+
+
Shares

भेनेजुएलापछि कुन देश छ अमेरिकाको निशानामा ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले शनिबार राति भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई गिरफ्तार गरी न्यूयोर्कको जेलमा राखेको छ।
  • राष्ट्रपति ट्रम्पले भेनेजुएलामा अमेरिकी नियन्त्रण रहने र आफ्नो मन्त्रिपरिषद्ले शासन सम्हाल्ने बताएका छन्।
  • भेनेजुएलाको विपक्षीलाई सत्ता सुम्पन इच्छुक नभएको ट्रम्पले बताए र उपराष्ट्रपति डेल्सी रोड्रिगेजप्रति आशा व्यक्त गरे।

२१ पुस, काठमाडौं । अमेरिकाले शनिबार राति भेनेजुएलामा सैन्य हस्तक्षेप गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई गिरफ्तार गर्‍यो ।

काराकासबाट अपहरणशैलीमा गिरफ्तार गरेर अमेरिकाले मदुरो दम्पत्तिलाई अहिले न्यूयोर्कको एउटा जेलमा थुनेको छ ।

अमेरिका पुर्‍याइएपछि ह्वाइट हाउसले सामाजिक सञ्जालमा मदुरोको एउटा भिडियो पोस्ट गर्‍यो । उक्त भिडियोमा मदुरोका हातमा हथकडी र खुट्टामा चप्पल देखिन्छ । भिडियोमा मादुरोले भनिरहेका छन्, ‘शुभरात्रि, नयाँ वर्षको शुभकामना ।’

मदुरोको गिरफ्तारीको अन्तर्य भेनेजुएलामा रहेको विशाल तेल भण्डारप्रति अमेरिकाको गहिरो चासो रहेको कुरा स्वीकार गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै हिचकिचाहट देखाएनन् ।

उनले खुलेरै भनेका छन्– ‘अब हामी भेनेजुएला चलाउँछौं, हाम्रा अत्यन्तै ठूला अमेरिकी तेल कम्पनीहरू त्यहाँ जानेछन्, अर्बौं डलर खर्च गर्नेछन् र अत्यन्तै कमजोर बनेको आधारभूत संरचनालाई सुधार गर्नेछन् । हामी ठूलो परिमाणामा तेल बिक्री गर्नेछौं ।’

भेनेजुएलाको सत्ता कसको नियन्त्रणमा ?

राष्ट्रपति मदुरोलाई पक्राउ गरी अमेरिका लगिएपछि अब भेनेजुएलाको राजनीतिक भविष्य के हुनेछ भन्नेबारे राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमार्फत आफ्नो योजनाको मोटामोटी खाका प्रस्तुत गरे । उनका अनुसार भेनेजुएला हाललाई अमेरिकी नियन्त्रणमै रहनेछ ।

ट्रम्पले आफ्नो मन्त्रिपरिषद्का केही सदस्यहरू चयन गर्ने र उनीहरूले नै भेनेजुएलाको जिम्मेवारी सम्हाल्ने बताएका छन् ।

भेनेजुएलाको शासन सञ्चालनमा कति समयसम्म अमेरिकी हस्तक्षेप रहने हो भन्ने स्पष्ट छै्रन । ‘उचित परिवर्तन (ट्रान्जिसन) नहुन्जेलसम्म हामी त्यहाँ रहनेछौँ’ भन्ने अभिव्यक्तिबाट ट्रम्पले अमेरिकाको उपस्थिती भेनेजुएलामा छोटो नहुने संकेत गरेका छन् ।

साथै ट्रम्पले भेनेजुएलाको जमीनमै अमेरिकी सैनिक तैनाथ सक्ने सम्भावनालाई पनि नकारेनन् ।

विपक्षलाई सत्ता सुम्पन इच्छुक छैनन् ट्रम्प

३ जनवरीमा भेनेजुएलामा जे भयो, त्यसले देशको विपक्षी समूह निकै उत्साहित देखियो । मदुरोलाई अमेरिकाले सत्ताच्यूत गरेपछि शासनको बागडोर सम्हाल्न पाउने आशामा थिए भेनेजुएलाका विपक्षी । तीमध्ये एक थिइन् मारिया कोरिना मचाडो ।

मचाडो भेनेजुएलाकी विपक्षी नेतृ तथा २०२५ की नोबेल शान्ति पुरस्कार विजेता हुन् ।

मदुरोको गिरफ्तारीपछि मचाडोले सामाजिक सञ्जालमा लेखेकी थिइन् कि स्वतन्त्रताको क्षण आइपुगेको छ । उनले २०२४ को चुनावका विपक्षी उम्मेदवार एडमुण्डो गोन्जालेजलाई तुरुन्त राष्ट्रपति पद सम्हाल्न आग्रह समेत गरिन् ।

तर ट्रम्प भेनेजुएलाको विपक्षलाई सत्ता सुम्पने मनस्थितिमा छैनन् । भेनेजुएलाको सत्ता हाँक्न मचाडोसँग जनस्तरको समर्थन र सम्मान नरहेको ट्रम्पको टिप्पणी छ । बरु यसको सट्टा ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजप्रति थोर बहुत आशा व्यक्त गरेका छन् ।

मदुरोको अनुपस्थितिमा भेनेजुएलाको सर्वोच्च अदालतले रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको छ ।

कार्यवाहक राष्ट्रपति रोड्रिगेज अमेरिकी सरकारको चाहना अनुसार भेनेजुएलालाई पुन: महान बनाउनका लागि आवश्यक सबै कुरा तयार रहेको दाबी ट्रम्पको छ ।

तर ट्रम्पले समर्थन गर्दा पनि क रोड्रिगेजले भने आफ्नो देशको रक्षा गर्ने संकल्प व्यक्त गरिन् र मदुरो दम्पत्तिलाई तत्काल रिहा गर्न माग गरेकी छन् ।

भेनेजुएलाको आग्रहमा ५ जनवरी अर्थात् आज संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दैछ । यद्यपि, अमेरिका स्वयं यूएनएससीको स्थायी सदस्य हो ।

विज्ञहरूका अनुसार, संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन वा कुनै प्रत्यक्ष उक्साहटबिना भेनेजुएलामाथि आक्रमण र सत्ता परिवर्तन गराएको आरोपमा अमेरिकामाथि प्रतिबन्ध लगाउने जस्ता कदम व्यावहारिक रूपमा सम्भव देखिँदैनन् ।

पश्चिमी गोलार्धका लागि यसको अर्थ के ?

भेनेजुएलामा हालसम्म भएका घटनाक्रम र अब के हुनेछ भन्ने विषय विशेष गरी ल्याटिन अमेरिकी र क्यारेबियन देशहरूका लागि गम्भीर चासोको विषय बनेको छ ।

क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले अमेरिकी कारबाहीलाई राज्य आतंकवाद भन्दै तत्काल अन्तर्राष्ट्रिय हस्तक्षेपको अपिल गरेका छन् ।

क्युबाले क्षेत्रका सबै देशहरूलाई सतर्क रहनुपर्ने चेतावनी पनि दिएको छ । कोलम्बियाले पनि भेनेजुएलामाथिको आक्रमणलाई सम्पूर्ण ल्याटिन अमेरिकी देशहरूमाथिको हमला भनेको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले मदुरोलाई हटाएर अमेरिकालेसीमा नाघेको भन्दै आलोचना गरेका छन् ।

ट्रम्प प्रशासनले ल्याटिन अमेरिका–क्यारेबियनका अन्य देशहरूमा पनि केही गर्न सक्छ भन्ने मिश्रित संकेत ह्वाइट हाउसबाट नै आएको छ ।

मदुरो पक्राउको घोषणा गरेपछि ट्रम्पले भेनेजुएलामाथिको आक्रमण मेक्सिकोका लागि चेतावनी होइन भनेका छन् । तर, कार्टेलद्वारा सञ्चालित देशका रूपमा मेक्सिकोबारे पनि केही गर्नुपर्ने भन्दै ट्रम्पले केही संकेत गर्न खोजेको देखिन्छ ।

छिमेकी देश मेक्सिकोसँग ट्यारिफको विषयमा ट्रम्प प्रशासनको तनाव बढेको छ । यसबाहेक गैरकानुनी आप्रवासीलाई अमेरिका प्रवेश गर्न दिएको भन्दै लागूपदार्थ आपूर्तिको विषयमा पनि ट्रम्पले मेक्सिकोमाथि आरोप लगाएका छन् ।

उनका अनुसार, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शाइनबाउम राम्री महिला हुन्, तर (ड्रग) कार्टेलहरूले मेक्सिको चलाइरहेका छन् । उनी (शाइनबाउम) मेक्सिको चलाइरहेकी छैनन्,’ ट्रम्पले भने ।

पश्चिमी गोलार्धमा आफ्नो आकांक्षा स्पष्ट पारेका छन् उनले । ट्रम्पले भने, ‘पश्चिमी गोलार्धमा अमेरिकी प्रभुत्वमाथि अब कहिल्यै प्रश्न उठ्ने छैन ।’ भूराजनीतिक विश्लेषकहरूका अनुसार, पश्चिमी गोलार्धका देशहरूलाई लक्षित गर्दै ट्रम्प प्रशासनका चेतावनीहरू क्रमश: अझ स्पष्ट हुँदै गएका छन् ।

न्युयोर्क पोस्टको एक रिपोर्टअनुसार, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोलाई चेतावनी दिँदै ट्रम्पले उनीहरूले कोकेनको कारखाना चलाएको आरोप लगाएका छन् ।

‘उनीहरूसँग कोकेन मिलहरू छन्, कोकेन बनाउने कारखानाहरू छन् । र हो, म आफ्नो पहिलो बयानमै अडिग छु, उनीहरू कोकेन बनाइरहेका छन्,’ उनले भने ।

यसअघि पनि ट्रम्पले पेत्रोलाई समस्या सिर्जना गर्ने नेता भन्दै सतर्क रहन चेतावनी दिएका थिए ।

क्युबा पनि ट्रम्पको निशानामा छ । ३ जनवरीको पत्रकार सम्मेलनमा ट्रम्पले क्युबाका जनतालाई सहयोग गर्न चाहेको बताएका थिए ।

लस एन्जलस टाइम्सका अनुसार ट्रम्पले भने, ‘क्युबा, तपाईंलाई थाहा छ, अहिले राम्रो अवस्थामा छैन । त्यहाँको प्रणाली क्युबाका लागि राम्रो सावित भएको छैन । त्यहाँका मानिसहरूले धेरै–धेरै वर्षदेखि कठिनाइ भोग्दै आएका छन् । र मलाई लाग्छ, क्युबामा केही यस्तो हुन गइरहेको छ, जसबारे हामी कुरा गर्नेछौँ ।’

ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा सैन्य हस्तक्षेप गर्ने, आन्तरिक मामिलामा प्रत्यक्ष तथा अप्रत्यक्ष हस्तक्षेप गर्ने, सरकारहरू अस्थिर पार्ने र सत्ता ढाल्न भूमिका खेल्ने अमेरिकाको लामो इतिहास रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?