News Summary
Generated by OK AI. Editorially reviewed.- मानव बेचबिखन अनुसन्धान ब्यूरोले पाँच जनाविरुद्ध म्यानमारमा नेपालीलाई साइबर दास बनाएको आरोपमा मुद्दा दायर गरेको छ।
- पक्राउ परेका दुई प्रतिवादी र तीन फरार प्रतिवादीमाथि काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा आसोरपसारको मुद्दा दायर भएको छ।
- म्यानमारमा चिनियाँ गिरोहले नेपालीलाई अनलाइन स्क्यामिङमा प्रयोग गर्दै साइबर दास बनाएको पाइएको छ र ४७ नेपाली उद्धार भएका छन्।
२२ पुस, काठमाडौं । आईटीको काम भन्दै म्यानमार पुर्याएर नेपाली नागरिकलाई साइबर दास बनाएको घटनामा पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवदेनको आधारमा पाँच जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा आसोरपसार अन्तर्गतको कसुरको मुद्दा दायर भएको हो ।
मुद्दा दायर गरिएका मध्ये दुई प्रतिवादी पक्राउ छन् । जसमा सर्लाहीको भर्दोल गाउँपालिका–९ का २४ वर्षीय रञ्जितकुमार महतो र खोटाङका ४१ वर्षीय मणिराज राई छन् । उनीहरु बोहक सर्लाहीकै राजनारायण महतो, रामेछापका हेमबहादुर श्रेष्ठ र धनकुटाका राजेश शर्मा भनिने भीमबहादुर गिरीविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरू भने फरार प्रतिवादी छन् ।
पाँच जनाविरुद्ध दुई फरक जाहेरीको आधारमा मुद्दा दायर भएको हो । तर उनीहरुको कसुर भने एउटै प्रकृतिको छ । दुबैले नेपाली नागरिकलाई थाइल्याण्डमा आईटीको काम भन्दै म्यानमार लगेर बन्धक बनाउँदै साइबर स्कयामिङमा काम लगाएको आरोप छ ।
पछिल्लो पटक म्यानमारमा बन्धक बनाएर साइब स्लेभ (साइबर, डिजिटल दास) को रूपमा प्रयोग गरिएका ४७ नेपाली नागरिकको उद्धार गरी २३ मंसिरमा काठमाडौं ल्याइएको थियो ।
यसरी उद्धार गरिएका मध्येबाट दुई उजुरी ब्युरोमा दर्ता भएका थिए । ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार तिनै दुई जाहेरीका आधारमा अहिले पाँच जनाविरुद्ध मुद्दा चलाइएको हो ।
पक्राउ परेकाहरूमाथिको सोधपुछ, फर्केकाहरूले दिएको जाहेरी तथा अनुसन्धानबाट नेपालीहरूलाई त्यहाँ साइबर दासको रूपमा चिनियाँ गिरोहले प्रयोग गरिरहेको पत्ता लागेको हो ।
थाइल्यान्डस्थित नेपाली दूतावास, म्यानमार सरकार र ब्युरोको समेत पहलमा ४७ नेपालीको उद्धार भएको थियो । त्यहाँ अझै करिब १०० को हाराहारीमा नेपालीहरूलाई बन्धक बनाएर साइबर दासको रूपमा काम लगाइएको छ ।
म्यानमारको विद्रोही समूहको दबदबा रहेको क्षेत्र मेवाडीमा चिनियाँ गिरोहले क्याम्प नै खडा गरेर ‘अनलाइन स्क्यामिङ’ (ठगी) धन्दामा नेपालीहरूलाई प्रयोग गरेको बताइन्छ । म्यानमार प्रशासनको समेत पहुँच बाहिर रहेको मवाडीबाट चिनियाँ गिरोहले चलाएको ‘अनलाइन स्क्यामिङ’को पासोमा अहिले नेपाली पर्दै आएका छन् ।
चिनियाँहरू बाहिरबाटै सबै कुराको व्यवस्थापन गर्ने तर अनलाइन स्क्यामिङ अपराधमा भने नेपालीहरू प्रयोग गर्ने गरेको एसएसपी पंगेनी बताउँछन् ।
नेपालीहरूलाई विशेषगरी ह्वाट्स एपमार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्कमा ल्याएर अनलाइनमा विभिन्न प्रलोभन देखाएर फिसिङ गर्ने शैली देखिएको छ । चिनियाँको यो ट्र्यापमा विशेषगरी अमेरिकी, युरोपका व्यक्तिहरू फस्ने गरेको ट्रेन्ड देखिन्छ ।
अनलाइन स्क्यामिङ धन्दामा नेपालीलाई प्रयोग गर्न आकर्षक प्रलोभन देखाएर म्यानमार पुर्याउँदै डिजिटल दास बनाउने गरेको देखिन्छ ।
कम्युटरसम्बन्धी सामान्य ज्ञान भएका व्यक्तिलाई थाइल्यान्डमा राम्रो रोजगारी दिने भन्दै प्रलोभनमा पारेर त्यहाँ पुर्याउने गरिन्छ । थाइल्यान्डबाट ३६ घण्टासम्म कारमा राखेर म्यानमारको केकेआई पार्कमा लैजाने गरिएको छ । सो क्रममा केहीको आँखामा पट्टीसमेत लगाइन्छ । त्यहाँबाट मेवाडी पुर्याउने गरेको पीडितहरूले बताउने गरेका छन् ।
नेपालबाट भारत, थाइल्यान्ड हुँदै म्यानमार लाने गरेको देखिन्छ । एक लाखभन्दा माथिको तलब दिलाउने प्रलोभन देखाएर त्यहाँ पुर्याएपछि अनलाइन फिसिङमा प्रयोग गर्ने, नमानेको अवस्थामा चरम यातना दिनेसम्मका काम हुने गरेका छन् । उनीहरूलाई त्यहाँ केटी बनेर लभ अफेयर जसरी कुराकानी गर्न लगाउने, बिटक्वाइनको कारोबारमा लगाउने गरेको देखिन्छ ।
राज्यको पहुँच नै हुन नसक्ने ठाउँहरूमा क्याम्प खडा गरेर राख्ने, क्याम्पभित्रै खाने, सुत्ने, बस्ने व्यवस्था गरेर सुरक्षा गार्डसमेत राखी नेपालीहरूलाई अनलाइन स्क्यामिङहरूमा प्रयोग गर्ने गरिएको छ ।
म्यानमार पुगिसकेपछि मोबाइल, पासपोर्ट नियन्त्रणमा लिने र अवैध अनलाइन स्क्यामिङका लागि केही दिन तालिम दिने काम सुरु हुन्छ । गलत काममा फसेको थाहा पाएपछि नेपाल फिर्ता हुन खोजेको अवस्थामा भने पैसा हाल्न लगाउने वा त्यसवापत अरू ३/४ जना नेपालीलाई म्यानमार ल्याएपछि मात्रै छाड्ने प्रवृत्ति देखिएको एसएसपी पंगेनी बताउँछन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएयता म्यानमारबाट १०७ जनाको उद्धार भएको छ । जसमा १०३ पुरुष र ४ महिला छन् । उनीहरूलाई सुरुमा नेपालबाट चिनियाँ गिरोहले नै सम्पर्क गरी थाइल्यान्डमा दिने रोजगारी भन्दै म्यानमार लैजाने गरेको थियो ।
प्रतिक्रिया 4