अध्ययनबाट पत्ता लागेको थियो ।

*****

यी प्रतिनिधि घटनाहरूले नेपालको हिमाली क्षेत्रमा सिर्जित संकटलाई देखाउँछन् । यसलाई विज्ञहरूले जलवायु परिवर्तनको असरका कारण सिर्जित समस्या भनेका छन् ।

सेतीको बाढी र त्योभन्दा नौ वर्ष अगाडिको मादीको बाढीलाई समेत अध्ययन गरेका भूगर्भविद् श्रीकमल द्विवेदी भन्छन्, ‘जलवायु परिवर्तनका कारण हिमरेखा माथि सरिरहेको छ । हिउँ पर्ने ठाउँमा पानी पर्न थालेको छ । पानीले हिउँ छिटो पगाल्छ र हिमबाढी, हिमताल विस्फोट जस्ता घटना हुन्छन् ।’

हिमबाढीको खतरनाक वृद्धि

नेपाल मुख्यालय रहेको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार जलवायु परिवर्तनका कारण हिन्दु–कुश हिमालय क्षेत्रमा हिमनदीजन्य बाढीको संख्या खतरनाक रूपमा बढ्दै गएको छ । इसिमोडका अनुसार पाकिस्तान र अफगानिस्तानमा पनि हिमबाढीका घटना दर्ज छन् ।

हिन्दु–कुश हिमालय क्षेत्र एशियामा ३५०० किलोमिटरसम्म फैलिएको छ । यसले नेपाल सहित अफगानिस्तान, बंगलादेश, भूटान, चीन, भारत, म्यानमार र पाकिस्तान गरी आठ देशलाई समेट्छ । यो क्षेत्र लगभग दुई अर्ब जनताको खाद्य, पानी र ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । साथै, यो थुप्रै दुर्लभ वनस्पति र जीवजन्तुहरूको वासस्थान हो ।

यो हिन्दु–कुश हिमालय क्षेत्रमा दुई दशकमा पाँचदेखि दश वर्षको अन्तरालमा मात्र हिमनदीजन्य बाढी आउने सम्भावना हुन्थ्यो । तर सन् २०२५ को मे र जून महिनामा मात्र इसिमोडले तीन वटा यस्ता बाढीका घटना रेकर्ड गरेको जनाएको छ । र, त्यसलाई दुर्लभ घटना भनेको छ ।

नेपाल-चीन सिमानामा पर्ने रसुवागढी नाका । असार २४ गतेको बाढीका कारण दुई देशबीचको व्यापारिक नाका विच्छेद भएको छ ।

जुलाई महिनामा रसुवागढी र मुस्ताङको बाढीलाई समेत नजिकबाट नियालेका इसिमोडका विपद् जोखिम न्यूनीकरण प्रमुख सास्वता सान्याल भन्छन्, ‘यस्ता घटनाहरूको तीव्रता हिन्दु–कुश हिमालय क्षेत्रमा अहिलेसम्म देखिएको थिएन ।’

इसिमोडले पछिल्ला ग्लोफ घटनाहरूको एउटा नयाँ प्रवृत्ति रसुवाको भोटेकोशीमा पहिचान भएको जनाएको छ । भोटेकोशीको बाढी हाल सालै बनेका सुप्राग्लेसियल तालबाट उत्पन्न भएको थियो ।

इसिमोडले भनेको छ— ‘नेपाल–चीन सीमा नजिकै सुप्राग्लेसियल ताल सन् २०२४ को डिसेम्बरमा सानो पोखरीको रूपमा बनेको थियो । यो ताल २०२५ को जून महिनामा उल्लेखनीय रूपमा ठूलो भई सोमबार फुटेको स्याटेलाइट तस्वीर विश्लेषणबाट देखिएको छ ।’

चाइनिज एकेडेमी अफ साइन्सका डा. नितेश खड्का पनि सुप्राग्लेसियल तालको कारण रसुवामा बाढी आएको बताउँछन् । उनका अनुसार सन् २०२१ भन्दा पहिले त्यहाँ ताल देखिंदैनथ्यो । तर सन् २०२२ मा साना तालहरू देखापरे । २०२३ मा ताल अझै ठूलो देखियो । सन् २०२४ नोभेम्बर ३० (१५ मंसिर २०८१) त्यो ठाउँमा ताल नै देखिएन ।

सन् २०२५ जुलाई ५ (२१ असार २०८२ असार) भने त्यहाँ पुन: ताल देखापरेको छ । २०२५ जुलाई ८ (२४ असार २०८२)को तस्वीरमा भने सोही तालबाट पानी बगेको स्पष्ट देखिन्छ । त्यो पानी माटो, ढुंगा सोहोर्दै बगेको र बाढीको रूप लिएर रसुवामा विपत्ति निम्त्याएको डा. खड्काको विश्लेषण छ ।

तिब्बत हुँदै बगेर नेपालको भोटेकोशी हुँदै त्रिशूलीमा मिसिएको सो बाढीले रसुवामा उच्च, नुवाकोटमा मध्यम र धादिङमा हल्का असर गरेको थियो । नुवाकोटको त्रिशूलीमा आएको बाढीमा फसेका दम्पतीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्नुपरेको थियो ।

इसिमोडका जलवायु तथा वातावरण विज्ञ अरुणभक्त श्रेष्ठ तापक्रम वृद्धिको असरले हिमालमा छिटो हिउँ पग्लिने, नयाँ हिमतालहरू बन्ने र हिमताल फुट्ने गरेकाले जनधनको क्षति भइरहेको छ ।

उनका अनुसार लगातारको गर्मीले हिमनदी/तालहरू बन्ने र ती फैलिने कार्यमा मुख्य भूमिका खेल्छ । त्यस्तै हिमपहिरो, हिमनदी चुँडिने वा स्थायी रूपमा जमेको भू–भाग (पर्माफ्रस्ट) पग्लिएर ढिस्को खस्ने घटना पनि हुन्छ, जसले अचानक बाढी निम्त्याउन सक्छ ।

साना हिमतालको पनि जोखिम

इसिमोडको सन् २०२१ को हिमताल सूची अनुसार त्रिशूली नदीको माथिल्लो भागमा पर्ने तिब्बत स्वायत्त क्षेत्रको एउटा हिमताल उच्च जोखिममा रहेको पाइएको थियो । त्यसपछि इसिमोडले त्यसको निगरानी आवश्यक ठानेको थियो ।

तर पछिल्लो तीन दशकमा त्रिशूली नदी प्रणालीमा पर्ने हिमतालको आकार ३३ प्रतिशत र संख्या १६ प्रतिशतले बढेको इसिमोडको तथ्यांक छ ।

इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले २०७७ सालमा गरेको संयुक्त अध्ययन अनुसार नेपालमा ३ हजार ६०० बढी साना–ठूला हिमतालहरू थिए । संयुक्त अध्ययनमा ४७ वटा हिमताललाई उच्च जोखिमयुक्त ठानिएको थियो । तीमध्ये २५ वटा चीनमा, २१ वटा नेपालमा र एउटा भारतमा छन् ।

सोलुखुम्बु जिल्लाको खुम्जुङ गाविसमा पर्ने इम्जा हिमताल सबैभन्दा जोखिमयुक्त मानिन्छ । सन् १९६० तिर निर्माण भएको मानिने यो हिमताल जोखिमयुक्त पाइएपछि २०७३ साल साउनमा नेपाली सेनाको टोलीले तालको पानी घटाएको थियो । यो ताल यदि विष्फोट भएमा खुम्बु क्षेत्र मात्र नभई हिमाली संस्कृति नै लोप हुने जानकारहरु बताउँछन् । नेपालकै सबभन्दा ठूलो हिमताल च्छोरोल्पा पनि जोखिमयुक्त मानिन्छ । यो समुद्र सतहबाट ४ हजार ५८०  मिटर उचाइमा पर्दछ ।

इम्जा ताल

सुरुसुरुमा विज्ञहरु ०.०२ वर्गकिलोमिटर भन्दा ठूला तालहरूलाई मात्र जोखिमयुक्त ठान्थे । तर अहिले साना र छोटो अवधिमा बन्ने हिमतालहरू पनि ठूला बाढीको स्रोत बन्न थालेका छन् । त्यसका उदाहरण रसुवा र माथिल्लो मुस्ताङका घटना हुन् ।

अहिलेको जस्तो प्रवृत्ति जारी रहे २१औं शताब्दीको अन्त्यसम्ममा विपद्को जोखिम तीन गुणाले बढ्न सक्ने चेतावनी इसिमोडले दिएको छ ।

हिमनदीजन्य विपद्का घटना तीव्र र अनियमित रूपमा बढ्दै जानुलाई द्विवेदी जलवायु संकटको स्पष्ट लक्षण मान्छन् । साँघुरो र भिरालो क्षेत्रबाट बग्ने बाढीको वेग तीव्र हुने हुँदा त्यसबाट क्षति बढी हुने गरेको छ ।

जलवायु परिवर्तनको असर

कम्तीमा ३० वर्षको अवधिमा कुनै स्थान विशेषमा हुने मौसमी अवस्थाको औसत स्थिति त्यहाँको जलवायु हो । त्यही जलवायुको अवस्थामा दीर्घकालीन परिवर्तन आउनुलाई जलवायु परिवर्तन भनिन्छ । यो वर्षा, तापक्रम, आर्द्रता, वायुको गति आदि जस्ता जलवायुजन्य गतिविधिमा आउने दीर्घकालीन तथा प्रतिकूल अवस्थाको परिवर्तन हो ।

सन् १९८१ देखि २०२३ को वार्षिक औसत तापक्रम हेर्दा नेपालमा अधिकतम र न्यूनतम दुवै तापक्रम केही बढिरहेकाले त्यसलाई जलवायु परिवर्तन मानिने मौसमविद् सुदर्शन हुमागाईं बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागले देशभरका मौसम मापन केन्द्रको ३० वर्षको तथ्यांक विश्लेषण गरी तयार पारेको प्रतिवेदनमा नेपालमा हरेक वर्ष ०.०५६ डिग्री सेल्सियसको दरले तापक्रम वृद्धि हुँदै आएको र तापक्रम वृद्धिदर अन्य स्थानको तुलनामा हिमाली क्षेत्रमा बढी देखिएको उल्लेख छ ।

यसको असर कृषि, जलस्रोत लगायत क्षेत्रमा परेको छ । अत्यधिक वर्षा हुने, चर्को गर्मी हुने, लामो समयसम्म खडेरी पर्ने, चक्रवात आउने, समुद्रको सतह बढ्ने, हिमताल विस्फोट हुने, हिउँ तीव्र गतिमा पग्लिने, हिमालमा हिउँ कम पर्ने, कृषि उत्पादन कम हुने यसका असरहरू हुन् ।

रुकुमपूर्वको सिस्ने हिमालको नजिक पर्ने गुप्त दह

गृह मन्त्रालयको वेबसाइटमा उपलब्ध सन् २०१२ देखि सन् २०२४ अवधिको विवरण केलाउँदा चरम मौसमी अवस्थाका ४४ हजार घटना भएका छन् ।

ती घटनामा परी ५ हजार ६६७ जनाको मृत्यु भएको छ । ९२२ जना बेपत्ता छन् भने १५ हजार जना घाइते छन् । ४२ हजार भौतिक संरचनामा क्षति पुगेको छ भने पशुचौपायाको क्षतिको संख्या २४ हजार छ । जलवायुजन्य विपद्का यी सबै घटनाबाट ४९ अर्ब रुपैयाँ बराबरको क्षति नेपालले व्यहोरेको छ । यो आँकडा भूकम्प बाहेकको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको जलवायु महाशाखा प्रमुख डा. मनिषराज पाण्डेयका अनुसार तापक्रम बढ्दै जानु, हिमालहरू नाङ्गा देखिनु, सुक्खा खडेरी पर्नु, रेकर्ड ब्रेक वर्षा हुँदै बाढी–पहिरोले विपत्ति निम्त्याउनु पनि जलवायु परिवर्तनकै असर हुन् ।

यसैकारण उनी भन्छन्, ‘पछिल्ला घटनाहरूले स्पष्ट देखाएका छन्– तापक्रम वृद्धिले हिमालमा परेका असरबाट तराई मधेश पनि प्रभावित भइरहेको छ । यस्ता घटनालाई सामान्य रूपमा लिनुहुँदैन ।’

अब के गर्ने ?

माथिल्लो तटमा पहिरो, बाढी, हिमताल विस्फोट वा हिमआँधी आउनाले होस् वा तल्लो तटीय क्षेत्रमा हुने चरम मौसमी घटना होस्; त्यसबाट जनधनको ठूलो क्षति हुँदै आएको छ । त्यसले जीविकोपार्जनका स्रोतहरूमा असर पारेको छ । साथै उच्च पहाडी क्षेत्रमा खोला तथा नदी किनारमा बन्ने पूर्वाधारहरू यस्ता खालका प्राकृतिक प्रकोपको सामना गर्ने गरी डिजाइन नगरिएकाले अर्बौंको भौतिक क्षति पनि भइरहेको छ ।

त्यसैले हिमाली क्षेत्रको संकट थाहा पाउने स्वचालित प्रविधिमा आधारित पूर्वसूचना प्रणाली आवश्यक रहेको बताउँछन् विपद्विज्ञ डा. धर्मराज उप्रेती ।

जलवायु परिवर्तनले पहाडी र हिमाली क्षेत्रमा विपद्को आवृत्ति, तीव्रता र जटिलता बढाइरहेको बताउँदै उनी भन्छन्, ‘नेपालका इम्जा र च्छो–रोल्पा ताललाई मात्र खतरापूर्ण मानेर पूर्वसूचना प्रणाली जडान गरिएको छ । तर अन्य साना ताललाई बेवास्ता गर्दा यस्ता ठूला विपत्ति आइरहेको छ । त्यसैले पूर्वसूचना प्रणाली जडान र उपयोग गर्ने अनि हिमाली क्षेत्रमा निरन्तर निगरानीको व्यवस्था मिलाउनुपर्नेछ ।’

भूगर्भविद् द्विवेदी पनि अब साना र जोखिम छैनन् भनेर ठानिएका हिमतालहरूमा पनि नियमित निगरानी नगरे विनाश अझ घातक बन्ने बताउँछन् ।

उनले भने, ‘हिमाली क्षेत्रमा कस्ता खालका प्रक्रियाबाट बाढी आइरहेका छन् भन्ने कुरा त हामीले बुझिसकेका छौं, अब त्यसबाट सुरक्षित हुन हामीले के गर्ने ? कस्ता संरचना बनाउने ? गेग्रानलाई माथि नै कसरी रोक्ने वा हाम्रा आनीबानी परिवर्तन गर्ने कि के गर्ने भन्ने विषयमा कदम चाल्न ढिलो भइसकेको छ ।’

नेपालमा साना सुप्रग्लेसियस लेक विनाशकारी बन्न थालेका छन् । स्रोत : इसिमोड

नेपाल, चीन, भारत र बंगलादेश साझा नदी प्रणाली र उस्तै खालको भूगोल र मौसमी प्रभावले जोडिएका छन् । भोटेकोशी, कोशी र गण्डकीजस्ता ठूला नदीहरू तिब्बत मुहान भएर नेपालबाट भारत र बंगलादेशका तल्लो तटीय क्षेत्रमा हुँदै बंगालको खाडीमा मिसिने भएकाले यी नदीहरूमा आउने बाढीले चारवटै देश प्रभावित हुन्छन् । त्यसैले जोखिम न्यूनीकरणका लागि जलवायु कूटनीतिमार्फत अन्तरदेशीय सूचना प्रणालीको विकास अपरिहार्य रहेको विज्ञहरु बताउँछन् ।

पूर्वचेतावनी प्रणालीमा काम गर्दै आएका विपद्विज्ञ डा. धर्मराज उप्रेति भन्छन्, ‘जलवायु परिवर्तनको बदलिँदो परिस्थितिसँगै ट्रान्सबाउन्ड्री अर्ली वार्निङ सिस्टम (सीमापार पूर्वचेतावनी प्रणाली) एकदमै महत्वपूर्ण भइसकेको छ । अन्तरदेशीय सूचना आदान प्रदान नियमित हुनुपर्छ ।’

भोटेकोशी–त्रिशूली र भोटेकोशी–तातोपानी दुवै नदी किनारमा बाढी पहिरोबाट जनधनको ठूलो क्षति हुँदै आएकाले नदी किनार छोडेर मात्रै संरचना बनाउनुपर्ने नीति कागजमा मात्र सीमित भएकाले त्यो व्यवहारमै उतार्नुपर्नेमा उनी जोड दिन्छन् ।

विपद्विज्ञ उप्रेतीका अनुसार नेपालको शिरमा देखिएको यो संकट केवल हिमाली भूगोलको कुरा मात्र होइन । यसले तल्लो तटीय क्षेत्रमा समेत मानवीय र भौतिक क्षति निम्त्याइरहेकाले यो संकटलाई चिन्नु, बुझ्नु र रणनीतिक रूपमा तयारी गर्नु आवश्यक छ ।

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?