+
+
Shares

यूएईका विश्वविद्यालयमा पढाउने भन्दै विद्यार्थी ठगी गर्ने ५ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

यूएईको फ्रि जोनमा दर्ता भएका इन्स्टिच्युटहरूले विश्वविद्यालय भन्दै नेपाली विद्यार्थी पठाउने ५ जना कन्सल्टेन्सी सञ्चालकलाई सीआईबीले पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यूएईका विश्वविद्यालयमा पढ्न पठाउने नाममा नेपाली विद्यार्थी ठगी गर्ने ५ कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा बेस्ट पाथ एजुकेसन प्रालिका कृष्ण थापा, मेर्की एजुकेसनका रामचन्द्र टन्डन, सिटीहबका सुवास सिलवाल क्षेत्री, कान्तिपुर एब्रोडका हेमराज भट्ट र दामोदर ढकाल छन्।
  • १३ जनाले दिएको उजुरीका आधारमा उनीहरूले ८ देखि २२ लाख रुपैयाँसम्म लिएर विद्यार्थीलाई विश्वविद्यालयमा पठाउने भनी ठगी गरेको पाइएको छ।

३० पुस, काठमाडौं । यूएईका विश्वविद्यालयमा पढ्न पठाउने नाममा नेपाली विद्यार्थी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

यूएईको फ्रि जोनमा दर्ता भएका इन्स्टिच्युटहरूले विश्वविद्यालय भन्दै नेपाली विद्यार्थी पठाउने ५ जना कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेस्ट पाथ एजुकेसन प्रालिका सञ्चालक २९ वर्षीय कृष्ण थापा, मेर्की एजुकेसन कन्सल्टेन्सीका सञ्चालक रामचन्द्र टन्डन, सिटीहब कन्सल्टेन्सीका सञ्चालक सुवास सिलवाल क्षेत्री, कान्तिपुर एब्रोड कन्सल्टेन्सीका हेमराज भट्ट र दामोदर ढकाल छन् ।

यूएईका विभिन्न कलेजमा अध्ययन गर्न पठाइदिने भन्दै रकम लिई ठगी गर्ने कन्सन्टेल्सीका सञ्चालकहरूलाई अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरेको हो ।

नेपाली विद्यार्थीलाई उच्च शिक्षाका फ्रान्स तथा अस्ट्रेलिया लगायत देशका विश्वविद्यालयबाट मान्यताप्राप्त कलेजमा अध्ययनका लागि भनेर झुक्याउँदै पैसा असुल्ने गरेको पाइएको थियो ।

१ सयभन्दा बढी विद्यार्थीले आफूहरू ठगिएको भन्दै शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सीआईबीमा उजुरी दिएका थिए । १३ जनाले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले ८ देखि २२ लाख रुपैयाँसम्म लिएर विद्यार्थीलाई विश्वविद्यालयमा पठाउने भनी विभिन्न ट्रेनिङ इन्स्टिच्युटहरूमा पठाउने गरेको पाइएको थियो ।

यूएईका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको थियो । नेपालबाट यूएईका विश्वविद्यालयमा पढ्न भनेर गएका २ हजारभन्दा बढी विद्यार्थी त्यसरी ‘एजुकेसन स्क्याम’ मा परेको अनुमान छ ।

यूएईको फ्रि जोनमा इन्स्टिच्युटका नाममा दर्ता संस्थाहरूले विश्वविद्यालय भन्दै नेपाली विद्यार्थी अध्ययनका लागि लैजाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?