News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेश क्रिकेट बोर्डले भारतमा हुने टी–२० विश्वकपका खेलहरू श्रीलंकामा सार्न आईसीसीसँग आग्रह गर्ने निर्णय गरेको छ।
- कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानलाई आईपीएल टोलीबाट हटाएको छ।
- बंगलादेशले भारतमा खेलाडीहरूको सुरक्षा शंका व्यक्त गर्दै आईपीएल प्रसारण रोक्न सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेको छ।
२० पुस, काठमाडौं । भारत र बंगलादेशबीच राजनीतिक सम्बन्ध बिग्रिन थालेपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा हुने आफ्ना टी–२० विश्वकपका खेलहरू श्रीलंकामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग आग्रह गर्ने भएको छ।
कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानलाई आईपीएल टोलीबाट हटाएपछि बंगलादेशले भारतमा खेलाडीहरूको सुरक्षामाथि प्रश्न उठाएको हो। मुस्तफिजुरलाई पछिल्लो घटनाक्रमका कारण टोलीबाट हटाइएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले जनाएको छ।
बंगलादेशको पहिलो तीन विश्वकप खेल कोलकातामा हुने तालिका छ। त्यसपछि नेपालसँगको खेल मुम्बईमा हुनेछ । यस विषयमा बीसीबीले आकस्मिक बैठक गरी आईसीसीलाई पत्र लेख्ने निर्णय गरेको छ।
बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले भारतमा बंगलादेशी टोली सुरक्षित नहुने शंका व्यक्त गर्दै विश्वकपका खेल श्रीलंकामा सार्न आग्रह गर्न निर्देशन दिएका छन्। उनले बंगलादेशमा आईपीएल प्रसारण रोक्न पनि सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेका छन्।
बंगलादेशको समूहमा नेपाल पनि रहेकाले बंगलादेशको खेल श्रीलंकामा सारिएको अवस्थामा नेपाली क्रिकेट टोली पनि श्रीलंका खेल्न जानुपर्ने हुन्छ । उक्त एक खेल मात्र नभएर अन्य खेहरू पनि सारिन सक्छ । हालको तालिका अनुसार नेपालको चारवटै खेल मुम्बईमा नै हुने उल्लेख छ ।
केकेआरले २०२६ आईपीएलका लागि मुस्ताफिजुरलाई ९ करोड २० लाख भारुमा अनुबन्ध गरेको थियो, तर भारतका केही राजनीतिक र धार्मिक नेताहरूको दबाबपछि उनलाई टोलीबाट हटाइएको बताइएको छ।
यता, बीसीबीले २०२६ को घरेलु तालिका सार्वजनिक गर्दै भारतसँग हुने एकदिवसीय र टी–२० सिरिज पनि समावेश गरेको छ, जुन २०२५ बाट सारिएको थियो।
बंगलादेशको पहिलो टी–२० विश्वकप खेल फेब्रुअरी ७ मा कोलकाताको इडेन गार्डेनमा वेस्ट इन्डिजविरुद्ध हुने तालिका छ।
प्रतिक्रिया 4