+
+
Shares

तरुण दलको खुकुरी काण्डका घाइते भन्छन् : ‘प्रहरीले जाहेरी लिएन भन्ने सुनेको छु, पार्टीले अन्याय नगरोस्’

‘ज्यानै लिने उद्देश्यले आक्रमण गरिएको रहेछ । फर्की-फर्की आएर आक्रमण गरेका थिए । हेर्दा पूर्वतयारी रहेछ कि भन्ने पनि लाग्यो ।’

सुवास पण्डित सुवास पण्डित
२०८२ जेठ ५ गते २०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट घाइते भएका तीनमध्ये दुईजनालाई उपचारपछि डिस्चार्ज गरिएको छ।
  • सुदीप अधिकारीलाई उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको छ।

५ जेठ, चितवन । नेपाल तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट घाइते भएकामध्ये दुईजना उपचारपछि डिस्चार्ज भएका छन् भने एकजनाको अझै उपचार भइरहेको छ ।

गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका डा. टकराज गुरुङ पक्षधर युवाहरूको आक्रमणबाट घाइते भएका चारजनामध्ये खुसीजंग गुरुङ र सुदीप अधिकारीलाई उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । घाइते हुने सबै गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल समूहका हुन् ।

उपचारपछि बेसीशहर नगरपालिका- ९ का वडाध्यक्षसमेत रहेका गुरुङ अस्पतालबाट आज सोमबार डिस्चार्ज भए भने नेविसंघका केन्द्रीय सदस्य सुदीप अधिकारीको चितवनमा उपचार भइरहेको छ । अधिकारीको टाउकाको देव्रे भागमा खुकुरी हानिएको थियो । उनले आफूहरूलाई ज्यान मार्ने उद्देश्यले नै आक्रमण गरिएको बताए ।

घटना भएको ३ दिन बितिसक्दा पनि प्रहरीले जाहेरी लिन नमानेकोमा दुःखी बनेका अधिकारीले आफूले न्याय पाउने बताए । पीडितले मध्यनेपाल नगरपालिका–७ का ३८ वर्षीय धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का ४० वर्षीय गणेश गुरुङ, मर्स्याङ्दी गाउँपालिका–५ का ४२ वर्षीय भूपेश गुरुङलाई ज्यान मार्ने उद्योगमा प्रहरीलाई जाहेरी बुझाएका छन् । तर प्रहरीले सच्याउनुपर्ने भन्दै जाहेरी दर्ता गरेको छैन ।

खुकुरी हानेर घाइते भएका अधिकारीले अनलाइनखबरसँग कुराकानी गर्दै त्यस दिनको घटना विवरण यसरी सुनाए-

‘त्यस दिन प्रगति टोलस्थित आमा समूहको भवनमा कार्यक्रम हुँदै थियो । कार्यक्रमका बारेमा एक पक्षलाई मात्रै जानकारी थियो । हामी कार्यक्रममा जाने, आफ्नो विचार र असहमति राख्ने भनेर कार्यक्रमस्थलमा पुग्यौं ।

झण्डै ७०/८० जना हामी भित्र छिर्ने वित्तिकै नाराबाजी भयो । केहीबेरमा नै कुर्सी हानेर आक्रमण गर्न थालियो । अब यहाँ बस्न हुँदैन भनेर बाहिर निस्कन मात्रै लागेका थियौं, छानी-छानी आक्रमण हुन थाल्यो ।

म गेटतिर निस्कन मात्रै लागेको थिएँ, एक जना मान्छेले च्याप्पै अँठ्याए, अर्कोले आक्रमण गरे । म लडें । लडेपछि ४/५ लात्ती हाने । मेरो देव्रेपट्टि असाध्यै दुख्न थाल्यो । कति कुरा थाहा भयो, कति थाहा भएन । लडाएको र घेराबन्दी गरेकोसम्म याद छ, अरु छैन ।

बल्लबल्ल त्यहाँबाट उम्किएँ । पछि बाटोमा आएको एक स्कुटरलाई रोकेर अस्पतालसम्म पुगेँ । रगत बगिरहेको थियो । भिडियो हेर्दा थाहा भयो, उनीहरूले नोटिस गरेर नै आक्रमण गरेका रहेछन् ।

हाम्रो त प्रजातान्त्रिक पार्टी हो, विचार सुनिएला, असहमति राख्न पाइएला भन्ने लागेको थियो । तरुण दलका अध्यक्ष, निवर्तमान अध्यक्ष, पार्टीका अध्यक्ष, निवर्तमान अध्यक्षहरू सबै नेता भएको ठाउँमा जाँदा यस्तो आक्रमण होला भनेर सोचेका पनि थिएनौं ।

उनीहरूले एकलौटी गर्दैछन् भन्ने पनि थाहा थियो, सरसल्लाहविना नै प्रतिनिधि बनाएर एकपक्षीय रूपमा अधिवेशन गर्न खोजिएको थियो । हामी पनि त्यही पार्टीका मान्छे थियौं, फरक त थिएनौं ।

खुकुरी हानेको देख्दा ज्यानै लिने उद्देश्यले आक्रमण गरिएको रहेछ । फर्की-फर्की आएर आक्रमण गरेका थिए । हेर्दा पूर्वतयारी रहेछ कि भन्ने पनि लाग्यो ।

घटना भएको तीन दिन हुँदासमेत जाहेरी नलिएको भन्ने सुनेको छु । हाम्रो माग यत्ति छ, दोषीलाई कारबाही हुनुपर्छ । पार्टीले पनि न्याय दिन्छ भन्ने लागेको छ । पार्टी सभापतिलाई केही दबाब होला । उहाँले हामीमाथि अन्याय नगर्नुहोला । न्याय पाइन्छ भन्ने लागेको छ । पार्टीमा विभाजन आउन हुँदैन । अहिले मेरो अवस्था सुधारोन्मुख ।’

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?