अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले भेनेजुएलामा सैन्य आक्रमण गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा लेख्दै मादुरो र उनकी पत्नी, प्रथम महिला सिलिया फ्लोरेसलाई देशबाहिर लगिएको बताएका छन् । उनीहरू अहिले कहाँ छन् भन्ने कुरा स्पष्ट छैन ।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले सशस्त्र बलहरूले देशको सार्वभौमिकताको रक्षा गर्ने बताएका छन् ।
भेनेजुएलाभित्र भएका यी आक्रमणहरू मादुरो सरकारविरुद्ध अमेरिकाले चलाएको दबाब अभियानपछि भएका हुन् । ट्रम्प प्रशासनले मादुरो सरकारले अमेरिकातर्फ लागूऔषध र गिरोहका सदस्यहरू पठाएको आरोप लगाउँदै आएको छ । यो घटनापछि संसारभर अमेरिकाले गरेको अर्को मुलुकमाथिको प्रत्यक्ष हस्तक्षेप भन्दै विरोध पनि भइरहेको छ । अमेरिकाले अर्को मुलुकको सार्वभौमसत्तामाथिको आक्रमण पनि भनेका छन् ।
के मादुरो सत्ताच्युत भएका हुन् ?
अहिलेसम्म यसबारे यकिन भन्न गार्हो छ । ट्रम्पले सामाजिक सञ्जालमा खुलासा गरेको कुरा अनुसार अमेरिकाले भेनेजुएला र यसका नेताविरुद्ध ठूलो स्तरको आक्रमण सफलतापूर्वक सम्पन्न गरेको भनेका छन् ।
मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको पनि भनेका छन् ।
तर यससँगै भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मादुरो कहाँ छन् वा उनी जीवित छन् कि छैनन् भन्ने थाहा नभएको बताएकी छन् । यसले मादुरो पदबाट हटाइएको संकेत गर्छ ।
तर भेनेजुएलाका रक्षामन्त्री र रोड्रिगेज अझै देशमै छन् र टेलिभिजनमा देखा परेका छन्, जसले मादुरो सरकारका मुख्य सदस्यहरू अझै सत्तामा रहेको देखाउँछ ।
कारबाही कसरी भयो ?
अमेरिकी कारबाही कसरी सम्पन्न भयो भन्नेबारे अहिलेसम्म थोरै विवरण मात्र उपलब्ध रहेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
भेनेजुएलाभित्रबाट आएका भिडियोहरूमा ठूला विस्फोटहरू देखिन्छन् । राजधानी कराकासका बासिन्दाहरूले विमान र विस्फोटको आवाज सुनेको बताएका छन् ।
राजधानीका विभिन्न भागबाट धुवाँ उडिरहेको देखिन्थ्यो र हेलिकप्टरहरू समूह बनाएर उडिरहेको देखिएको थियो ।
धेरै आक्रमण सैनिक प्रतिष्ठानहरू लक्षित गरिएको बताइएको छ ।

अमेरिकी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजलाई यी आक्रमणहरू ट्रम्प प्रशासनको आदेशमा गरिएको बताएका छन् ।
उनीहरूले सीबीएस न्युजलाई मादुरोलाई अमेरिकी सेनाको शीर्ष आतंकवादविरोधी इकाइ डेल्टा फोर्सले नियन्त्रणमा लिएको पनि बताएका छन् । तर यसबारे थप विवरण अहिलेसम्म उपलब्ध छैन ।
भेनेजुएला सरकारले कराकासमाथि आक्रमण भएको पुष्टि गर्दै मिरान्डा, ला ग्वाइरा र अरागुवा राज्यहरूमा पनि आक्रमण भएको जनाएको छ ।
मादुरो कसरी सत्तामा आए ?
निकोलास मादुरो वामपन्थी राष्ट्रपति ह्युगो चाभेज र उनको युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएलाको नेतृत्वमा उदाएका हुन् ।
पूर्व बस चालक र श्रमिक संघका नेता मादुरोले चाभेजको उत्तराधिकारीका रूपमा २०१३ देखि राष्ट्रपति पद सम्हाल्दै आएका छन् ।
चाभेज र मादुरोले २६ वर्ष सत्तामा रहँदा उनीहरूको पार्टीले राष्ट्रिय सभा, न्यायपालिका र निर्वाचन परिषद् जस्ता प्रमुख संस्थाहरूमा नियन्त्रण जमाएको छ ।
२०२४ मा मादुरोलाई राष्ट्रपति चुनावको विजेता घोषित गरियो । यद्यपि विपक्षीहरूले सङ्कलन गरेको मतपरिणामले उनीहरूका उम्मेदवार एडमुनडो गोन्जालेजले ठूलो मतान्तरले जितेको देखाएको थियो ।
गोन्जालेजले मुख्य विपक्षी नेता मारिया कोरिना माचाडोलाई प्रतिस्थापन गरेका थिए, किनकि उनलाई चुनाव लड्न रोक लगाइएको थियो ।
मारियालाई तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण संक्रमणका लागि गरेको संघर्षको कारण गत अक्टोबरमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
यात्रा प्रतिबन्धको अवहेलना गर्दै माचाडो डिसेम्बरमा ओस्लो पुगेर पुरस्कार ग्रहण गरिन् ।
उनले भेनेजुएला फर्किने योजना बनाएको बताइन्, जसले उनलाई भेनेजुएला अधिकारीहरूले फरार घोषणा गरेकाले पक्राउ पर्ने जोखिममा पार्न सक्छ ।
ट्रम्पले किन निशाना बनाए ?
ट्रम्पले सयौं हजार भेनेजुएलाली आप्रवासी अमेरिका पुगेको र यसको जिम्मेवार मादुरोलाई ठहर्याएका छन् । २०१३ यता देशको आर्थिक संकट र दमनका कारण करिब ८० लाख भेनेजुएलाली देश छोडेर भागेका अनुमान छ ।
ट्रम्पले बिना प्रमाण मादुरोले जेल र मानसिक अस्पताल खाली गराएर त्यहाँका मानिसहरूलाई जबर्जस्ती अमेरिका पठाएको आरोप लगाएका छन् ।
ट्रम्पले विशेषगरी फेन्टानिल र कोकिन जस्ता लागूऔषधको अमेरिकामा हुने अवैध आपूर्तिविरुद्ध लडाइँमा ध्यान दिएका छन् ।

उनले भेनेजुएलाका दुई आपराधिक समूह : ट्रेन दे अरागुवा र कार्टेल दे लोस सोलेसलाई विदेशी आतंकवादी संगठन घोषणा गरेका छन् र दोस्रो समूहको नेतृत्व स्वयं मादुरोले गरेको आरोप लगाएका छन् ।
विश्लेषकहरूका अनुसार कार्टेल दे लोस सोलेस कुनै संगठित समूह होइन ।
ट्रम्पले मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने जानकारीका लागि दिइने इनाम दोब्बर पारेका थिए ।
मादुरोले आफू कार्टेल नेता भएको आरोप कडा रूपमा अस्वीकार गर्दै अमेरिका लागूऔषधविरुद्धको युद्ध लाई बहाना बनाएर आफूलाई सत्ताच्युत गर्न र भेनेजुएलाको विशाल तेल भण्डार कब्जा गर्न खोजिरहेको आरोप लगाउँदै आएका थिए ।
के भेनेजुएलाले अमेरिकामा लागूऔषध पठाउँथ्यो ?
लागूऔषध नियन्त्रणसम्बन्धी विज्ञहरूका अनुसार भेनेजुएला विश्वव्यापी लागूऔषध तस्करीमा तुलनात्मक रूपमा सानो भूमिका खेल्ने देश हो । यो मुख्यत: अन्यत्र उत्पादन भएका लागूऔषधहरू तस्करी गरेर लैजाने ट्रान्जिट देश का रूपमा प्रयोग हुने गर्छ ।
छिमेकी देश कोलम्बिया विश्वकै सबैभन्दा ठूलो कोकिन उत्पादक हो, तर त्यसको अधिकांश भाग भेनेजुएलामार्फत होइन, अन्य मार्गबाट अमेरिका पुग्ने विश्वास गरिन्छ ।
२०२० को अमेरिकी ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनको प्रतिवेदनअनुसार अमेरिकामा पुग्ने करिब तीन चौथाइ कोकिन प्रशान्त महासागरमार्फत तस्करी हुने अनुमान छ । जबकी, क्यारिबियन क्षेत्रमा तीव्र गतिको डुङ्गामार्फत आउने मात्रा निकै सानो छ ।
अमेरिकाले सुरुमा गरेको अधिकांश आक्रमण क्यारिबियन क्षेत्रमा भएपनि पछिल्ला आक्रमणहरू प्रशान्त क्षेत्रमा केन्द्रित भएका छन् ।
सेप्टेम्बरमा ट्रम्पले अमेरिकी सैनिक नेतृत्वलाई लक्षित गरिएका डुङ्गाहरू मुख्यतया फेन्टानिल र अन्य लागूऔषधले भरिएका सेता धुलोका झोलाहरूले खचाखच भरिएका भएको बताएका थिए ।
फेन्टानिल एक कृत्रिम लागूऔषध हो, जुन हेरोइनभन्दा ५० गुणा बढी शक्तिशाली हुन्छ र अमेरिकामा ओपिओइड ओभरडोजका कारण हुने मृत्युको प्रमुख कारण बनेको छ ।
डिसेम्बर १५ मा ट्रम्पले फेन्टानिललाई सामूहिक विनाशको हतियार घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरे । उनले यो लागूऔषधभन्दा रासायनिक हतियारसँग बढी नजिक भएको तर्क गरे ।
तर फेन्टानिल मुख्य रूपमा मेक्सिकोमा उत्पादन हुन्छ र लगभग पूर्ण रूपमा दक्षिणी स्थलसीमाबाट जमिनमार्फत अमेरिका प्रवेश गर्छ ।
२०२५ को राष्ट्रिय लागूऔषध खतरा मूल्याङ्कन प्रतिवेदनमा अमेरिकामा तस्करी भएर आउने फेन्टानिलको स्रोत देशको रूपमा भेनेजुएलाको नाम उल्लेख गरिएको छैन ।
यो अवस्था कसरी आयो ?
गत वर्ष जनवरीमा ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि मादुरो सरकारमाथि दबाब क्रमश: बढ्दै गयो ।
पहिलो चरणमा ट्रम्प प्रशासनले मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने जानकारीका लागि दिइने इनाम दोब्बर बनायो ।
सेप्टेम्बरमा अमेरिकी सेनाले दक्षिण अमेरिकाबाट अमेरिका तर्फ लागूऔषध बोकेको आरोप लगाइएका जहाजहरूलाई लक्षित गर्न थाल्यो ।
त्यसयता क्यारिबियन र प्रशान्त क्षेत्रमा यस्ता जहाजहरूमाथि ३० भन्दा बढी आक्रमण भएका छन्, जसमा ११० भन्दा बढी मानिसको मृत्यु भएको छ ।
ट्रम्प प्रशासनको तर्क अनुसार अमेरिका कथित लागूऔषध तस्करहरूसँग गैर–अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्वमा संलग्न छ, जसले अमेरिकाविरुद्ध अनियमित युद्ध सञ्चालन गरिरहेको आरोप लगाइएको छ ।
तर कानुनविद्हरूका अनुसार यी आक्रमणहरू सैन्य लक्ष्यविरुद्ध होइनन् ।

सेप्टेम्बर २ मा भएको पहिलो आक्रमण विशेष रूपमा विवादास्पद बनेको थियो । किनकि, पहिलो आक्रमणबाट बचेका व्यक्तिहरू दोस्रो आक्रमणमा मारिएका थिए ।
अन्तर्राष्ट्रिय आपराधिक अदालतका एक पूर्व प्रमुख अभियोजकले बताएअनुसार, अमेरिकी सैन्य अभियान शान्तिकालमा नागरिकहरूमाथि योजनाबद्ध र प्रणालीगत आक्रमणको दर्जामा पर्छ ।
यसको जवाफमा ह्वाइट हाउसले लागूऔषध कार्टेलहरूले अमेरिकाको तटमा विष ल्याएर अमेरिकी जीवन नष्ट गर्न खोजिरहेका भन्दै सशस्त्र द्वन्द्वसम्बन्धी कानुनअनुसार नै कारबाही गरिएको दाबी गरेको छ ।
अक्टोबरमा ट्रम्पले भेनेजुएलाभित्र गोप्य कारबाही गर्न सीआईएलाई अनुमति दिएको बताएका थिए ।
उनले आफूले ‘नार्को–आतंकवादी’ भनेका समूहहरूविरुद्धस्थल आक्रमणको धम्की पनि दिएका थिए ।
ट्रम्पले डिसेम्बर २४ मा यस्ता आक्रमणहरूमध्ये पहिलो सम्पन्न भएको बताए, तर विस्तृत जानकारी नदिँदै लागूऔषध बोकेको आरोप लगाइएका डुङ्गा लोड भइरहेको ठाउँमै आक्रमण गरिएको मात्र बताए ।
ट्रम्पले बारम्बार मादुरो अमेरिकाको मित्र होइन भन्दै उनका लागि पद छोड्नु बुद्धिमानी हुने बताउँदै आएका थिए ।
उनले भेनेजुएलामा प्रवेश गर्ने र बाहिरिने प्रतिबन्धित तेल ट्यांकरहरूमाथि पूर्ण नौसैनिक नाकाबन्दी घोषणा गर्दै आर्थिक दबाब पनि बढाएका छन् । तेल नै मादुरो सरकारको मुख्य वैदेशिक आम्दानी स्रोत हो ।
अमेरिकाले फेन्टानिल र कोकिनको आपूर्ति रोक्ने उद्देश्यका साथ क्यारिबियन क्षेत्रमा ठूलो सैन्य शक्ति पनि तैनाथ गरेको छ ।
यो बलले लागूऔषध तस्करीको आरोप लागेका जहाजहरूलाई मात्र होइन, नौसैनिक नाकाबन्दी कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।
क्यारिबियन क्षेत्रमा अमेरिकाले कति ठूलो सैन्य शक्ति तैनाथ गरेको छ ?
अमेरिकाले क्यारिबियन क्षेत्रमा १५ हजार सैनिक तथा विमानवाहक युद्धपोत, निर्देशित क्षेप्यास्त्र विध्वंसक जहाज र उभयचर आक्रमण जहाजहरू तैनाथ गरेको छ ।
यसमा संसारकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड फोर्ड पनि समावेश छ ।
डिसेम्बर १० मा भेनेजुएलाको तट नजिक एक तेल ट्यांकर नियन्त्रणमा लिनुअघि त्यही जहाजबाट अमेरिकी हेलिकप्टरहरू उडेको बताएको छ ।
अमेरिकाले उक्त ट्यांकर भेनेजुएला र इरानबाट प्रतिबन्धित तेल ढुवानी गर्न प्रयोग गरिएको दाबी गरेको छ ।
भेनेजुएलाले भने यसलाई अन्तर्राष्ट्रिय समुद्री डकैतीको कार्य भनेको छ ।
त्यसयता अमेरिकाले भेनेजुएलाको पानी क्षेत्रमा थप दुई ट्यांकरहरूलाई पनि निशाना बनाएको छ ।
भेनेजुएलाले कति तेल निर्यात गर्छ ? कसले किन्छ ?
मादुरोले लामो समयदेखि ट्रम्प प्रशासनले आफूलाई सत्ताच्युत गरेर भेनेजुएलाको तेल सम्पदा कब्जा गर्न खोजिरहेको आरोप लगाउँदै आएका छन् ।
यो आरोप ट्रम्पले पहिलो पटक भेनेजुएलाको तट नजिकबाट ट्यांकर नियन्त्रणमा लिएपछि दिएको एक टिप्पणीसँग जोडिएको छ ।
पत्रकारहरूले ट्यांकर र त्यसको तेलको के हुन्छ भनेर सोध्दा ट्रम्पले भनेका थिए– मलाई लाग्छ हामी त्यो तेल राख्नेछौँ ।
तर अमेरिकी अधिकारीहरूले मादुरो सरकारविरुद्ध गरिएका कदमहरू देशको अप्रयुक्त तेल भण्डारमा पहुँच प्राप्त गर्ने प्रयास नभएको दाबी गर्दै आएका छन् ।
भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार छ । तेल क्षेत्रबाट हुने आम्दानीले सरकारको आधाभन्दा बढी बजेट धान्छ ।
तर प्रतिबन्ध, लगानीको कमी र राज्य–नियन्त्रित तेल कम्पनीभित्रको अव्यव्स्थाका कारण यसको निर्यात प्रभावित भएको छ ।
अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार २०२३ मा भेनेजुएलाले विश्वको कच्चा तेल उत्पादनको केवल ०.८ प्रतिशत मात्र उत्पादन गरेको थियो ।
हाल भेनेजुएलाले प्रतिदिन करिब ९ लाख ब्यारेल तेल निर्यात गर्छ, र चीन यसको सबैभन्दा ठूलो खरिदकर्ता हो ।
(बीबीसीमा प्रकाशित सामग्रीमा अधारित)
प्रतिक्रिया 4