News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीको पुर्चौडीमा सुशान्त जंग क्षेत्री र उनका साथीहरूले सडक कुकुर क्रूरतापूर्वक मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
- बैतडी प्रहरीले घटनाको विवरण पाएपछि आरोपीहरूको पहिचान गरी अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाएको छ।
- नेपालको मुलुकी अपराध संहिता, २०७४ को धारा २९१ अनुसार पशु क्रूरता गैरकानुनी छ र दोषीलाई कैद वा जरिवाना हुने व्यवस्था छ।
२३ पुस, काटमाडौं । सामाजिक सञ्जालमा ‘भाइरल’ बन्नका लागि निर्दोष पशुप्राणीलाई सताउने, हत्या गर्ने क्रम व्यापक भएको छ । सचेतना र कडा कानुनको अभावमा यस्तो कृत्यले मलजल पाइरहेको छ । यसैको पछिल्लो उदाहरण हो, बैतडी घटना ।
बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा एक सडक कुकुरलाई क्रूरतापूर्वक मार्ने घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनाका मुख्य आरोपी सुशान्त जंग क्षेत्रीले फेसबुकमा पोस्ट सेयर गर्दै आफूहरूले कुकुर मारेको खुलासा गरेका छन् । यो घटना पुस २१ गते साँझ करिब ६ बजे हाटबजार नजिकै भएको बताइएको छ ।
भिडियोमा क्षेत्री र उनका तीन जना साथीहरूले मिलेर कुकुरलाई मारेको देखाइएको छ । यो भिडियो अहिले फेसबुक, टिकटक र अन्य सामाजिक प्लेटफर्महरूमा फैलिरहेको छ, जसले पशु अधिकारकर्मीहरूमा आक्रोश पैदा गरेको छ ।
घटनाको बारेमा बैतडी जिल्ला प्रहरी कार्यालयलाई सुरुमा कुनै जानकारी नभएको बताए । तर, घटनाको विवरण उपलब्ध गराएपछि प्रहरीले अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
‘हामीले घटनाको विवरण प्राप्त गरेका थिएनौँ’ बैतडी प्रहरीका एक अधिकृतले भने, ‘अब थाहा भयो आरोपीहरूको पहिचान गरी आवश्यक अनुसन्धान थाल्नेछौं ।’
पशु क्रूरतासँग सम्बन्धित यो मामिलालाई गम्भीरतापूर्वक लिने उनले बताए ।
यो घटना नेपालमा बढ्दो पशु क्रूरताको एक उदाहरण हो । नेपालको मुलुकी अपराध संहिता, २०७४ को धारा २९१ अनुसार, पशुहरूमाथि अनावश्यक क्रूरता गर्ने वा मार्ने कार्य गैरकानुनी मानिन्छ । यसअन्तर्गत सडक कुकुरहरूलाई पनि संरक्षण दिइएको छ ।
यस्ता अपराधका लागि सजायको व्यवस्था नेपालको पशु कल्याण ऐन र मुलुकी अपराध संहितामा छ । दोषी ठहरिएमा आरोपीहरूलाई ३ महिनासम्म कैद सजाय वा ५,००० रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ ।
प्रतिक्रिया 4