पुतलीहरु नाचि रहेका थिए
भमराहरु झुली रहेका थिए
माली प्रसन्न थियो
फूलहरु फूलीरहेका थिए ।
ऊ बन्दुक बोक्छ
ऊ कलम बोक्छे
बन्दुक र कलमको प्रेमील जोडी
मायाको चुम्बन गर्दै
आलिङ्गनमा बाँधिन तम्सी रहेछन्
प्रेमका खुट्किला उक्लदै ।
एक जोडा परेवा चुच्चोमा चुच्चो मिलाई बसीरहेछन्
परेवी ओथारिन चाहान्छे
परेवा मौन बस्छ
नपुङसक भएको बहना गर्दै
परेवीको सपना भताभुङ्ग हुन्छ
ऊ झोक्राएर बस्छे ।
तिमी बुढो साँढे जस्तै छौ
कोरलीमात्रै ओगट्ने
तिमी गर्भाधान गराउन सक्दैनौ
तिम्रो नामर्दीपन
छि, मलाई नपस्क
म गोर्की जन्माउन खोजीरहेछु ।
आँसु बगे खोला सरी
नौकामा सवार हुँदै आँसु पुछ्न कोही आएन
तिम्रो रोदनले पग्लदैन मन
मुर्दा मन नहाँसे पछि ।
म प्रफुल्लित छु आज
मसँगग एक जोडा हात छन् आमाले दिएका
धरती खनीखोस्री गर्ने
मसँग एक जोडा खुट्टाहरु पनि त छन्
धरती शयर गर्ने
आमा मलाई आशीर्वाद देऊ
म तिम्रो तुहिएको सपना खोजीरहेछु ।
मान्छेहरु जिन्दगीलाई धिक्कारी रहेछन्
जिन्दगीको अर्थै नबुझेर
म तिनीहरुलाई जिन्दगीको पाठ पढाउने गर्छु
म तिनीहरुलाई जिन्दगीको यात्रा सिकाउने गर्छु
जिन्दगी सुन्दर कविता जस्तै लाग्छ
म कविहरुलाई जिन्दगीको परिभाषा खोज्न भन्छु ।
रोएर कसैलाई मिलेको छैन मुक्ति
पखालेर कसैको पखालिएको छैन पाप
हाँसेर बाँच्न सिकौं
रमाएर नाँच्न सिकौं
जिन्दगी एउटा अभूतपूर्व संयोग हो
मृत्युलाई धकेलेर
जिन्दगी जिउने कसम खाउ
म प्रार्थना गर्छु
हाम्रो काल अकालमा आउने छैन ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
प्रतिक्रिया 4