+
+
Shares

भेनेजुएलामा अमेरिकी हस्तक्षेपपछि विश्व राजनीतिमा हलचल

रुस, चीन लगायतका शक्ति राष्ट्र अमेरिकी कदमको विरोधमा उत्रिएका छन् भने अमेरिकाका साझेदार राष्ट्रहरूले सदाजस्तै प्रशंसा र मौन समर्थन जनाएका छन् । विश्वकै सबभन्दा धेरै तेल भण्डार भएको देश हो, भेनेजुएला । यही ‘कालो सुन’ नै भेनेजुएलामा अमेरिकी प्रशासनले तीव्र रुचि देखाउने मुख्य कारण हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते २१:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगेको जनाएको छ।
  • रुस, चीन लगायतका शक्ति राष्ट्रहरूले अमेरिकी सैन्य हस्तक्षेपको कडा विरोध गरेका छन् भने केही साझेदार राष्ट्रहरूले मौन समर्थन जनाएका छन्।
  • संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभएको छ।

२० पुस, काठमाडौं । एक सार्वभौम र स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपले शनिबारयता विश्व तरंगित बनेको छ ।

अन्तर्राष्ट्रिय कानुनको उल्लघंन गरेर देशको सरकार प्रमुखलाई नै बन्दी बनाउने अमेरिकी कदमको विश्वस्तरमा समर्थनभन्दा बढ्ता विरोध देखिन्छ ।

रुस, चीन लगायतका शक्ति राष्ट्र अमेरिकी कदमको विरोधमा उत्रिएका छन् भने अमेरिकाका साझेदार राष्ट्रहरूले सदाजस्तै प्रशंसा र मौन समर्थन जनाएका छन् ।

पछिल्लो केही हप्तादेखि चरमस्तरमा पुगेको दुई देशबीचको तनावपछि भएको अमेरिकी सैन्य हस्तक्षेपले भेनेजुएलालाई गहिरो अनिश्चिततामा धकेलेको छ ।

भेनेजुएलाको राजधानी काराकासको सडकमा आइतबार मदुरोको बर्हिगमनको खुसीयाली मनाउने र अमेरिकाको सैन्य हस्तक्षेपको विरोध गर्ने दुवैथरी समूह देखिएका छन् ।

दक्षिण अमेरिकाको उत्तरी तटमा पर्ने भेनेजुएलाको पश्चिममा कोलम्बिया, दक्षिणमा ब्राजिल र पूर्वमा गुयाना रहेको छ । उत्तरमा क्यारेबियन सागर र एटलान्टिक महासागर छन् । रणनीतिक रूपमा पनि भेनेजुएलाको अवस्थिति अमेरिका र युरोप जोड्ने प्रमुख समुद्री मार्गसम्म पहुँच राख्न सक्ने छ ।

विश्वकै सबभन्दा धेरै तेल भण्डार भएको देश हो, भेनेजुएला । उत्तर–पश्चिममा पर्ने मराकाइबो क्षेत्र र ओरिनोको बेल्टमा भेनेजुएलाको सबभन्दा ठूलो तेल भण्डार छ ।

२०औं शताब्दीको सुरुआतमा तेल भण्डार पत्ता लागेपछि भेनेजुएला दशकौंसम्म ल्याटिन अमेरिकामा सबभन्दा धनाढ्य देश बनेको थियो । तर, तेलमा आधारित राजस्वमाथिको निर्भरता, गलत आर्थिक कदम र राजनीतिक अस्थिरताका कारण भेनेजुएलाको आर्थिक स्थिति कमजोर हुँदै गयो ।

अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए)का अनुसार भेनेजुएलामा करिब ३०३ अर्ब ब्यारेल कच्चा तेल छ, जुन विश्वकै भूमिगत कच्चा तेलको स्रोतको लगभग पाँचौं हिस्सा हो ।

यही ‘कालो सुन’ नै भेनेजुएलामा अमेरिकी प्रशासनले तीव्र रुचि देखाउने मुख्य कारण हो । अमेरिका आफैं तेलको ठूलो उत्पादक देश हो, सोही कारण उसलाई भारी मात्रामा कच्चा तेलको आवश्यकता पर्दछ ।

भेनेजुएलासँग विशाल तेल भण्डार भएपनि लगातार उसको उत्पादन घट्दै गएको छ । हाल भेनेजुएलाले प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन गर्दै आएको छ ।

जबकी सन् १९९९ मै भेनेजुएला प्रतिदिन झण्डै ३५ लाख ब्यारेल तेल उत्पादन गर्ने तहमा पुगेको थियो ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्ध, जर्जर सरकारी संयन्त्र र राजनीतिक अस्थिरताका कारण पनि भेनेजुएला कमजोर भयो ।

अमेरिकाले भेनेजुएलामा सैन्य दबाब मात्रै कायम गर्न खोजेको होइन, त्यहाँको कच्चा तेलको भण्डारमा उसको वक्रदृष्टि स्पष्ट देखिन्छ । राष्ट्रपति ट्रम्प स्वयंले नै अब भेनेजुएलामा अमेरिकी कम्पनीले लगानी गर्ने र बिग्रिएको पूर्वाधार मर्मत गरेर तेल उत्पादन सुचारु गर्ने अभिव्यक्ति दिएका छन् ।

रुस र चीनको प्रभाव कम गर्दै अमेरिका भेनेजुएलामा आफू अनुकूल सरकार बनाउन चाहन्छ । राष्ट्रपति ट्रम्पले मदुरो दम्पत्तिको गिरफ्तारीपछि अब भेनेजुएलालाई अमेरिका स्वयंले सञ्चालन गर्ने घोषणा गरे ।

‘अमेरिकाले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य आक्रमण सफलतापूर्वक सम्पन्न गरेको छ, र त्यस क्रममा राष्ट्रपति निकोलास मदुरो तथा उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको छ,’ ट्रम्पले शनिबार बिहान आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे ।

लगत्तै ट्रम्पले औपचारिक सत्ता हस्तान्तरण नहुन्जेलसम्म अनिश्चितकालका लागि भेनेजुएलाको शासन सञ्चालनको केन्द्रीय भूमिकामा अमेरिका रहने बताए । साथै उनले भेनेजुएलामा दीर्घकालीन सैन्य हस्तक्षेपको सम्भावनालाई पनि नकारेनन् ।

‘हामी नै यसलाई (भेनेजुएला) चलाउनेछौं,’ फ्लोरिडास्थित आफ्नै मार–ए–लागो क्लबबाट ट्रम्पले घोषणा गरे ।

भेनेजुएलाका विदेशमन्त्री इभान गिल पिन्टोले आक्रमणको विरोधमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको जानकारी दिए ।

‘जनताको शक्तिअगाडि कुनै पनि कायरतापूर्ण आक्रमण टिक्न सक्दैन, हामी विजयी भएर निस्कनेछौं,’ विदेशमन्त्री पिन्टोले टेलिग्राममा लेख्दै संयुक्त राष्ट्रसंघलाई पठाएको पत्र सार्वजनिक गरे ।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई तत्काल रिहा गर्न माग गरेकी छन् ।

ट्रम्पले यसअघि रोड्रिगेजलाई राष्ट्रपतिको रूपमा शपथ गराइएको दाबी गरेका थिए । रोड्रिगेजले अमेरिकी कारबाहीले भेनेजुएलाको भौगोलिक अखण्डतामाथि निर्मम आक्रमण भएको भन्दै निन्दा गरिन् ।

ट्रम्पले शनिबार बिहान मदुरो यूएसएस एलडब्लुओ जेआईएमए युद्धपोतमा रहेको तस्वीर सार्वजनिक गरे, जहाँ उनलाई र उनकी पत्नीलाई न्यूयोर्क लैजानुअघि राखिएको थियो ।

उनीहरूलाई शनिबार साँझ न्यूयोर्क लगिएको हो । मदुरोलाई हाल ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ । मदुरो दम्पत्तिविरुद्ध लागुऔषध तस्करीकै मुद्दामा प्रारम्भिक उजुरी दायर गरिएको छ ।

न्यूयोर्कको दक्षिणी जिल्ला अदालतमा दायर नयाँ अभियोगपत्रमा अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले मदुरोले ‘राज्य–प्रायोजित लागुऔषध गिरोह’ सञ्चालन गरेको र देशभित्र लागुऔषध तस्करी सहज बनाएको आरोप लगाएकी छन् ।

ट्रम्पले आक्रमणपछि मात्र कंग्रेसका सदस्यहरूलाई जानकारी दिएको स्वीकार गरे । सूचना चुहिने डरले कारबाही अभियानको जानकारी नदिएको भन्दै ट्रम्पले आफ्नो बचाउ गरे ।

उनले भने, ‘कंग्रेसमा सूचना चुहिने हुने सम्भावना धेरै हुन्छ । चुहावट भयो भने राम्रो हुँदैनथ्यो ।’

डेमोक्रेट सांसदहरूले तुरुन्तै जानकारी दिन माग गर्दै कंग्रेसको स्वीकृति बिना आक्रमण गरिएको भन्दै प्रशासनको आलोचना गरेका छन् । तर अधिकांश रिपब्लिकन सांसदहरूले ट्रम्प प्रशासनको कदमको स्वागत गरे ।

के भएको थियो शनिबार राति ?

शनिबार बिहान काराकासमा धेरै विस्फोटहरू र विमानहरूको आवाज सुनिएको थियो । विवरण अनुसार काराकासका केही भूभागमा विद्युत् आपूर्ति बन्द गराइएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रमाणित गरेका भिडियोहरूमा घटनाको रात काराकासमाथि हेलिकप्टर उडिरहेको र धुवाँको मुस्लो देखिन्छ । हिगुएरोतेस्थित विमानस्थलमा आगलागी र विस्फोटका दृश्यहरू पनि देखिन्छन् ।

पहिलो विस्फोट भेनेजुएलाको स्थानीय समय अनुसार राति १:५० बजे भएको थियो ।

अमेरिकी संयुक्त सेना प्रमुख जनरल ड्यान केनले रातभरि सञ्चालन गरिएको मदुरो पक्राउ अभियानमा पश्चिमी गोलार्धका विभिन्न सैन्य अड्डाबाट १५० भन्दा बढी विमान प्रयोग गरिएको जानकारी दिए ।

उनका अनुसार कम उचाइमा उड्ने हेलिकप्टरमार्फत विशेष दस्ता मदुरोको आवासमा प्रवेश गरेको थियो । अमेरिकी सैनिकमाथि गोली चले पनि अन्ततः बिहान ३: २९ बजे मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर निकालिएको केनले बताए ।

स्रोतहरूका अनुसार मदुरो र उनकी पत्नीलाई निदाइरहेको अवस्थामा शयनकक्षबाटै तानेर लगिएको थियो ।

डेल्टा फोर्स र एफबीआईको सहयोगमा गरिएको यो कारबाहीमा कुनै अमेरिकी सैनिकको मृत्यु भएन, तर केही सैनिक घाइते भएका छन् । एउटा विमानमा क्षति पुगे पनि उड्न सक्ने अवस्थामा रहेको जनरल केनले बताए ।

पछि मदुरो दम्पतीलाई यूएसएस एलडब्लुओ जेआईएमए हुँदै न्यूयोर्क पुर्‍याइएको हो, जहाँ उनीहरूले अदालतमा लागुऔषध तस्करीको अभियोगको सामना गर्नेछन् ।

भेनेजुएलामाथि किन अमेरिकी निशाना ?

अमेरिकी प्रशासनले वर्षौंदेखि भेनेजुएलाका राष्ट्रपति मदुरोलाई अपराधी भन्दै अमेरिकी कानुन अनुसार कारबाही गर्न खोजिरहेको थियो ।

सन् २०२० मा ट्रम्पको पहिलो कार्यकालमै मदुरोविरुद्ध ‘नार्को–आतंकवाद’ र ‘कोकिन तस्करी’को अभियोग लगाइएको थियो ।

अमेरिकाले यसअघि मदुरोलाई पक्राउ गर्न सघाउने सूचना दिने व्यक्तिलाई १ करोड ५० लाख डलर इनाम दिने घोषणा गरेको थियो, जुन पछि बढ्दै ५ करोड डलरसम्म पुगेको थियो ।

ट्रम्प प्रशासनले ‘कार्टेल दे लोस सोल्स’लाई आतङ्ककारी संगठन घोषणा गर्दै मदुरो त्यसको नेता भएको आरोप लगाउँदै आएको छ ।

ट्रम्पले भेनेजुएलामा लागुऔषध तस्करीविरुद्ध चाँडै नै स्थल आक्रमण सुरु गर्ने चेतावनी समेत दिँदै आएका थिए । मदुरो सरकारलाई निशाना बनाउँदै आएको अमेरिकाले यसबीच भेनेजुएलाका दर्जनौँ जहाज नष्ट गर्नुका साथै तेल ट्याङ्करमाथि नाकाबन्दी गर्दै आएको छ ।

डिसेम्बरमा अमेरिकी गुप्तचर संस्था सीआईएले भेनेजुएलाको तटीय बन्दरगाहमा ड्रोन आक्रमणसमेत गरेको थियो । पछिल्लो कारबाही अघिसम्म पनि आफूले मदुरोलाई आत्मसमर्पण गर्न आग्रह गरेको ट्रम्पले बताए ।

अब के हुन्छ ?

भेनेजुएलाको संविधान अनुसार राष्ट्रपति नभएको अवस्थामा उपराष्ट्रपतिले कार्यवाहक हैसियतमा शासन सञ्चालन गर्ने व्यवस्था छ । तर ट्रम्पले अमेरिका अनिश्चितकालसम्म भेनेजुएला सञ्चालन गर्ने संकेत दिएका छन् ।

राष्ट्रपति नरहेको अवस्थामा नयाँ राष्ट्रपति चयनका लागि ३० दिनभित्र चुनाव हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिले भेनेजुएलामा अनिश्चितता देखिन्छ ।

नयाँ सरकार गठनका लागि सम्भावित विपक्षी नेता एडमुन्डो गोन्जालेज उरुतिया हाल स्पेनमा निर्वासनमा छन् ।

यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने मदुरो नेतृत्वको सरकार र उनको दलको कुनै पनि उत्तराधिकारीलाई समर्थन नगर्ने बताएका छन् ।

‘यसले हामीलाई केही खर्च लाग्दैन,’ ट्रम्पले भने, ‘हामी पुनर्निर्माण गर्दैछौं ।’

मदुरोको गिरफ्तारीपछि कुन देशले के भने ?

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नीलाई पक्राउ गरी देश बाहिर लगेको घटनापछि विश्वभर मिश्रित प्रतिक्रिया आएका छन् । केही देशले अमेरिकी कदमको समर्थन गरेका छन् भने धेरैले कडा निन्दा गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनका नियमहरू पालना नभएकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

महासचिव गुटेरेशले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेपले खतरनाक नजिर स्थापित गरेको बताएका छन् ।

प्रारम्भिक प्रतिक्रिया जनाउँदै बेलायतका प्रधानमन्त्री सर कीयर स्टार्मरले मदुरो शासनको अन्त्यप्रति आफ्नो सरकारले एक थोपा आँसु पनि नबगाउने बताएका छन् ।

विशेषगरि छिमेकी ल्याटिन अमेरिकी देशहरूका साथै रुस र चीनले अमेरिकी कदमको कडा आलोचना गरेका छन् । कम्युनिस्ट दर्शन अंगिकार गर्ने रुस र चीन त भेनेजुएलाका दिर्घकालीन सहयोगी नै हुन् ।

चीनले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेको छ । मदुरो दम्पत्तिलाई तत्काल रिहा गर्न अमेरिकालाई चीनको आग्रह छ । रुसले यसलाई अमेरिकाको सशस्त्र आक्रामक कार्य भनेको छ ।

इरानले पनि भेनेजुएलामाथिको अमेरिकी आक्रमणलाई स्वतन्त्र देशको राष्ट्रिय सार्वभौमिकताको स्पष्ट उल्लंघन भनेको छ ।

भारतले भने भेनेजुएलामा अमेरिकी आक्रमण र पदासिन राष्ट्रपतिको गिरफ्तारीबारे सतर्कतापूर्वक प्रतिक्रिया जनाएको देखिन्छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको बयानमा भनिएको छ, ‘भेनेजुएलामा हालै भएको घटना गहिरो चिन्ताको विषय हो, त्यहाँ बदलिरहेको स्थिति हामीले नजिकबाट नियालिरहेका छौं ।’

‘भारत भेनेजुएलाका नागरिकको सुरक्षा र उनीहरूको भलाईका लागि आफ्नो समर्थन पुनः दोहोर्‍याउँछ । क्षेत्रीय शान्ति र स्थिरताका लागि हामी सबै सम्बन्धित पक्षसँग अपिल गर्छौं कि मुद्दाको समाधान संवादका माध्यमले र शान्तिपूर्ण तरिकाले गरिओस्,’ भारतीय विदेश मन्त्रालयको वक्तव्यमा छ ।

मलेसियाको विदेश मन्त्रालयले पनि भेनेजुएलामा अमेरिकी आक्रमण र मदुरोको गिरफ्तारीको कडा शब्दमा आलोचना गरेको छ । मलेसियाली विदेश मन्त्रालयले भनेको छ, ‘अर्को देशको आन्तरिक मामिलामा कुनै पनि प्रकारको विदेशी हस्तक्षेपका साथै शक्तिको प्रयोग वा धम्कीको विरोध गर्छौं ।’

मलेसियाका राष्ट्रपति अनवर इब्राहिमले सामाजिक सञ्जालमा पोस्ट गर्दै भेनेजुएलामा अमेरिकी कारबाहीको विरोध गरेका छन् ।

इब्राहिमले लेखेका छन्, ‘मैले भेनेजुएलामा भइरहेको घटनाक्रम गम्भीरताका साथ हेरें, राष्ट्रपति मदुरो र उनकी पत्नीलाई कुनै ढिलासुस्ती नगरी रिहा गर्नु आवश्यक छ । कारण चाहे जे सुकै होस्, बाह्य कारबाहीले सत्तासीन सरकार प्रमुखलाई जबरजस्ती हटाउनुले खतरनाक नजिर बसाल्छ । यसले अन्तर्राष्ट्रिय व्यवस्थाको आधार नै हल्लाउनेगरी कानुनी प्रावधानहरूलाई कमजोर बनाउँछ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भेनेजुएलालाई सुरक्षित, उचित र विवेकपूर्ण अवतरण नहुन्जेल अमेरिकाले सञ्चालन गर्ने दाबी गरेका छन् ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सामाजिक सञ्जाल एक्स(ट्विटर) मा लेख्दै अमेरिकी कदमले सीमा नाघेको बताएका छन् ।

अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन गर्दै देशहरूमाथि आक्रमण गर्नु हिंसा, अराजकता र अस्थिरताको विश्वतर्फ पहिलो कदम भएको टिप्पणी ब्राजिलका राष्ट्रपति सिल्भाको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले यसलाई ल्याटिन अमेरिकाको सार्वभौमिकतामाथिको आक्रमण भनेका छन् ।

चिलीका राष्ट्रपति गाब्रिएल बोरिचले गम्भीर चिन्ता र निन्दा व्यक्त गर्दै भेनेजुएलाको संकट समाधानका लागि शान्तिपूर्ण उपाय खोज्न आह्वान गरेका छन् ।

क्युबाका राष्ट्रपति मिगेल डियाज कानेलले अमेरिकी कदमलाई आपराधिक आक्रमण भनेका छन् । उरुग्वेले भने आधिकारिक वक्तव्य जारी गर्दै घटनाक्रमलाई गहिरो चासोका साथ नियालिरहेको जनाउँदै सधैंझैं सैन्य हस्तक्षेपको विरोध गर्ने उल्लेख गरेको छ ।

यसैबीच,अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलले सांकेतिकरूपमा अमेरिका आक्रमणको समर्थन जनाएका छन् । ट्रम्पले समेत आफूलाई मनपर्ने राष्ट्रपति भनेका अर्जेन्टिी राष्ट्रपति मिलले एक्समा लेखेका छन्, ‘स्वतन्त्रता अघि बढिरहेको छ र स्वतन्त्रता जिन्दावाद’ लेखेका छन् ।

बेलायती प्रधानमन्त्री स्टार्मरले बीबीसीसँगको अन्तर्वार्तामा अमेरिकी सैन्य कारबाही अन्तर्राष्ट्रिय कानुनअनुसार थियो वा थिएन भन्ने विषयमा टिप्पणी गर्न अस्वीकार गरे ।

उनले सबै तथ्यहरू स्पष्ट भएपछि मात्र धारणा बनाउने बताउँदै आफू अन्तर्राष्ट्रिय कानुनको आजीवन समर्थक भएको दाबी गरे ।

युरोपेली संघकी शीर्ष कूटनीतिज्ञ काजा कालासले मदुरो सरकारको वैधता नरहेको दोहोर्‍याउँदै शान्तिपूर्ण सत्ता हस्तान्तरण र अन्तर्राष्ट्रिय कानुनको सम्मान आवश्यक रहेको बताइन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि सत्ता हस्तान्तरण शान्तिपूर्ण, लोकतान्त्रिक र भेनेजुएलाली जनताको इच्छाअनुसार हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

जर्मन चान्सलर फ्रिडरिख मर्जले अमेरिकी कारबाहीको कानुनी पक्ष जटिल रहेको उल्लेख गर्दै भेनेजुएलामा राजनीतिक अस्थिरता उत्पन्न हुन नदिन ख्याल गर्न चेतावनी दिएका छन् ।

ट्रम्प प्रशासनको कदमको अमेरिकाभित्रै पनि आलोचना भइरहेको छ ।

डेमोक्रेटिक पार्टीका नेता चक शुमरले मदुरो अवैध तानाशाह भएपनि कंग्रेसको अनुमति बिना गरिएको सैन्य कारबाही गम्भीर लापरबाही भएको टिप्पणी गरेका छन् ।

टर्कीएको विदेश मन्त्रालयले भेनेजुएलाको घटना नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ ।

‘टर्कीले भेनेजुएलामा हाल भइरहेका घटनाक्रमलाई नजिकबाट हेरिरहेको छ, भेनेजुएलाको स्थिरता र त्यहाँका नागरिकको शान्ति र भलाईका लागि टर्कीले महत्त्व दिन्छ । विद्यमान स्थितिको नतिजा क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा प्रावधान विपरीत नहोस् भनेर हामी सबै पक्षसँग संयमता अपनाउन अपिल गर्छौं,’ टर्कीएको विदेश मन्त्रालयले भनेको छ ।

जापानको विदेश मन्त्रालयले भेनेजुएलामा भएको अमेरिकी आक्रमणबारेको प्रतिक्रियामा जी-७ देशका रूपमा आफ्नो स्थिति दोहोर्‍याएको छ । अमेरिकासहित बेलायत, फ्रान्स, जर्मनी, इटाली, क्यानडा र जापान समेत गरी सात प्रमुख औद्योगिक तथा विकसित देशहरूको अनौपचारिक समूह हो जी-७ ।

जापानी विदेश मन्त्रालयले भनेको छ, ‘भेनेजुएलामा लोकतन्त्रको बहाली र स्थितिलाई स्थिर बनाउने दिशामा हाम्रो समर्थन रहनेछ ।’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने ट्रम्पलाई स्वतन्त्रता र न्यायको पक्षमा साहसी र ऐतिहासिक नेतृत्व गरेको भन्दै बधाई दिएका छन् ।

क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गर्दै भेनेजुएलाली जनताको शान्ति र लोकतन्त्रको चाहनासँग क्यानडा उभिएको बताइन् ।

नर्वेका विदेशमन्त्री एस्पेन बार्थ आइडेले अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुनअनुसार नरहेको भन्दै विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?