News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतको क्लिक्स कम्पनीले ब्लाकबेरी जस्तै डिजाइन र आइफोन जत्तिकै फिचर भएको कम्युनिकेटर नामक किबोर्ड स्मार्टफोन बजारमा ल्याएको छ।
- फोनको मूल्य ४९९ डलर तोकिएको छ र यो नियमित प्रयोगका फोनको सहायक फोनका रूपमा प्रस्तुत गरिएको छ।
एक समय थियो, बजारमा ब्लाकबेरी ब्राण्डका मोबाइल फोनलाई उच्चस्तरीय अर्थात् बिजनेस क्लासका फोन मानिन्थ्यो । कम्पनीका एकपछि अर्को मोडेलका फोनले बजारमा तहल्का मच्चाइरहेका थिए । आम मानिसहरूको चाहना तथा सपना नै हुन्थ्यो कि भविष्यमा कुनैदिन ब्लाकबेरीको फोन किनेर चलाउन पाइयोस् । तर मोबाइल फोन बजारमा एन्ड्रोइड र आइफोन जस्ता स्मार्टफोनको आगमनसँगै ब्लाकबेरीले आफ्नो अस्तित्व रक्षा गर्न सकेन । अन्ततः बजारबाट लोप भएर गयो ।
एकपटक फेरि त्यही क्लासिक ब्लाकबेरी जस्तै एउटा स्मार्टफोन सार्वजनिक भएको छ । बेलायतको एउटा कम्पनीले कम्युनिकेटर नामक हाइब्रिड स्मार्टफोन बजारमा ल्याएको छ, जसको डिजाइन ब्लाकबेरीजस्तै छ भने फिचरहरू आइफोन जत्तिकै गज्जब छन् ।
स्मार्टफोन हार्डवेयर तथा किबोर्डको खोल लगायतका विभिन्न सामानहरू उत्पादन गर्ने बेलायती कम्पनी क्लिक्सले आफ्नो पहिलो स्मार्टफोन लञ्च गरेको हो । क्लिक्स कम्पनीको उक्त स्मार्टफोन किबोर्ड भएको फोन हो । कुनै समय यस्तो डिजाइनको फोनको लोकप्रियता बजारमा उच्च थियो।
कम्युनिकेटर नामबाट आफ्नो किबोर्ड स्मार्टफोन सार्वजनिक गर्दै क्लिक्स कम्पनीले एकपटक पुनः ब्लाकबेरी युग फिर्ता ल्याउन चाहन्छ । तथापि यो फोन केवल पूरानो ब्लाकबेरी जस्तो फिचर फोन भने होइन । यसमा अत्याधुनिक स्मार्टफोनका सम्पूर्ण फिचर्स उपलब्ध छन् ।
यद्यपी कम्पनीले यसलाई आम प्रयोगका स्मार्टफोनको प्रतिस्थापनका रूपमा नभई नियमित प्रयोगका फोनको सहायक फोनका रुपमा पेश गरेको छ र केही अत्यावश्यकीय फिचरमा केन्द्रित भएको छ । यसमा ब्लाकबेरी जस्तो डिजाइन हुनुका साथै आइफोनको एक्सन बटन जस्तै फिचर उपलब्ध छ ।
क्लिक्स कम्युनिकेटर फोनको मूल्य ४९९ डलर तोकिएको छ ।
यो फोनमा QWERTY किबोर्ड रहेको छ, जुन टस सेन्सिटिभ हुनुका साथै पछाडिपट्टि जडित प्रकाशले प्रयोगलाई सहज बनाउँछ । साथै यो किबोर्डले स्क्रोलिङ पनि सपोर्ट गर्छ ।
फोनमा युएसबी सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक, माइक्रो एसडी कर्ड स्लट पनि रहेको छ । यो फोनमा एयरप्लेन मोडका लागि एउटा विशेष बटन पनि दिइएको छ । साथै एउटा अर्को साइड बटन पनि यसमा रहेको छ, जुन आइफोनको एक्सन बटनजस्तै छ ।
४.०३ इन्चको एमोलेड स्क्रिन रहेको यो फोनले डुअल सिम (इ सिम र भौतिक सिमकार्ड) सपोर्ट गर्दछ । यसमा ४ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री छ भने ५० मेगापिक्सेलको मुख्य क्यामेरा तथा २४ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेका छन् ।
मिडियाटेक फाइभजी प्रोसेसर रहेको यो फोनमा एन्ड्रोइड १६ अपरेटिङ सिस्टम रहेको छ ।
एजेन्सी
प्रतिक्रिया 4