News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी विदेश मन्त्रालयले नेपाललाई पनि भिसा बन्ड राख्नुपर्ने देशको सूचीमा समावेश गरी जनवरी २१ देखि लागू हुने गरी नयाँ नियम जारी गरेको छ।
- नेपाली नागरिकले अमेरिकाको बी-१/बी-२ भिसा आवेदन गर्दा न्यूनतम ५ हजारदेखि अधिकतम १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्नेछ।
- धरौटी फिर्ता पाउनका लागि तोकिएको ३ विमानस्थलबाट मात्रै अमेरिका प्रवेश र बहिर्गमन गर्नुपर्ने र भिसा म्याद नाघेर बस्न नहुने नियम लागू गरिएको छ।
२३ पुस, काठमाडौं । अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार, अब नेपाली नागरिकहरूले पनि अमेरिकाको बी-१/बी-२ (पर्यटक वा व्यावसायिक) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने भएको हो।
नेपाललाई जनवरी २१ देखि लागू हुने गरी यो सूचीमा राखिएको छ। भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले व्यक्तिको अवस्था हेरी धरौटीको रकम तय गर्नेछन् । यस्तो धरौटीको न्यूनतम रुपैयाँ ५ हजार अमेरिकी डलर हुनेछ भने अधिकतम् रकम १५ हजार अमेरिकी डलर हुनेछ । धरौटीको रकम भिसा अन्तर्वार्ताको समयमा तय गरिनेछ।
यो रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल पे डट गभ मार्फत सिधै जम्मा गर्नुपर्नेछ। कुनै पनि तेस्रो पक्ष वा एजेन्टलाई यस्तो रकम नबुझाउन मन्त्रालयले सचेत गराएको छ।
३ वटा विमानस्थलबाट मात्र प्रवेश र बहिर्गमन
भिसा बन्ड राखेर अमेरिका जाने नेपालीहरूले अब आफू खुसी जुनसुकै विमानस्थल प्रयोग गर्न पाउने छैनन्। उनीहरूले प्रवेश गर्दा र अमेरिका छोड्दा तोकिएका यी ३ विमानस्थल मात्र प्रयोग गर्नुपर्ने नयाँ व्यवस्थामा उल्लेख छ ।
ती विमानस्थलहरूमा न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्गटन डिसी स्थित वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल र बोस्टनको बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।
यी बाहेक अन्य विमानस्थल प्रयोग गरेमा धरौटी रकम जफत हुन सक्ने र भविष्यमा प्रवेशमा रोक लाग्न सक्ने चेतावनी अमेरिकी विदेश मन्त्रालयले दिएको छ ।
धरौटी फिर्ता कसरी हुन्छ?
यसरी राखिएको धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिने सूचनामा उल्लेख छ, तर त्यसका लागि आवेदकले कैयौं शर्तहरू पूरा गर्नुपर्ने हुन्छ ।
तोकिएको समयभित्रै अमेरिका छोडेमा, भिसाको शर्त उल्लंघन नगरेमा र तोकिएकै ३ वटा विमानस्थलबाट बाहिरिएको रेकर्ड देखिएमा मात्र धरौटी रकम फिर्ता हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
भिसाको म्याद नाघाएर अमेरिकामा बसेमा वा त्यहाँ पुगेर शरण (असाइलम) दाबी गर्यो भने उक्त धरौटी रकम जफत हुने नयाँ नियम रहेको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार, जुन देशका नागरिकहरू अमेरिका पुगेपछि समयमै आफ्नो देश फर्कदैनन्, त्यस्ता देशहरूलाई लक्षित गरी यो पाइलट प्रोग्राम ल्याइएको हो।
नेपालसँगै बंगलादेश, भुटान, नाइजेरिया र भेनेजुएला लगायत ३८ देशहरू अहिले यो सूचीमा छन्। यस सूचीमा विशेषगरी अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एशियाली मुलुकहरू समावेश छन्।
यो सूचीमा भेनेजुएलालाई पनि समावेश गरिएको सूचनामा उल्लेख छ ।
गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै रिपब्लिकन राष्ट्रपति ट्रम्पले कडा आप्रवासन नीति अपनाउँदै आएका छन्। जसमा आक्रामक देशनिकाला अभियान, भिसा र ग्रीन कार्ड खारेजी, र आप्रवासीहरूको सामाजिक सञ्जालका पोस्ट र विगतका भाषणहरूको सूक्ष्म जाँच समावेश छन्।
मानव अधिकारवादी समूहहरूले ट्रम्पको आप्रवासन र यात्रा सम्बन्धी नीतिहरूको व्यापक भर्त्सना गर्दै यसले उचित कानुनी प्रक्रियाको ग्यारेन्टी र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने बताएका छन्। यद्यपि, ट्रम्प र उनका सहयोगीहरूले भने यी नीतिहरू आन्तरिक सुरक्षा सुधारका लागि ल्याइएको दाबी गर्दै आएका छन्।
प्रतिक्रिया 4