+
+
Shares

भारत-पाकिस्तान सीमाबाट विद्यार्थीको बिलौना- नेपालबाट जहाज आए हुन्थ्यो

नेपाल फर्किने वातावरण बनाइदिन विद्यार्थीहरूले नेपाल सरकारसँग याचना गरेका छन् । सरकारले भने दूतावासमार्फत विद्यार्थीहरूसँग समन्वय भइरहेको जनाएको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ वैशाख २६ गते २२:१०
पाकिस्तान प्रशासित कश्मिरको राजधानी मुजफ्फराबाद हुँदै बग्ने नीलम नदी क्षेत्र । तस्वीर : एएफपी

२६ वैशाख, काठमाडौं । रात पर्दै गएपछि जताततै साइरनका आवाज गुञ्जिन्छन् । आकाशमा ड्रोनहरू भुरुरु उड्न थाल्छन् । ड्याङड्याङका आवाजहरू सुनिन्छन् । अनि आत्तिन्छन्, भारत–पाकिस्तानको सीमा क्षेत्रका बासिन्दा ।

लाहोर, फैसलावाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल लगायतका क्षेत्रमा उल्लेख्य छन्, नेपालीहरू । अझ धेरै अध्ययनका लागि गएका विद्यार्थीहरू ।

ती सबै विद्यार्थीहरू असुरक्षा महसुस गर्दै नेपाल फर्कने उपाय खोजिरहेका छन् ।

पढाइकै सिलसिलामा पाकिस्तानको लाहोरमा रहेका एक विद्यार्थीले शुक्रबार दिउँसो बिलौना गरे, ‘अब के हुने हो ? मरिन्छ कि बाँचिन्छ ? भय, डर र त्रासमा बसिरहेका छौँ ।’

टेलिफोन सम्पर्कमा जोडिएका ती विद्यार्थीका अनुसार, हिजो (बिहीबार) राति पनि त्यो क्षेत्रमा ड्रोन पुगेका थिए ।

सुरक्षाको कारण देखाउँदै उनले आफ्नो परिचय उल्लेख नगर्ने बताए ।

‘यहाँ खतरा छ । दिन त जसोतसो जान्छ । रात कटाउन गाह्रो छ,’ ती विद्यार्थीले भने, ‘यतिबेला म पाकिस्तानले ड्रोन डिस्पोज गरेको क्षेत्रबाट १०–१५ मिनेटको दूरीमा छु । भारत–पाकिस्तानको तनावमा हामी पनि फसेका छौँ ।’

केही हप्तादेखि भइरहेको दुई देशबीचको तनावका कारण विश्वविद्यायहरू पनि बन्द भएका छन् । ‘दुवै देशले चेतावनी दिएपछि यहाँको विश्वविद्यालय बन्द भएको छ,’ ती विद्यार्थीले भने, ‘म अध्ययनरत विश्वविद्यालयमा २५ जना मेडिकलका विद्यार्थी छौँ । इन्जिनियरिङका पनि छन् ।’

भारतीय हमलापछि पाकिस्तानको नीलम झेलम जलविद्युत परियोजनाको आंशिक रूपमा क्षतिग्रस्त पर्खाल (तस्वीर : एएफपी)

ती सबै विद्यार्थीहरू अहिले नेपाल फर्कन चाहन्छन् । नेपाल सरकार र दूतावासको समन्वय खोजिरहेका छन् ।

लाहोर क्षेत्रमा मात्रै २ सयको हाराहारीमा नेपाली विद्यार्थी रहेको बताउँछन्, ती विद्यार्थी । धेरैले नेपाल फर्कनका लागि जहाजको टिकट पनि खोजिरहेका छन् ।

तर, हवाइ टिकट पनि नपाउँदा आफूहरू बिचल्लीमा परेको उनीहरूको गुनासो छ ।

‘यहाँ जुन बेला पनि आक्रमण हुन सक्छ । अहिले भ्याकेसन पनि छ । फर्किन चाहन्छौं,’ लाहोरमा रहेका अर्का एक विद्यार्थी भन्छन्, ‘दूतावासमा भनिरहेका छौँ । नेपालबाट एउटा जहाज लिन आए हुन्थ्यो ।’

१ सय भन्दा बढी नेपाली विद्यार्थीले दूतावासमा आफूहरू असुरक्षित महसुस गरिरहेको जानकारी गराएका छन् । भारत–पाकिस्तानबीच भइरहेको तनावग्रस्त क्षेत्रमा कति नेपाली विद्यार्थी छन् भन्ने यकिन तथ्यांक भने छैन ।

पाकिस्तानस्थित नेपाली दूतावासकी सचिव वृन्दा सुवेदी खड्काका अनुसार, केही विद्यार्थीहरू सम्पर्कमा आएका छन् ।

‘विद्यार्थीहरू डर र त्रासमा हुनुहुन्छ । दूतावासबाट सहजीकरणको काम भइरहेको छ । नेपाल सरकार र विद्यार्थीसँग संवादमा छौँ,’ इस्लामावादस्थित नेपाली दूतावासबाट खड्काले अनलाइनखबरसँग भनिन् ।

यता भारततर्फ रहेका विद्यार्थीहरूको पनि याचना यस्तै छ । उनीहरू पनि छिटोभन्दा छिटो नेपाल फर्कन चाहेको बताउँछन् ।

भारतको हिमाञ्चल प्रदेशको बड्डी जिल्लास्थित चित्कारा विश्वविद्यालयमा करिब ६० जना विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थी इन्जिनियरिङ अध्ययनको लागि त्यहाँ गएका हुन् ।

जम्मुमा भएको शंकास्पद पाकिस्तानी आक्रमणअघि खुला रेस्टुरेन्टमा बसेको एक परिवार (तस्वीर : रोयटर्स)

उक्त विश्वविद्यालयमा दोस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी समुन्द्र पौडेल र सञ्जय गुप्ताका अनुसार प्राध्यापक र कर्मचारी विश्वविद्यालय छोडेर हिँडिसके ।

‘नजिकैका विद्यार्थी पनि घर गए । हामी टाढा–टाढाका छौं । पाकिस्तानले यो क्षेत्रलाई पनि टार्गेटमा राखेको समाचार आइरहेको छ,’ संयुक्त रुपमा फोनमा जोडिएका उनीहरूले भने, ‘रात परेपछि डर लाग्छ । सुत्न सकेका छैनौं । घरबाट फोनमा बारम्बार आत्तिएको स्वरमात्रै सुनिन्छ ।’

आगामी १९ तारिखदेखि परीक्षा हुने भनिएको भए पनि विश्वविद्यालयले उनीहरूलाई कुनै जानकारी गराएको छैन ।

‘प्रशासनलाई अनलाइन परीक्षा गर्न भनेका छौँ । तर अहिलेको अवस्थामा केही भन्न सकिँदैन भनेर विश्वविद्यालयले भनेको छ । हामी घर फर्किन चाहन्छौं,’ पौडेलले भने ।

विश्वविद्यालयले कुनै आधिकारिक सूचना नदिँदा थप त्रास बढेको गुप्ताको गुनासो छ ।

‘भारतीय विद्याथी र कर्मचारी पहिले नै गइसके । हामी वार्डेन र मेस कर्मचारी मात्र छौँ,’ गुप्ताले भने । उनका अनुसार यो विश्वविद्यालयमा नेपालको बुटवल, जनकपुर, विराटनगर, धनगढी र काठमाडौंका विद्यार्थी धेरै छन् ।

 

श्रीनगरबाट लगभग सय किलोमिटर टाढा रहेको उरीमा रातभर पाकिस्तानी तोपखानाको गोलाबारीपछि गाउँ छाड्दै स्थानीय (तस्वीर : एएफपी)

नेपाल फर्किने वातावरण बनाइदिन विद्यार्थीहरूले नेपाल सरकारसँग याचना गरेका छन् । ‘चण्डीगढ जोखिम क्षेत्रमा पर्छ । चण्डीगढबाट ३० किलोमिटर दूरीमा हामी छौं,’ उनले भने, ‘सुरक्षित फिर्तीका लागि सरकारसँग अनुरोध गर्छौं ।’

उनका अनुसार पञ्जाब र हिमाञ्चल क्षेत्रका विश्वविद्यालयमा पनि नेपाली विद्यार्थीहरू छन् । ‘चण्डीगढमा पनि साथीहरू हुनुहुन्छ । धेरै जोखिममा बसिरहनु भएको छ,’ उनले भने ।

भारतबाट नेपाल फर्किन गाडीसेमत नपाएको गुनासो विद्यार्थीहरूले गरेका छन् । ‘बिहान र साँझ बसपार्कमा भिड लाग्छ । दोब्बर भाडा तिरेर फर्किन पनि गाडी पाएको छैन । हामी धेरै आत्तिएका छौँ,’ गुप्ताले डराउँदै भने ।

नेपाल सरकारले भने दूतावासमार्फत विद्यार्थीहरूसँग समन्वय भइरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको हो ।

‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’

मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परे सम्पर्क गर्न सक्ने गरी दूतावासका कर्मचारीलाई जिम्मेवारी दिएको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?