२० कात्तिक, भैरहवा । गतिशील लोकतान्त्रिक पार्टी खोलेर राजनीतिमा होमिएका बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पर्यटन नीति सार्वजनिक गरेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रित गरी बिहीबार उनको पार्टीले पर्यटन अवधारणा सार्वजनिक गरेको हो । सोही अवसरमा बस्नेतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई काठमाडौंको वैकल्पिक विमानस्थलका रूपमा विकास गर्न सकिने बताए ।
अब काठमाडौंले धान्न नसक्ने अन्तर्राष्ट्रिय उडान भइरहेको भन्दै उनले अब ट्राफिक भैरहवामा ल्याउनुको विकल्प नरहेको बताए ।
युरोपेली जहाज निर्माता कम्पनी एयरबससँगको सहकार्यमा गरिएको अध्ययनबाट यो विमानस्थलबाट लामो दूरीको यात्रा सम्भव रहेको पुष्टि भएको जानकारी उनले दिए ।
‘गत आर्थिक वर्ष कतारले मात्र यहाँ २०–२२ पटक वाइड बडी जहाजबाट उडान अवतरण गरेको छ,’ उनले भने, ‘भैरहवाबाट अब लङहल (लामो दूरी) उडान गर्नुको विकल्प छैन ।’

यो योजना पूरा गर्न नेपाल वायुसेवा निगम (नेवानि) को सुधार र पुनरुत्थान अत्यावश्यक रहेको उनले बताए । बुद्ध एयरको व्यवस्थापन अनुभवका आधारमा नेवानिलाई ६ महिनाभित्र सुधारको बाटोमा लैजान सकिने उनले बताए ।
नेवानिलाइ कम्तीमा ५० जहाज पुर्याउने र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई हब विमानस्थलका रूपमा विकास गर्न सकिने योजनामा आफूहरूले अध्ययन गरेको उनले बताए ।
नेवानिलाई पब्लिक कम्पनी बनाउने र ३० प्रतिशत सरकारको स्वामित्व राखेर बाँकी सर्वसाधारणको सेयर रहने गरी व्यवस्थापन सुधार गर्नुपर्ने उनले बताए ।
त्यसपछिको नेवानिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ग्लोबल टेन्डरबाट आह्वान गरी संसारकै उत्कृष्ट वायुसेवा कम्पनी बनाउन सकिने उनले बताए । ‘इथियोपियाले १ सय जहाज उडाउन सक्छ, हामी किन सक्दैनौं,’ उनको प्रश्न छ ।
प्रतिक्रिया 4