+
+
Shares

असल र सक्षम नेतृत्व कस्तो हुनुपर्छ ? यी हुन् १० गुण

नेतृत्वमा रहने व्यक्तिले आफ्ना कुनै निर्णय गलत छन् र धेरैले त्यो सच्चाउन भनिरहेका छन् भने त्यसमा पुनर्विचार गर्न सक्नुपर्छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेतृत्वमा धैर्य, निर्णय क्षमता, पूर्वाग्रह नराख्ने, लचिलोपन, र अरूको खुसीमा सामेल हुने गुण आवश्यक हुन्छ।
  • सफल नेतृत्वका लागि सम्बन्ध बनाउने, सकारात्मक सोच, असल आचरण, आलोचनात्मक चेत, र सिर्जनशीलता हुनु अनिवार्य छ।
  • नेतृत्वले सही निर्णय गरी सबैका लागि समान व्यवहार गर्नुपर्छ र समय अनुसार नयाँ ज्ञान सिक्न तत्पर हुनुपर्छ।

कुनै पनि कम्पनीको मेनेजर वा प्रमुख बन्ने इच्छा धेरैको हुन्छ । कुनै संघसंस्था वा संगठनको मुख्य जिम्मेवारीमा पुग्ने सपना पनि धेरैले पालेका हुन्छन् । तर इच्छा गर्ने सबैलाई यस्तो अवसर मिल्दैन ।

अर्को कुरा के भने कुनै तरिकाबाट ती जिम्मेवारी तथा पदमा पुगे पनि धेरै व्यक्तिले त्यसलाई सही तरिकाले बहन गर्न सक्दैनन् । नेतृत्व सही नपर्दा संस्था तथा कम्पनीहरू उन्नतिको दिशामा जानुको सट्टा दुर्गतिमा फस्ने, घाटामा जाने, टाट पल्टिने, विघटन हुने जस्ता समस्या आइपर्छ । कुनै संगठन तथा समूहहरूमा किचलो आउने, बिग्रह हुने हुन्छ। यसको असर कम्पनीका कर्मचारी, उनका परिवारमा पर्छ । यदि यस्तो संगठन समाजिक कार्य तथा राजनीतिसँग जोडिएको छ भने सिंगो समुदाय र देशमै समस्या तथा संकट उत्पन्न हुनसक्छ।

यस कारण कुनै पनि क्षेत्रको नेतृत्वमा पुग्न रहर गरेर मात्रै हुँदैन त्यो जिम्मेवारी सम्हाल्ने खुबी पनि बनाउनुपर्छ । जिम्मेवार ठाउँमा पुगेर मात्रै हुँदैन त्यसलाई सही तरिकाले बहन गर्न पनि सक्नुपर्छ ।

 नेतृत्व सक्षम र सफल हुनका लागि कस्ता गुण हुनुपर्छ त ?

१. धैर्यशील

नेतृत्वमा रहने व्यक्तिमा हुनुपर्ने पहिलो गुण नै धैर्यता हो भन्दा फरक नपर्ला । कुनै पनि कठिन परिस्थितिमा आफू धैर्य गर्ने र आफू मातहतका व्यक्तिलाई भरोसा दिलाउन सक्नुपर्छ । परिस्थिति नबुझी निर्णय लिने र एकै पटक सफलता हासिल गर्ने महत्वकांक्षाले कहिलेकाहीँ ठूलो नोक्सान पुर्‍याउन सक्छ । नेतृत्वमा रहनेले आफूअनुकूल परिस्थितिका लागि कुर्न सक्नुपर्छ । हरेक कदमहरू धैर्यतापूर्वक पर्खिएर चाल्नुपर्छ । छोटो समयमै चाहेको सफलता हात नलाग्न सक्छ, समस्याहरूले घेर्न सक्छन्, अनेकौँ चुनौतीका पर्खालहरू पार गर्नुपर्ने हुनसक्छ । यस्तो समयमा कत्ति पनि बिचलित नभई धैर्य गर्ने र पर्खने क्षमता नेतृत्वमा रहने व्यक्तिको हुन आवश्यक छ।

२. निर्णय गर्न सक्ने

प्रायजसो राम्रो निर्णय क्षमता भएकै कारणले गर्दा व्यक्तिहरू नेतृत्वमा पुग्ने गर्छन् । कुनै कुरामा अलमल हुँदा फ्याट्ट उपाय निकाल्ने र समस्या समाधान गर्ने खुबी भएको व्यक्तिले नै प्राय गरी हरेक ठाउँमा नेतृत्व लिइरहेको हुन्छ । पारिवार तथा साथीभाइको जमघट, कुनै समारोह तथा कुनै काम गर्दै जाँदा बीचमा कुनै समस्या वा दुविधा उत्पन्न्न हुने गर्छ । जस्तो: के खाने, कता जाने, के किन्ने, कुनै कुरा गर्ने कि नगर्ने ? आदि ।

यसरी कुनै कुरामा हिचकिचाहट, अलमल तथा दुविधामा परेका बेला सबैलाई सहमति हुने खालको कुनै उपाय निकाल्ने, निर्णय सुनाउन सक्ने खुबी भएको व्यक्ति बिस्तारै निर्णयहरूमा हाबी भइरहेको हुन्छ । यसरी निर्णयमा अघि सर्ने व्यक्तिलाई समूह तथा समुदायले अगुवाको रूपमा अगाडि बढाउँछ  र नेतृत्वमा पुर्‍याउन मद्दत गरिरहेको हुन्छ ।

नेतृत्वमा रहेका व्यक्तिले परिस्थिति मूल्यांकन गरी सही समयमा सही निर्णय लिन सक्नुपर्छ । कहिलेकाहीं एकदम हतारमा तत्कालै निर्णय लिनुपर्ने परिस्थिति पनि आउन सक्छ । यस्तो बेलामा के गर्ने, कसो गर्ने भनेर अलममिलने, गलत परिणामको डरले निर्णयका लागि हिचकिचाउने गर्नु हुँदैन । समयमा निर्णय गर्न नसक्दा मुखमै आइपुगेको सफलता पनि गुम्न सक्छ ।

अर्कातिर कुनै संकटका बेला समयमै निर्णय नगर्दा ठूलो क्षति व्यहोर्नुपर्ने पनि हुनसक्छ । अरूको धारणा तथा मतहरू सुनेर मनन गर्ने र त्यसमा सही गलत के हो छुट्याएर निर्णय गर्ने क्षमता नेतृत्वमा रहनेले गर्नुपर्छ ।

सही नियतले गरिए पनि कुनै निर्णयले नराम्रो परिणाम निम्त्याउन सक्छ । यसबाट हतास हुने भन्दा पनि त्यसलाई स्वीकार गरेर आगामी दिनका लागि नयाँ सिकाइको रुपमा लिनुपर्छ । आफ्नो व्यक्तिगत हितमा मात्रै केन्द्रित भएर निर्णय गर्नुहुँदैन । निर्णय गर्दा निरंकुश बन्ने तरिकाले होइन कि बहुसंख्यकको हित तथा भावना समेटिने खालको निर्णय गर्नुपर्छ ।

३. पूर्वाग्रह नराख्ने

नेवृत्वमा रहने व्यक्ति आफू मातहतका सबैका लागि समान व्यवहार गर्ने खालको हुनुपर्छ । आफूलाई मनपर्ने, चाकरी गर्ने र आफ्नो प्रशंसा गर्नेलाई मात्रै च्याप्ने खालको हुनुहुँदैन । संस्थामा इमान्दारितापूर्वक काम गर्ने, संस्थाको हितमा लागिपरेको व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्छ । बिनापूर्वाग्रह संस्था तथा समूहको हितलाई ध्यानमा राखेर व्यवहार गर्नुपर्छ। पूर्वाग्रही व्यवहारले संस्थाका कर्मचारी तथा समूह, संगठनका इमान्दार सदस्यहरूमा निराशा छाउन सक्छ । संस्थामा क्षति तथा बिग्रह हुन सक्छ ।

४. लचिलो

नेतृत्वमा रहने व्यक्तिमा एक खालको अडान त हुनुपर्छ तर त्यस सँगै आवश्यक परेका बेला लचक हुनसक्ने खुबी पनि चाहिन्छ । मैले भनेको नै अन्तिम सत्य हो, त्यही मात्रै हुनुपर्छ भन्ने अडान लिने व्यक्ति सक्षम र सफल नेतृत्व बन्न सक्दैन । आफू मातहतका कर्मचारी, व्यवसायका अन्य साझेदार तथा व्यक्तिको मत र भावनालाई पनि सम्मान गर्ने, संरक्षण गर्ने काम नेतृत्वमा रहेको व्यक्तिले गर्नुपर्छ ।

आफ्ना कुनै निर्णय गलत छन् र धेरैले त्यो सच्चाउन भनिरहेका छन् भने त्यसमा पुनर्विचार गर्न सक्नुपर्छ। निर्णय सच्चाउने, गल्ती स्वीकार गर्ने, आवश्यक पर्छ भने माफी माग्न पनि तयार हुनुपर्छ । यसले संस्था तथा संठनमा क्षति पुग्नबाट रोकिन्छ । अरूको विश्वास जित्न र सहानुभूति प्राप्त गर्न सकिन्छ ।

५.अरूको खुसीमा सामेल हुन सक्ने

नेतृत्वमा रहने व्यक्ति अरुको खुसीमा ईर्ष्या गर्ने, अरूलाई निरुत्साहित गर्ने खालको हुनुहुँदैन । अरूको खुसीमा रमाउने, सामेल भई प्रत्साहन गर्ने, हौसला प्रदान गर्ने हुनुपर्छ । यो बानीले आफू मातहतका व्यक्तिहरूको सदासयता, विश्वास र भरोसा प्राप्त गर्न मद्दत पुग्छ । आफू मातहतका व्यक्तिको साथ, सहयोग र भरोसाबिना सफलता प्राप्त गर्न सकिँदैन अर्थात सफल नेतृत्व बन्न सकिँदैन ।

६. सम्बन्ध बनाउने खुबी भएको

मानिस सामाजिक प्राणी भएकाले उसै पनि जीवनलाई सहज बनाउनका लागि धेरै जनाको साथ सहयोग आवश्यक पर्छ । नेतृत्वमा रहने व्यक्तिले त आफ्नो व्ययक्तिगत मात्रै नभएर संस्था तथा संगठनहरूको समेत जिम्मेवारी बहन गर्नुपर्छ हुन्छ ।

नेतृत्व तहमा रहने व्यक्ति संवाद गर्न सक्ने, आवश्यकता अनुसार व्यक्ति तथा अन्य पक्षसँग सम्बन्ध बनाउन सक्ने खालका हुनैपर्छ । आफू मातहतका कर्मचारी तथा सदस्यहरूसँग राम्रो सम्बन्ध काम राख्न सकेन भने उनीहरूबाट काम लिन तथा परिचालन गर्न कठिन हुन सक्छ ।

खाली व्यवसायिक हिसाबको सम्बन्ध मात्रै नभएर भावनात्मक सम्बन्ध बनाउन सक्यो भने आफूलाई संकट परेका बेला त्यही अनुसारको साथ सहयोग पाइन्छ । संस्था तथा संगठनहरूको हितलाई ध्यानमा राखेर त्यो अनुसार आवश्यक व्यक्ति तथा कुनै संस्था वा अर्को पक्षसँग सम्बन्ध बनाउनु नेतृत्वमा रहने व्यक्तिको दायित्व नै हुन आउँछ ।

७. सकारात्मक सोच भएको

नेतृत्वमा रहने व्यक्ति सधैं सकारात्मक सोच राख्ने र आफू मातहतका व्यक्तिलाई प्रोत्साहन गरिरहने, आड भसरोसा दिने खालको हुनुपर्छ । हरेक कुरामा निराश हुने, नकारात्मक दृष्टिकोण राख्ने, घाटा पर्दा वा असफलता हुनेबित्तिकै आत्तिने खालको सोच राख्नु हुँदैन । खराब अवस्थामा पनि धारणा राखी त्यसलाई सही तरिकाले व्यवस्थापन गर्ने खुबी नेतृत्वमा रहने व्यक्तिमा हुनुपर्छ ।

८. असल आचरण भएको/आदर्शयुक्त

नेतृत्वमा रहने व्यक्ति आफू मातहतका व्यक्ति तथा अन्य धेरैका लागि आदर्शको रूपमा रहन्छ । उसको सिको गर्ने, ऊ जस्तै बन्ने लक्ष्य राख्ने पनि धेरै हुन्छन् । उसका क्रियाकलाप, जीवनशैली, आनीबानी र व्यवहारलाई धेरैले नियालिरहेका हुन्छन् । यस कारणले असल र सक्षम नेतृत्व बन्न चाहने व्यक्तिले असल आचरणलाई कायम राख्नुपर्छ । ऊ अरूका लागि आदर्श बन्न सक्नुपर्छ । यदि नेतृत्वमा रहने व्यक्ति नै आचरणयुक्त छैन भने उस मातहतका व्यक्तिहरू पनि गलत हर्कतमा लाग्न सक्छन् । त्यत्तिको माथिल्लो पदमा बस्नेले त यसो गर्छ, हामीले गर्दा के हुन्छ र भन्ने खालको सोचाइ विकास हुन सक्छ ।

९. आलोचनात्मक चेत र विश्लेषण गर्ने क्षमता भएको

जो कसैले गरेको हरेक कुरालाई सजिलै विश्वास गर्ने काम नेतृत्वमा रहने व्यक्तिले गर्नुहुँदैन । कसैले राम्रो तत्काल राम्रो फाइदा हुने कुरा गरिरहेको छ भने पनि त्यसलाई राम्रोसँग समीक्षा गर्न सक्नुपर्छ । त्यसले कुनै दीर्घकालीन असर पुर्‍याउँछ वा पुर्‍याउँदैन भनी मूल्यांकन गर्नु सक्नुपर्छ । कहिलेकाहीँ झट्ट सुन्दा वा बुझ्दा ठिक लागेको कुरा पनि गलत हुन सक्छ । त्यसलाई पनि फरक–फरक दृष्टिकोणबाट नियाल्ने र बुझ्ने खुबी नेतृत्वमा रहने व्यक्तिमा हुनु आवश्यक छ ।

कुनै पनि कुरालाई सही तरिकाले विश्लेष गर्न क्षमता आवश्यक पर्छ । कहिलेकाहीं आफूले गरेको हठ वा जिद्दी गलत पनि हुनसक्छ । त्यस्ता कुरामा पनि राम्रो विश्लेषण गर्न सक्नुपर्छ । परिस्थितिहरू बदलिरहन्छन् त्यही अनुसारको विश्लेषण गरी योजनाहरू बनाउने र कदम चाल्ने क्षमता राख्नुपर्छ ।

१०.सिर्जनशील/अध्ययनशील

नेतृत्वमा रहने व्यक्ति समय र परिस्थितिअनुसार चल्नैपर्छ । फरक परिस्थितिको सामना गर्न, थप सफलता पाउन, असफताबाट बच्न नयाँ-नयाँ उपाय, रणनीतिहरू अपनाउनुपर्ने हुन्छ । त्यसका लागि सिर्जनशील हुनु आवश्यक छ ।

समयसँगै प्रविधिमा आएको परिवर्तन, समुदाय तथा व्यक्तिमा भएको सोच, उनीहरू भित्र विकास भएका अपेक्षा, चाहनाबारे जानकारी राखिरहनुपर्छ । आवश्यक थप ज्ञानका लागि नयाँ कुरा सिक्ने र अध्ययन गरिरहने गुण नेतृत्वमा रहने व्यक्तिमा हुनु आवश्यक छ । म ठूलो पदमा छु, सबै जानेको छु । यतिले नै सबै पुगिहाल्छ भन्ने सोचाइ छ भने त्यो गलत हो । कुनै समयमा गरेको अध्ययन तथा आर्जन गरेको ज्ञानले सधैं काम नगर्न सक्छ । समयअनुसार अपडेट भइरहनु आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?