+
+
Shares

नगरपालिकाले ठेक्का लगाएका खोलामा ठेकेदार र क्रसर माफियाको रजगज

अहिले भइरहेको खोला उत्खनन मिथिला नगरपालिका र ठेकेदारबीच भएको सम्झौता र आईई प्रतिवेदनको विपरीत हो ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ वैशाख ३० गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अवैध नदी उत्खनन र क्रसर उद्योगको गतिविधि नियन्त्रणमा नआएकोले वातावरण र गाउँहरू जोखिममा परिरहेका छन्।
  • स्थानीय सरकार र प्रहरी प्रशासनको मौनताका कारण अवैध उत्खनन र क्रसर सञ्चालन जारी रहेको छ, जसले गाउँमा डर र निराशा फैलाएको छ।
  • मिथिला नगरपालिका र ठेकेदारबीच भएको सम्झौताका बुँदाहरूको पालना नभएको र अनुगमनमा समस्या देखिएको छ।

३० वैशाख, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका- २ र ३ को बीचमा पर्ने औरही खोलामा दिन-रात उत्खनन हुन्छ । स्काभेटर, डोजर, टिपर जस्ता भारी उपकरण प्रयोग गरी उत्खनन गरिएको ग्राभेल, बालुवा, गिट्टी स्टक गरिन्छ । अनि, सिधै नजिकैका क्रसरहरूमा पुर्‍याइन्छ ।

औरही खोलाको जस्तै स्थिति मिथिला नगरपालिका क्षेत्रका जलाद, बसही र बडहडी खोलाको छ । यी खोलाहरूबाट १० फिट बढी गहिरो खनेर उत्खनन भइरहेको छ । जबकि, अहिले भइरहेको खोला उत्खनन मिथिला नगरपालिका र ठेकेदारबीच भएको सम्झौता र आईई प्रतिवेदनको विपरीत हो ।

मिथिला नगरपालिकाले औरही, वसही, जलाद र बडहरी गरी ४ वटा खोलाको नदीजन्य पदार्थ उत्खननका लागि बोलपत्रमार्फत वडा नम्बर १० बेङ्गाडावरका ३७ वर्षीय ओमकुमार पहाडी सञ्चालक रहेको ओमी निर्माण एन्ड सप्लायर्स प्रालिलाई ठेक्का दिएको छ । २ लाख २४ हजार ९८५ घनमिटर नदीजन्य पदार्थ उत्खननको लागि भ्याट बाहेक ५ करोड ६ लाख ६६ हजार ६६६ रुपैयाँमा  पालिका र ठेकेदारबीच २१ कात्तिक २०८१ मा सम्झौता भएको छ ।

३५ बुँदे सम्झौताअनुसार घाटगद्दी स्थल तोकी निर्धारित स्थानबाट मात्र संकलन गरी बिक्री- वितरण गर्नुपर्ने, नदीजन्य तथा खानीजन्य पदार्थको सङ्कलन कार्यमा स्काभेटर, डोजरजस्ता भारी उपकरणहरूको प्रयोग गर्न नपाइने, प्रयोग गर्नै परेमा कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने उल्लेख छ ।

उत्खनन गरी स्टक गरेको नदीजन्य पदार्थ नापजाँचपछि मात्रै तोकेको दरमा बिक्री- वितरण गर्न पाउने, बिहान सूर्योदयदेखि साँझ सूर्यास्तसम्म मात्र उत्खनन गर्न पाउने, वातावरणमा प्रतिकूल असर पर्नेगरी उत्खनन गर्न नपाउने सम्झौतामा उल्लेख छ ।

यस्तै आईई रिपोर्टमा एक मिटरभन्दा बढी गहिरो उत्खनन गर्न नपाउने व्यवस्था छ । तर ठेकेदारले सम्झौता र आईई रिपोर्टको अधिकांश बुँदाको पालना गरेको देखिँदैन ।

खोलामा अवैध उत्खननका कारण खेतीयोग्य जग्गा तथा गाउँ नै बाढीको जोखिममा परिरहेको छ । वातावरणमा समेत प्रतिकूल असर परिहेका छन् ।

तर स्थानीय सरकार, प्रहरी प्रशासन मुकदर्शक छन् ।

विगतमा गाउँलेहरूले यस्ता कार्यको खुलेर विरोध गर्ने गरे पनि अहिले डराउन थालेका छन् । औरही खोलामा भएको अवैध दोहन रोक्न जाँदा ६ वर्षअघि पर्यावरण अभियन्ता ओमप्रकाश भनिने दिलिप महतोको क्रसर माफियाले हत्या गरेका थिए ।

स्थानीय सरकार र प्रहरी प्रशासनको मिलेमतोमा भइरहेको अवैध नदी दोहनका विषयमा अब गाउँलेले बोल्न छाडेको मिथिला नगरपालिका- ३ हरिहरपुरका एक स्थानीय बताउँछन् ।

‘अवैध दोहन, अवैध क्रसर सधैं चलिरहन्छ । हामीले विगतमा रोक्ने प्रयास गर्यौं । तर रोकिनुको साटो झन्‌झन् बढ्दै गयो,’ ती स्थानीय भन्छन्, ‘सबै प्रहरी प्रशासनको सेटिङमा हुँदो रहेछ । क्रसर माफियालाई कुनै कारबाही नभएपछि निराश भएर हामी बोल्न छाड्यौं ।’

वडा नम्बर ३ मा मात्र चारवटा क्रसर सञ्चालनमा छन् । मिथिला नगरपालिकादेखि क्षिरेश्वरनाथ नगरपालिकासम्म मात्र औरही खोला किनारमा दुवैतर्फ ८ वटा क्रसर छन् ।

मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले ३ दिनदेखि उत्खनन बन्द गराएको दाबी गरेका छन् । ठेकेदारले तोकेकै स्थानबाट सम्झौता अनुसार उत्खनन गरे पनि स्थानीय क्रसर र ट्याक्टरबालाले रात-दिन उत्खनन गर्ने गरेको उनको भनाइ छ ।

औरहीबाबा बालुवा प्रशोधन उद्योग, जय शिव भोले बालुवा गिट्टी वासिङ उद्योग, चुरियामाई बालुवा प्रशोधन उद्योग, शुभम बालुवा प्रशोधन उद्योग, बनदेवी औरही बाबा बालुवा प्रशोधन, रोहन बालुवा प्रशोधन उद्योग, क्षिरेश्वर बालुवा उद्योग र क्षिरेश्वरनाथ बालुवा गिट्टी उद्योग छन् । यी क्रसरहरू बाह्रै महिना सञ्चालन हुन्छन् ।

जलाद खोलाको अवैध उत्खननले खेतसहित पसवलपुर गाउँ नै जोखिममा छ ।  मिथिला नगरपालिका- ४ का स्थानीय राजकुमार महतोले जनप्रतिनिधि र प्रहरी प्रशासनको सेटिङमा १५ फिट गहिरोसम्म उत्खनन हुने गरेको बताए । ‘बिहानदेखि साँझसम्म २०/२५ वटा टिपर र ५ वटा स्काभेटर प्रयोग गरी उत्खनन भइरहेको छ । ४ फिटसम्म खन्न पाउने हो । तर १५ फिटसम्म गहिरो खन्ने गरिएको छ ।

जसले हाम्रो खेत र गाउँ बाढीको जोखिममा पर्दैछ,’ उनले गुनासो गरे ।

उनका अनुसार दुई दिन बन्द रहेको खोला उत्खनन सोमबार बिहानदेखि त्यही गतिमा भइरहेको छ ।

मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले ३ दिनदेखि उत्खनन बन्द गराएको दाबी गरेका छन् । ठेकेदारले तोकेकै स्थानबाट सम्झौता अनुसार उत्खनन गरे पनि स्थानीय क्रसर र ट्याक्टरबालाले रात-दिन उत्खनन गर्ने गरेको उनको भनाइ छ ।

‘२ वर्ष नगरपालिबाट ठेक्का नलाग्दा पनि रात-दिन उत्खनन भयो । यसपालि अहिलेसम्मकै सबभन्दा बढी रकममा ठेक्का लगाएका छौं,’ मेयर महतोले भने, ‘ठेकेदारले तोकेको स्थानबाट सिस्टम अनुसार नै खन्ने गरेको छ । भारी उपकरणको पूर्वस्वीकृति नगरपालिकाबाट लिएको छ । तर क्रसरबालाले रातभरि जथाभावी खन्ने गरेका छन् । म आमा बितेको किरियाकर्ममा व्यस्त हुँदा अनुगमनमा जान पाइनँ । गुनासो आएपछि ठेकेदारलाई भनेर उत्खनन बन्द गराएको छु ।’

नगरपालिकाले अनुगमन समितिबाट प्रतिवेदन माग गरी त्यस अनुसार कारबाही गर्ने बताए । रातिको समयमा खोलामा अनुगमनमा जान जोखिम रहेको उनको भनाइ छ ।

मिथिला नगरपालिका- ३ का वडाध्यक्ष रामएकवाल महतोले आफ्नो असहमति र सार्वजनिक सुनुवाइ विपरीत मेयरले ठेक्का लगाएको दाबी गरे । मेयर, प्रहरी प्रशासन सबैको सेटिङमा उत्खनन भइरहेको उनको आरोप छ ।

‘मेयर, प्रहरी प्रशासन सबैको सेटिङमा उत्खनन भइरहेको छ । ठेक्कापूर्व सार्वजनिक सुनुवाइ भयो । त्यसमा सहभागीले विरोध जनाए । मैले पनि ठेक्का प्रक्रियामा विमति जनाएँ । जथाभावी उत्खननको जिम्मा मेयरले लिनुपर्छ,’ वडाध्यक्ष महतोले भने ।

डेढ महिनाअघि औरही खोलामा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको नेतृत्वमा प्रहरी प्रशासनसहित मेयरको टोली अनुगमनमा पुगेको थियो । त्यहाँ स्थानीयले विरोध जनाएका थिए ।

वडाध्यक्ष महतोले प्रजिअलाई अवैध उत्खननबारे गुनासो पोख्दा भानाभान भएको थियो ।

उनका अनुसार उत्खननविरुद्ध उच्च अदालतमा रिट पनि परेको थियो । तर रोक्ने आदेश आएन । मेयर महतोले कार्यपालिकाको निर्णयबाट खोलाहरू ठेक्का लागेको बताए ।

ठेकेदार ओमी निर्माण एन्ड सप्लायर्स प्रालिका सञ्चालक ओमकुमार पहाडीले आफ्नो फार्मले ठेक्का लिनुअघि नै खोलाहरूमा धेरै उत्खनन भइसकेको दाबी गरे ।

‘हामीले ठेक्का लिनुअघि नै ट्याक्टरले धेरै खनिसकेको थियो । हामीले मापदण्ड अनुसार नै उत्खनन गर्ने गरेका छौं,’ उनले भने ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?