News Summary
Generated by OK AI. Editorially reviewed.- माछापोखरीका माछाहरू र मानिसहरू रंग, कद, गति र व्यवहारमा उस्तै–उस्तै देखिन्छन्।
- ठूला माछाहरूले साना माछासँग खाद्य अधिकारको सम्बन्ध राख्छन् र स्व–प्रदत्त नियम अनुसार चल्छन्।
- शहरका विद्रोही युवाहरू र पर्खालभित्रका आकृतिहरू माछापोखरीका माछाहरू जस्तै देखिन्छन्।
मलाई हिजोआज
माछापोखरीका माछा र मान्छेहरू
उस्तै–उस्तै लाग्छन्।
धर्तीका मानिसहरू जस्तै
पानीका माछाहरू पनि
रङ, कद र गतिमा परिभाषित छन्
झुण्ड–झुण्डमा परिचालित छन्।
बडेमानका, अग्ला–अग्ला मान्छेहरू जस्तै
दण्ड–विधानमा निपुण छन्
सानाहरूको बीचमा सुशोभित
पानीका अभिजात, चिल्ला–खासाहरू—
ठूला–ठूला माछाहरू।
स्व–प्रदत्त नियमको व्याख्या गर्दै
भोकले सक्रिय बनाएको बेला
ठूलाहरू सानासँग
रोजी–रोजी, खोजी–खोजी
खाद्य अधिकारको सम्बन्ध राख्छन्।
अघाएको समयमा
सबै–सबै
एक–आपसमा हातेमालो गर्दै
स्वतन्त्रताको गीत गाउँछन्
आत्मीयता पोख्दै मीत लगाउँछन्
मान्छे जस्तै माछाहरू पनि
माया साट्दै प्रीत लगाउँछन्।
सूर्य र पृथ्वीको खगोलीय अन्तरसम्बन्धको जाँतोदेखि
चुम्बकले चुम्बक तान्ने विज्ञानको पाटोसम्म
गतिका नियमहरूलाई
पल–पल अनुसरण गरिरहन्छन्
ठूला–साना माछाहरू
क्षण–क्षण अनुकरण गरिरहन्छन्
अग्ला–होचा मान्छेहरू।
र त, हिजोआज
शहरका—भर्खर विद्रोहको रापमा परेका
युवाहरूको आक्रोशको तापमा परेका
सालिक अगाडि, ठूला पर्खालभित्रका
नीला–काला कोटमा बेरिएका आकृतिहरू
माछापोखरीका माछाहरू जस्तै लाग्छन्।
मलाई हिजोआज
माछापोखरीका माछा र मान्छेहरू
उस्तै–उस्तै लाग्छन्।
प्रतिक्रिया 4