+
+
Shares

जेनजी आन्दोलनले योजना अगावै दल दर्ता गर्नुपर्‍यो : अध्यक्ष प्रसाईं

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते १२:०३

१ कात्तिक, धनगढी । गतिशील लोकतान्त्रिक पार्टीले जेनजी आन्दोलनका कारण योजनाभन्दा अघि नै दल दर्ता गर्नुपरेको जनाएको छ ।

निर्वाचन आयोगमा निवेदन दिएर दल दर्ताको प्रक्रियामा रहेको गतिशील लोकतान्त्रिक पार्टीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका कारण चाडै दर्ता गर्नुपरेका कारण नीतिगत कुराहरु सार्वजनिक गर्न बाँकी रहेको जनाएको हो ।

पार्टीका अध्यक्ष डा.दिनेश प्रसाईंले २०८४ को निर्वाचनलाई लक्षित गरेर आउँदो माघमा दल दर्ता गरेर अघि बढ्ने योजना रहेको बताउँदै जेनजी आन्दोलनले चाडो भएको बताए । मुलुकको राजनीतिक अवस्थाबारे दुई वर्षदेखि चासो दिएर निकासबारे योजना बनाइरहेको सुनाएका प्रसाईंले ६ महिना अघि मात्र राजनीतिक दल बनाएर अघि बढ्ने निष्कर्षमा पुगिएको बताए ।

‘नेपालको राजनीतिको बारेमा नजिकबाट नियालिरहेका थियौं । करीब दुई वर्ष अगाडिदेखि यो किसिमको राजनीतिले समाजलाई कहाँ पुगाउछ भन्ने थियो । त्यही बेलादेखि विकल्प के हुन्छ ? भन्ने हिसाबले छलफल गरेका थियो । यसमा काम गरिरहेका थियौं’, प्रसाईंले भने, ‘६ महिनाअघि दल खोल्ने निष्कर्षमा पुगेपछि २०८४ को चुनावलाई लक्षित गरेर माघमा दर्ता गर्ने योजना थियो । तर जेनजी आन्दोलनले योजना मुताविकभन्दा पनि छिट्टै दर्ता गर्न पर्‍यो ।’

फागुनमा हुने निर्वाचनमा सहभागी हुनका लागि निर्वाचन आयोगले अहिले नै दल दर्ता प्रक्रिया अघि बढाएकाले योजनाअनुसार पार्टीको नीतिगत कुराहरु सार्वजनिक गर्न नसकिएको बताए । राजनीतिलाई नयाँ ढंगले पुर्न:परिभाषित गर्नुपर्छ भन्ने हिसाबले दल खोलेर राजनीतिमा आएका उनको भनाई थियो ।

राजनीतिक दलले दुरदराजका समेत आम नागरिकको समस्या पहिचान र सम्बोधन गर्नुपर्ने भएकाले पहिलो रोजाई सुदूरपश्चिम परेको उनी बताउँछन् । सुशासन, समता र उद्यमशिलतालाई पहिलो प्राथमिकतामा राख्ने पार्टीको नीति भएको बताउँदैले मध्यमार्गी लोकतान्त्रिक धारबाट अघि बढ्ने उल्लेख गरेका छन् ।

पार्टीको नीति र संगठन विस्तारका लागि सुदूरपश्चिम पुगेका गतिशील लोकतान्त्रिक पार्टीका नेताहरुले विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट भइरहेको बताएका छन् । पार्टीमा अध्यक्ष, पाँच महासचिव, कोषाध्यक्षसहितका ७ पदाधिकारी मात्र रहने बताइएको छ ।

२० प्रतिशत पपुलर मत प्राप्त नगर्दासम्म सरकारमा नजाने, पदाधिकारी र सदस्य रहेको व्यक्ति चुनावमा उम्मेदवार बन्न नपाउने, क्रिशायिशल सदस्यताको अवधी १६ वर्ष मात्र कायम गर्ने नीति पार्टीले लिएको अध्यक्ष प्रसाईँले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?