+
+
Shares
हुम्ला फलोअप -९ :

हुम्ला हिमपहिरोको ६ दिन बित्दा पनि तिलगाउँ पुगेन सरकार, प्रभावितले नै खोजे भासिएको हिमताल

तिल गाउँबासीको त्रिपालमा बास, भन्छन्- सरकारले देखेन दुःख

नरजन तामाङ नरजन तामाङ
२०८२ जेठ ६ गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको तिलगाउँमा हिमपहिरोले सिंगो बस्ती जोखिममा परेका छन् र १८ परिवार घर छोडेर पालमुनि बसेका छन्।
  • स्रोतले बताए, ‘आठ घण्टाजति उकालो हिँडेर दुईवटा हिमताल फेला पार्‍यौं र हिमताल भासिएपछि बाढी आएको अनुमान गरिन्छ।’
  • सरकारले प्रभावित क्षेत्रमा अझै पुग्न सकेको छैन र राहत कार्यमा ढिलाइ भइरहेको छ।

६ जेठ, हुम्ला । हुम्लाको तिलगाउँमा हिमपहिरो गएको ६ दिन बितिसकेको छ । सिंगो बस्ती उजाडिने जोखिम छ । तिलगाउँका १८ परिवार घर छाडेर असुरक्षित रूपमा पालमुनि बसेका छन् । तर, राज्य न उनीहरूको उद्धारमा पुगेको छ, न हिमपहिरोको कारण र थप जोखिमको सम्भावना अध्ययन गर्न ।

बरु पीडितहरू नै बाढीपहिरो कसरी आयो भन्दै खोजीमा लागे । पहिरो गएको भोलिपल्ट बिहान पाँच बजे नै पाँच युवा पहिरो कहाँबाट कसरी आयो भन्ने थाहा पाउन खोलैखोला माथि लागे । लगातार आठ घण्टा पैदल हिँडेपछि उनीहरूले दुईवटा हिमताल फेला पारे ।

टोलीमा रहेका नाम्खा गाउँपालिका–६ का कञ्जोक फुर्वु लामाले भने, ‘आठ घण्टाजति उकालो हिँडेपछि हामीले हिमताल भएको स्थान फेला पार्‍यौं । त्यहाँ दुईवटा हिमताल रहेछ ।’ शुक्रबार बिहान ५ बजे उनीहरू बाढी कहाँबाट कसरी आयो भन्ने थाहा पाउन खोलैखोला माथि लागे ।

टोलीका सदस्यले हिमताल भासिएपछि जमिनभित्र हुँदै तालको पानी बगेको र बाढीको रूप लिएको अनुमान गरेका छन् । ‘पाँच हजार ३ सय मिटर उचाइमा रहेको ठग्रा नाग्लामा दुईवटा हिमताल रहेछ । हिमतालमुनिको जमिन भासिएपछि तालको पानी मुनिमुनिबाटै बाहिर निस्किएर बाढी गएको अनुमान गरेका छौं,’ लामाले भने ।

ती तालबारे उनीहरूलाई यसअघि जानकारी थिएन । त्यसैले उनीहरूलाई तालको नामसमेत थाहा छैन । यसअघि आफ्ना बाबुबाजे चौरी लिएर जाने गरेको तर, आफूहरू कहिल्यै त्यहाँ नगएको उनीहरूले बताए । 

प्रभावित क्षेत्रमा अझै पुगेन सरकार

तिलगाउँबासीका लागि १ जेठको दिन सामान्य बितेको थियो । खाना खाएर सुतेका उनीहरू गड्याङगुडुङको ठूलो आवाजसँगै मध्यरात जागे । एकैछिनमा भागाभाग भयो । किनभने, माथिबाट गडगडाएर बाढीपहिरो आएको थियो ।

स्थानीय सोनाम साङ्मु लामाले त्यो रात सम्झिँदै भने, ‘राति बिउँझिँदा मानिसहरू कराइरहेका, चिच्याइरहेका थिए । लेदो माटो, ढुंगासहित बाढी आएको रहेछ । गाउँका सबैलाई घरघरबाट निकालेर खुला चौरमा पठायौं । डरैडरमा रात बित्यो ।’

गाउँमा ५० घर छन् । ती सबै चर्किएका छन् । १८ परिवारका ३२ जना अहिले खुला चौरमा पाल टाँगेर बसिरहेका छन् । उज्यालोमा घर पुग्छन्, खानेकुराको जाहो गर्छन् र रात परेपछि बास बस्न चौरमै आइपुग्छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार केन्द्रबाट विज्ञहरूको टोली काठमाडौंबाट बुधबार नेपालगन्ज आउने छ भने बिहीबार प्रभावित क्षेत्र पुग्नेछ ।

जोखिमपूर्ण बसाइ

पहिरोपछि पूरै बस्ती जोखिममा छ । बस्तीमुनिको जमिन पहिरोले खोलिसकेको छ । त्यसयता स्थानीय दुई स्थानमा बाँडिएर बसेका छन् । हिल भन्ने स्थानको चौरमा ४ वटा ठूला र ९ वटा साना त्रिपाल टाँगेर केही स्थानीय बसेका छन् । आधाजति स्थानीय हिमशिखर आधारभूत विद्यालयमा शरण लिइरहेका छन् ।

१५ किलोवाट क्षमताको एक करोड बढी लगानीमा निर्माणाधीन पावरहाउस, एउटा घट्ट, तिललाई हल्जीसँग जोड्ने काठेपुल, खानेपानी ट्याकी लगायतका संरचना क्षतविक्षत भएका छन् ।

घटनाको पाँचौं दिन स्थानीय कार्चेन लामाले सुनाए, ‘जीवन कष्टकर बनेको छ । पिउने पानीसम्मको दुःख छ । खानेपानीको पाइप र ट्यांकीमा क्षति पुगेपछि खोलाको पानी पिउन बाध्य भएका छौं । तर, सरकारले हाम्रो दुःख देखेन ।’

अर्का स्थानीय दोर्जे टुन्डुप लामाले आफ्नै नागरिक पीडामा पर्दा पनि सरकारले चासो नदेखाएको गुनासो गरे ।

जिल्ला विपद व्यवस्थापन समिति हुम्लाका संयोजक प्रजिअ पाण्डेयको अध्यक्षतामा सोमबार विपत व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले प्रभावित भएकाहरूलाई उचित खानपान तथा बसोबासको व्यवस्था, खानेपानी, पुल, बाटोजस्ता क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गर्ने निर्णय गरेको छ ।

प्रजिअ पाण्डेयका अनुसार खानेपानीका १८ मिटर पाइप पठाइएको छ । खानेपानी र ऊर्जा सिंचाइ तथा खानेपानी कार्यालयलाई क्षतिग्रस्त पूर्वाधार मर्मत सम्भार गर्न निर्देशन दिइएको छ ।

बैठकले नामखा गाउँपालिकाका प्रमुख प्रेमबहादुर लामाको नेतृत्वमा राहत सामग्री पठाउने निर्णय गरेको छ । गाउँपालिकासँग समन्वय गरी उद्योग वाणिज्य संघ हुम्ला र विभिन्न सामाजिक संस्थाले चामल, दाल, चिनी, तेल, चिउरा, भुजा लगायतका खाद्यान्न पठाएका छन् ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

 

हुम्ला हिमपहिरो
लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?