+

मुकबाङ ट्रेन्ड : देखावटी खन्चुवापनले के-के गर्छ हानि ?

तपाईं एक छाकमा कति खान सक्नुहुन्छ ? डेढ वित्ताको पेट भर्न उति धेरै खानाको थुप्रो लगाइरहनुपर्दैन । तर, अहिले सामाजिक सञ्जालतिर चाहार्ने हो भने कतिपयले ‘बाघलाई पुग्ने खाना’ राखेर बसेको देखिन्छन् ।

अनेक व्यञ्जनको थुप्रो लगाएर कुनै मान्छेले एकै झमटममा खान तम्तयार भएपछि आउने यस्तै जिज्ञासाहरूले ‘मुकबाङ’ ट्रेन्ड उत्कर्षमा पुर्‍याएको छ । मुकबाङ कोरियन शब्दबाट आएको हो, जसको अर्थ अंग्रेजीमा ‘इटिङ ब्रोडकास्ट’ हुन्छ । यसमा होस्टले क्यामेरा अगाडि बसेर अत्यधिक मात्रामा खाना खान्छन्, दर्शकहरूसँग खानाको बारेमा बयान गर्छन् ।

 

Advertisement

स्वास्थ्य जोखिम

मुकबाङ ट्रेन्डले स्वास्थ्यमा गम्भीर असर पार्छ । यसमा प्रयोग हुने खानाहरूमा मैदा, टेस्टिङ पाउडरहरू मिसाइएको हुन्छ, जसले मिठो लाग्ने र बारम्बार खान मन लाग्ने बनाउँछ । अत्यधिक मात्रामा जंक फूड र स्ट्रिट फूड जो डिप फ्राइड हुन्छन् र बारम्बार तताइने तेलबाट ट्रान्स फ्याट उत्पादन हुन्छ ।

मोटोपन बढ्ने समस्या हुन्छ । यसले हर्मोनल असन्तुलन, उच्च रक्तचाप, डायबिटीज, मुटु रोग, छाला एलर्जी लगायतका समस्या बढ्ने पोषणविद् प्रविण भट्टराई बताउँछन् ।

यसरी खाँदा के हुन्छ ?

बढी खानेकुरा खाँदा मोटोपन निम्त्याउछ, जसबाट डायबिटीज, उच्च रक्तचाप जस्ता १० भन्दा बढी रोगहरू एकैसाथ आउन सक्छन् ।

कहिलेकाहीँ देखावटीका लागि अखाद्य वस्तुहरू जस्तै काँचो अण्डा, काँचो मासु र शरीरसँग नमिल्ने चिजहरू समेत खाइन्छ, जसले पाचन प्रणालीमा असर पार्छ र गम्भीर जोखिम निम्त्याउछ ।

मुकबाङमा प्रायः जंक फुड, मैदाजन्य खाना, चिल्लो–पिरो स्ट्रिट फुड, अत्यधिक मसला र नुन प्रयोग गरिएका परिकार समावेश हुन्छन् । एकै व्यक्तिले धेरै मानिसको भाग बराबर खाना खाने दृश्यले मनोरञ्जन त दिन्छ, तर यसले ‘ओभर इटिङ’ अत्यधिक खाने बानीलाई सामान्य र आकर्षक बनाएर प्रस्तुत गर्छ ।

मुकबाङमा देखाइने अधिकांश खानेकुरा पोषणका हिसाबले कमजोर हुने पोषणविद् प्रविण भट्टराई बताउँछन् ।

‘बारम्बार यस्ता भिडियो हेर्दा मानिसमा आवश्यकताभन्दा बढी खाने बानी विकास हुन्छ’ भट्टराई भन्छन्, ‘जसले मोटोपन, डायबिटिज, उच्च रक्तचाप, हर्मोनल असन्तुलन र मुटुरोग जस्ता दीर्घकालीन समस्या निम्त्याउछ।’