+
+
Shares
वार्ता :

‘रिसोर्ट बनाउन त ३-४ वर्ष लाग्छ भने पार्टी बनाउन कति चाहिएला ?’

जसरी एउटा राम्रो रिसोर्ट बनाउन तीन–चार वर्ष मिहिनेत गर्नुपर्छ, पार्टी बनाउन पनि मिहिनेत चाहिन्छ । केही कामै नगरी ‘हामी नयाँ हौं, हामीलाई भोट देऊ’ भन्नु असान्दर्भिक कुरा हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १७:२५

व्यवसायी वीरेन्द्रबहादुर बस्नेत जति चर्चित छन्, उनी केन्द्रीय सदस्य रहेको गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) को चर्चा सुनिंदैन । २१ फागुनका लागि घोषित संसदीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गलोपाले समानुपातिकतर्फ जम्मा ११ उम्मेदवारको बन्दसूची पेश गरेको छ ।

समृद्धि, समानता र स्वाभिमानलाई मार्गनिर्देशक सिद्धान्त मानेको गलोपाका अध्यक्ष दिनेश प्रसाईंलाई हामीले सोध्यौं– पार्टीको नाम गतिशील, निर्वाचनको तयारी सुस्त किन ? ‘कतिपयले फिल्म रिलिज गरे झैं ड्याङडुङ गरेर राजनीति गरिरहनुभएको छ, त्यो उहाँहरूको रणनीति होला, हाम्रो बाटो फरक छ’, उनको जवाफ छ ।

पर्यटन व्यवसायी तथा समाजशास्त्री प्रसाईं आगामी स्थानीय निर्वाचनमा तयारीका साथ मैदानमा उत्रिने बताउँछन् । यस पटक आफ्नो पार्टीको निर्वाचनमा सहभागिता सांकेतिक मात्र हुने उनी बताउँछन् । राजनीतिमा मात्र होइन समाजको प्रवृत्ति पनि फेरिनुपर्ने उनको विश्लेषण छ । ‘नेपाली समाजमा अहिले जे गर्ने तुरुन्तै गरिहाल्ने भन्ने जुन छटपटी छ, हामी त्यो भाष्य बदल्न चाहन्छौं’, उनी भन्छन् । प्रस्तुत छ, दिनेश प्रसाईंसँग अनलाइनखबरकर्मी सन्त गाहा मगरले गरेको संवाद:

पार्टी अध्यक्ष बन्नुभएको साढे दुई महिना भयो । यहाँलाई ‘दाइ’, ‘सर’ वा ‘अध्यक्ष’ के भनेर बोलाऊँ ?

मलाई ‘दाइ’ मै बानी परेको छ । ‘सर’ भन्दा अलि पदानुक्रम झल्किए जस्तो लाग्छ । यद्यपि, विश्वविद्यालयमा मेरा विद्यार्थीले ‘सर’ नै भन्छन्, त्यो स्वाभाविक पनि हो । म पनि चैतन्य मिश्र सरलाई जहाँ भेटे पनि ‘दाइ’ भन्न सक्दिनँ, किनकि उहाँ मेरो गुरु हुनुहुन्छ । ओम सरलाई ओम सरै भन्थें ।

हाम्रो समाजमा ‘दाइ–भाइ’ भन्ने एउटा पुरानो र बलियो प्रणाली छ । हजारौं वर्षदेखि चलिआएको यो प्रणालीले हामीलाई एक किसिमको सुरक्षा र भरोसा दिन्छ । गाउँको त्यो संयुक्त परिवारको सामीप्यता मैले मिस गरिरहेको हुन्छु । दाइ–भाइ भनेर गाउँ नै ‘रि–क्रिएट’ गर्न खोजेका हौं, सानाले भरोसा र ठूलाले पदानुक्रम खोजेको हो ।

राजनीतिमा पनि म त्यही अपनत्व खोजिरहेको हुन्छु । धेरैले ‘दिनेशजी’ पनि भन्नुहुन्छ । जहाँसम्म ‘अध्यक्ष’ को कुरा छ, यो मलाई खासै मन पर्दैन । मैले पार्टीमा पनि ‘अध्यक्ष’ नभन्नु भनेको छु । म त केवल समन्वय गर्न आएको हुँ ।

यहाँलाई मैले राजनीतिकर्मी, पर्यटन व्यवसायी वा समाजशास्त्री के भनेर चिनाउनु ठीक होला ? 

अहिले चाहिं राजनीतिकर्मीकै भूमिका प्रमुख भएर आएको छ । पर्यटन व्यवसाय पनि  निरन्तर छ तर त्यो मेरो परिवारले हेर्छ । विशेषगरी मेरो श्रीमतीले हेर्छिन् ।

समाजशास्त्र भनेको चाहिं मैले त्रिभुवन विश्वविद्यालयमा एमफिल/पीएचडी तहमा १२–१५ वर्ष पढाएँ । अब केही थेसिसहरू हेर्न चाहिं बाँकी छन् । राजनीतिमा लागिसकेपछि  औपचारिक सम्बन्ध चाहिं छोड्देको छु । तर मेरो सोचाइ र कुरागराइमा समाजशास्त्रले पनि निरन्तरता नै पाइरहेको छ ।

राजनीतिक प्रश्नमा जानुभन्दा पहिले समाजका केही कुरा गरौं । एउटा समाजशास्त्रीको नजरमा आजको नेपाली समाज कहाँ उभिएको छ ?

समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा हामी ग्रामीण समुदायबाट शहरी समाजतर्फ प्रस्थान गर्दैछौं । समुदायबाट समाज भइरहेका छौं । सयौं वर्षदेखि चलिआएको हाम्रो सोच्ने तरिका र सामाजिक संरचनाले अबको आवश्यकता धान्न सकेन अर्थात् पुरानो तरिकाले चल्दैन । गाउँले अर्थात् समुदायले धान्न सकेन त्यसैले हामी शहरतर्फ र अलि जटिल समाजतर्फ आइरहेका छौं ।

नेपाली राजनीति प्रतिपक्षविहीन भएको छ । भदौ २३ र २४ को घटनाको एउटा कारण प्रतिपक्षीविहीनता हुनु पनि हो ।

यो जटिल समाजलाई व्यवस्थापन गर्न आधुनिक संस्था, संरचना र संस्कृति चाहिन्छ, जुन हामीले अझै विकास गर्न सकेका छैनौं । समाज ठूलो संक्रमणमा छ । यो राजनीतिक संक्रमण जस्तो छोटो हुँदैन; यो दशकौंसम्म चल्ने लामो संक्रमण हो । यसले धेरै सम्भावना र चुनौती दुवै ल्याएको छ । जसको प्रभाव राजनीतिमा पनि छ ।

समाजको आवश्यकता र आकांक्षाहरू पूरा गर्ने गरिको संस्थाहरू निर्माण नहुनुमा राजनीति कत्तिको जिम्मेवार छ ?

सबै कुरालाई मिलाउने नीति बनाउने त राजनीतिले हो नि ! राजनीतिले एककिसिमको संस्कृति निर्माण गर्छ । राजनीति मार्फत विशेषगरी राजनीतिक दल र उनीहरू मार्फत संसद्ले, सरकारले र आधुनिक संस्थाहरू मिलेर संविधान कानून परिवर्तन गर्ने हो । नयाँ–नयाँ समस्याहरूलाई सम्बोधन गर्नको लागि ती कानुनहरू बनिरहेका त छन् । तर संक्रमणकालीन जटिल तथा बहुआयामिक समस्यालाई समाधान गर्न जुन किसिमको गम्भीरता र अनवरत गृहकार्य चाहिन्छ हो त्यो गर्न सकेका छैनौं ।

यहाँले अध्यापन गर्नुभएको त्रिभुवन विश्वविद्यालय छ, थिंकट्यांक र नागरिक समाजहरू छन् । आजको समस्यालाई सम्बोधन गर्न सक्ने गरिका संस्थाहरू भत्किएका हुन् कि बनेकै थिएनन् ? 

त्यसको भ्रूणहरू शुरु गर्‍यौं । तर जुन हिसाबमा गति परिवर्तन भइरहेको छ त्यसलाई सम्बोधन गर्न सक्ने गरिका गतिला संस्थाहरू बनाउनै सकेका छैनौं । समस्याहरू एकदमै ठूलो भएपछि सम्बोधन गर्ने खालका संस्था बनाउन सकेनौं । त्रिभुवन विश्वविद्यालयकै कुरा गरौं । पहिला गाउँबाट कम विद्यार्थी पढ्न आउँथे तिनीहरूलाई राम्रोसँग ह्यान्डल गरेको थियो । विद्यार्थी बढ्दै गएपछि व्यवस्थित हुन सकेन ।

त्यस्तै काम चाहिने युवाहरू थोरै भएका बेलासम्म बजारले धानेको थियो । जब शहरीकरणको प्रक्रिया एकदमै तीव्र गतिमा विकसित भइसकेपछि र जनसांख्यिक संरचनामा युवाहरू एकदमै धेरै भए त्यसपछि हाम्रा संस्थाहरूले उनीहरूले चाहेको शिक्षा, रोजगारी र अपेक्षालाई धान्न सकेनन् । त्यो मागलाई सम्बोधन गर्ने गरी विश्वविद्यालयले पाठ्यक्रम परिवर्तन गर्‍यो कि गरेन, गतिला शिक्षक भए कि भएनन्, पर्याप्त छात्रवृत्ति उपलब्ध छन् कि छैनन् ? भन्ने प्रश्न त छँदैछ । त्यसमाथि यस्तो जटिल समाजमा निष्पक्षता चाहिन्छ । समावेशी र सक्षमको मिश्रण चाहिन्छ ।

राजनीतिक दलका भ्रातृ संगठनहरू यति हावी भए कि विश्वविद्यालयमा शिक्षक भर्नादेखि पदोन्नतिसम्म योग्यता भन्दा दलीय आस्था प्रधान बन्न पुग्यो । जसले गर्दा समस्याको जटिलतालाई सम्बोधन गर्न सकेन । भइरहेका संस्थाहरू पनि बिग्रिए ।

समाजमा जटिलतम समस्याहरू सम्बोधन गर्नुपर्ने संस्थाहरूमा दल हावी भयो भनिरहँदा यहाँ आफैंले गतिशील लोकतान्त्रिक पार्टी दर्ता गर्नुभयो । जसको निर्वाचन आयोगमा क्रम संख्या ११२ छ । सय भन्दा बढी पार्टी भएको देश र जनताका लागि किन आवश्यक पर्‍यो थप एक थान पार्टी ? 

हामी बहुदलीय व्यवस्थामा छौं, यो संवैधानिक अधिकार पनि हो । नेपालमा धेरै राजनीतिक परिवर्तन भए, तर नेपाली समाजले खोजेको संरचनागत परिवर्तन हुन सकेन । हाम्रो विश्लेषण के रह्यो भने खासगरी आर्थिक परिवर्तनका लागि काम गर्न सकेनौं ।

२०४६ सालको परिवर्तनले नागरिक स्वतन्त्रता ल्यायो । माओवादी, जातीय, क्षेत्रीय लगायत अन्य सामाजिक आन्दोलनले समावेशिता र प्रतिनिधित्वलाई संस्थागत गर्‍यो । तर, बोल्ने अधिकार र राज्यका निकायमा प्रतिनिधित्व हुँदैमा मात्र सबै कुरा पुग्दैन । यदि मानिसले उद्यम गर्ने वातावरण पाउँदैन, रोजगारी सिर्जना हुँदैन र राज्यले कर उठाएर शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा लगानी गर्न सक्दैन भने त्यो परिवर्तन अर्थपूर्ण हुँदैन ।

हाम्रा पुराना र नयाँ दलहरू कोरा राजनीति (शक्ति प्राप्तिको लागि मात्र राजनीति) मा अल्झिए । विकसित लोकतान्त्रिक देशहरूमा आर्थिक मुद्दा र रोजगारीका तथ्याङ्कहरू निर्वाचनका मुख्य एजेन्डा हुन्छन् । तर हाम्रोमा ती विषय गौण भए । त्यसैले, आर्थिक रूपान्तरण र दिगो रोजगारीलाई केन्द्रमा राखेर हामीले यो नयाँ दल गठन गरेका हौं ।

तपाईंले आर्थिक एजेन्डालाई बढी जोड दिनुभयो । यसको अर्थ हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) माथि गयो, सबै नेपाली धनी भए भने तपाईंको पार्टीको औचित्य सकिन्छ भन्ने हो ?

हामीले समृद्धि, समता र स्वाभिमानलाई तीन वटा मुख्य आधार स्तम्भ मानेका छौं । आर्थिक आधार विना राष्ट्रिय स्वाभिमान सम्भव छैन । उदाहरणका लागि, संसारका विमानस्थलहरूमा नेपाली पासपोर्टलाई हेर्ने दृष्टिकोण कस्तो छ ? त्यो हाम्रो स्वाभिमानको सूचक हो । जबसम्म देश आर्थिक रूपमा सम्पन्न हुँदैन, तबसम्म अन्तर्राष्ट्रियस्तरमा हाम्रो इज्जत र स्वाभिमान कायम हुन सक्दैन । त्यसैले आर्थिक समृद्धि राष्ट्रियतासँग पनि जोडिएको विषय हो ।

तर, हामीले समृद्धिसँगै समता पनि राखेका छौं । केही व्यक्ति मात्र धनी हुने होइन, आर्थिक वृद्धिले आम नागरिकलाई लाभान्वित गराउनुपर्छ । हामी गरिबी मात्र बाँडेर वा गरिबीलाई उचालेर राजनीति गर्न चाहँदैनौं ।

नेपालमा वर्गीय समस्यालाई प्रधान मान्ने दल पनि छन् । कोही खुला अर्थतन्त्रको कुरा गर्छन् । कसैलाई राष्ट्रियता, कसैलाई जातीय–क्षेत्रीय पहिचान चाहिएको छ । समृद्धि, समता र स्वाभिमानको कुरा गर्ने तपाईंको पार्टी ती सबै दलको मिश्रण जस्तो हो ? 

विश्वभरिको अनुभव, नेपालको आफ्नै अनुभव र नेपाली समाजको आवश्यकतामा आधारित भएर हामीले हाम्रो वैचारिकी निर्माण गरेका हौं । आर्थिक र राजनीतिक दुवै हिसाबले नेपाली समाज मूलत: मध्यमार्गी समाज हो ।

संसारमा दुईवटा अति छन्: एउटा ‘लेफ्ट’ जसले केवल वर्गीयता हेर्छ र अर्को ‘राइट’ जसले सक्रिय राजतन्त्र, सैनिक अधिनायकवाद, चर्को राष्ट्रवाद वा कट्टर परम्परावादलाई मात्र जोड दिन्छ । हामी यी दुवैको बीचमा छौं । हामीले गतिशील मध्यमार्गको बाटो रोजेका छौं ।

यहाँले भन्न खोज्नुभएको मध्यमार्ग एकदमै मध्यभागमै अवस्थित छ कि थोरै दायाँ वा बायाँ पनि ढल्किएको छ ? 

विचारलाई हामीले अनुभव र आवश्यकताको कसीमा हेर्न सक्नुपर्दछ । जस्तो कुनै–कुनै देशमा निजी क्षेत्रले शिक्षा र स्वास्थ्यलाई राम्रोसँग ह्याण्डल गरेको हुनसक्छ । तर हाम्रो जस्तो देशमा त्यो सम्भव छ त ? छैन नि ! हो त्यस्तो परिप्रेक्ष्यमा यति वर्षसम्म शिक्षामा निजी क्षेत्रलाई यति भूमिका दिनुपर्छ र सरकारको भूमिका यो–यो हुन्छ भनेर विशिष्टीकृत गर्नुपर्ने हुन्छ । स्वास्थ्य वा पूर्वाधारमा पनि यही कुरा लागू हुन्छ ।

त्यसलाई तपाईंले भने जस्तो ‘लेफ्ट–राइट’ वा ‘ब्ल्याक एण्ड ह्वाइट’ मा हेर्न थाल्यौं भने हाम्रो आवश्यकतालाई राम्रोसँग व्याख्या गर्दैन । त्यस्तो वर्गीकरण सधैं गतिलो नै हुन्छ भन्ने पनि छैन ।

त्यसो भए व्यवहारवाद भन्दा हुन्छ ?

हो, तपाईं एकदम सही शब्दमा आउनुभयो । हाम्रो पार्टीले दुईवटा पक्षमा जोड दिएको छ । हामी आदर्श र व्यावहारिक यथार्थ बीच निरन्तर संवाद गर्दै अगाडि बढ्छौं । हाम्रो लक्ष्य भनेको सुशासन र उद्यमशीलता मार्फत वडा–वडामा कृषि, पर्यटन र सूचनाप्रविधि मार्फत दिगो रोजगारी सिर्जना गर्नु हो ।

आदर्श पक्ष समृद्धि, समता र स्वाभिमान भयो । आदर्शले हामीलाई दिशा दिन्छ । व्यावहारिक यथार्थले हाम्रो विविधता र विषमतापूर्ण समाजको यथार्थलाई हेरेर काम गर्नु भन्छ ।

आदर्श र व्यवहारवादको बीचमा निरन्तर संवाद हुनुपर्छ । कहिलेकाहीं उदारवादबाट प्रगतिशील अनुभव समेटेर नीति बनाउनु पर्छ भन्ने हाम्रो मान्यता हो ।

तपाईंको मध्यमार्गी धारमा निजी क्षेत्र र सरकारको भूमिका कस्तो हुन्छ ?

विगतमा राज्य नियन्त्रित अर्थतन्त्र (स्टेट लेड इकोनोमी) विश्वमै सफल भएन । त्यसैले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । निजी क्षेत्रको भूमिका खोजिरहँदा हामीले खोजेको ‘स्वच्छन्दतावाद’ भने होइन । हामीलाई चाहिएको ‘उदारवाद’ हो ।

उद्यमशीलता र सिर्जनात्मकताका लागि निजी क्षेत्र चाहिन्छ, जसले रोजगारी र कर सिर्जना गर्छ । बजारलाई प्रतिस्पर्धी–स्वच्छ बनाउन, उपभोक्ताको हित संरक्षण गर्न र नियामक निकायको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । निजी क्षेत्रबाट उठेको करलाई राज्यले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा पुनर्वितरण गर्नुपर्छ ।

अहिले चर्चा गरिएका विषयलाई कार्यान्वयनमा लैजान राज्यसत्तामा पुग्नुपर्छ भनेरै होला, दल दर्ता गर्नुभएको । आउँदो निर्वाचनको तयारी कस्तो छ ?

पार्टी बनाउने सोच दुई–अढाइ वर्ष अघिदेखिको हो । हामीले २०८४ को निर्वाचनलाई लक्षित गरेर तयारी शुरू गरेका थियौं । हामीले २०८३ को वैशाखमा पार्टी घोषणा गर्ने भनेका थियौं । जेनजी मुभमेन्टले गर्दा अलि छिटो दल दर्ता गर्नुपर्‍यो । हामी देशका विभिन्न भागमा घुम्यौं । राजनीतिलाई नजिकबाट नियालिरहेका छौं । दीर्घकालीन रणनीतिलाई छोड्नुहुँदैन भन्नेमा छौं । हाम्रो निष्कर्ष के हो भने– हामी यो निर्वाचनमा सहभागी हुन्छौं, तर यो केवल साङ्केतिक मात्र हुनेछ ।

गतिशील लोकतान्त्रिक पार्टी जसरी पनि जित्नका लागि आफ्ना मूल्य–मान्यता र विचारमा सम्झौता गरेर अप्राकृतिक गठबन्धन वा ‘स्टन्टबाजी’ गर्दैनौं ।

हामी जसरी पनि जित्नका लागि आफ्ना मूल्य–मान्यता र विचारमा सम्झौता गरेर अप्राकृतिक गठबन्धन वा ‘स्टन्टबाजी’ गर्दैनौं । लोकप्रियतावादी कुरा गरेर क्षणिक लाभ लिनुले दीर्घकालमा राम्रो गर्दैन । हामी ‘म्याराथन’ दौडिन आएका हौं, १०० मिटरको दौड्न होइन ।

फेरि नेपालमा चुनावको कमी छैन; यो निर्वाचनपछि स्थानीय, प्रदेश र फेरि संघको निर्वाचन आउँछ । हामी चार–पाँच वर्षको लामो रणनीतिका साथ अघि बढ्दैछौं ।

दलहरू स्थापनाको छोटो समयमै सत्तामा पुगेका थुप्रै उदाहरण छन् । तपाईं लामो समय लिएर जान्छौं भन्नुहुन्छ, पार्टीको नाम ‘गतिशील’ राख्नुभएको छ । नाम गतिशील, काम सुस्त । नाम र काममा विरोधाभास भएन र ?

हामीले भनेको ‘गतिशील’ संरचना र एजेन्डाको हिसाबले हो । ‘तातै खाउँ जली मरुँ’ भन्ने खालको उत्ताउलोपन होइन ।

संरचनागत गतिशीलताको कुरा गरौं । पार्टीमा १६ वर्ष सक्रिय राजनीति गरेपछि सदस्यता स्वत: खारेज हुने व्यवस्था गरेका छौं । १६ वर्षपछि अरूलाई पालो दिएर आफू आफ्नो पेशा, व्यवसाय वा समाजसेवामा फर्कनुपर्छ । त्यस्तै, नेतृत्वमा गतिशीलता हुनुपर्दछ । एक व्यक्ति एक पद र कुनै पनि पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था छ । यसो गर्दा नेतृत्वमा निरन्तर नयाँ अनुहार आउँछ र पार्टीलाई गतिशील बनाउँछ ।

हामी एजेन्डाको हिसाबले पनि गतिशील छौं । समाजका समस्या र आवश्यकता अनुसार हाम्रा एजेन्डा परिमार्जित भइरहन्छन् । पर्यटन, कृषि र प्रविधिमा कसरी नयाँपन ल्याउने भन्ने हाम्रो मुख्य चिन्ता हो । हाम्रो गतिशीलता तत्कालै सत्तामा पुग्ने कुरामा होइन, समाज परिवर्तनमा खोजेका हौं ।

समानुपातिकतर्फको बन्दसूचीमा ११० जनाको नाम बुझाउन मिल्नेमा ११ जनाको मात्रै नाम बुझाउनुभयो । यो उम्मेदवार नपाएर हो कि जितिंदैन भन्ने आत्मसमर्पण ?

यो आत्मसमर्पण होइन, बरु राजनीतिक इमानदारी हो । उम्मेदवार बन्न चाहनेहरूको त हामीकहाँ लामै ताँती थियो । १६५ वटै क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी दिने समूहहरू पनि आएका थिए । सबै क्षेत्रको ठेक्का लिन्छौं भन्नेहरू पनि आएका थिए । तर, हामीले के पायौं भने– उम्मेदवारी दिन चाहने धेरैमा ‘राजनीतिक स्पष्टता’ पाएनौं । कसैलाई राजतन्त्र चाहिएको छ, कसैलाई कम्युनिष्ट व्यवस्था, कसैलाई सशस्त्र संघर्ष गर्नुपरेको छ, कसैलाई केही पनि थाहा छैन । कोही अर्को पार्टीमा टिकट नपाएर आएका छन् ।

हाम्रो मर्म र एजेन्डा बुझ्ने मान्छे नभइकन केवल भीड जम्मा गरेर पार्टी बन्दैन । अर्को कुरा, जनताले हाम्रो पार्टीको नाम र एजेन्डा अझै राम्ररी सुन्न बाँकी छ । केही कामै नगरी ‘हामी नयाँ हौं, हामीलाई भोट देऊ’ भन्नु असान्दर्भिक कुरा हो । जसरी एउटा राम्रो रिसोर्ट बनाउन तीन–चार वर्ष मिहिनेत गर्नुपर्छ, पार्टी बनाउन पनि मिहिनेत चाहिन्छ । हामी मिहिनेतको कमाइ खान चाहन्छौं, रातारात सत्तामा पुग्ने महत्त्वाकांक्षा पालेका छैनौं ।

त्यसो भए यो निर्वाचन हारे पनि फरक पर्दैन ?

पुराना पार्टीका आफ्नै समस्या होलान्, तर उनीहरू एउटा भिजन र आस्थाका लागि ३०–४० वर्ष सर्वस्व त्यागेर आएका छन् । उनीहरूको वडा–वडामा संगठन छ । हामी नयाँ हुँदैमा र पुराना खराब हुँदैमा हामी योग्य भइहाल्छौं भन्ने हुँदैन । ‘हामी नयाँ हौं, त्यसैले पुरानालाई हराएर हामीलाई भोट देऊ’ भन्नु राजनीतिक धर्म पनि होइन । हामीले आफ्नो योग्यता र एजेन्डाबाट आफूलाई प्रमाणित गर्नुपर्छ र गर्छौं । स्थानीय निर्वाचनमा हामी यथेष्ट संगठन र संवादका साथ मैदानमा उत्रिन्छौं ।

भनिन्छ, बिहानीले दिनको संकेत गर्दछ । तपाईंहरूको तयारी हेर्दा सुरुआत नै सुस्त देखियो । के निर्वाचनको सुरुवाती संकेतले नै भविष्य निर्धारण गर्दैन र ?

हामीले इतिहास बिर्सनुहुँदैन । विश्वेश्वरप्रसाद कोइरालाले बनारसको एउटा सानो पत्रिकामा सूचना छापेर नेपाली कांग्रेसको जग बसाल्नुभएको थियो । पुष्पलालले कम्युनिस्ट पार्टी शुरु गर्दा कति नै मान्छे थिए र ? मुख्य कुरा सोचाइ र विचार हो । अहिले कतिपयले फिल्म रिलिज गरे झैं ‘ड्याङडुङ’ गरेर राजनीति गरिरहनुभएको छ, त्यो उहाँहरूको रणनीति होला । तर हाम्रो बाटो फरक छ ।

हामी अर्को हप्तादेखि तराईका अधिकांश गाउँ–टोलमा पुग्दैछौं । किसान र समुदायसँग संवाद गर्ने, उहाँहरूका एजेन्डा सुन्ने र उहाँहरूलाई नै नीतिनिर्माणमा सहभागी गराउने हाम्रो योजना छ । हामी हतारिएका छैनौं । भारतीय जनता पार्टीको पृष्ठभूमि हेर्नुस्, १९२५ मा आरएसएस स्थापना भएर लगभग ८० वर्षको राजनीतिपछि मात्र उनीहरू बलियो सरकारमा पुगे । भारतीय राष्ट्रिय कंग्रेस स्थापना भएको ५० वर्षपछि मात्र सत्तामा पुगेको थियो ।

नेपाली समाजमा अहिले ‘जे गर्ने तुरुन्तै गरिहाल्ने’ भन्ने जुन छट्पटी छ, हामी त्यो भाष्य बदल्न चाहन्छौं । हामी आत्तिंदैनौं र मात्तिंदैनौं पनि । हामी प्रक्रियालाई छोड्दैनौं ।

प्रत्यक्षतर्फ १६५ मध्ये यसपटक कति क्षेत्रमा उम्मेदवारी दिनुहुन्छ ?

यसपटक हाम्रो उम्मेदवारी १५–२० वटा क्षेत्रमा मात्रै सीमित हुनेछ ।

उम्मेदवारी कहाँ कहाँ दिनुहुन्छ ?

यी मुख्यतया शहरहरू र केही सांकेतिक रूपमा सुदूरपश्चिम र कर्णालीका क्षेत्रहरू हुनेछन् । हामीलाई धेरै ठाउँबाट प्रस्ताव आएका छन्, तर टिकट नपाएर वा प्रतिशोधका आधारमा अर्को पार्टी छोडेर आउनेहरूलाई हामी अहिले स्थान दिंदैनौं । हामी एउटा राजनीतिक संस्कृति र पहिचान सेट गर्ने ‘फाउन्डेसनल’ चरणमा छौं ।

देशव्यापी संगठन बनाएर, विस्तारै एजेण्डामा सबैलाई कन्भिन्स गरेर बस्दासम्म पार्टीभित्रै निराशा आउला जस्तो लाग्दैन ?

हामी मानसिक रूपमा एकदमै तयार भएर आएका छौं । हामीलाई एककिसिमको ‘प्रिभिलेज’ पनि छ । हामी आ–आफ्नो क्षेत्रमा एककिसिमले काम गर्‍यौं, अनुभव पनि भयो । व्यवसाय परिवारले हेरेको छ अथवा संस्थागत भइसकेको छ । त्यसकारणले पार्टीलाई समय दिन खासै गाह्रो छैन ।

धेरै मान्छेले पत्याएका त छैनन् तर हाम्रो ‘थट प्रोसेस’ नै फरक छ । हामी भावी पुस्ताका लागि राम्रो संस्था बनाउँ भनिरहेका छौं । नातिनी पुस्तालाई समेत काम लाग्ने संस्था बनाऊँ न । हामी त्यसमा योगदान पुर्‍यायौं । हामीले बनाएको संस्थामा राजनीति त नातिनी पुस्ताले गर्दा पनि त हुन्छ !

केही नेतालाई झुण्ड्याएर वा गोली हानेर भ्रष्टाचार निर्मूल त हुँदैन । त्यसका लागि त फेरि पनि बलिया संस्थाहरू नै चाहिन्छन् ।

एउटा राम्रो पार्टी होस्, जसको राजनीतिक संस्कृति राम्रो होस्, आन्तरिक लोकतन्त्र राम्रो होस्, समावेशी होस् । हिमाल–पहाड–तराई, विभिन्न जातजातिका मान्छेहरू, महिला सबैको सहभागिता भएको एउटा गतिलो राजनीतिक संस्था होस् । त्यसले जनताका एजेन्डाहरू उठाओस् । त्यस्तो संस्था बनायौं भनेदेखि त हामीले राजनीति जितिहाल्छौं नि !

म एउटा उदाहरण दिन्छु– चीनमा ‘चाइनिज ब्याम्बु’ (बाँस) पाइन्छ । त्यो रोपेको ५–६ वर्षसम्म जमिनमुनि जरा मात्र फैलाएर बस्छ, माथि टुसा पनि देखिन्न । तर जब ६ वर्षपछि उम्रिन्छ, एकै वर्षमा ८०–९० फिट अग्लो हुन्छ । हामी पनि अहिले जरा फैलाउने काममा छौं ।

हामी मानसिक रूपमा १० देखि १२ वर्षसम्म संघर्ष गर्न तयार भएर आएका छौं । हामी आफ्ना नाति–नातिना पुस्तालाई समेत काम लाग्ने, आन्तरिक लोकतन्त्र भएको र समावेशी संस्था बनाउन चाहन्छौं ।

युवा वा जेनजी पुस्ताहरू त छिटो नतिजा चाहन्छन् । त्यो पुस्ताको माग यति सुस्त गतिले सम्बोधन गर्न सक्नुहुन्छ ?

युवाहरूको चाहना स्वाभाविक हो, तर म यो उमेरमा आएर आफ्ना दाजुभाइ, दिदीबहिनी वा कर्णाली र सप्तरीका नागरिकलाई ढाँटेर राजनीति गर्दिनँ । यो उमेरमा म ढाँट्न आएको होइन । जे सकिन्छ, त्यही बोल्छु ।

सस्तो लोकप्रियतावादले देशलाई कहाँ लगेर दुर्घटनामा पुर्‍याउँछ भन्न सकिंदैन । हामीले मिहिनेत गर्नैपर्छ र समुदायमा जानैपर्छ । कोशिश गर्नुपर्छ, त्यसपछि त आफसेआफ हुन्छ । हाम्रो टिममा नआत्तिने र ढुक्क भएका मान्छेहरू मात्र छौं । हामी एकदमै निर्धक्क छौं । ढुक्क छौं, खुशी छौं, नआत्तिने हाम्रो टिम छ ।

त्यसो भए राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौंका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टी बीचको पछिल्लो सहकार्यलाई कसरी हेर्नुहुन्छ ? तपाईंहरूलाई एकताको प्रस्ताव आएन ?

हाम्रो अर्को पार्टी छ भन्दैमा ढाँट्नुहुँदैन । उहाँहरूको एकताले एउटा आशाको सञ्चार गरेको छ, यसलाई हामी सकारात्मक रूपमा लिन्छौं । जेनजी युवाहरूको धेरै समूहले पनि उहाँहरूलाई समर्र्थन गरेको छ । पुरानो पार्टीहरूसँग वितृष्णा भएको आम नागरिकहरूले पनि नयाँ विकल्प खोजिरहनुभएको छ । उहाँहरूको एकताले एउटा आशाको सञ्चार गराएकै मान्छौं ।

हामीसँग पनि कुराकानीको प्रयास भएको थियो, तर हामीले आफ्नो ‘लङ टर्म थट प्रोसेस’ छोड्न चाहेनौं । हामी उहाँहरूको बाधक बन्दैनौं, तर हाम्रो बाटो आफ्नै छ ।

हाम्रो एउटा स्पष्ट अडान छ– २० प्रतिशत मत (पपुलर भोट) नपाएसम्म सरकारमा जाँदैनौं, प्रतिपक्षमै बस्छौं । आज नेपाली राजनीति प्रतिपक्षविहीन भएको छ । भदौ २३ र २४ को घटनाको एउटा कारण प्रतिपक्षीविहीन हुनु पनि हो । थोरै सिट जित्ने बित्तिकै उपप्रधानमन्त्री र गृह मन्त्रालय मागेर सरकारमा हामफाल्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाएको छ । हामी हतारमा सत्तामा गएर भोलिपल्टै पार्टी सम्हाल्न नसक्ने अवस्थामा पुग्न चाहँदैनौं । हामी रोजगारीका मुद्दा र विस्तृत नीतिगत तयारीका साथ आएका छौं, जुन कुरामा हामी कुनै सम्झौता गर्दैनौं ।

जेनजी आन्दोलनले ३६ घण्टाभित्रै सरकार परिवर्तन गरिदियो । तपाईंहरू भने विस्तारै जानुपर्छ भन्नुहुन्छ, यो युवा पुस्ताको मर्म र उनीहरूको तत्काल डेलिभरीको चाहना कसरी सम्बोधन होला ?

जेनजी मुभमेन्ट हुनुका पछाडि भ्रष्टाचार, बेथिति, दण्डहीनता र अवसरहरूमा समान पहुँच नहुनु मुख्य कारण हुन् । अवसरमा समान पहुँच भएन । सेवा–सुविधामा समान पहुँच भएन । विशेषगरी ‘नेपो बेबी’ (नातावाद) को संस्कृति र पहुँचवालाको विलासी जीवनप्रति युवाहरूको तीव्र आक्रोश छ ।

नेपालमा १९९७ सालदेखि हरेक १०–१२ वर्षमा राजनीतिक आन्दोलन भइरहेका छन् । राजनीतिक परिवर्तन त भयो, तर त्यसले समाजका सम्भावना र समस्यालाई संरचनागत रूपमा सम्बोधन गर्न सकेन । हामीकहाँ हरेक वर्ष चारदेखि पाँच लाख युवा श्रम बजारमा थपिन्छन् । उनीहरूका लागि रातारात रोजगारी सिर्जना गर्न सकिंदैन । त्यसका लागि गम्भीर नीतिगत परिवर्तन र बलिया संस्थाहरू निर्माण गर्नुपर्‍यो । केही नेतालाई झुण्ड्याएर वा गोली हानेर भ्रष्टाचार निर्मूल त हुँदैन । त्यसका लागि त फेरि पनि बलिया संस्थाहरू नै चाहिन्छन् । हामीलाई अल्पकालीन आवेग होइन, दीर्घकालीन योजना चाहिएको हो ।

हामी सरकारमा जाउँ वा नजाउँ, एक सिट ल्याउँ वा नल्याउँ, हामी डिजिटल युगको शक्ति प्रयोग गरेर सरकारलाई हाम्रा नीतिहरू कार्यान्वयन गर्न बाध्य पार्छौं । हाम्रो मुख्य ध्यान अब स्थानीय निर्वाचनमा हुनेछ ।

हाम्रो मूल एजेन्डा वडा–वडामा दिगो रोजगारी हो । यो काम स्थानीय निकाय मार्फत नै हुने हो । कृषि, पर्यटन र सामुदायिक काममा हामीसँग जति ठोस एजेन्डा अरू कुनै दलसँग छैन । कतिपय नयाँ पार्टीहरूले हाम्रा एजेन्डाहरू सेयर गरिदिन समेत प्रस्ताव आए । हामी भन्छौं– कांग्रेस, एमाले, माओवादी जोसुकैले हाम्रा एजेन्डा लैजानुस्, तर त्यसलाई नारामा मात्र सीमित नगरी कार्यान्वयन गर्ने गम्भीरता र संरचना पनि बनाउनुस् ।

तपाईंका कुरा सुन्दा तयारी नपुगेका कारण यो निर्वाचनमा अलि सुस्त जान खोज्नुभएको हो कि जस्तो देखिन्छ नि ?

त्यो ठीकै हो । तर तयारी भन्नाले हामीले कति वटा वडा र टोलमा पुगेर नागरिकसँग संवाद गर्‍यौं भन्ने कुरालाई हामी आफ्नो धर्म मान्छौं । अहिलेको प्रविधि प्रयोग गरेर स्टन्टबाजी गर्ने वा सस्तो लोकप्रियतावादमा जाने हो भने त दुई हप्ताको तयारी काफी छ । चर्का नारा लगाएर मान्छेलाई ढाँट्न हामीलाई आउँदैन ।

राजनीति गर्नेहरूले जसलाई ढाँट्न खोज्दैछौं, ती हाम्रै दाजुभाइ, दिदीबहिनी र काका–काकी हुन् । यो उमेरमा आएर ढाँटको राजनीति गर्नु इमानदारी हुँदैन । त्यसैले हामी विस्तारै तर जगैदेखि बलियो भएर जान चाहन्छौं । हामीलाई विश्वास छ– यो नै गतिलो र टिकाउ राजनीति हो ।

तस्वीर/भिडियो: कमल प्रसाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?