News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीबाट तराईतर्फ जाँदै गरेको ट्रकमा क्रूर तरिकाले गाई–गोरु झुन्ड्याइएको अवस्थामा भेटिएपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
२२ पुस, काठमाडौं । यातनापूर्ण तरिकाले गाई-गोरु ढुवानी गर्दै गरेको ट्रकलाई नियन्त्रणमा लिइएको छ । सिन्धुलीबाट तराईतर्फ जाँदै गरेको ट्रकमा गाई–गोरुलाई क्रूर तरिकाले झुन्ड्याइएको झुन्ड्याइएको अवस्थामा देखेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । भिमानका सरोजप्रसाद फुय्याल र राम मगरले आज बिहान गौरीडाँडा ट्राफिक प्रहरीको सहयोगमा ट्रक नियन्त्रणमा लिएका हुन् ।
नियन्त्रणमा लिइएको ट्रकलाई बर्दिबास प्रहरी कार्यालयमा हस्तान्तरण गरिएको छ । गाडी नम्बरको फोटोसहित प्रमाणहरू प्रहरीमा बुझाइएको डीएसपी शैलेंद्र कुमार भट्टले जानकारी दिए । ट्रकमा तीनवटा गाई र तीनवटा गोरु थिए । उनीहरू बाँधेर चलमलाउन वा कराउन पनि नसक्ने अवस्थामा राखिएको थियो ।
नियन्त्रणमा लिँदा ट्रकमा कुनै भेटेरिनरी बिल, क्वारेन्टाइन प्रमाणपत्र, अन्तर–जिल्ला कर रसीद वा कानुनी कागजातहरू फेला नपरेको डिएसिपीले बताए । ट्रक र चालकलाई भन्सार कार्यालय जलेश्वर पठाइएको छ । भन्सारले थप छानबिन र सम्बन्धित कारबाही गर्ने डिएसिपी भट्टले जानकारी दिए ।
पशु ढुवानी मापदण्डअनुसार पशुको मुख गाडीको अगाडि चालकतर्फ फर्किएको हुनुपर्छ । नाक वा पुच्छर बाँध्न निषेध छ । राँगा–भैंसी, खसी–बोका राख्ने गाडीमा कम्तीमा ६ इन्च बाक्लो पराल, भुस वा सोतार राख्नुपर्छ ।
मुलुकी ऐन (अपराध संहिताको दफा २९०) अनुसार पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न निषेध । यस्तो गरेमा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ । तर, व्यवहारमा पशु ढुवानीमा मापदण्ड पालना नहुने र कारबाही पनि कमजोर छ ।
प्रतिक्रिया 4