
News Summary
Generated by OK AI. Editorially reviewed.- लमजुङको नेपाली कांग्रेसको अधिवेशन विवाद र हिंसात्मक घटनामा चार जना घाइते भए।
- घटनामा कांग्रेसका नेताहरूले आ–आफ्नो पक्षलाई आरोप लगाए, प्रहरी अनुसन्धान जारी छ।
- घटनाको छानबिन र पक्राउमा ढिलाइ गर्दा प्रहरीको भूमिका र विश्वसनियतामाथि प्रश्न उठेको छ।
४ जेठ, पोखरा । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल लमजुङकोे अधिवेशन विवादित मात्र होइन, हिंसात्मक नै बन्न पुग्यो । सदरमुकाम बेसीसहरमा खुकुरी र रड प्रहार गरी तरुण दलकै एक पक्षले अर्को पक्षलाई घाइते बनायो । शनिबार भएको घटनामा चार जना घाइते भए, जसमध्ये दुईलाई गहिरो चोट लाग्यो ।
धारिलो हतियारले हमला गरेका भिडियो र तस्वीर आइतबार दिनभर पनि भाइरल बने । कांग्रेसका जिल्ला नेताहरू भने गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङ र वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलको टकरावले हिंसात्मक अवस्था निम्तिएको बताउँछन् ।
‘कांग्रेसको १३ औं महाधिवेशनपछि विभिन्न खाले संघर्ष गर्दै आएका गुरुङ र पौडेलको तिक्तता कतिसम्म विषाक्त बनिसकेको रहेछ भन्ने शनिबारको घटनाले देखायो,’ लमजुङ कांग्रेसका एक नेताले भने, ‘यो घटनाले तरुणलाई विभाजित मात्रै गरेन, कांग्रेस पार्टीको प्रतिष्ठासमेत धुमिल बनायो ।’
खुकुरी प्रहारबाट घाइते भएकामध्ये खुसीजंग गुरुङ र सुदीप अधिकारीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बेसीसहर नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका गुरुङ तरुण दलका क्षेत्रीय सभापति हुन् । अधिकारी भने नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन् । बस्नेत लमजुङ कांग्रेसका जिल्ला सदस्य किशोरजंग बस्नेत र नेपाल तरुण दलका सदस्य शंकर सापकोटाको भने लमजुङमै उपचार भइरहेको छ ।
घटनापछि एकले अर्को पक्षलाई आरोप लगाइरहेको छ । प्रमुख सत्तासिन दल कांग्रेसको जिल्लादेखि प्रदेश र केन्द्रसम्मका नेताको स्वार्थ जोडिएकाले प्रहरीलेसमेत घटनाको छानबिन अघि बढाउन सकेको छैन । आँखै अगाडि भएको खुकुरी हानाहानको घटनाबाट पन्छिन खोजेको प्रहरी संलग्नको खोजी भइरहेको बताइरहेको छ । घाइतेहरूले प्रहरीको भूमिकामाथि आशंका व्यक्त गरेका छन् ।
पीडितले मध्यनेपाल नगरपालिका–७ का ३८ वर्षीय धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का ४० वर्षीय गणेश गुरुङ, मस्र्याङ्दी गाउँपालिका–५ का ४२ वर्षीय भूपेश गुरुङलाई ज्यान मार्ने उद्योगमा प्रहरीलाई जाहेरी बुझाएका छन् । तर त्यो सच्याउनुपर्ने भन्दै प्रहरी दर्ता गरेको छैन ।
डा. गुरुङ समूहले सबै भातृ संगठन कब्जा गर्न खोज्दा घटना भएको भेषबहादुरको दावी छ । तरुण दलका कार्यवाहक अध्यक्ष तथा आक्रमणको आरोप लागेका कुमराशी गुरुङ भुपेशले विज्ञप्ति जारी गर्दै अर्को समूहले हतियारसहित आक्रमण गरेको र आफूहरूले खोसेको दावी गरेका छन् ।
प्रहरीमाथि उठ्यो प्रश्न
कार्यक्रमस्थलभित्र अधिवेशन चलिरहँदा बाहिर केही तरुण हातमा नांगो खुकुरी र रड लिएर बसेका थिए । त्यही नजिकै प्रहरी मुकदर्शक बनेर बसेको थियो । खुकुरी र रडले विरोधी पक्षमाथि प्रहार हुन थाल्दासमेत प्रहरीले हस्तक्षेप गरेन । आफ्नै अगाडिको घटनामा प्रहरीले आँखा चिम्लियो । केहीबेरपछि प्रहरीले खुकुरी खोस्यो । तर, आक्रमणकारीलाई पक्राउ गरेन । यसले प्रहरीको विश्वसनियतामाथि प्रश्न उठेको छ ।
‘हातहतियार देखाएर डरधम्की दिन त पाइँदैन भने सार्वजनिक स्थलमा ज्यानैसमेत जान सक्ने गरी प्रहार हुँदा त्यसै छोड्दै मिल्दैन । नियन्त्रणमा लिने, प्रमाण जुटाउने र घटनाको अनुसन्धान गर्ने काममा चुक्नु हुँदैन,’ नेपाल प्रहरीका पूर्वआईजी सर्वेन्द्र खनालले अनलाइनखबरसँग भने, ‘आँखै अगाडि फौजदारी कसुर हुँदा समाएर प्रक्रियामा लैजाने, संलग्नलाई कानुनी दायरमा ल्याउने काम गर्नुपर्छ । नभए प्रहरीको विश्वसनियता घट्छ ।’
अभिवेशनमा राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, गण्डकीका मन्त्रीसमेत सहभागी थिए । एकातिर प्रहरीले कसैलाई पक्राउ गरेको छैन भने अर्कोतिर जाहेरीसमेत दर्ता गरेको छैन । लमजुङ प्रहरी प्रमुख रोशन बोहोराका अनुसार जाहेरी दर्ता प्रक्रियामै छ ।
पीडितका तर्फबाट मुलुकी अपराध संहिता २०७४ को १७७ अनुसारको कसुरमा हदैसम्मको कारबाही गर्न माग गर्दै किटानी जाहेरी दिइएको छ । जाहेरीमा तोकिएका केही व्यक्तिको संलग्नताबारे प्रहरीले एकीन गर्न बाँकी रहेको भन्दै प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजकिशोर साह तेलीले ज्यान मार्ने उद्योगमा परेको जाहेरीमा केही तथ्य पनि सच्याउनुपर्ने बताए ।
पूर्वप्रहरी प्रमुख खनालका अनुसार भने आँखैअगाडि भएको फौजदारी कसुरमा पीडितका तर्फबाट जाहेरी नपरे पनि प्रहरी अनुसन्धान प्रतिवेदन तयार गरेर अगाडि बढ्न सक्छ । तर, बेसीसहरमा भने आक्रमण गर्ने समूहलाई नै सुरक्षा दिएर छोडेको घाइतेहरूको आरोप छ ।
आँखै अगाडि हातहतियारसहित आक्रमण हुँदा र भेटिँदा पक्राउ नगरेको प्रहरीले अहिले भने उनीहरूको खोजी भइरहेको बताएको छ ।
तरुण दलको जिल्ला अधिवेशन लमजुङबाट सुरु भएको थियो । अधिवेशन थालिएको पहिलो जिल्लामै हातहतियार प्रहार हुँदा नेताहरूले भने घटनालाई सामान्यीकरण गरिरहेका छन् । अहिलेसम्म केन्द्रीय नेता, तरुणका केन्द्रीय अध्यक्ष कसैले पनि घटनाबारे प्रतिक्रिया जनाएका छैनन् ।
कांग्रेस लमजुङका पूर्वसभापति कृष्ण कोइराला घटनाको निश्पक्ष छानबिन गरेर कारबाही हुनुपर्ने बताउँछन् । दुई समूहबीच पहिलेदेखि नै विवाद रहे पनि यसखालको घटना क्षमायोग्य नभएको उनको भनाइ छ । धेरै नेताहरूले भने यो घटनालाई सामान्यीकरण गरिरहेका छन् । यहाँ पनि नेताहरू गुटगत पक्षधरता देखिएको छ ।
शेखरकाे दबाबपछि देउवाको फोन
जिल्ला अधिवेशनमा खुकुरी प्रहारको घटना सार्वजनिक भइरहँदा पनि निर्वाचन प्रक्रिया निरन्तर चलिरहेको थियो । अधिवेशन भाँड्न खोज्ने समूहलाई निस्तेज पारिएको भन्दै चुनावी प्रक्रिया पूरा गरेर नेतृत्व घोषणा गर्ने तयारी एउटा पक्षले गरेको थियो ।
कार्यवाहक अध्यक्ष कुमराशी गुरुङ (भुपेश)कै नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्ने तयारी भइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाको फोनले अधिवेशन रोकियो । एक नेताका अनुसार सभापति देउवाको सचिवालयबाट फोन आएपछि अधिवेशन रोकिएको हो ।
लमजुङ घटना सार्वजनिक भएपछि कांग्रेस नेता शेखर कोइरालाले देउवाको ध्यानाकर्षण गराएका थिए । त्यसपछि देउवाको सचिवालयबाट अधिवेशन रोक्न निर्देशन गएको हो । कोइरालाको सचिवालयले पनि देउवालाई घटनाबारे ध्यानाकर्षण गराइएको र घटना गम्भीर प्रकृतिको भएकाले कसैलाई संरक्षण हुन नहुने स्पष्ट धारणा राखिएको जनाएको छ ।
तरुण दल जिल्ला अध्यक्ष ललित गुरुङ भने अहिले हङकङ छन् । गुण्डागर्दी पृष्ठभूमिबाट कांग्रेसको सक्रिय राजनीतिमा छिरेका ललित हङकङ बसेपछि कार्यवाहक अध्यक्ष भूपेशको अध्यक्षतामा अधिवेशन अगाडि बढेको थियो । उनकै नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको थियो ।
खुकुरी प्रहारबाट घाइते बनेका खुसीजंग गुरुङ पनि अध्यक्षका आकांक्षी थिए । उनलाई प्रतिनिधि आउनबाटै रोकिएको भन्दै विरोध भएको थियो ।
नसोचेको घटना घट्यो : मुख्यसचिव थानप्रसाद
नेपाल तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेलका अनुसार सहमतिमा नेतृत्व चयन गर्ने गरी अधिवेशन गर्ने सहमति भएको थियो । उनले केन्द्रीय अध्यक्ष विद्वान गुरुङ आफैं नेताहरूसँगको सल्लाह र छलफलपछि सहमतिमा नेतृत्व टुंग्याउने उद्धेश्यसहित लमजुङ पुगेको भए पनि नसोचेको घटना भएको उनले बताए ।
‘छलफबाट सहमतिमै नेतृत्व टुंग्याउने तयारी भएको हो । असहमतिलाई पनि सहमतिमा बदलेर नेतृत्व चयन गर्ने उद्देश्यसका साथ उहाँ पुग्नुभएको थियो,’ उनले भने, ‘तर, त्यहाँ साथीहरू र नेताहरूले समेत बुझ्नुभएन, जसका कारण दुखद् घटना भयो ।’
प्रतिक्रिया 4