+
+
Shares

थाइल्यान्डको गाँजा आकाशमार्गबाट धमाधम नेपाल

हुलाकबाट हुने गाँजा तस्करीको पटाक्षेप भएपछि तस्करहरुको नजर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छ । प्रहरीका अनुसार, अहिले रोजाइमा थाइल्याण्डमा पाइने हाइब्रिड गाँजा परेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ वैशाख ३० गते २२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा गाँजा प्रतिबन्धित भए पनि यसको अवैध तस्करी र खेती अझै जारी छ र यसले सुरक्षा र कानुनी चुनौतीहरू सिर्जना गरेको छ।
  • थाइल्याण्डबाट आउने गाँजा नेपालमा तस्करीको मुख्य स्रोत बनेको छ र यसले भारत र अन्य मुलुकहरूमा पनि तस्करी हुँदै आएको छ।
  • लागूऔषधको अवैध कारोबारले संगठित अपराध, भ्रष्टाचार र अन्य अपराधहरूलाई बढावा दिन सक्ने भएकाले यसमा गम्भीर अनुसन्धान आवश्यक छ।

३० वैशाख, काठमाडौं । कुनै बेला यस्तो थियो, जतिबेला हिप्पीहरु नेपाललाई गाँजाको स्वर्ग ठान्थे । हिमाली देशको सुन्दरता, न्यानो आतिथ्य, सस्तो जीवनशैली, अनि गाँजाको छेलोखेलो–काठमाडौं ओर्लिन यस्ता अनेक कारणले उनीहरुलाई आकर्षित गरेका थिए ।

२०३६ सालसम्म नेपालमा गाँजा प्रतिबन्धित थिएन । कतिले खेती नै गरेका थिए, गाउँघरमा जहाँतहीँ उम्रिन्थ्यो । अहिले त्यही गाँजालाई औषधीय प्रयोगका लागि वैधानिकता दिनुपर्ने बहस चलिरहेको छ ।

संसद् भवनभित्र गाँजालाई वैधानिकता दिने बहस चलिरहँदा प्रहरीले भने नियन्त्रणका लागि विशेष अभियान चलाउँदै आएको छ । अहिलेसम्म गाँजा खेती वा बेचबिखन कानुनतः दण्डनीय नै छ । यस्तोमा धादिङ, नुवाकोट लगायतका क्षेत्रमा प्रहरीले बेलाबेला ‘सर्च एण्ड डिस्ट्रोय’ अर्थात् गाँजा खोजी र नष्ट अभियान चलाउने गरेको छ ।

पहाडी क्षेत्रमा आफैं उम्रिएर जंगल बनेको गाँजालाई फडानी गरेका खबर पनि बेलाबेला आइरहन्छन् । प्रहरीका अनुसार, धार्मिक मान्यतासँग समेत जोडिएको गाँजा अझै कतिपय स्थानमा लुकिछिपी खेती हुने गर्छ र भारततर्फ तस्करी गरिन्छ ।

उत्पादित गाँजाको केही हिस्सा यहीँ पनि खपत हुने गरेको छ । स्वदेशमै सहज उपलब्धताका बाबजुद हिजोआज दक्षिण पूर्वी एसियाली मुलुक थाइल्याण्डबाट हवाई मार्ग हुँदै नेपालमा गाँजा भित्रिने क्रम बढेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंका प्रमुख सुदर्शन कोइराला भन्छन्, ‘पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डबाट आएका थुप्रै मानिसहरुको साथमा गाँजा बरामद भएका छन्, कतिपयमा अझै अनुसन्धान जारी छ ।’

विमानस्थलमा बरामद भएको गाँजाको पोका । तस्वीरः नेपाल प्रहरी

भएको छैन गम्भीर अनुसन्धान

क्याथे प्यासिफिक एयरलाइन्सको उडान नम्बर सीएक्स६०३ बाट थाई युवती जिरानुन रुनग्रुएङ २२ चैत २०८१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं ओर्लिइन् । अध्यागमन जाँच पार गरेर २४ वर्षीया उनी गुलावी सुटकेश गुडाउँदै अघि बढिन् ।

भन्सार गेटको रेड च्यानल क्षेत्रमा बसेका सुरक्षाकर्मीले एक्सरे मेसिनमा सुटकेश राख्न लगाए । उनी केही अल्मलिएजस्तो देखिइन्, उनीहरुलाई जाँच गर्दा एक्स–रे मसिनमा शंकास्पद दृश्य देखियो ।

दोहोर्‍याएर मेसिनमा हाल्दा समेत शंका लागेपछि अधिकारीहरुले खोलेर जाँच गरे । प्रहरीले सुटकेश जाँच गर्न खोज्दा उनी मौन रहिन् ।

केही बेरमै लगेजभित्र प्लास्टिकमा प्याक गरिएको अवस्थामा १० पोका लागुऔषध गाँजा बरामद भयो । तौल लिँदा ८ किलो ५ सय ग्राम गाँजा लिएर उनी काठमाडौं आएको खुल्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरका अनुसार, पछिल्लो समय विमानस्थलमा थाइल्याण्डबाट गाँजा आउने क्रम बढेको छ ।

‘हामीले विस्तृत अनुसन्धान नगर्ने हुँदा समातिने वित्तिकै लागूऔषध नियन्त्रण ब्यूरो पठाउँछौं’, उनले भने, ‘थाइल्यान्डमा गाँजाले वैधानिकता पाएपछि नेपाल आउने क्रम बढेको हुनसक्छ ।’

लामो समयदेखि नेपालमै गाँजा उत्पादन र दक्षिण छिमेकी मुलुकमा तस्करी हुने गरेको छ । तर, किन नेपालमा थाई गाँजा भित्रिइरहेको छ ?

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्य भन्छन्, ‘थाइल्यान्डमा पाइने गाँजा प्रशोधित गरेर आउने र त्यो सामान्यतः नेपालमा पाइने गाँजाको तुलनामा धेरै गुणा कडा हुने भएकाले यसको तस्करी हुने गर्छ ।’

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृत पुष्पेन्द्र सुवेदी चाहिँ नेपालको प्रयोगशालामा हालसम्म उपलब्ध प्रविधिले गाँजाको गुणस्तर पत्ता लगाउन नसक्ने हुँदा के फरक छ भन्ने बताउन नसकिने सुनाउँछन् ।

‘धेरैले प्रयोग गरिरहेका छन् भने त्यो गुणस्तरीय भएरै हुनसक्छ’, उनले भने, ‘तर, प्रहरी वा हाम्रो प्रयोगशालामा बरामद वस्तु गाँजा हो कि होइन भन्ने मात्र जाँच हुन्छ, त्यही अनुसार मात्र रिपोर्ट दिएर पठाउँछौं ।’

विगतमा हुलाकमार्फत् छिटपुट रुपमा विभिन्न मुलुकबाट प्रशोधित गाँजा नेपाल आउने गरेको थियो ।

‘तर, पछिल्लो समय हवाई मार्गबाट समेत ल्याइएको घटनाहरु देखिएका छन्’, लागूऔषध नियन्त्रण ब्यूरोका पूर्वप्रमुख समेत रहेका आचार्य भन्छन्, ‘हुलाकबाट आउँदा व्यक्तिगत प्रयोजनका लागि ल्याएजस्तो देखिन्थ्यो भने अहिले ठूलो परिणाममा आएका देखिन्छ ।’

थाई युवती जिरानुनले प्रहरी कहाँ दिएको बयानले पनि थाई गाँजा तस्करीमा संगठित समूहको संलग्नता हुनसक्ने संकेत गर्छ । उनी थाइल्यान्डमा रहँदा अनलाइन डेलिभरी कम्पनी जेएण्डटी एक्सप्रेसका लागि बैंककका विभिन्न स्थानमा सामान पुर्‍याउने काम गर्थिन् ।

नुवाकोटमा आफैं उम्रिएको गाँजाको बोट । तस्वीरः अनलाइनखबर

तर, दुई महिनाअघि ससिकान नामक युवतीले उनलाई मुलुकबाहिर सामान डेलिभरी गर्ने गरी आकर्षक अफर राखिन् । उनको प्रस्ताव अनुसार, ३ घन्टा २० मिनेटको हवाई दूरी पूरा गरेर काठमाडौं पुगेर फर्किँदा १५ हजार थाई भाट (नेपाली ६१ हजार नेपाली रुपैयाँ) आउँथ्यो ।

काठमाडौंमा होटल खर्च र हवाई टिकट समेत टोलीले आफैं व्यहोर्ने, सामान पुर्‍याएर मात्र आउनुपर्ने भनेपछि उनी तत्कालै तयार भएकी थिइन् । प्रहरीका अनुसार, उनी सम्पर्कमा पुगेको समूहले यो अफर राखेपछि बल्ल जिरानुनले राहदानी बनाएकी थिइन् ।

प्रहरीलाई दिएको बयानमा उल्लेख भएअनुसार, सुवर्णभूमि विमानस्थलबाट उनलाई एक जना व्यक्तिले काठमाडौं लिएर जानुपर्ने सुटकेश दिएका थिए । त्यसपछि ठमेलमा बुक गरिएको होटलमा त्यो सामान लिन अर्को मानिस आउँछ भनेर उनलाई भनिएको थियो । यद्यपि, होटलमा पुग्नुअगावै उनी विमानस्थलमै पक्राउ परिन् ।

विगतमा प्रहरीले यसरी लागूऔषध ल्याउने व्यक्तिलाई त्यत्तिकै निस्किन दिएर होटलमा रेकी गर्दै सहयोगीलाई समेत समात्ने गथ्र्यो । तर, यसपटक त्यस्तो भएन । पक्राउ परेको केही समयमै उनी समातिएको सूचना बाहिरियो । सहयोगी अनुसन्धानको दायरामै आएनन् ।

‘जुन हिसाबले उनलाई काठमाडौं जानेआउने खर्चसहित लगानी गरिएको देखिन्छ, त्यो हेर्दा यसमा कुनै ठूलै गिरोह संलग्न हुनसक्ने देखिन्छ’, एक अनुसन्धान अधिकृत भन्छन् । तर, लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले यो गिरोहबारे गम्भीर अनुसन्धान गरेको देखिन्न ।

एनसीबीका पूर्वप्रमुख हेमन्त मल्ल ठकुरी लागूऔषधमा संलग्न अन्तरदेशीय गिरोहको पटाक्षेप गर्न लामो समयसम्म फलोअप गर्नुपर्ने बताउँदै भन्छन्, ‘कहिलेकाहीँ विदेशी निकायसँग समेत समन्वय गरेर त्यसको जरासम्म पुग्नुपर्ने हुनसक्छ ।’

भारततर्फ तस्करी

‘थाइल्याण्डबाट आउने गाँजा नेपालमा उत्पादन हुने भन्दा तीन–चार गुणासम्म कडा हुन्छ’ – लागुऔषध अनुसन्धानमा १३ वर्ष काम गरेका पूर्वडीआईजी हेमन्त मल्ल

पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) मल्ल थाइल्याण्डबाट आउने गाँजालाई हाईब्रिड गाँजा भन्न रुचाउँछन् ।

‘नेपालमा पाइने गाँजा भनेको खेतमा फल्ने हो, जंगलमा आफैं उम्रिने हो’, उनले थपे, ‘तर, अहिले हवाई रुटबाट आएको अनुकूलित वातावरणमा हुर्काइने खास किसिमको गाँजा हो ।’

उनका अनुसार, थाइल्याण्डबाट आउने गाँजा नेपालमा उत्पादन हुने भन्दा तीन–चार गुणासम्म कडा हुन्छ ।

‘मैले जतिपनि विदेशबाट नेपालमा आएको गाँजा हेरेको छु, त्यो सबै हाईब्रिड भएको पाएको छु’, लागुऔषध अनुसन्धानमा १३ वर्ष विताएका मल्लले थपे, ‘तर, यसको बजार नेपाल होइन, यो काठमाडौं हुँदै स्थलमार्गबाट भारततर्फ जान्छ ।’

विमानस्थल प्रहरीका अनुसार, थाइल्यान्डबाट आएको गाँजासहित पक्राउ पर्नेमा भारतीयको संख्या पनि बढी छ ।

थाई एयरवेजबाट १४ चैत २०८१ मा काठमाडौं ओर्लिएका अनवर मोहम्मद र सैयद रजियाबानोको सुटकेसमा पनि गाँजा भेटिएको थियो । अनवरको सुटेकसमा १ केजी ८०० ग्राम र सय्यदसँग १ किलो ६०० ग्राम गाँजा भेटिएको थियो ।

एनसीबीसँग बयान दिने क्रममा उनले मुम्बईमा चिया पसलमा भेट भएका टोनी नामक व्यक्तिले आफूलाई महँगो कपडाको ब्याग नपाल हुँदै भारत लैजाने कामका लागि प्रस्ताव गरेको बताएका छन् ।

‘टिकट र होटल खर्चको व्यवस्था गर्छु, फर्किएर आउँदा ब्याग लिएर आउनुपर्ने भनेको थियो’, अनवरले भनेका छन्, ‘त्यसवापत १५/१५ हजार भारतीय रुपैयाँ दिने भनेको थियो, घुम्न समेत पाइने पैसा पनि आउने भएपछि हुन्छ भनेको थिएँ ।’

उनकै प्रस्तावमा सय्यद पनि बैंकक जान तयार भएकी थिइन् । त्यसअनुसार उनीहरु मुम्बईबाट सिधा बैंकक गएका थिए भने फर्किँदा काठमाडौंको टिकट थियो । स्थलमार्ग हुँदै भारत प्रवेश गर्ने तयारी भए पनि उनीहरु विमानस्थलमै समातिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, यसरी थाइल्याण्डबाट आउने अधिकांश गाँजा भारत पुग्ने गरेको छ । ‘दिल्ली, पञ्जाब, मुम्बई, पुणे, गोवा लगायतको क्षेत्रमा यी गाँजा पुग्ने गरेका छन्, नेपालमा चाहिँ यसका एकदम सीमित प्रयोगकर्ता हुनसक्छन्’, ती अधिकृतले भने, ‘भारतमा चाहिँ क्लब र निजी पार्टीहरुमा यस किमिसका गाँजा बिक्री हुन्छन् ।’

केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाका अनुसार, आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्ममा विमानस्थलमा ११४ किलो ८२५ ग्राम लागूऔषध गाँजा बरामद भएको छ । मंगलबार मात्र पनि विमानस्थलमा थाइल्याण्डबाट आएको १० किलो १७० ग्राम गाँजासहित २५ वर्षीय अब्हुदे पाहुने पक्राउ परेका छन् ।

जबकि, आर्थिक वर्ष ०८०/८१ मा भने ५४० ग्राम, ०७९/०८० मा ४ किलो ७५० ग्राम र ०७८/०७९ मा ३६ ग्राम ८०० मिलिग्राम गाँजा विमानस्थलमा बरामद भएको थियो ।

पछिल्लो समय विमानस्थलमा बरामद भएको अधिकांश गाँजा थाईल्याण्डबाट फर्किएका मानिसहरुले ल्याएका छन् । अर्थात्, पछिल्लो समय लागूऔषध तस्करहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनलाई गाँजा तस्करीको नयाँ रुट बनाइरहेका छन् ।

जानकारहरुका अनुसार, नेपाल विदेशबाट गाँजा तस्करीको ट्राजिन्ट रुट बन्नुले सुरक्षामा मुख्यतः तीन वटा जटिलता ल्याउनसक्छन् । पहिलो, विस्तारै नेपालमै समेत यसको खपत बढ्नसक्छ, जसको उदाहरण पहिले लागूऔषधको ट्रान्जिटका रुपमा मात्र रहेको भारतको पञ्जाब हो ।

अधिकृतहरुका अनुसार, पहिले पञ्जाब हुँदै भारतका विभिन्न राज्यमा लागूऔषध तस्करी हुन्थ्यो, स्थानीयस्तरमा खपत हुन्थेन । तर, अहिले पञ्जाबका लागि लागूऔषध टाउको दुखाइ बनेको छ ।

दोस्रो, लागूऔषध कारोबारीहरु अन्य अपराधसँग समेत जोडिने भएकाले यसले नयाँ संगठित अपराध समूहलाई जन्म दिनसक्छ । विमानस्थल हुँदै तेस्रो मुलुक जाने भएपछि यसले कुनै पनि बेला भ्रष्टाचारलाई समेत बढाउन सक्छ ।

तेस्रो, लागूऔषध तस्करी बढ्दा हुण्डी, सुन तस्करी वा अरु किमिसका अपराध समेत मौलाउन सक्छ । विगतमा लागुऔषध तस्करले रकम भुक्तानीका लागि सुन कारोबार समेत गरेको थुप्रै उदाहरणहरु रहेको प्रहरी अधिकृत बताउँछन् । ‘त्यसैले यसलाई गम्भीरतापूर्वक लिएर गहन अनुसन्धान गर्नुपर्छ’, एनसीबीका पूर्वप्रमुख मल्ल थप्छन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?