+
+
Shares
देवराज चालिसेसँग वार्ता :

‘सभापति हटाउने प्रस्ताव आउनसक्छ, बहुसंख्यक प्रतिनिधि भन्दैछन्-नो मोर शेरबहादुर’

पार्टीमा व्यवस्था गरिएको विधानको कार्यान्वयन गर्ने क्रममा विभाजन हुन्न । यदि त्यो सम्भावना हुने हो भने त पार्टीको विधानमा त्यो दफा नै राख्न हुँदैनथ्यो नि।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १०:१५

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीको भविष्य, नेतृत्व र नीतिमा निर्णायक बहस हुने यस महाधिवेशनलाई लिएर कांग्रेस विभाजनतर्फ जाने हो कि भन्ने चासो व्यापक छ । तर विशेष महाधिवेशन पक्षधर नेताहरू भने यसलाई विभाजन होइन, सुधारको प्रक्रिया ठान्छन् । चार वर्षे कार्यकाल पूरा गरिसकेको नेतृत्व, बदलिँदो राजनीतिक परिस्थिति र आगामी चुनावको चुनौतीबीच कांग्रेसले आमूल परिवर्तन नगरी जनतामा जान नसक्ने उनीहरूको ठहर छ । नेतृत्व परिवर्तनदेखि नीतिगत पुनरावलोकनसम्मका एजेन्डा महाधिवेशनको केन्द्रमा छन् । यसै सन्दर्भमा विशेष महाधिवेशनका लागि फ्रन्टलाइनमा बसेर नेतृत्व गरिरहेका कांग्रेस नेता देवराज चालिसेसँग अनलाइनखबरका दुर्गा खनालले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदै छ । यो महाधिवेशनले कतै कांग्रेस विभाजनमा जाने हो कि भन्ने चिन्ता देखिन्छ नि ?

त्यस्तो होइन । पार्टीमा व्यवस्था गरिएको विधानको कार्यान्वयन गर्ने क्रममा विभाजन हुन्न । यदि त्यो सम्भावना हुने हो भने त पार्टीको विधानमा त्यो दफा नै राख्न हुँदैनथ्यो नि।

लोकतन्त्रिक पार्टीमा पार्टीका भए/गरेका निर्णयहरूमा पुनरावलोकन गर्ने, समीक्षा गर्ने, परिवर्तन गर्ने अधिकार त महाधिवेशनले राख्छ । अहिले विशेष परिस्थिति सिर्जना भयो ।

चार वर्ष कार्यकाल पूरा गरिसकेको हाम्रो पार्टीको केन्द्रीय समिति पनि थियो । देशमा भिन्न प्रकारको परिस्थिति निर्माण भएको अवस्थामा राजनीतिक रूपमा नेतृत्व, नीति, संरचनागत सुधार आमूल परिवर्तन नगरिकन जनताको चुनावमा जान सकिँदैन भन्ने हाम्रो ठहर हो, बुझाइ हो ।

यो बुझाइमा पार्टी केन्द्रित भएर हामीले सोच्यौं, सुधारका मार्गमा प्रवेश गर्‍यौं । केन्द्रले गरोस् भन्ने चाहना राख्यौं । केन्द्रमा आफैं विवेक खुलोस् भन्ने चाहना राख्यौं । उहाँहरूको त्यो विवेकलाई सत्ताको उन्मादले जहिले पनि सोपिराख्यो ।

टिकट बाँड्ने कुरोमा, लाभका कुराहरूमा, सत्ताको कुरामा (पार्टीको पनि सत्ता हुन्छ) त्यसमा उहाँहरू भुलिरहनुभयो । पार्टीलाई केन्द्रबिन्दुमा राख्नुभन्दा आफ्ना शक्तिलाई प्रयोग गर्ने लालचमा उहाँहरूले आफूलाई बढी सीमित गर्नुभयो । यो पार्टी केन्द्रित भएन भन्ने हाम्रो बुझाइ हो ।

तपाईंहरूले विशेष महाधिवेशनका लागि सभापतिलाई निम्तो पनि दिनुभएको छ तर त्यो निम्तो उहाँले अस्वीकार गर्नुभयो । विशेष महाधिवेशनका लागि कति प्रतिशत प्रतिनिधिहरू पक्षमा खुल्नुभएको छ ?

अहिले हाम्रो प्रारम्भिक अनुमानमा त ६० प्रतिशतभन्दा माथि आइसक्नुभएको जस्तो लाग्छ । अब त्यो अझै कति बढ्नुहुन्छ भन्ने चाहिँ अब हलभित्र रजिस्टर्ड हुन्छ । औपचारिक त्यस पछि थाहा होला । मलाई लाग्छ, हाम्रो अनुमान चाहिँ ७० प्रतिशतको हाराहारीमा हुनुहुन्छ होला ।

तपाईंले भन्नुभए अनुसार यति धेरै प्रतिनिधिहरू आएका छन् । यी प्रतिनिधिहरूले के अब नेतृत्व परिवर्तनको प्रस्ताव पनि राख्छन् विशेष महाधिवेशनमा ?

हो, तपाईंले यति महत्त्वपूर्ण कुरो उठाउनुभयो । यति धेरै प्रतिनिधिहरूले प्रश्न उठाएपछि त्यो नेतृत्वका प्रति राजनीतिक र वैधानिक प्रश्न हो ।

विधानसम्मत बहुमतले प्रश्न गरिसक्यो । बहुमतले छोड्दिनुस् भनिसक्यो । बहुमतले प्रश्न उठाइसकेपछि यस्तो जबर्जस्ती गर्न मिल्छ ? लोकतान्त्रिक पार्टीलाई पक्कै नसुहाउने चरित्र स्पष्ट भइराखेको छ ।

अब त यसको राजनीतिक महत्त्व छ कि छैन ? यसको वैधानिक महत्त्व छ कि छैन ? कुनै पनि डेमोक्रेटिक पार्टीमा बहुमतले प्रश्न उठाएपछि, आफूलाई निर्वाचित गर्ने संस्थाले प्रश्न उठाएपछि नेताले नैतिक रूपमा राजनीनामा दिने चलन हुन्छ ।

अब यहाँ जहाँसम्म छ तपाईंले अहिले भित्रको हलको कुरो गर्दै हुनुहुन्छ । त्यहाँ एउटा व्यक्तिले राखेको विचार हो, व्यक्तिगत विचार हुन सक्ला। तर त्यही तपाईंको मेजोरिटीले गरेको विचारहरू निर्णय हुन्छ । मेजोरिटीभित्र तपाईंको निर्णय गर्ने सार्वभौमिकता, निर्णय गर्न सक्ने अधिकारलाई त हाम्रो पार्टीको विधानको दफा कसैले रोक्न सक्दैन । त्यो सर्वोच्च निकाय हो।

सभापति फेर्नुपर्छ भन्ने प्रस्ताव आउन सक्छ महाधिवेशन हलभित्र ?

त्यो महाधिवेशन प्रतिनिधिहरूको प्ररोगेटिभ राइट्स हो । उहाँहरूको अधिकार हो । उहाँहरूले त्यसलाई कुन रूपमा समाधान गर्न चाहनुहुन्छ ? हटाउनुपर्छ भन्ने प्रतिनिधिहरूको माग छ । नीति र नेतृत्व नै परिवर्तनको माग छ । यो प्रमुख मुद्दा हो । बहस होला त्यहाँभित्र, हाउसले पास पनि गर्न सक्छ । हाउसको राइट्स भयो नि ।

महाधिवेशन प्रतिनिधिहरू समक्ष सुरुमै छलफलका लागि भनेर नेतृत्व परिवर्तनको प्रस्ताव लगिन्छ कि लगिँदैन ?

त्यो प्रस्ताव त जान्छ। अब त्यो बीचमा केन्द्रीय समितिले केही मोडरेट, केही कुराहरू ल्याउन सक्ला । त्यो पनि हेरौँ ।
अहिले कस्तो छ भने वैधानिक रूपमा, राजनीतिक रूपमा विवाद र बहस भन्दा बढी इगोमा गएको छ। कांग्रेस सुध्रिएला, सुध्रिनु पर्छ भन्ने हाम्रो मान्यता हो । यसलाई कुनै व्यक्तिको राजनीतिक जीवनसँग पार्टीको जीवन जोड्न हुँदैनथ्यो । जोडिराखेका छन् साथीहरूले, दुर्भाग्यको कुरा हो यो ।

अब उहाँहरूको यो बीचमा के डेभलपमेन्ट हुन्छ, त्यो डेभलपमेन्टले पनि नयाँ परिस्थिति निर्माण गर्न सक्छ । भएन भने अधिवेशन अगाडि बढ्यो, त्यो पछाडि हट्दैन । निर्णयमा पुग्छ।

महाधिवेशनमा कांग्रेस सुधारका कस्ता-कस्ता अवधारणाहरू आउँदैछन् ?

पहिलो त नीति र नेतृत्व नै हो । नेतृत्व भनेको फेस भ्यालु हुन्छ । नीति भनेको आम जनताको प्रोस्पेरिटीसँग जोडिएको छ । पार्टीको रणनीतिसँग जोडिएको छ । हाम्रा नीतिको त्रुटिका कारणले हामीले आफ्नो सिद्धान्त र मतदाताको सुरक्षा गर्न सकेनौँ ।
गठबन्धनका बारेमा पनि हाम्रो गलत निर्णय थियो । चुनावभन्दा अगाडिको गठबन्धनले हाम्रो पार्टीको आधार क्षेत्रहरू नै तहस-नहस भयो, बर्बाद भयो ।

हामीले केही दिनको सत्ताका लागि पार्टीको आम जीवन प्रणालीलाई नै ध्वस्त पार्ने काम गर्‍यौँ । नीतिगत त्रुटि हो त्यो । त्यसले तपाईंको पार्टीको मात्र नभएर त्यसको सामाजिक, आर्थिक, राजनीतिक जति-जति पनि छ, त्यसको प्रगति र प्रोस्पेरिटीका बारेमा पनि एउटा नीति, विदेश नीतिका बारेमा पनि एउटा फिक्स नीति हुनुपर्ने थियो तर धेरै त्रुटि रह्यो । ती त्रुटिहरू सच्याउन पर्छ ।
अब पार्टी कार्यकर्ताहरूमा संरचनागत सुधारको माध्यमद्वारा न्यायको परिभाषा, न्यायको मापदण्ड निर्माण गर्नुपर्छ । यहाँ मन परेको मान्छेलाई जे पनि गर्ने गरिन्छ । अवसर भनेको कृपा र अनुदानमा वितरण हुन्छ । अब त्यसलाई जस्टिस मात्र होइन कि अधिकारको रूपमा स्थापित गर्ने प्रणालीको रूपमा विधानमा व्यवस्था गर्छौं ।

त्यस्तै आधुनिक गतिशील संगठन बनाउन संरचनागत सुधार कहाँ-कहाँ गर्ने हो, पार्टीको स्ट्रक्चर चेन्जमा पनि हामी चाहिँ बढी मसिनो तरिकाले बहस गर्दैछौँ, छलफल गर्दैछौँ ।

सभापतिले यो भेलामा आउनुभएन भने यो भेलाबाट सभापति फेर्ने या नेतृत्व परिवर्तन गर्ने खालको कुनै निर्णय भयो भने एउटा पक्ष त बाहिर रहने भयो नि । त्यो भएपछि त कांग्रेस त विभाजनको अवस्थामा पुग्छ नि होइन ?

पार्टीको वैधानिक प्रक्रियालाई अवलम्बन गर्दा को भित्र को बाहिर भन्ने प्रश्न हुँदैन । कोही चुनाव जित्छ, कोही हार्छ । विधानमा व्यवस्था राखेपछि त्यसको कार्यान्वयनका क्रममा को कहाँ पर्‍यो भन्ने हुँदैन । राखिसकेपछि त्यसको व्यवस्था मान्दिन भन्न सुहाउँदैन । अरू देशमा त बहुमतले प्रश्न उठाएपछि राजीनामा गर्छन् त । यहाँ किन नगरेको ?

विधानसम्मत बहुमतले प्रश्न गरिसक्यो । बहुमतले छोड्दिनुस् भनिसक्यो । बहुमतले प्रश्न उठाइसकेपछि यस्तो जबर्जस्ती गर्न मिल्छ ? लोकतान्त्रिक पार्टीलाई पक्कै नसुहाउने चरित्र स्पष्ट भइराखेको छ ।

संस्थापन पक्षले महाधिवेशनको यो प्रक्रियालाई नै अवैधानिक भनिसकेको छ । त्यसैले महाधिवेशनबाट पारित हुने प्रस्तावलाई उहाँहरूले कसरी मान्नु होला र ?

यो वैधानिक-अवैधानिक मनोगत हुँदैन । कानुन र विधानले व्यवस्था गरेको हुन्छ। अब कसैलाई लाग्यो कि यो वैधानिक छैन, कसैलाई लाग्यो कि वैधानिक छ— त्यो होइन नि । मनोगत दृष्टिकोण बन्दैन । विधानमा के व्यवस्था छ, त्यसैले तपाईंको अधिकारिता प्राप्त गर्छ ।

अब देउवाजी चुनाव नलडिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ । अब डडेलधुरा लड्ने कुरा नगरे हुन्थ्यो । नेतृत्वसँग जोडिएका केही मध्यमार्गी बाटाहरू पनि छन् । जसले गर्दा पब्लिकमा अब ‘नो मोर शेरबहादुर’ भन्ने सन्देश दिनुपर्छ ।

बाध्यकारी नियमलाई पार्टीको विधानले बोलाउनै पर्छ, गर्नै पर्छ भनेको छ । कसले बोलाउने भन्ने कुरोमा निर्देशिका तयार छैन । कसले बोलाएको भन्ने प्रश्न मात्रै हो यो । बोलाउने सार्वभौम अधिकार प्राप्त भनेको महाधिवेशन प्रतिनिधिहरू हुन् । महामन्त्रीले बोलाउन पनि सक्छ । बोलाउने अधिकार सबैलाई छ। निर्णय भनेको बहुमतले गर्छ।

बहुमत महाधिवेशन प्रतिनिधि जम्मा भएर आफ्नो कार्यविधि आफैँ तयार गरेर काम गर्न सक्छन् । जुन कार्यविधि केन्द्रले पास गर्न सक्थ्यो, गरेन । अब ऊ भन्दा सर्वोच्च निकायले बनाएको कार्यविधि अवैध हुन सक्दैन ।

महाधिवेशनले योभन्दा अगाडि केन्द्रीय समितिले गरेका हरेक निर्णयलाई पुनरावलोकन गर्न सक्छ, खारेज गर्न सक्छ । उसले गरेको निर्णय त्रुटिलाई सच्याउन सक्छ । त्यत्रो सुप्रिम बडीलाई उहाँले वैधानिक-अवैधानिक भनेर त्यस्तो हठ देखाएर हुन्छ ?

अब महाधिवेशनको प्रक्रिया सुरु हुनै लागिसकेको छ। यो बीचमा के भयो भने चाहिँ दुइटै पक्ष मिलेर जाने अवस्था रहन्छ ? त्यस्तो बीचको मध्यमार्गी केही विकल्पहरू पनि आएका छन् ?

हामीले उहाँलाई प्रस्ताव पठाइसकेका छौँ।

प्रस्तावमा के छ ?

अब प्रधानमन्त्रीको रूपमा फ्रेस मान्छे आउने, दुईचोटी प्रधानमन्त्रीको रूपमा नपाउने व्यवस्था विधानमा हामी राख्छौँ । अब देउवाजी चुनाव नलडिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ । अब डडेलधुरा लड्ने कुरा नगरे हुन्थ्यो । नेतृत्वसँग जोडिएका केही मध्यमार्गी बाटाहरू पनि छन् । जसले गर्दा पब्लिकमा अब ‘नो मोर शेरबहादुर’ भन्ने सन्देश दिनुपर्छ । उहाँको मर्यादा सुरक्षित रहने उपाय हामी खोज्दैछौँ ।

उहाँको नीति भन्दा पनि उहाँको नेतृत्वको निरन्तरताको अन्त्यसँग जोडिएका विषयहरू छन्। उहाँको नेतृत्वको निरन्तरताको अन्त्य हुने ग्यारेन्टी भयो भने यो विशेष महाधिवेशनले उहाँलाई सम्मानजनक रूपमा निर्णय पनि गर्न सक्छ ।

दुई महिनापछि वैशाखमा उहाँहरूले घोषणा गरेको महाधिवेशन छ । दुई महिना पछाडि हुने विदाई समारोह र अहिले हुने विदाइ समारोहमा गुणात्मक अन्तर के हुन्छ र ? उहाँले चाहनुभयो भयो यही महाधिवेशनबाट अब भावपूर्ण विदाइ गरौँला ।

महाधिवेशनको कारण चाहिँ अब यो निर्वाचनको प्रक्रियामा कुनै असर पर्ने सम्भावना देखिन्छ कि देखिँदैन ?

नेपाली कांग्रेसको कारणले त चुनावमा असर नपर्ला । चुनावमा असर पर्ने आफ्नै कारण होलान् । भूगोल, मौसम, , शान्ति-सुरक्षाका कारण होलान् ।

यो महाधिवशन पनि चुनाव केन्द्रित महाधिवेशन हो । चुनावभन्दा अगाडि पार्टी सुध्रेको तस्बिर लिएर जाउँ भन्ने हाम्रो चाहना हो । त्यसलाई पूरा गर्नको लागि नै हामीले यो अधिवेशन चुनाव अगाडि गर्नुपर्छ भनेको हो ।

चुनाव लक्षित नै अधिवेशन हो यो, चुनावलाई नै मद्दत पुग्ने अधिवेशन हो । चुनावमा अहिले कस्तो खालको स्थिति छ भने धेरै क्षति भन्नु भन्दा अहिले हाम्रो अगाडि कम क्षति विकल्प हो । अहिले हाम्रो अगाडि कम क्षति कि धेरै क्षति बेहोर्ने भन्ने हो ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?