News Summary
Generated by OK AI. Editorially reviewed.- जाडोमा ज्याकेटले शरीरलाई न्यानो बनाएर चिसोबाट बचाउँछ र यसको सही धुने तरिका आवश्यक हुन्छ।
जाडोको समयमा चिसोबाट बच्न ज्याकेट आवश्यक हुन्छ । यसले बाहिरको चिसो भित्र पस्न नदिएर अनि शरीरबाट निस्किएको तातो संचित गरी शरीरलाई न्यानो बनाएर राख्छ । जाडोमा ज्याकेट लगाउँदा हुने न्यानोपनबाट हामीलाई आनन्द मिल्छ तर ज्याकेट धुने कुरा यो समयका लागि एक कठिन काम हो ।
ज्याकेटमा भुवा तथा ऊनहरूको प्रयोग हुने भएकाले पानीमा डुबाउनेबित्तिकै निकै गह्रुंगो हुन्छ । अर्कातर्फ यसमा प्रयोग हुने वाटरप्रुफ कपडाले पनि धुन कठिन बनाउँछ । धुनेबेला तरिका मिलेन भने ज्याकेट चाउरी पर्ने, बिग्रिने जोखिम पनि उस्तै रहन्छ ।
त्यसो भए सही तरिकाले ज्याकेट कसरी धुने त ?
दागहरू सफा गर्ने
हामीले लगाएको एक–दुई दिनमै ज्याकेटमा दाग र फोहोरहरू लाग्न सक्छ । कतै दाग लाग्नेबित्तिकै पूरा ज्याकेट धुनतिर नलागेर त्यो दाग मात्रै सफा गर्ने उपाय अपनाउनु बुद्धिमानी हुन्छ । दाग लागेको स्थानमा हल्का डिटर्जेन्ट लगाउने । त्यसपछि यसलाई १५ मिनेट जति राखेर चिसो पानीले पखाल्ने अनि सुनाउने गर्दा दाग जान्छ ।
हातले धुँदा के गर्ने ?
यदि ज्याकेटमा धेरै फोहोर र दागहरु छैन भने एउटा ठूला भाँडामा पानी राखेर हल्का डिटर्जेन्ट राख्ने अनि १५ देखि ३० मिनेट भिजाउने । त्यहाँबाट निकालेर सफा पानीले पखाल्ने अनि निचोरेर सुकाउन सकिन्छ ।
मेसिनमा धुँदा के गर्ने ?
यदि घरमा लुगाधुने मेसिन छ भने ज्याकेट मेसिनमा धुन मिल्छ । तर यसमा ज्याकेट नबिग्रियोस भन्नका लागि र राम्रोसँग सफा हुनका लागि केही कुरामा ध्यान दिनुपर्छ । केही अलि कडा दागहरू छन् भने सुरुमै त्यसलाई सफा गरेर मात्रै मेसिनमा राख्नु उपयुक्त हुन्छ । डिटर्जेन्ट ठिक्क प्रयोग गर्नु उपयुक्त हुन्छ । चिसो मोडमा राखेर धुनुपर्छ ।अरु धेरै कपडासँग मिसाएर भन्दा पनि ज्याकेट मात्रै हाल्दा राम्रोसँग सफा हुन्छ ।
कसरी सुनाउने ?
धुने मात्रै नभएर ज्याकेट सुकाउनु पनि महत्त्वपूर्ण कुरा हुन्छ । यदि तपाईं मेसिनमा सुकाउँदै हुनुहुन्छ भने, कम तापक्रम प्रयोग गर्नुहोस् । बेला बेला ज्याकेटलाई हल्लाउनुहोस । यदि तपाईं हावा तथा घाममा सुकाउँदै हुनुहुन्छ भने, ज्याकेटलाई राम्रोसँग घाम लाग्ने र हावा चल्ने ठाउँमा राख्नुहोस् र कहिलेकाहीं हल्लाउनुहोस । यदि अतिरिक्त पानीहरू कुनै भागमा छन् भने त्यसलाई बेला–बेलामा निचोर्नुपर्छ ।
ज्याकेट कति समयको फरकमा धुनुपर्छ ?
कति पटक धुने भन्ने कुरा ज्याकेटको प्रकार तथा यसको प्रयोगका तरिकामा भरपर्छ । यदि पफर ज्याकेट हो भने बारम्बार धुनु पर्दैन । आवश्यक पर्दा मात्र धुनुहोस् र बीचमा हावामा सुकाउनुहोस्।
प्रतिक्रिया 4