News Summary
Generated by OK AI. Editorially reviewed.- स्वस्तिका चौधरीले चैत २०८१ मा भएको नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५ मा उपाधि जितेर पहिलो पटक नेसनल च्याम्पियन बनेकी हुन् ।
- स्वस्तिकाले सन् २०१६ देखि क्लाइम्बिङ खेलमा संलग्न भई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकी छन् र भारत, सिंगापुर, इरानमा प्रतिस्पर्धा गरिन् ।
- उनको लक्ष्य अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर ओलम्पिकमा सहभागी हुनु हो र त्यसका लागि सरकार र संस्थाको सहयोग आवश्यक रहेको बताएकी छिन् ।
८ साउन, काठमाडौं । स्वस्तिका चौधरी नेपालको च्याम्पियन क्लाइम्बर हुन् । २५ वर्षीय स्वस्तिकाले नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा गत चैतमा भएको ‘वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ को उपाधि जितेकी थिइन् ।
क्लाइम्बिङ भन्ने बित्तिकै हिमाल चढ्ने रक क्लाइम्ब गर्ने बुझिएपनि नेपालमा क्लाइम्बिङ खेलको रुपमा खेलिँदै आएको छ । त्यसैले पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेपछि स्वस्तिकाले आफ्नो एउटा सपना त पूरा गरिन् तर अझै धेरै गर्न बाँकी रहेको बताउँछिन् ।
‘पहिलो पटक क्लाइम्बिङ स्पोर्टको राष्ट्रिय च्याम्पियन बन्दा एकदम गर्वको क्षण थियो’ नवलपरासी रामग्राम-१३ की स्वस्तिकाले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘एउटा नेशनल च्याम्पियनसिप जित्ने सपना पूरा भयो तर अझ धेरै गर्न बाँकी छ । जितेपनि अझै सन्तुष्ट भएको छैन किनभने यो सुरुवात जस्तै हो।’
च्याम्पियन बन्नका लागि उनले धेरै संघर्ष र मिहिनेत पनि गरेकी छन् । त्यसैले उनको मन पहिलो सफलतामै रोकिन चाहन्न । ‘सन् २०१६ देखि नै सुरु गरेको हो । स्टेप बाई स्टेप प्रोग्रेस भइरहेको थियो । सिधै च्याम्पियन भएको होइन दोस्रो, तेस्रो हुँदै अहिले पहिलो भएको हो’ स्वस्तिका भन्छिन्, ‘सुरुवात देखि नै धेरै संघर्ष गरेको थिएँ । मेरो मिहिनेत कति छ धेरैलाई थाहा छ । त्यसैले अहिले उपलब्धि हात पार्दा खुशी छु।’
अन्य खेल जस्तै क्लाइम्बिङ स्पोर्टको पनि नेपालमा संघ छ । तर साहसिक खेलकुद विधामा पर्ने र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने यो खेलको चर्चा खासै भएको छैन ।
तर स्वस्तिकालाई भने यस्तै कम चर्चा भएको खेलमा रूचि बढेकोले उनी यसतर्फ आकर्षित भएकी हुन् । ‘एज अ स्पोर्ट सबै छुट्टै गेम हो । हरेक खेलको आफ्नै विशेषता हुन्छ । यो खेल धेरै थाहा थिएन थाहा नपाएको गेम भएर त्यसैले पनि मलाई रूचि बढ्यो’ उनले भनिन्, ‘सुरुमा जे नयाँ हुन्छ त्यसमा रमाइलो हुन्छ । देखिरहेको खेलभन्दा यसमा रमाइलो भयो । जे नयाँ छ त्यसमा झन् उत्साह हुन्छ।’
अहिले विस्तारै क्लाइम्बिङ खेलको बारेमा पनि चर्चा हुन थालेको भन्दै स्वस्तिकाले यसलाई अझै चर्चा गराउने रहर रहेको बताउँछिन् । ‘क्लाइम्बिङलाई अझ अगाडि बढाउन मन छ । पहिला कसैलाई थाहा थिएन । अहिले अलि थाहा छ । यो खेल हो भनेर मलाई फिल गराउन मन छ । क्लाइम्बिङ खेल अब बिस्तारै चिनिन थालेको छ । यो खेल अझ धेरै ग्रो होस् सबैले थाहा पाउनुपर्छ भन्ने लाग्छ’ उनले भनिन् ।
यसरी लागिन् क्लाइम्बिङमा
घर नवलपरासी भएपनि स्वस्तिका काठमाडौंमै जन्मिइन्, यतै हुर्किइन् बढिन् अनि पढाई गरिन् । उनले सन् २०१५ मा पहिलो पटक क्लाइम्बिङ स्पोर्ट बारेमा सुनेकी थिइन् । जतिखेर उनी स्काउटमा थिइन् ।
उनी चाबहिलको न्यु इंग्लिस बोर्डिङ स्कुलमा पढ्दा नै स्कुलमा हुने अतिरिक्त क्रियाहरूमा रूचि राख्थिन् । यस्तै विभिन्न खेलहरू पनि खेल्थिन् । ‘मलाई स्कुल देखि नै खेलमा रुची थियो । एथ्लेटहरू मन पर्थ्यो । म जे जे गेम पाउँथे सबै खेल्ने । स्कुलमा साना-साना इसीए हुन्थयो त्यसमा म एक्टिभ नै हुन्थें’ स्वस्तिकाले भने ।
त्यसैबला सन् २०१५ मा रंगशालमा स्काउटको ट्रुपहरूको क्लाइम्बिङ प्रतियोगिता भएको थियो । जहाँ सुरुमा स्वस्तिका छनोट भइनन् । तर उनले रिक्वेस्ट गरेपछि उनलाई पनि त्यहाँ सहभागी हुन दिइयो । ‘मैले रहर गरेपछि जान पाएँ अनि खेलें । त्यसपछि अचानक मलाई त्यसतर्फ रूचि बढ्यो’ स्वस्तिका भन्छिन् ‘मुख्य कुरा रूचि हो । रूचि नभए स्पोर्ट्समा छिर्न गाह्रो हुन्छ।’
त्यही उनको रूचिले उनलाई क्लाइम्बिङको खेलाडी नै बनायो । अनि उनी क्लाइम्बिङतिर नै निरन्तरता दिन थालिन् । ‘एथ्लेट भएर अघि बढ्न मन छ भनेर मेरो यात्रा यसमै सुरु गरेँ’ उनले भनिन् ।
उनले खेलेको पहिलो प्रतियोगिता बालाजुमा थियो । जहाँबाट उनले क्लाइम्बिङको आधारभुत कुराहरू सिक्न पाइन् । ‘दोर्जे खत्री मोमेरिय लिड कम्पिटिसन थियो । त्यसपछि मनसुन म्याडनेस लगायत प्रतियोगिता खेलेँ । तर कहिले पनि पोडियममा नपुग्ने । तर त्यसैबाट धेरै कुराहरू सिकेर अघि बढेँ’ स्वस्तिकाले भनिन् ।
लगत्तै उनले सन् २०१६ मा ठमेलस्थित एस्ट्रेक वालमा भएको एक प्रतियोगितामा भाग लिइन् । त्यसमा सिनियर जुनियर सबै सहभागी थिए । युवातर्फ स्वस्तिकाले नै उपाधि जितिन् । अनि झन् यसमा उनको रूचि बढेर गयो । ‘मलाई यही खेल खेलेर एथ्लेट हुनुथियो । तर के को लागि चढिरहेको थिएँ मलाई थाहा थिएन तर यसमै निरन्तरता दिने रमाइलो भइरहेको छ भन्ने लाग्यो’ उनले थपिन् ।
सुरुमा क्लाइम्बिङ जाँदा उनलाई आर्थिक स्रोत जुटाउन कठिन थियो । आवश्यक सामाग्रीहरू पनि थिएन । त्यसमा उनलाई लामा वाल्क्सले सहयोग गरेको थियो । यस्तै एकपटक पञ्चमाया तामाङले दिएको हार्नेस लगाएर पनि उनले क्लाइम्बिङ गरेकी थिइन् ।
‘आर्थिक रुपमा राम्रो थिएन । लामा वाल्क्स (राजेश लामा दाई)ले सुरुमा सहयोग गर्नुभयो। सुरुवाती दिनमा क्लाइम्बरहरू सबै ठमेलको एस्ट्रेकमा जान्थेँ’ उनले भनिन् । त्यसैले उनले धेरैलाई भेट्ने सिक्ने मौका त्यहीँ पाइन् ।
अन्तर्राष्ट्रिय सहभागिता
स्वस्तिकाले क्लाइम्बिङमा लागेको छोटो समयमै युथतर्फ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । जसले गर्दा उनले सुरुमै अनुभव बटुल्ने मौका पाइन् ।
सन् २०१६ मै इरानको तेहरानमा भएको एसियन युथ च्याम्पियनसिप (बोल्डर एण्ड लिड)अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले सहभागी हुने अवसर पाइन् । त्यसमा प्रतिस्पर्धा भन्दा पनि एक्सपोजरको हिसावले उनलाई राम्रो भयो ।
एस्ट्रेकमा भएको प्रतियोगितामा युथतर्फ टप भएर उनले त्यो अवसर पाएकी थिइन् । ‘त्यसपछि मैले इरान जाने मौका पाएँ । मैले सबैभन्दा एक्सपोजर पाको भनेको २०१६ सेप्टेम्बरमा बाहिर गएर खेलेको थिएँ । इरान जाँदा थाहा पाए स्पोर्ट्स क्लाइम्ब भनेको के हो भनेर । पेम्बा र म गाको । एनएमएले सहयोग गरेको थियो’ त्यसबेला नेपाल पर्वतारोहण संघले नै अन्तर्राष्ट्रिय क्लाइम्बिङ प्रतियोगिताहरूमा सहभागी गराउने गरेको उनले बताइन् ।
विदेशमा गएर प्रतिस्पर्धा गरेपछि स्वस्तिकाले क्लाइम्बिङ बारे अझ धेरै बुझ्न पाइन् । ‘त्यो खेलेपछि बल्ल थाहा पाएँ, स्पोर्ट क्लाइम्बिङ भनेको के हो भनेर । किनकी बाहिरको क्लाइम्बरहरू के हो ? कस्तो हुन्छ प्रतिस्पर्धा के हो त्यसपछि थाहा भयो । यहाँको त सामान्य लाग्यो । बाहिरको मान्छे कति संघर्ष गरेर पोडियममा आएर खेलको भ्यालु देखायो । त्यसपछि मैले झन् यो खेलको भ्यालु देखेँ ।’ सुरुवाती क्षणबारे उनले भनिन् ।
त्यसपछि उनले सन् २०१७ जुनमा भारतमा भएको आईएफएससी क्लाइम्बिङ वर्ल्ड कप (बोल्डरिङ) र २०१७ मै सिंगापुरमा भएको एसियन युथ च्याम्पियनसिप (बोल्डर एण्ड लिड) मा सहभागी हुने मौका पाइन् । जसले गर्दा उनको कला अझ निखारिने अवसर मिल्यो ।
उनले विदेशमा गएर खेलेको यही तीन अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । जसबाट अनुभव एक्सपोजर लिन पाइन् । ‘अन्तर्राष्ट्रिय ठूला क्लाइम्बर देखेपछि मोटिभेसन भयो मलाई पनि उनीहरू जस्तै बन्न मन लाग्यो । हामी सानो देशबाट गएर उनीहरूसँग प्रतिस्पर्धा गर्न पाउनु पनि ठूलो कुरा हो । उनीहरूलाई देख्दा इन्सपायर हुने मोटिभेसन हुने भएको थियो’ उनले भनिन् ।
सन् २०१७ मा सिंगापुरमा भएको एसियन युथ च्याम्पियनसिपमा नेपालबाट स्वस्तिकासँगै ३ महिला र एक पुरुष खेलाडी सहभागी भएका थिए । जसमा नेपालकी पञ्चमायाले कांस्य पदक जितिन् । त्यो एकदमै गर्वको क्षण भएको स्वस्तिका बताउँछिन् । ‘पञ्चमाया तेस्रो भएर पदक जितेको थियो । त्यो एकदम प्राउड मोमेन्ट । पोडियममा नेपालको झण्डा थियो । आफूले नजितेपनि पोडियममा नेपालको खेलाडी र झण्डा देख्दा अर्कै खालको फिलिङ हुने रैछ’ उनले भनिन् ।
यसबाहेक स्वस्तिकाले सिंगापुर र भारतमा प्रशिक्षण समेत गरेकी छिन् । उनले पछिल्लो पटक भारतमा भएको टाटा स्टिल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप खेलेकी थिइन् । जसमा उनी फाइनलसम्म पुगेकी थिइन् ।
क्लाइम्बिङमा एक दशकको संघर्ष
स्वस्तिकाले क्लाइम्बिङमा लागेर यसलाई निरन्तरता दिएको एक दशक बितिसकेको छ । उनले यस अवधिमा धेरै उतारचढाव व्यहोरेकी छन् । यो बीचमा उनले क्लाइम्बिङमा पनि धेरै परिवर्तन देखेकी छन् । ‘क्लाइम्बिङ कम्युनिटीमा केही न केही परिवर्तन आछ जस्तो अनुभव हुन्छ’ स्वस्तिका भन्छिन्, ‘२०२० अघि जस्तो थियो त्यसपछि चेन्ज भएको छ ।’
नेपालमा धेरै खेलका खेलाडीको लागि खेलेरै भविष्य सुनिश्चित गर्न कठिन छ । कमजोर आर्थिक अवस्था भएको पृष्ठभूमिबाट आएकी स्वस्तिकाले यो अवस्थासम्म आउन धेरै मिहिनेत र संघर्ष गरेकी छिन् । क्लाइम्बिङ खेल उनको रूचिको विषय थियो त्यसैले उनले यसलाई छाड्न सकिनन् । ‘करियर के हुन्छ भन्ने भाथ्यो । हबी लिन्छु भन्ने थियो तर छाड्ने सोचेको थिएन । कतिपटक हार खाएको थिएँ तर हिम्मत हारिनँ । त्यसैले छाड्न सकिनँ’ उनले भनिन् ।
तर जिन्दगी चलाउनका लागि उनले ट्रेकिङ गाइड गर्ने, क्लाइम्बिङ इन्स्ट्रक्टरको रुपमा काम गर्ने देखि मार्केटिङमा सम्म काम गरिन् । ‘क्लाइम्बिङले खान पुग्दैन । त्यसैले यसको साइडमा ट्राभल एण्ड टुरिजम पढेँ । ट्रेकिङ गाइडको लाइसेन्स पनि निकालें । उमेर बढ्दै गएपछि जिम्मेवारी पनि बढ्दै जाने रैछ । त्यसैले यस क्षेत्रमै केही गर्न लक्ष्यसहित विकल्पहरू खोज्दै काम गरें’ उनी भन्छिन्, ‘क्लाइम्बिङ त गर्छु तर मलाई पनि खान लाउन बाँच्न पर्यो । आफूलाई लागेको सोख पूरा गर्न पर्यो । त्यसले गर्दा ट्रेकिङ गर्न थालेँ ।’
कोभिड १९ को असरपछि क्लाइम्बिङ ठप्प हुँदा लेडिज माउन्टेन लिग (एलएमएल) मा पनि संलग्न भएर स्वस्तिकाले काम गरिन् । जसले आर्थिक रुपमा साथ नपाएका दु:ख पाएकाहरूका साथ सपोर्ट गर्ने काम गरेको थियो । सुरुमा स्विडेनकी हानाले सुरु गरेको यस अभियानमा सरिना राईले साथ दिइन् । हाना छाडेर गएपछि अहिले स्वस्तिकाले पनि यसमा नेतृत्वमा रहेर काम गरिरहेकी छन् ।
नयाँ आउन चाहने खेलाडीहरूका लागि यो टिमले हरेक शुक्रबार केएससीसीमा क्लाइम्बिङ गराउने काम गर्छ ।
‘खेलको विकास र ग्रासरुट डेपलपमेन्टका लागि महिला क्याटेगोरीमा कसरी अघि बढाउने भनेर लागिराछौं’ आफूले नै सिकाएहरू अहिले प्रतिस्पर्धा गर्ने स्थानसम्म पुगेको र त्यो देख्दा खुशी लाग्ने स्वस्तिकाले बताइन्, ‘खुशी लाग्छ उहाँहरू अघि बढेको देख्दा । सानो अवसरले गर्दा उहाँहरू यो यात्रामा अघि बढ्नुभएको छ।’
अबको लक्ष्य : अन्तर्राष्ट्रिय पदक जित्ने
स्वस्तिकाले राष्ट्रिय च्याम्पियन बन्नेदेखि अन्तर्राष्ट्रिय सहभागिता जनाउने सम्मको अनुभव लिइसकेकी छन् । क्लाइम्बिङलाई निरन्तरता दिने उनको सोच छ । प्रतिस्पर्धा मात्र नभएर यसमा सिकाउने देखि प्राविधिक रुपमा पनि काम गर्ने अवसर हुनेछ ।
तर त्यसअघि स्वस्तिका अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर पदक जित्न चाहन्छिन् । ‘म २५ वर्ष भएँ । अझै केही समय छ । मैले मेरो चाहनाहरु अहिले नै पूरा गर्नुपर्छ । मलाई अन्तर्राष्ट्रिय स्तरमा पोडियममा पुगेर पदक ल्याउन मन छ । पोडियममा बसेर नेपालको झण्डासहित जुनै पदक भएपनि ल्याउने इच्छा छ’ स्वस्तिकाले अबको लक्ष्य सुनाइन् ।
यो कठिन र चुनौतीपूर्ण हो भन्ने पनि उनले बुझेकी छन् । तर त्यसलाई पूरा गर्न आफ्नो मिहिनेतका साथै अरुको साथ र सहयोग पनि चाहिने उनी बताउँछिन् । ‘मलाई थाहा छ यो तत्काल हुँदैन तर मैले निरन्तर ट्रेनिङ गरिहेँ र अरुको पनि साथ पाएँ भने सम्भव छ । यहाँ प्रोपर ट्रेनिङ नहुँदा हामीले क्षमता भएर पनि त्यसलाई राम्रोसँग प्रयोग गर्न सकिनरहेको छैनौँ । त्यसैले बाहिरै गएर प्रशिक्षण गर्न मन छ । यसमा स्पोनरहरु, सरकारको साथ भयो भने सहज हुन्छ भन्ने लाग्छ’
नेपाल र बाहिरको प्रशिक्षण शैली देखि क्लाइम्बिङको रुट सेटिङहरु नै फरक हुने भएकोले बाहिर नै गएर प्रशिक्षण गर्नुपर्ने उनले बताइन् । ‘बाहिरको कोच नेपाल आउँदा नेपालका हरेक क्लाइम्बरसँग क्षमता छ तर त्यसलाई युटिलाइज गर्न नपाएको भन्नुभयो । त्यो सुन्दा हामी एउटै तरिकाले मात्र चढिराछौँ भन्ने लाग्छ । बाहिरतिर व्यापक परिवर्तन भइराछ । हामीले बाहिरका कोचहरुसँग सिक्नुपर्छ’ स्वस्तिकाले पनि बाहिर गएर प्रशिक्षण गर्ने तयारी गरिरहेको बताइन् ।
त्यसो भएमा अझै अगाडि बढ्न सक्ने उनको भनाई छ । यस्तै भविष्यमा अझ राम्रो गर्दै ओलम्पिकसम्म पुग्ने स्वस्तिकाको सपना छ । ‘अन्तर्राष्ट्रिय पदकपछि ओलम्पिक जान मन छ । थाहा छ छनोट हुन समय लाग्छ । एकै पटक माथि पुग्न धेरै संघर्ष गर्नुपर्छ’ उनी भन्छिन्, ‘त्यसको लागि संस्थाको सहयोग चाहिन्छ । सरकारको पनि सहयोग चाहिन्छ । मेरो पनि मिहिनेत चाहिन्छ । सबैको साथ र सहयोग भयो भने ओलम्पिक पुग्न सकिन्छ खेल्न सकिन्छ र मेडल ल्याउन सकिन्छ भन्ने विश्वास छ।’
एउटा सफलतापछि अर्को लक्ष्य बन्दै जाने भएकोले ड्रिम पनि बढ्दै जाने स्वस्तिका बताउँछिन् । देशको झण्डा बोकेर खेल्ने भएपछि आफूलाई पनि सहयोग गरोस् भन्ने आशा हुने स्वस्तिकाले बताइन् ।
‘ओलम्पियन बन्न मन छ । देशको झण्डा बोक्न मन छ देशले पनि हामीलाई सहयोग गरोस् भन्ने हो । क्लाइम्बिङ खेलमा धेरै पोटेन्सियल छ तर अझै एक्सप्लोर हुन बाँकी छ । सबैको साथ पाए त्यो काम गरेर देखाउन मन छ’ स्वस्तिकाले भनिन् ।
प्रतिक्रिया 4